Khadya Bibhag

समाजिक सञ्जालले ढालेको ओली–देउवाको सरकार

–जेपी गुप्ता

“उन्मत्त आपराधिक मानसिकताका प्रधानमन्त्री केपी शर्मा ओली–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुझ्नु भएका थियो–प्रविधि मात्रले परिवर्तन ल्याउँदैन ।” प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली र संसारको इतिहासमा “ज्ञान तथा चेतनाको बिस्तारको यात्रा”को बुझाईका बारेमा ठुलो द्वन्द थियो । प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीले चुकेका ठाउँहरू धेरै होलान्, म त्यता जान चाहन्न–एउटा बिषयमा मात्र केन्द्रीत रहन चाहन्छु । एउटा समाजिक सञ्जालले कसरी पल्टियो सत्ता ।

वर्षौअघि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहँदा मैले एउटा पुस्तक पढेको थिए । शायद, एलिजावेथ एल. ले लेखेको ‘द प्रिन्टींग प्रेस एन एजेण्ट अफ चेन्ज’ हुनुपर्छ । प्रेसको जन्मले युरोपमा ल्याएको बैद्धिक, धार्मिक र राजनीतिक परिवर्तनको गहन अध्ययन गरिएको थियो त्यो पुस्तकमा । चाखका साथ पढेको हुनाले यसका केही कुराहरू अझैं याद रहेका छन् । पुस्तकमा उद्घृत एउटा सत्य कथा भनौ ं। चीनमा प्रेसको जन्म भए पनि एउटै ब्लकबाट धेरै प्रति छाप्न मिल्ने प्रेस मेसिनको अविष्कार सर्वप्रथम युरोपमा सन् १४४० मा जर्मनीका जोहानेस गुटेनबर्गले गरे ।

यसैलाई ‘गुटेनबर्ग प्रेस’ भनियो । पत्रकारिता क्षेत्रमा गुटेनबर्गको सिद्धान्तलाई निकै महत्वका साथ पढाइन्छ । पत्रकारिताका लागि गुटेनवर्गको इतिहास जान्नु निकै महत्व मानिन्छ । गुटेनबर्गलाई अहिले पनि “आधुनिक छापाखानाको पिता” मानिन्छ । उहाँको आविष्कारले शिक्षा, विज्ञान, साहित्य, धर्म र सम्पूर्ण मानव सभ्यतामा ठूलो रूपान्तरण ल्यायो । इतिहासका शोधकर्ताहरू भन्छन् ‘युरोपमा यसपछि मात्र एकाध व्यक्ति वा चर्च जस्तो संस्थासँग रहेको लिखित कुराहरू, दस्तावेजहरू छापिएर अरूहरूका समक्ष पुग्न लाग्यो । युरोपमा ज्ञान र विचार फैलन थालियो । पहिले पुस्तक धनी वा धर्मगुरुहरूको हातमा मात्र सीमित हुने अवस्था तोडियो । अब सामान्य मानिसले पनि पढ्न पाउने, बुझ्ने र प्रश्न सोध्ने मौका पाए । एक समय थियो, चर्चमा प्रश्नकर्ताले ‘कन्फेसन्स’ गराउने पादरीको अनुहार हेर्न पाउँदैन्थे । पादरीले बोलेका कुरा मान्नु पर्दथ्यो । अब दोहोरो सम्वाद हुने भयो ।

यसको करिब ६–७ दशक पछि, सन् १५१७ मा जर्मनीकै एक पादरीले ९५ वटा प्रश्नहरू छपाएर एउटा ठुलो पर्चाको रूपमा क्याथोलिक चर्चको ढोकामा टाँसेर सोधिएका विषयहरूका जवाफका लागि चर्चलाई चुनौति दिनुभएको थियो । यतिन्जेल चर्चसंग कसैको पापका मात्राको मूल्यांकन गरेर सो पाप गरे वापत क्षमा दिने वा ‘क्षमा बेच्ने’ अधिकार थियो । यी थिए– पादरी मार्टिन लुथर । यस इतिहासलाई जानेर आज धेरैलाई आश्चर्य लाग्ला कि त्यस बेला चर्चले “इन्डल्जेन्स” अर्थात “पाप मिनाहा दिइएको प्रमाण पत्र” बेच्द्थ्यो । पादरी मार्टिन लुथरले यस उपर कडा प्रहार गरेर, प्रश्न सोधेर युरोपीय पुनर्जागरणको सुरूवात गर्नुभयो । यसलाई “प्रोटेस्टान्ट सुधार आन्दोलन” भनियो ।

त्यो एउटा नयाँ युगको घोषणा थियो । तर, लुथरका ९५ प्रश्नहरूबाट क्याथोलिक चर्च अझ बढी असहिष्णु भयो, लुथरलाई बहिष्कार गरियो । यहाँ मेरो उद्देश्य युरोपमा प्रोटेस्टान्ट आन्दोलनका बारेमा बताउनु होईन । अपितु भन्न चाहेको हुँ कि मानव इतिहासमा कहिलेकाहीँ स–साना तर साहसी कदमहरूले कसरी सम्पूर्ण सभ्यता बदलिदिन्छन् ।

यहाँ बढी बिचारणीय कुरो के छन् भने यस घटनाले कालान्तरमा आधुनिक राष्ट्र–राज्य, व्यक्तिगत अधिकार, र पूँजीवादी अर्थतन्त्रको जन्मलाई प्रेरणा दियो । विचार विकासको क्रममा यस यात्राको अर्को रोचक पक्ष छ, जुन शेरबहादुरहरूले त कहिल्यै पढनै पाएनन् होला । औपचारिक शिक्षा नपाएका शेरबहादुर देउवा पछिका पुस्ताकै ओलीहरूले पनि यो मौका न पाउनु नितान्त स्वभाविक हो ।

हामीले भने पढौं, यस्ता कुराहरू पढनै पर्छ । यी घटनाक्रमहरूले इतिहासको अर्को पक्ष पनि देखाउँछ । पूँजीवादको जगमा जन्मिएको समाजभित्रै शोषण र असमानताको संरचना बनेको कुरा । यही वास्तविकताबाट प्रेरित भई १९औँ शताब्दीमा कार्ल माक्र्सले पूँजीवादका बिरूद्ध गहिरो प्रश्न उठाउनुभयो । यसरी, लुथरको विद्रोही चेतना र माक्र्सको आलोचनात्मक दृष्टि—दुवै एउटै धारा, अर्थात् अन्यायको विरुद्ध प्रश्न गर्ने संस्कृतिका निरन्तरता हुन् । जुन अहिलेका सर्वाधिक चर्चित “जेनजी” भनि चिनिने नेपाली नवयुवाहरूसम्म पनि आई पुगेको हो । मोरंग कलेजमा पढदाको बखत ‘हर्वर्ट मक्र्युज’ले लेखेको एक पुस्तक पढेको थिए, युग भयो । कम्युनिष्टहरूले आफ्नो सत्तालाई जोगाउन सिद्धान्तलाई शक्ति संरचनामा कसरी उपयोग गर्छन् मक्र्युजले शानदार बिश्लेषण गरेका थिए । अब त्यसको थोरै संझना छ । यद्यपि संसारका झैं यहाँका ओलीहरूले यसलाई बिर्सेनन् ।

आज हामी डिजिटल युगमा छौँ । प्रेसको ठाउँ इन्टरनेटले लिएको छ, र विचार फैलिन सेकण्डमै सम्भव छ । यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालहरूलाई प्रतिबन्ध लगाउनुभयो । उहाँ बिरोधबाट निश्चिन्त हुन चाहनु भएको थियो । विरोधीको मुख थुन्ने प्रयास गर्नुभयो । नियमनका लागि समाजिक सञ्जाल दर्ता गराउनुपर्छ  भनि कुरा बाहिर ल्याए पनि खासमा अ‍ोलीहरुले जनताको मुख थुन्ने प्रयास गरेकै हुन् । ओली सरकारले गरेका अनैतिक गतिविधि लुकाउने प्रयासका कारण समजिक सञ्जाल बन्द गराउने दुस्प्रयास गर्यो । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली, उहाँका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ तथा तिनका सल्लाहकारहरूलाई डिजिटल सञ्चार माध्यमको अवरोधहीन व्यापकताको ज्ञान नै भएन । एकाध दर्जन सामाजिक संजाललाई प्रतिबन्धित गरियो । इन्टरनेट भने चालु नै थियो । भिपीन पावरहरूको निर्बिघ्नता यिनीहरूका समझ भन्दा बाहिरको विषय थियो ।

जतिखेर नेपालमा सामाजिक संजाल बन्द गरियो, त्यसको तीन दिनमा भिपिएनको ट्राफिकमा ६००० प्रतिशतले वृद्धि भएको रेकर्ड गरियो । स्वीट्जरलैण्डका प्रोटोन भिपिएले लेख्यो “प्रतिबन्धको पाँचौं दिनसम्ममा नेपालको भिपिएन ट्राफिकमा ८००० प्रतिशतले वृद्धि भयो ।” टिकटक जो खुला थियो, यस्तै संचालनमा रहेका अरूहरूको ट्राफिक समेतलाई विचार गर्दा सरकारले लगाएको प्रतिबन्ध पुरै प्रभावहीन भइसकेको थियो । उता बेखबर सरकार आफ्नो आकार भन्दा ठुलो चिहान खन्नमा व्यस्त थियो । तर मूल प्रश्न उही छ—के हामी शासनमा रहदाँ प्रश्नहरूका जवाफ दिई रहेका हुन्छौं ? आजका ‘जेन्जी’ पुस्ता नवयुवा मात्र होईनन् ।

यिनीहरू तीव्र संचारक पनि हुन् । प्रविधिको सचेत प्रयोग गर्दै यिनले आफ्ना विचारलाई डिजीटल सन्देश, टुलकिट आदि मार्फत सामान्य मानिसको जीवनमा प्रवेश गराए । यसरी यो आन्दोलन केवल सचेतनाको विषय रहेन । सत्ता तथा राज्य प्रणाली बदल्ने “ब्रान्डेड आन्दोलन”को रूप लियो । उन्मत्त आपराधिक मानसिकतामा छिरिसकेका ओली–देउवाहरूले बुझेका थिए–प्रविधि मात्रले परिवर्तन ल्याउँदैन, तर जसले त्यसलाई प्रयोग गरिरहेको थियो उसको रणनीति र साहस उनले, देउवाहरूले बुझ्न सकेनन् ।

नेपालका कम्युनिष्टहरू इतिहास पढ्ने दावा त गर्छन्, तर संचारको इतिहास बुझ्नेमा अनपढ छन् । गुटेनबर्ग प्रेसले देखाएको एउटा पाठ स्पष्ट थियो–विचारलाई रोक्नु हुन्न, उसलाई फैलिन दिएपछि मात्र इतिहासले बाटो पहिल्याउँछ । मार्टिन लुथरले यही बाटो प्रयोग गरेर चर्चको बलियो गढ भत्काए । पूँजीवादले प्रेसलाई आफ्नो पक्षमा मोडेर शक्तिशाली बनायो । माक्र्सले पनि संचारलाई वर्ग–चेतना जगाउने हतियार बनाए । नेपालका कम्युनिष्टहरू मात्र होइन, संसारका धेरै कम्युनिष्ट पार्टीहरूले यही पाठ बुझ्न चुके । उनीहरूले संचारलाई नियन्त्रण गर्ने ‘साधन’ ठाने, न त डिजिटल लहरलाई आत्मसात् गर्न सके, न त नयाँ पुस्ताको चेतनालाई पढ्न सके ।

मुर्ख कम्युनिष्टको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सुत्रको उल्टो व्याख्या गर्नुभयो । उहाँले आफु पछि सत्ता पर्खेर बसेका लोभग्राही शेरबहादुर देउवालाई सम्झाउनुभयो–“संचार जनताको बिच विचार फैलाउने माध्यम होइन, सत्तालाई सुरक्षित गर्ने पर्खाल मात्र हो ।” त्यसैले उहाँहरूले प्रिन्टमा कठोर नियन्त्रण, रेडियो–टीभीमा एकाधिकार, अनि अहिले डिजिटल प्लेटफर्ममा प्रतिबन्ध लगाउने बाटो रोज्नुभयो । यसो गर्दा तत्काल सत्ता सुरक्षित भएको जस्तो देखिए पनि, दीर्घकालमा यसले जनताको विश्वास टुटाउँछ । नयाँ पुस्ता—विशेषतः डिजिटल पुस्ता—आवाज दवाएर बस्दैनन् । यही कारण नेपालका कम्युनिष्टहरूले संचारलाई दमन गर्ने प्रयास गरेर उल्टै विद्रोह र अस्थिरतालाई जन्माए ।

मेरो बिचारमा, नेपालका कम्युनिष्टहरू, शेरबहादुर देउवा खाले काँग्रेसीहरूके असफलता केवल नीतिगत मात्र होइन, ऐतिहासिक दृष्टिकै असफलता हो । जसले संचारलाई नियन्त्रण गर्न खोज्छ, ऊ आफैं इतिहासको चक्रबाट बाहिर फालिन्छ । फालिए ।

(लेखक जेपी गुप्ता नेपालको मुलधारको राजनीतिमा लामो समय सक्रिय हुनुहुन्थ्यो हाल स्वतन्त्र हुनुहुन्छ)

तपाईको प्रतिक्रिया