ई.दीपक साह –पूर्वउपाध्यक्ष, जनमत पार्टी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले ई. दीपक साह जो पार्टीका उपाध्यक्ष हुनुहुन्थ्यो उहाँलाई साधारण सदस्य नरहने गरी पार्टीमा कारवाही गर्नुभएको छ । जब कि मधेश स्वतन्त्र गठबन्ध गठनदेखि लिएर जनमत पार्टी निर्माणमा सिके राउत जतिकै योगदान छ । सिके राउत नेता मात्र हुनुहन्थ्यो तर दीपक साह नेता हुनुको साथै व्यवस्थापकीय भूमिकामा पनि हुनुहुन्थ्यो । पार्टीमा साधनस्रोतका साथै अन्य व्यवस्थापन कसरी हुन्छन् भने कुराको चिन्ता सिके राउतलाई थिएन तर दीपक साहले पार्टीका लागि हरेक कुराको व्यवस्थापनमा लाग्नुहुन्थ्यो । एक समय थियो सिके राउतको सबभन्दा विश्वासपात्रको रुपमा दीपक साह नै हुनुहुन्थ्यो तर उहाँमाथि विभिन्न आरोप लगाएर पार्टीमा कारवाही गरेर हटाइएको छ । यी सब कसरी भयो, सिके राउतले यस्तो किन गर्नुभयो, खासमा विवाद के हो लगायतका विषयमा सहारा टाइम्सका लागि दीपक साहसँग गरिएको कुराकानीको सम्पादीत अंशः
तपाईंलाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । त्यसबारे तपाईंको धारणा के छ ?
–यो कारबाही न्यायसंगत होइन । मलाई बिना सुनुवाइ, बिना प्रक्रियागत प्रक्रिया पालना नगरी निलम्बन मात्र होइन, साधारण सदस्यतासम्म खोसियो । ममाथि जुन आरोपहरु लगाएका छन्, त्यसलाई पुष्टि गर्ने प्रमाण सिके राउतले मलाई दिन सक्नु भएको छैन । मलाई स्पष्टिकरण सोध्दा लगाइएको आरोपहरुलाई पुष्टि गर्न पार्टीसँग प्रमाणहरु लिखित रुपमै मागेको छु । पार्टीका अध्यक्ष सिके राउतलाई पनि आग्रह गरेको छु तर उहाँहरुले दिन सक्नु भएन । यसको मतलब यो पुष्टि हुन्छ कि ममाथि लगाइएको सबै आरोप झुठा हुन्, कपोकल्पित हुन् । मलाई त्यो पार्टीबाट हटाउने षड्यन्त्र मा हो । सुरुमा मलाई अनुशासन समिति प्रमुख बनाएर अरूलाई कारबाही गर्न खुब प्रयोग गर्नुभयो । पछि चाहिँ त्यही शैली प्रयोग गरेर मलाई नै एक्ल्याइयो, बदनाम गरियो । यसलाई म योजनाबद्ध षड्यन्त्र ठान्छु ।
तपाई अनुशासन समितिको प्रमुख हुँदा अरुलाई कारवाही गर्ने बेला यो गलत भइरहेको छ भनि त्यतिबेला किन बोल्नुभएन ?
–यो कुरा सिके राउतलाई मात्र थाह छ कि म कति ठाउँमा रोकेको छु । अहिले पनि कतिपय साथीहरु त्यही पार्टीमा हुनुहुन्छ जसलाई कारवाही हुनबाट मैले नै रोकेको हुँ । तर कतिपय साथीहरुलाई कारवाही गर्नबाट मैले बचाउन सकिन । कारवाही गर्नका लागि मलाई पनि इमोशन ब्ल्याकमेल गर्नुहुन्थ्यो उहाँले । कुनै कुराको यस्तो भूमिका बाँध्नुहुन्थ्यो कि जो कोही पनि उहाँको झाँसा (कुरा) मा फँस्नु हुन्थ्यो । म पनि कतिपय अवस्थामा फँसे । अहिले आएर ती सबै कुरा झलझल्ली याद आइरहेका छन् । त्यो बेला मबाट पनि कतिपय अवस्थामा त्रुटि भएको छ त्यो कुरालाई लिएर साथीहरुमा पर्न गएको अप्ठ्यारोका लागि माफी मागि सकेको छु ।
तपाईंले बारम्बार भन्नुभएको छ, कि डा.सिके राउतले नकारात्मक प्रोपगण्डा गर्दै आएका छन्, त्यो कसरी भन्न सक्नुहुन्छ ?
–उहाँको शैली नै मनगढन्ते कथा बनाएर अरूलाई बदनाम गर्ने हो । उहाँ जतिको नाटकवाज, रुप फेर्ने नेता नेपालमा कोही हुनुहुन्न । उहाँको फेसबुक र ट्वीटर नै हेर्नुस् न कुनै पनि कुरालाई यसरी कथा बनाएर प्रस्तुत गर्नुहुन्छ कि एक पटक पढेपछि जो कोहीलाई पनि साच्चै हो कि जस्तो लाग्न सक्छ । तपाईले पनि पढेपछि उहाँ कस्तो विद्धान हुनुहुन्छ, कस्तो तर्कहरु, तथ्यहरु ल्याउनु भएको छ भन्नुहुन्छ । यस्ता कुराहरु प्रस्तुत गर्न उहाँ माहिर हुनुहुन्छ । उहाँको त्यो कला हो । उहाँ नेता होइन, एक्टर हुनुहुन्छ ।
उहाँले ममाथि पनि विगत एक वर्षदेखि झुठा प्रचार फैलाउँदै आउनुभएको छ । सुरुमा गैरआवासीय मधेशी संघलाई लक्षित गरेर कपोलकल्पित आरोप लगाइयो । अहिले सचिवालय प्रमुखको पत्नीमार्फत अरूलाई प्रयोग गर्दै त्यही काम भइरहेको छ । सुरुमा मलाई पनि अरूको विरोधमा प्रमाण देखाइन्थ्यो—‘यिनीहरू गलत छन्’ भनेर । पछि बुझ्दै गएँ, त्यो त षड्यन्त्र थियो, म त साधन बनाइएछु ।
तपाईंले स्थायी समितिमा औपचारिक रूपमा गुनासो प्रस्तुत गर्नुभएको थियो भन्ने सुनिन्छ, त्यहाँ के–के राख्नुभयो ?
–२०८१ साल असोज ७ गते, स्थायी समितिमा मैले स्पष्ट भनें—डा. राउतको व्यवहारले मेरो मानसिक स्वास्थ्यमा गहिरो चोट पुर्याएको छ । उहाँले लगातार धम्कीपूर्ण शब्द प्रयोग गर्नुभयो । उदाहरणका लागि, एक दिन उहाँले फोनमै भन्नुभयो, “साहहरूले पार्टी कब्जा गर्न खोजेका छन्, तिमीलाई बर्बाद गरिदिन्छु ।” यस्तो शब्द सुन्दा लाग्थ्यो—साधुको भेषमा डाकुले बोलेको हो कि ! ‘मुखमा रामराम, बगलमा छुरी’ भन्ने नेपाली उखान साँचो ठहरियो ।
तपाईंले जातीय आधारमा समेत अपमानित भएको अनुभव गर्नुभएको रहेछ त्यो के हो ?
–हो । सिके राउतजी जातीयतालाई एकदमै महत्व दिएर हेर्नुहुन्छ । कुनै पनि सांगठनिक संरचना बनाउँदा जातपात हेर्नुहुन्छ । पार्टीमा पनि उहाँले नेताहरुले जातियताको हिसाबले हेर्नुहुन्छ । यो फलानो जातका नेता, त्यो फलानो जातका नेता भएर विभिन्न शंका, उपशंकाको नजरले हेर्नुहुन्थ्यो । उहाँले मसँग भन्नुभएको थियो, “यादव र कुशवाहाहरूले संगठन कब्जा गर्न खोजेका छन् ।” यो टिप्पणी नेतृत्वकै मुखबाट आयो । मैले सिके राउतको मुखबाट सुन्दा मलाई निकै आश्चर्य लाग्यो । सिके राउतबाट हामीले यस्तो अपेक्षा गरेका थिएनौं । यस्तो जातीय टिप्पणीले संगठनभित्रको विश्वास र एकतालाई कमजोर बनाएको छ । पार्टी भनेको सबै जाति, वर्ग र समुदायको साझा घर हो । तर यस्तो व्यवहारले इमान्दार कार्यकर्ताहरूको मनोबल गिराएको छ । पार्टीमा एउटा जातिले अर्को जातिलाई आशंकाको नजरले हेर्न थालेका छन् ।
तपाईंलाई व्यक्तिगत रूपमा चरित्रहत्या गर्ने प्रयास भएको दाबी गर्नुहुन्छ, के प्रमाण दिन सक्नुहुन्छ ?
–पार्टीबाट निकाल्नका लागि चाहिदो नचाहिदो आरोप उहाँले लगाउनु भएको छ । मैले कल्पना नै गरेका आरोप मलाई लगाउनु भएको छ । यस्ता आरोपहरुको कहानी बनाएर बदनाम गराउनमा सिके राउत माहिर हुनुहुन्छ । मलाई ‘परिवार भाँडेको’, ‘पत्रकार बोलाएको’ जस्ता आरोप उहाँले लगाउनुभयो । उहाँहरुको श्रीमान–श्रीमती बिचमा झगडा भयो । त्यो मैले नै गराएको भनि आरोप लगाउनुभयो । यी आधारहीन र कपोकल्पित आरोप हुन् । म परिवारलाई भाँड्ने काममा कहिल्यै संलग्न भएको छैन । यदि सिके राउतसँग वा उहाँको श्रीमतीसँग कुनै प्रमाण छ भने देखाइ दियोस् । झन पत्रकार बोलाएर पार्टीविरुद्ध षड्यन्त्र गर्ने त प्रश्नै आउँदैन । यस्तो आरोप लगाउनु भनेको मेरो राजनीतिक चरित्र हत्या गर्ने प्रयास मात्र हो । त्यसबाहेक अरु केही होइन । ममाथि जुन जुन आरोप लगाइएको छ ती सबै प्रमाणित गर्नका लागि मैले चुनौती दिएको छु । लिखित रुपमै प्रमाण मागेको छु । त्यसका लागि सूचना हक पनि प्रयोग गरेको छु । तैपनि कुनै प्रमाण दिनुभएन । म अझै पनि चुनौती दिइरहेको छु कि ममाथि जुन आरोपहरु लागेका छन् त्यसको प्रमाणहरु देखाइयोस् वा पुष्टि गरोस् ।
जनमत पाटी बनाउनमा तपाईको कुनै योगदान छैन रे सिके राउत र उहाँ निकट नेताहरुले भन्दै आउनु भएको छ, तपाईंले आफ्नो राजनीतिक योगदानका बारेमा केही भन्न सक्नुहुन्छ ?
–मेरो योगदान लुकाउने कुरा छैन । २०६९ जेठ ८ गते स्वतन्त्र मधेश गठबन्धन घोषणा हुँदा अग्रपंक्तिमा म नै थिएँ । २०७१ मा मलाई सुरक्षा निकायले पेस्तोल देखाएर गिरफ्तार गर्यो—त्यतिबेला पनि म संगठनकै सुरक्षाका लागि उभिएको थिए । २०७५ चैत ४ गते जनमत पार्टी घोषणा भएपछि विधान निर्माणदेखि संगठन विस्तारसम्म सबै काम मेरो भक्तपुरस्थित घरमै बसेर गरिएको थियो । अहिले पनि पार्टीको बोर्ड मेरो घरमा झुण्ड्याइएको छ । सिके राउत को हुन्, कसैलाई थाह थिएन, नेपालमा चिनाउने व्यक्ति मै हुँ । आन्दोलन तथा संगठन निर्माणमा उहाँको योगदान छैन भन्न खोजेको होइन तर त्यसको उहाँले गलत फाइदा उठाउनुभयो । मैले पार्टी बलियो बनाउन कुनै कसर बाँकी राखिनन् ।
तपाईंले सिके राउतलाई पार्टीभित्र ‘परिवारवाद’ बढेको आरोप लगाउनु भएको छ, त्यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?
–सबै कुरा सामुनेमा छर्लङ छ, त्यसलाई पुष्टि नै गर्नुपर्दैन । सिके राउतले आफ्नो सचिवालयदेखि मन्त्री, मुख्यमन्त्रीको सचिवालयमा अधिकाँश आफ्नै परिवारका सदस्य तथा आफ्ना आफन्तलाई नै राख्नुभएको छ । केन्द्रीय कार्यालयमा पनि आफन्तलाई नै राख्नुभएको छ । सबभन्दा जिवन्त उदाहारण त उहाँको दाजु जयकान्त राउत नै हुनुहुन्छ । जनमत पार्टीमा उहाँको कुनै योगदान छैन । सरकारी जागिर खाइरहेका उहाँलाई चुनावको समयमा राजिनामा दिन लगाएर सप्तरी १ बाट चुनाव लडाउनु भएको थियो । चुनाव हारेपछि सिधै योजना आयोगको सदस्य, पार्टीको परिषद् अध्यक्ष, हामीलाई कारवाही गरेर उहाँलाई उपाध्यक्ष नै बनाउनुभयो । संगठन विभागको संयोजक जयकान्त राउतलाई नै दिनुभएको छ । कुनै हैसियत नै नभएका व्यक्तिलाई सिके राउतले पार्टीमा एकाएक शक्तिशालीलाई बनाउनुभयो । मधेश प्रदेशमा उपसभामुख बबिता इसर हुनुहुन्छ, उहाँ पनि सिके राउतको आफन्त नै हुनुहुन्छ । प्रदेश सभा सदस्यका लागि समानुपातिकमा पहिलो नम्बरमा बबिता इसरको नाम राख्दा मैले त्यतिबेला भनेका थिए, “यसले पार्टीको छवि बिगार्छ ।” तर डा. सिके राउतले सुन्नै चाहनु भएन । उहाँ परिवारबाहेक कसैको कुरा सुन्नुभएन । परिवारवादकै अन्धो मोहले संगठनको एकता भङ्ग भएको हो ।
चुनावको समयमा तपाईले पार्टीलाई असहयोग गर्नुभयो रे, के त्यो आरोप सही हो त ?
–पुरै सरासर गलत कुरा हो । म आफ्नो मतदाता नामावली काठमाडौँ सारेको छु । म काठमाडौँको मतदाता हुँ । त्यसैले उहाँलाई सप्तरीमा गएर मतदान गर्न सकिदैन भने कुरा उहाँलाई थाह हुनुपर्ने हो । मैले चुनावमा खटेको छैन भने कुरा उहाँले आफ्नो टाउको र आत्मामा हात राखेर कसम खाएर भन्दिनुस् म जुनसुकै सजाय भोग्न तयार छु । उहाँसँगै कतिपय ठाउँमा गएको छु । चुनाव खर्च कहाँबाट आउछ त्यसको जोगारमा म मधेश र काठमाडौँ आउजाउ गर्थे । पैसाको व्यवस्था गरेर उहाँकै हातमै गएर दिन्थे । सप्तरी लगायत विभिन्न जिल्लामा चुनावमा खटेको विभिन्न तस्विरहरु नै छन् । उहाँले सफेद झुठो बोलिरहनु भएको छ ।
चुनावमा टिकट वितरणमा विवाद भएको थियो त्यो के हो ?
–सप्तरी–१ को टिकट वितरणमा नै सबैभन्दा ठुलो विवाद भयो । इ.सुरेन्द्र नारायण यादव र इ. कबिन्द्र यादव जस्ता सबल उम्मेदवारलाई बेवास्ता गरियो । सुरुदेखि सुरेन्द्रनारायण यादवलाई टिकट दिन कुरा थियो । उहाँले क्षेत्रमा तयारी गर्न पनि भन्नुभएको थियो तर जब टिकट दिने कुरा भयो अनि एकाएका तपाई चुनाव नलड्नुस्, समानुपातिकबाट आउनुस् भन्नुभयो । उहाँले सुरेन्द्रनारायण यादवलाई टिकट नदिएर आफ्नो दाइलाई दिनुभयो । यस्तो विवाद प्रदेश सभामा पनि विभिन्न ठाउँमा देखियो । उहाँले मनपरी ढंगले टिकट वितरण गर्नुभयो । त्यसमा आर्थिक चेलखेल पनि उहाँले गर्नुभएको छ ।
यसरी लगातार आहत हुँदा तपाईंलाई व्यक्तिगत रूपमा कस्तो महसुस भएको छ?
–म अत्यन्त पिडामा छु । सारा जवानी पार्टी बनाउनमा लगाए । पार्टीका लागि आफ्ना धेरै कुरा त्यागेको छु । यहाँसम्म कि म पार्टीको संगठनमा काम गर्नुको साथै जागिर पनि गर्थे तर उहाँले पार्टीमा काम गर्ने जागिर गर्न पाउदैन भनि निर्णय गर्नुभयो । त्यसपछि आफ्नो पदबाट राजिनामा दिएर संगठनका लागि पुरा समय दिन थाले । त्यसपछि संगठनबाहेक अरु कुनै काम नै थिएन । २४ घण्टाका लागि संगठनका लागि खटि रहे । सिके राउतलाई आफ्नो घरमै राखेर संगठन निर्माणको कामलाई अगाडि बढाएको थिए । कतिपय अवस्थामा संगठन बनाउन मैले ज्यानको बाजी राखेँ । तर आज मलाई एक्ल्याउने, बदनाम गर्ने, परिवारलाई समेत आहत गर्ने काम उहाँले गर्नुभएको छ । अध्यक्षले नै फोनमा धम्कीपूर्ण शब्द प्रयोग गर्दा, म स्तब्ध भएको छु । यो अवस्था मेरो मात्र होइन, अरू इमानदार साथीहरूको पनि हो । सबै निराश छन् । संगठनभित्र विश्वासको वातावरण टुटेको छ ।
तपाई त पार्टी फोड्ने खेलामा लाग्नुभएको आरोप छ त त्यो कति सत्य हो ?
–यो पुराका पुरै झुठ आरोप हो । म गीता–कुरान माथि, आफ्नो आमा–बुबा र छोराछोरीको टाउकोमा हात राखेर भन्न सक्छु—मैले कहिल्यै अध्यक्ष हटाउने वा पार्टी फोड्ने षड्यन्त्र गरेको छैन । यस्ता कपोलकल्पित आरोप लगाएर मलाई मात्र होइन, मधेशको जनतालाई समेत धोका दिइएको छ । म उल्टै प्रश्न गर्छु—डा. राउत आफैं कसम खाएर भन्न सक्नुहुन्छ कि दीपक साह पार्टी विभाजनको खेलमा लाग्नुभएको छ । ममाथि लागेको आरोप पुष्टि गराउनु सक्नु हुन्छ ? उहाँ सक्नु हुन्न । संगठन नै मेरो सबथोक थियो । संगठनलाई आफ्नो मन्दिर जस्तो मानेको थिए । किनभने म सुरुदेखि यसमा लागेर निर्माण गरेको हुँ । त्यस्तो संगठनलाई म आफै तोड्ने गल्ती कसरी गर्नसक्छु, पत्याउने कुरा नै होइन ।
अब तपाईंको बाटो के हो?
–मेरो बाटो सदैव मधेश र मधेशी जनताको हितमा छ । म व्यक्तिगत आक्रोशले होइन, संगठन सुधार गर्ने अभिप्रायले कुरा उठाएको हुँ । नेतृत्वले विवेकपूर्ण निर्णय ग¥यो भने संगठन अझै बच्न सक्छ । सत्य ढाकछोप गरेर कहिल्यै लुक्दैन ढिलोचाँडो उजागर हुन्छ । अन्ततः जनता नै निर्णायक साक्षी हुनेछन् ।
तपाईको प्रतिक्रिया