Khadya Bibhag

चैतमा होला त लोसपाको महाधिवेशन ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो केन्द्रीय महाधिवेशन आगामी २०८२ चैत्र ६–७ गते गर्ने निर्णय गरेको छ । लोसपा नेपालको यो पहिलो महाधिवेशन हो । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा भदौ ८ र ९ गते बसेको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराउनुभयो । यसअघि साउनमसान्तभित्र महाधिवशेन गरिसक्नुपर्ने निर्णय पार्टीले गरेको थियो । तर तयारी नपुगेको भन्दै तोकिएको समयमा महाधिवेशन भएन । यो तेस्रो पटक महाधिवेशनको मिति तय भएको हो ।
विगतमा तयारी नपुगेको कारण मिति सारिएको हो, यसपटक तोकिएको समयमा महाधिवेशन हुने सो पार्टीका महासचिव डा.सुरेन्द्र झाले बताउनुभयो । अरु प्राविधिक तथा नीतिगत तयारीहरु भइसकेका छन्, केही स्थानीय, जिल्ला तथा प्रदेशहरुमा अधिवेशन बाँकी रहेकाले मिति सारिएको बताउँदै उहाँले आठ महिना बाँकी छ, यो अवधिमा सबै ठाउँको महाधिवेशन सम्पन्न गरेर तोकिएको समयमा महाधिवेशन गराउने बताउनुभयो । यसअघि बैशाख र साउनमा दुई पटक महाधिवेशनको मिति तय गरिएको थियो तर महाधिवेशनको तयारी पुरा नभएको भन्दै महाधिवेशनको मिति सरेको थियो । अब तोकिएको समयमा महाधिवेशन हुने पार्टीका नेताहरु विश्वस्त देखिएको बताइएको छ ।
जसपा नेपालबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गर्नुभएको थियो । पार्टी गठन भएको चार वर्ष भइसक्यो । पाँच वर्षभित्र महाधिवशेन गर्ने पार्टीको विधानमा उल्लेख छ । महाधिवशेन गराउन अवधि एक वर्ष अझै बाँकी छ । पाँच वर्षभित्र महाधिवेशन गराउन सकिएन भने ६ महिनाका लागि म्याद थप्न सकिने प्रावधान पार्टीको विधानमा छ । लोसपाले गत २०८१ जेठ ५ गतेदेखि सदस्यता वितरण अभियान धनुषाबाट सुरु गरेको थियो । सदस्यता वितरण अभियान सुरु गरेको एक वर्ष भन्दा बढी भइसक्यो कति सदस्यता वितरण भयो त्यसको तथ्यांक हालसम्म पार्टी कार्यालयमा छैन । पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य पार्टीले राखेको छ । सोही लक्ष्यका आधारमा सदस्यता वितरणलाई अझै निरन्तरता दिइरहेको छ ।
निर्देशिका पनि तयार
लोसपा नेपालले महाधिवेशनका लागि निर्देशिका तयार पारिसकेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा सो निर्देशिका तयार पारिएको हो । तयार गरिएको निर्देशका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई २०८१ पुसमै हस्तान्तरण गरिसकेको छ । वडा तहदेखि माथिल्लो तहसम्मको अधिवेशन कसरी गराउन, चुनाव कसरी गराउने, महाधिवेशन प्रतिनिधि कसरी चयन गर्ने जस्ता कुरा निर्देशिकामा उल्लेख छ । तलदेखि माथिसम्म ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ भने अन्य समाजिक संरचना, जातजाती, समुदायलाई उसको जनसँख्या तथा भुगोलमा उपस्थितिको आधारमा समावेश गराउने व्यवस्था गरिएको छ ।
सो निर्देशिका अनुसार महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने छ । त्यस्तै प्रदेश अधिवेशनका लागि केन्द्रीय समितिले पाँच सदस्यीय, जिल्ला अधिवेशनका लागि प्रदेश समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ । प्रदेश समिति नरहेको ठाउँमा केन्द्रीय समितिले सो समिति गठन गर्ने भनेको छ । निर्वाचन क्षेत्रीय अधिवेशन तथा पालिका अधिवेशनका लागि तीन–तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ ।
निर्वाचन क्षेत्रमा सक्रिय रहेको भातृ संगठनले अधिवेशनका लाग पाँच जना, जिल्लामा रहेको भातृ संगठनले पनि पाँच जना प्रतिनिधि चयन गर्ने प्रावधान निर्देशिकामा राखेको छ । त्यस्तै प्रदेश अधिवेशनका लागि प्रदेशमा सक्रिय रहेका मातृ संगठनले सात जना प्रतिनिनिधि चयन गर्न सकिन्छ । त्यसैगरि, केन्द्रमा सक्रिय रहेको भातृ संगठनले केन्द्रीय महाधिवेशनका लागि सात जना प्रतिनिधि चयन गर्ने प्रावधान राखेको छ ।
किन सर्छन् महाधिवशेन ?
महन्थ ठाकुर तमलोपा, राजपा, जसपा हुँदै अहिले लोसपाका अध्यक्ष हुनुहुन्छ । तमलोपा हुँदै विभिन्न दलसँग एकीकरण गर्दै भत्काउँदै लोसपासम्म पुग्नु भएका महन्थ ठाकुरले चैतमा जसरी पनि महाधिवेशन गराउने कम्मर कस्नुभएको छ । त्यसका लागि उहाँले पार्टीका सबै तहका नेताहरुलाई निर्देशन पनि दिइसक्नुभएका छ । २०६५ देखि हालसम्म संसदमा मात्र होइन, सरकारमा पनि सम्मानजनक उपस्थिति देखाउँदै आएको तत्कालीन तमलोपा अर्थात् लोसपाका अध्यक्ष महन्थ ठाकुरले हालसम्म एक पटक मात्र महाधिवेशन गराउनु भएको छ ।
२०७१ मा नवलपरासीमा तत्कालिन तमलोपाको पहिलो महाधिवेशन भएको थियो । त्यस यता तमलोपा विभिन्न स्वरुपमा गए पनि हालसम्म महाधिवशेन भएको छैन । विगतमा विभिन्न दलसँग एकीकरण, समायोजनका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको सो पार्टीका नेताहरु स्विकार गर्नुहुन्छ । नेपाली काँग्रेसबाट विद्रोह गरेर मधेश आन्दोलन चलिरहेकै बेला महन्थ ठाकुरले २०६४ बैशाख १० गते तमलोपा गठन गर्नुभएको थियो । अध्यक्ष ठाकुरले विभिन्न पार्टीसँग एकता गर्दै, विधान फेर्दै आइरहनु भएको छ ।
२०७१ मा तत्कालित तमलोपाको महाधिवेशन नवलपरासीमा भएको थियो । महाधिवेशनपछि २०७२ मा मधेश आन्दोलन सुरु भएको थियो मधेश आन्दोलनपछि २०७४ मा विभिन्न पार्टी मिलेर राजपा बनेको थियो । त्यसपछि २०७७ मा समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा नेपाल बनेको थियो । २०७८ मा विभाजन भएर लोसपा बन्यो । चार वर्ष बितेको छ । दुई पटक महाधिवेशनको मिति सरिसकेको छ । तेस्रो पटक मिति तय गरिएको छ । तोकिएको मितिमा महाधिवेशन हुने सबैले विश्वास गरेका छन् ।

#madhesh #mahanththakur #saharatimes #sahara

तपाईको प्रतिक्रिया