–विजेता चौधरी
जीवनमा संघर्ष मापनको कुनै प्यारामिटर हुँदैन । किनभने जीवन कहिले पनि सरल रेखामा बग्दैन । तर अलिकति आँट गर्नेहरूले संघर्षरुपी युद्ध जित्छन् र सफलताको चुलीमा पुग्छन् भनि अनेकौं उदाहरणहरु छन् । हतियार बिसाउनेको इतिहास लेखिदैन, चर्चा सधैं विजेताको मात्र गरिन्छ भनि हामी सुन्दै आएका छौं ।
आज हामी यस्तै एक ‘फाइटर’ महिला, जो जीवनको संघर्षमा कहिल्यै डगमगाउनु भएन र निरन्तर अगाडि बढि रहनुभयो । उहाँ हुनुहुन्छ, डा. श्वेता दीप्ती । जसको संघर्ष, अडान, क्षमता र सफलताको कथा रोचक छ । प्रेरणादायी छ । प्रतिकूल अवस्थामा पनि हरेस नखाइ त्यसलाई आफू अनुकूल बनाउँदै एक ‘लक्ष्य’ हासिल गर्नु र स्थापित हुनु सजिलो पक्कै हुँदैन । उहाँको सफलताको कथाले समाजमा र खासगरी महिलाहरूको बिचमा महिला आत्मस्वाभिमान र आर्थिक आत्मनिर्भरता हुनुपर्छ भन्ने कुराको ‘ट्रेन्ड सेट’ गरेको छ । उहाँले समयको हरेक ‘दस्तक’लाई सुन्नुभयो र अवसरलाई आलिंगन गर्नुभयो । यो नै श्वेताको सफलताको सुत्र बन्न पुग्यो । जसले समाजमा उहाँको एउटा स्वतन्त्र अस्तित्व र पहिचान स्थापित भएको छ ।
श्वेता मूलतः कोशी क्षेत्र भारत बिहारका हुनुहुन्छ तर अब उहाँ नेपाली नागरिक हुनुहुन्छ । भारत विहार भागलपुरमा जन्मिनु भएका श्वेताको लालनपालन र बाल्यकाल भारत मधेपुरा जिल्लाको बिहारीगञ्जमा भयो । जहाँ उहाँकी आमा रमादेवी कन्या उच्च विद्यालयका प्रधानाध्याप हुनुहुन्थ्यो । कक्षा दशसम्मको शिक्षा पनि उहाँले त्यहीँबाट पुरा गर्नुभयो । दस कक्षा अर्थात एसएलसीपछिको अध्ययनका लागि त्यहाँ राम्रो व्यवस्था नभएको कारण उच्च शिक्षाका लागि उहाँ भारत विहारको भागलपुर जानुभयो ।
जहाँ छात्रावासमा बसेर उहाँले सुन्दरवती महिला महाविद्यालयबाट स्नातकसम्मको शिक्षा हासिल गर्नुभयो । त्यसपछि हिन्दी केन्द्रीय विभाग, तिलका माँझी भागलपुर विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभयो । तर सुखी र उन्मुक्त जीवनमा एकाएक बज्रपात भयो । एम.ए.को परीक्षा चलिरहेक ैबेला उहाँको बुबा नरेशप्रसादको निधन भयो । अप्रत्याशित रूपमा बुवाको साथ छुटेपछि असहय पीडा भयो उहाँलाई सोही मनस्थितिमा उहाँले परीक्षा दिनुपर्ने भयो । यद्यपि सबैको शुभेच्छा र आशीर्वाद भनौं उहाँ प्रथम श्रेणीमा उत्तिर्ण हुनुभयो ।
कलिलो उमेरमै पीएचडी
उहाँ भन्नुहुन्छ, “ममा पढ्ने ललक (जोश) थियो, त्यही भएर होला स्नातकोत्तरको परिणाम आउने बित्तिकै पीएचडी (विद्यावारिधि) गर्ने निर्णय लिए । जसमा मेरो गुरुदेव डा.बहादुर मिश्रको स्नेह, सहयोग र साथ पाएँ । जसले सो शृङ्खला पनि मैले सफलतापूर्वक पार गरेँ ।” श्वेताको शोधको विषय थियो ‘उषा प्रियम्वदा के कथा साहित्य में चित्रित नारी जीवन की त्रासदी’ । उहाँ भन्नहुन्छ, “त्यतिबेला एउटा सुखद संयोग भयो कि मलाई उषा प्रियम्वदाको हस्तलिखित चिट्ठी अमेरिकाबाट प्राप्त भयो, जसमा उहाँले आफ्नो बारेमा विस्तारसँग लेख्नुभएको थियो । त्यतिबेलासम्म उहाँको व्यक्तित्व र कृतित्वमाथि सर्वांगिण कार्य भएकै थिएन । बस छिटपुट चर्चा मात्र पुस्तकमा पढ्न पाइन्थ्यो । आजको जमाना थिएन कि सबैकुरा तपाईंको मुट्ठीमा होस् । त्यो बेला पत्र पठाइन्थ्यो र महिनौं जवाफको प्रतीक्षा गर्नुपथ्र्यो ।’
यस्तोमा राजकमल प्रकाशनले उहाँको पत्राचार गर्ने ठेगाना दियो । र श्वेताले पत्र लेखेर पठाइदिनुभयो तर पत्रको जवाफ दिनुहुन्छ भने कुरा श्वेतालाई लागेको थिएन तर सुखद् कुरा कि उहाँको जवाफ श्वेताले प्राप्त गर्नुभयो । जसले गर्दा शोध कार्यलाई निकै सहज बनाइ दिएको थिया । अमेरिकाबाट एउटा पत्र आउनु एउटा सपना जस्तै थियो । तर पत्र आयो । त्यतिबेला श्वेताको खुशीको सीमा थिएन । उहाँ भन्नुहुन्छ, ‘ती पत्र मेरालागि एउटा अनुपम उपहार थियो, जसलाई मैले आजसम्म समालेर राखेकी छु ।” र यसरी उहाँले छबीस–सत्ताइस वर्षको उमेरमा नै पीएच डी. गरिसक्नु भएको थियो । यो त्यतिबेलाको कथा हो, जतिबेला अधिकांश युवतीहरू विवाह बलबच्चा र गृहस्थीमा अल्झिरहेका हुन्थे ।
श्वेताको बाल्यकाल र जवानी लाड–प्यारमा बित्यो, जहाँ कुनै संघर्ष थिएन । एउटा अति माया गर्ने दाजुका एक्लो बहिनी जसलाई दाइको साथ र माया हरेक मोडमा प्राप्त भयो । त्यतिबेला घरबाट बाहिर बसेर शिक्षा हासिल गर्नु त्यति सहज थिएन तर उहाँकी आमाको प्रतिबद्धता, दाइको सहयोग र बुवाकोको मौन समर्थनले कहिल्यै उहाँलाई हतोत्साहित हुन दिएन । उहाँले पछि एलएलबी पनि गर्नुभयो र पटना हाइकोर्टबाट लाइसेन्स पनि प्राप्त गर्नुभयो । त्यसैसमय बिहार एजुकेशन प्रोजेक्टमा उहाँले जागिरका लागि आवेदन दिनुयो र परिणामको प्रतीक्षा गर्दैहुनुहुन्थ्यो । तर भनिन्छ, भाग्यनियन्ताले सबैको बाटो पहिले नै तय गरेका हुन्छन् । त्यही बेला उहाँको बिहे भयो र एकाएक सबै कुरामा ब्रेक लाग्यो ।
विवाह र नेपाल आगमन
उहाँको जीवनको दोस्रो चरण शुरु भयो । उहाँको विवाह सन् १९९८ (२०५५)मा नेपालको मधेश प्रदेश, सप्तरी जिल्लास्थित कञ्चनपुरका प्रदीपकुमार शाहसँग भयो । जसको बारेमा उहाँले कल्पनासम्म गर्नुभएको थिएन । तर त्यतिबेला आफ्नो इच्छा वा अनिच्छा व्यक्त गर्ने परिस्थिति पनि थिएन । आमा तथा दाजुले जे भन्नुभयो उहाँले सहस्र स्विकार गर्नुभयो र बिहे गर्नुभयो ।
बिहेपछि उहाँ एक अपरिचित माहौलमा आइपुग्नुभयो, जहाँ पहिलो ‘हिदायत’ नै दिइयो कि अब तिमीले हिन्दी बोल्नु पर्दैन । उहाँ भन्नुहुन्छ, “यो स्थिति मेरो लागि जति अनपेक्षित थियो त्यति नै कष्टकर पनि । किनभने हिन्दी नै मेरो आधार थियो र सोबाट मलाई अलग्याउन खोजिदैं थियो ।”
सबैलाई थाहा भएकै कुरा हो नेपाल र भारतमा बेटी–रोटीको सम्बन्ध रहेको छ । र बिहारबाट नेपालको तराई क्षेत्रको थुप्रै सीमा मिलेको छ । सप्तरीको कञ्चनपुर उहाँको माइती नजिक छ । उहाँ भन्नुहुन्छ, “बिहे भएको २८ वर्ष पूरा भयो । २८ वर्ष पहिले लागेकै थिएन कि मेरो बिहे विदेशमा भइरहेको छ । तर जब काठमाडौं आए अनि महसुस भयो आफ्नो परिवेशभन्दा नितान्त भिन्न स्थानमा आइपुगेके छु ।”
उहाँका श्रीमान् रीडर (माइक्रोबायोलोजी, त्रिचन्द्र कलेज) हुनुहुन्छ । वैवाहिक जीवन बारे एक प्रश्नमा उहाँ भन्नुहुन्छ, “दुई भिन्न परिवेशमा बिहे भएर आउनु र त्यहाँ सामन्जस्य स्थापित गर्नु गाहे त हुन्छ नै । तर छोरीहरू कहिले पो फर्कन्छन् र ? जहाँ पठाइ दियो त्यहीँकी भएर बस्छिन् चाहे त्यो परिवेश, परिवार जति नै अपरिचित किन नहोस् ।’ श्वेतालाई पनि समस्या नभएको होइन, तर विस्तारै आफैंलाई स्थापित गर्नुभयो उहाँले ।
श्वेतालाई श्रीमान्को सोचसँग पनि तालमेल मिलाउन मुस्किल थियो किनभने उहाँ जति मुखर हुनुहुन्छ त्यति नै अल्पभाषी पनि । रुचि पनि एकदमै विपरित । यद्यपि दुई धु्रवमा बसेर पनि वैवाहिक जीवनको २७ साल बितेर गयो । आगाडि पनि बित्ने नै छ । जीवनको एक सत्य के पनि छ भने जब बच्चाहरू तपाईंलाई बुझ्न थाल्छन् अनि जीवनसँगको सबै गुनासा समाप्त भएर जान्छ ।”
भाषिक विभेद
काठमाडांै आएर उहाँलाई ‘प्रवास’ को सही अर्थ बुझ्नमा आयो । जहाँ बाहिर हिन्दीमा कुरा गर्दा मान्छेले अनौठो नजरले हेर्थे । श्वेताले प्रश्न गर्नुभयो, ‘नेपालमा दिल लगाउनु सजिलो त पक्कै भएन होला ?’ “सही भन्नुभयो तपाईंले । शुरुवाती समय निकै कठिन थियो । हिन्दी बोल्नेलाई काठमाडौंमा भिन्नै नजरले हेर्थे । आज त तै धेरै कुरा सहज भएको छ । त्यतिबेला त भोजपुरी, मैथिली बोल्नु पनि गाहे थियो । यस्तोमा समय व्यतित गर्नु निकै कठिन थियो ।”
श्वेता भन्नुहुन्छ, “आफ्नो माटोसँग टाढा कतै बस्नु, सीधा, सहज भाषामा प्रवास हो । र प्रवासी साहित्यको सम्बन्ध प्रवासीद्वारा लेखिने साहित्यसँग छ । हुन् त प्रवास र प्रवासी साहित्य यी दुबै शब्दले एक विस्तृत विमर्शलाई जन्म दिएको छ ।’’
‘म आफ्नो जन्मस्थान भारतबाट धेरै टाढा छैन । तर यहाँ आएर प्रत्येक क्षण मैले आफ्नो माटोसँग टाढा भएको पीड़ा महसुस गरे, श्वेता भन्नुहुन्छ, ‘दुःख त्यतिबेला हुन्थ्यो जब हिन्दीमा बोल्दा अनौठो होच्याउने दृष्टिले देखिन्थ्यो ।’ बाहिर मात्र होइन घरमा पनि पहिलो दिनदेखि उहाँले त्यस्तै व्यवहार भोग्नुभयो । तर श्वेता पनि जिद्दी थिए कि आफ्नो भाषा बोल्न छोडनु भएन । र आज त्यही जिद्द श्वेताका लािग लडाई बनेको छ ।
एक प्रतिकुल माहौलमा हिन्दी बोल्नु, लेख्नु र प्रकाशित गर्नु श्वेताका् लक्ष्य बनेको छ । नेपालमा बस्ने भारतीयलाई प्रवासी संभवतः नमानियोस् तर प्रवासको उक्त पीडाबाट एउटा संवेदनशील मन हरेक पल गुजरिरहेको हुन्छ । यस्तोमा स्वभाविक नै उहाँले जे लेख्छन् त्यसमा उहाँको व्यथा, उहाँको अनुभव र नयाँ गाउँको सामाजिक, राजनीतिक र सांस्कृतिक परिवेश नै व्यक्त हुन्छ ।
अपरिचित माटोमा श्वेताको एउटा पहिचान स्थापित भएको छ । यस माटोले उहाँलाई एउटा नाम र कीर्ति दिएको छ तर पनि आफ्नो माटोसँग टाढा हुनुको पीडा आज पनि छ उहाँलाई । र यो त्यतिबेला झनै बढ्छ जब आफ्नो जन्मस्थान, आफ्नो भाषा र देशप्रति यहाँ विरोधको भाव महसुस गर्छ ।
जीवन भनेको यही हो जहाँ सबैकुरा आफू अनुकूल हुँदैन । लक्ष्य प्राप्ति होस् नहोस् तर आफ्नो बाटो बनाउनै पर्छ । जसका लागि हौसलालाई जीवित राख्ने आवश्यकता छ ।ं
‘ये रास्ता इतना आसान कहाँ था वो तो मेरे हौसले ने मेरा साथ नहीं छोड़ा ।’ अवसर आफैं खोज्नुपर्छ
बिहे पश्चात् नै उहाँलाई बिहार एजुकेशन प्रोजेक्टबाट नियुक्ति–पत्र आयो अर्थात् उहाँ जागिर प्राप्त गर्नुभयो तर बिडम्बना त्यतिबेलासम्म आफ्नै जीवनको फैसला लिने हक उहाँको हातबाट गुमिसकेको थियो । यो महिलाहरूको साझा समस्या थियो । आज पनि खासै हटेको छैन । जीवनको पहिलो जागिरको लागि उहाँलाई अनुमति दिइएन, भनियो ‘सर्भिस नै गर्नुथियो भने बिहे किन गरेको ?’ श्वेता भन्नुहुन्छ, “त्यो मेरो जीवनको सबैभन्दा ठुलो भूल थियो कि मैले त्यतिबेला जिद्दी किन गरिन ?” त्यसको १० वर्षसम्म उहाँ घरमा एक साधारण घरेलु महिला भएर बस्नुभयो जहाँ उहाँको शिक्षा र डिग्रीको कुनै उपयोगिता रहेन ।
यद्यपि यसबीच उहाँ दुई सन्तान एक छोरी प्राची शाह(सीए) र छोरा प्रणय शाह(सफ्टवेयर इन्जिनियर) जन्मिए । जसको मायामा उहाँले आफूलाई केन्द्रित मात्र गर्नुभएन आफ्नै पुनः मूल्यांकन समेत गर्नुभयो । र नेपालमै भए पनि आफ्ना लागि अवसरको खोजीमा लाग्नुभयो ।
यसै पनि नेपालमा हिन्दीको लागि एकाध ठाउँ मात्रै छ जहाँ काम गर्न सकिन्छ, जागिर प्राप्त गर्न सकिन्छ । काठमाडौंका सीबीएससी बोर्डको स्कुलहरूमा उहाँलाई एक पीएचडी होल्डर शिक्षक चाहिंदैन भनेर स्थान दिइएन । बिहे भएको ११ औं वर्षमा गएर बल्ल उहाँले थाहा पाउनुभयो, यहाँको त्रिभुवन विश्वविद्यालयमा हिन्दी विभाग छ । त्यसअघि उहाले जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा आंशिक शिक्षकको रूपमा एक वर्ष काम गर्नुभएको थियो ।
तर धेरै अनुभव बटुल्न नपाई छोराको अस्वस्थताको कारण त्यो जागिर छोडेर पुनः काठमाडौं आउनु भएको थियो । त्यही समय उहाँले त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागमा प्रयास गनुभयो र तीन वर्षसम्म आंशिक शिक्षकको रूपमा काम गर्नुभयो । त्यसपछि विश्वविद्यालयद्वारा लिइने सेवा आयोगको परीक्षा पनि उहाँले सजिलै पास गर्नुभयो र स्थायी हुनुभयो ।
मानसिक तनावबाट गुजरि रहनु भएका श्वेतालाई धेरैपटक कमजोर बनायो । धेरैपटक मन भत्कियो, तर आमाले हरेकपटक समाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘यात्रा सजिलो पक्कै थिएन । तर त्यो यात्रा नै के जसमा कठिनाइ न होस् ।’ बिहेभन्दा अगाडि नै उहाँले पीएचडी सकि सक्नुभएको थियो तर त्यसको ११ वर्षसम्म उहाँ कुनै कार्यक्षेत्रमा हुनुहुन्थेन । यस्तोमा उहाँ ती वर्षहरूमा मानसिक तनावमा रहनुभयो । तर फेरी समय पनि बदलियो, स्थान पनि प्राप्त भयो र अब यस्तो पदमा हुनुहुन्छ कि जहाँ उहाँको आफ्नो स्वतन्त्र पहिचान पनि छ ।
साहित्य जगत
श्वेताको परिचय विराट छ, उहाँ एक उदात्त र प्रखर लेखिका पनि हुनुहुन्छ । लेख्ने बानी आठ–नौ कक्षादेखि नै थियो । आमालाई आफ्नो प्रेरणा मान्ने श्वेता दीप्ती भन्नुहुन्छ, “पहलोपटक दस वर्षको उमेरमा आर्यावर्तको ‘बाल–कोना’मा केही लेखेर पठाउनुभएको थियो जो छापिएको थियो । यद्यपि उहाँलाई के लेखेको स्मरण छैन । त्यसपछि राजस्थानबाट प्रकाशित हुने राजस्थान भाषा अकादमीको पत्रिका ‘मधुमती’ मा सन् १९९२ मा उहाँको पहिलो कविता छापिएको थियो । तर बिहे पश्चात लगभग दश वर्षसम्म उहाँले केही पनि लेख्नुभएन । त्यसपश्चात हिमालिनी हिन्दी पत्रिकासँग जोडिनुभयो र उहाँको लेख्ने र छापिने क्रमले गति लियो जो आजसम्म कायम छ ।”
भनिन्छ, प्रत्येक व्यक्तिले आफ्नो जीवनमा एउटा न एउटा प्रेम कविता आवश्य लेख्छन् । त्यो भलै आफ्नो होस् अथवा कसैको प्रभावमा । उहाँले आफ्नो लेखनको सुरुवात कविताबाट नै गनुृभएको हो । विस्तारै ललित निबन्धतिर झुकाव भयो ।
उहाँ भन्नुहुन्छ, “मैले पहिलो निबन्ध महादेवी वर्माको कवितामा प्रकृति चित्रणमाथि लेखेको थिएँ । जो भारतको भागलपुर रेडियो स्टेशनबाट सन् १९८८ मा युगवाणी कार्यक्रमा प्रसारित भएको थियो । सोही समयमा मैले एउटा कथा लेखेँ ‘फैसला’ यो पनि रेडियोबाट प्रसारित भएको थियो । यी सबै सन् १९८८ को कुरा हो । यसरी नै लेख्ने सिलसिला शुरुभएको थियो ।
लेख्ने किटाणु श्वेतामा सानैदेखि थियो । कालेजको पत्रिका तथा स्थानी पत्रपत्रिकामा उहाँको रचनाहरू प्रकाशित हुन्थे आकाशवाणीको कार्यक्रमहरूमा कहानी, ललित निबन्धको वाचन पनि गर्थेँ । तर नेपाल आएपछि ती सबै बन्द भएको श्वेतको स्मरण सुनाउनुभयो । बिहेको झण्डै १५ वर्षपछि मात्र श्वेताको साहित्य यात्राले निरन्तरता पायो । त्यस अन्तरालमा उहाँको साहित्य डायरीका पानाहरूमा सिमित रह्यो । जबकि छात्र जीवनमा नै स्कुलका मञ्चदेखि नै अन्य मञ्चहरुमा उहाँले प्रस्तुती दिनुहुन्थ्यो ।
उहाँ भन्नुहुन्छ, ‘भाषण, नृत्य, नाटक, संगीत यी सबै मेरा रुचिका विषय थिए । त्यही भएर मञ्च पनि पाइ रहेँ । तर विवाहपश्चात लामो समयसम्म सबै ठप्प भयो ।’ एकपटक एउटा कार्यक्रममा नेपालमा हिन्दीको अस्तित्वलाई लिएर पेपर प्रस्तुतिको अवसर उहाँले प्राप्त गर्नुभयो । करीब डेढ दशकपछि उहाँले माइक समाउनु भएको थियो ।
त्यो उहाँले निकै प्रशंसा पाउनु भएको थियो । आयोजनालाई डर थियो कि श्वेताले कस्तो हिन्दी बोल्लान् तर दर्शक दीर्घाबाट श्वेताले राम्रो रेसपोन्स पाउनुभयो । कविता के हो ? उहाँ भन्नुहुन्छ, “म सधैं भन्छु, ‘हरेक संवेदनशील प्राणी कवि हुन्छन् । कविता एकान्तको भाषा हो जहाँ तपाईं स्वयम्लाई भेट्नुहुन्छ, प्रकृतिसँग मिल्नुहुन्छ, समाजसँग भेट्नुहुन्छ, स्वयमसँग कुरा गर्नुहुन्छ र यी सबै तत्व शब्दको आकार लिन्छ अनि कवितामा ढल्छ । जहाँ थोडैमा पनि हामी धेरै कुरा भन्छौं ।’ त्यहिभएर यो विधा सबैलाई अधिक प्रिय छ । श्वेताको कविता पनि यस्तै भावनाहरूको अभिव्यक्ति हो ।
जहाँसम्म कथाको कुरा छ, भनिन्छ ‘कथा जीवनको टुकडा हो’ । त मेरो कथाहरू पनि मेरो छेउछाउमा घटित घटनाहरूकै संकलन हो, जोसँग नजानिदो किसिमले मं परिचित भइरहेँ र जसले मलाई बेचैन बनाइरहे । म धेरै मांजिएको कथाकार हुँ भनेर मलाई लाग्दैन तर मेरो कथाको विषय आत्म मंथन गर्ने खालका आवश्य छन् ।”
समृत हिन्दी साहित्य
नेपालको हिन्दी साहित्य निकै समृद्ध छ । नेपालका लागि हिन्दी कहिल्यै अपरिचित थिएन । यहाँका जति पनि साहित्यकार हुनुहुन्छ उहाँहरू कुनै न कुनै रूपमा हिन्दी साहित्य र भाषासँग जोडिएको श्वेता बताउनुहुन्छ । ती साहित्यकारहरुको साहित्यिक यात्रा हिन्दी भाषाबाट सुरु भएको उहाँको बुझाई रहेको छ । उहाँहरूमाथि हिन्दी साहित्यको प्रभाव छ । प्रकाश कम भए पनि रुझान सधैं रहेको छ । आज पनि हिन्दीको साहित्यिक रचनाहरू प्रकाशित भइरहेका छन् । रहामी जस्ता हिन्दी प्रेमीहरूलाई यस्ता कुराले संतुष्टि दिन्छन् श्वेताको रहेको छ ।
श्वेतको बुझाईमा साहित्यकारको बीच प्रतिद्वन्दिता हुनु हुँदैन । बरु रचनाकारलाई एक स्वस्थ मानसिकताका साथ आफ्नो मौलिकता र रचनाशीलतामाथि ध्यान दिनुपर्छ । सबैको आ–आफ्नै शैली, प्रस्तुति र विचारधारा हुन्छ । जसलाई आआफ्नो अनुसार अभिव्यक्त गर्छन् ।
हिमालिनीसँगको आवद्धता
नेपालबाट प्रकाशित हुने हिन्दी मासिक पत्रिका ‘हिमालिनी’सँग जोडिने अवसर श्वेतालाई प्राप्त भयो । हाल उहाँ त्यसको सम्पादक हुनुहुन्छ । बिहे गरेर नेपाल अइसकेपछिको ११ औं वर्षमा श्वेतालाई हिन्दी पढाउने अवसर प्राप्त भएको थियो । जनकपुर राराबमा अस्थायी शिक्षकको रूपमा उहाँको नियुक्ति भएको थियो । त्यसपछि हिन्दीबाट कहिले अलग हुनसक्नु भएन । सधै हिन्दी र हिन्दी भाषा तथा साहित्यसँग जोडिएका व्यक्तिको सम्पर्कमा रहनु भयो र हिन्दीलाई उहाँले सेवा गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला मलाई निकै आत्म संतुष्टि प्राप्त भएको थियो ।’ उहाँ प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले प्रकाशन गर्दै गरेको ‘रूपान्तरण’ पत्रिकाको कार्यकारी सम्पादक हुनुभयो । त्यहाँ काम गर्न थालेपछि श्वेताले हिन्दीका साथै नेपाली तथा अन्य भाषाका साहित्यलाई जान्ने बुझ्ने मौका पाउनुभयो । । तत्पश्चात काठमाडौंबाट प्रकाशित हुने हिन्दी मासिक पत्रिका ‘हिमालिनी’ मा उहाँ आवद्ध हुनुभयो । त्यो उहाँका लागि निकै महत्वपूर्ण क्षण थियो । हिन्दी साहित्यमा उहाँले झन निखार ल्याउनुभयो ।
त्यस बिचमा उहाँल विभिन्न पुस्तक पनि प्रकाशन गर्नुभयो । त्यसमा ‘अनुभूतियों के बिखरे पल’ (कविता संग्रह), ‘विविधा’, ‘नारी जीवन विगत से वर्तमान’, ‘उषाप्रियम्बदा की नारी पात्र की मानसिक त्रासदी’(शोध पुस्तक), ‘मोदियाइन’ (भोजपुरी भाषामा अनूदित), ‘आधुनिक कविता की परम्पराः एक अनुशीलन’, ‘भारतीय एवं पाश्चात्य काव्यशास्त्र’, ‘शेष होते शब्द’ (कविता संग्रह) ‘साहित्य शोध समिधा’, ‘टुकड़ों में बटी जिन्दगी’, मुख्य छन् ।
उहाँका केही कृति प्रकाशान्मुख छ । उहाँले थुप्रै नेपाली पुस्तकको अनुवाद पनि गर्नुभएको छ ।
नेपालमा बसेर हिन्दी साहित्यको सेवामा समर्पित श्वेताको संलग्नता र कार्यशैली लोभलाग्दो छ । उहाँ हिमालिनी हिन्दी मासिक पत्रिकासँगै सह–सम्पादक अक्षरंग साहित्यिक वेव पत्रिका, सह–सम्पादक, नेपाल प्रतिनिधिः जर्नल आफ ह्यूमेनिटीज एण्ड सोशल साइंसअलीगढ़, उत्तरप्रदेश भारत, नेपाल प्रतिनिधिः उर्वशी अन्तर्राष्ट्रीय त्रैमासिक पत्रिका भोपाल, मध्यप्रदेश, संलग्नताः जरा फाउन्डेशन, साहित्य एवं संस्कृति, काठमाडौं, नेपाल, सदस्य, साहित्य कला मंदिर काठमाडौं, नेपाल, आजीवन सदस्यः डा.कृष्णचन्द्र मिश्र अकादमी आदिमा प्रत्यक्ष र परोक्ष रूपमा आवद्ध र सक्रिय हुनुहुन्छ ।
प्राध्यापक र साहित्यकारमध्ये कुन भूमिका प्रिय छ भनि जिज्ञासा उहाँले साहित्यकार हुनुले सन्तोष दिन्छ, तर जब आफ्नो अनुभव र विधालाई बाँड्छौं त्यसले अधिक आत्मिक सन्तोष दिने गरेको कलात्मक जवाफ दिनुभयो । जसरी साहित्यकार जब कुनै रचना गर्छ तब उनी त्यतिले संतुष्ट हुँदैनन्, उनी चाहन्छन् उनको एक पाठक वर्ग होस् जो उसको रचनाको सराहना गरोस् र प्रोत्साहित पनि गरोस् ।
त्यसैगरी एक शिक्षक जब आफूभित्रको ज्ञानलाई बाड्छ त्यतिबेला उनले सिकाउने काम मात्र गर्दैनन् बरु आफ्नो विद्यार्थीहरूसँग पनि सिकिरहेका हुन्छन् । र यो अवस्था तपार्इंको व्यक्तित्वलाई सार्थकता प्रदान गर्छ भन्दै उहाँले साहित्य र प्राध्यापक दुवै प्रिय रहेको बताउनुभयो ।
पुरस्कार–सम्मान
साहित्यकार–सम्पादक श्वेतालाई थुप्रै मानसम्मान र पुरस्कार प्राप्त छ । जसमध्ये नेपाल सरकारद्वारा नेपाल विद्याभूषण सम्मान, हिन्दुस्तानी भाषा अकादमीद्वारा समीक्षा सम्मान, नेपाल भारत मैत्री समाजद्वारा सम्मानित, नेपाल हिन्दी प्रतिष्ठानद्वारा सम्मानित, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा सम्मानित, उर्दू प्रतिष्ठान नेपालद्वारा सम्मानित, डी.ए.वी सुशील केडिया विश्वभारतीद्वारा सम्मानित, क्रान्तिधरा मेरठ साहित्य रत्न सम्मान, मातादीन मूर्तिदेवी स्मृति पुरस्कार, नारनौल हरियाणा, भारत (शिक्षा, साहित्य, एवं पत्रकारिता के क्षेत्र में योगदान हेतु) पंडित तिलकराज शर्मा मेमोरियलद्वारा साहित्य–सृजन सेवा पदक नई दिल्ली, हिन्दी–साहित्य सेवा हेतु पार्वती स्मृति पुरस्कार, अन्तरराष्ट्रीय नागरी लिपि सम्मान, नारनौल हरियाणा, मनुमुक्त मानव मेमोरियल ट्रस्ट द्वारा आयोजित इंडो नेपाल हिन्दी विमर्श संगोष्ठीमा सम्मानित एवं पुरस्कृत गरिएको छ ।
तपाईको प्रतिक्रिया