Khadya Bibhag

समाजमा नैतिकताको अभाव

–प्रेमचन्द्र झा
समाजमा नैतिकताको अभाव देखिएकाले विश्वमा अहिले ठुला ठुला घटना भएका छन् । तलदेखि माथिसम्म कोही पनि इमान्दार देखिएको छैन । जहाँ पनि जसको पनि छलफल कपट नै हुन्छ । व्यवहार पनि त्यति राम्रो हुँदैन । अर्काको राम्रो हेर्न सक्दैनन् । अर्काको कसरी लुटेर खाने, कुटेर खाने मानसिकता अहिले आम भइसकेको छ । अहिलेको युवामा त झन अनुशासन र व्यवहारिक ज्ञानको अभाव देखिन्छ ।
राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमान्दार हुनु र आफ्नो कर्तव्य पूरा गर्नु नै नैतिकता हो । यो कुनै किताबी ज्ञान मात्रै होइन, हाम्रो जीवनका हरेक पाटोमा लागु हुने कुरा हो । हामी कुन कुरालाई राम्रो र कुन कुरालाई नराम्रो मान्छौं भन्ने कुरा पनि नैतिकताको आधारमा तय हुन्छ । नेपाल जस्तो विविधताले भरिएको देश, जहाँ विभिन्न जात, धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै समाजमा बस्छन् । यस्तो समाजमा नैतिकताको विशेष महत्व हुन्छ । जब व्यक्ति, परिवार, समाज, संस्था र राज्य सबैमा नैतिकता हुन्छ, तब मात्र एउटा सभ्य, समृद्ध र न्यायपूर्ण देश बन्न सक्छ ।
तर अहिलेको समयमा नेपालमा नैतिकताको खडेरी आएको हो कि जस्तो लाग्छ । मानिसहरू पैसा, पद, पहुँच र व्यक्तिगत फाइदाको पछि लागेर नैतिक मूल्य भुल्दै गएका छन् । राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, कृषि, सेवा सबै क्षेत्रमा अनैतिकता बढ्दो छ । यस्तो अवस्थामा नैतिकता के हो, कसरी हराउँदै गइरहेको छ र कसरी पुनस्र्थापना गर्न सकिन्छ ? गहिरो रपमा बुझ्न जरुरी छ । नेपालमा सबैभन्दा बढी नैतिकताको प्रश्न राजनीति क्षेत्रमा उठाइन्छ । नेताहरूले चुनावमा जनतालाई अनेक वाचा गर्छन् तर सरकारमा पुगेपछि ती वाचा बिर्सिन्छन् । पदको दुरुपयोग, भ्रष्टाचार, आपसी लडाइँ, भागबण्डा र पहुँचको राजनीति आज नेपालमा सामान्य बनिसकेको छ ।
राजनीतिमा इमान्दारिता
धेरै नेताहरूले जनताको सेवाको सट्टा सत्तामा टिकिरहन, आफन्त र कार्यकर्तालाई लाभ दिन र पैसा कमाउन मात्रै राजनीति गरेको जस्तो लाग्छ । दलहरूले घोषणा पत्रमा जे लेख्छन्, व्यवहारमा त्यो देखिँदैन । संसद जस्तो गरिमामय स्थानमा समेत विचार भन्दा शक्ति प्रदर्शन बढी देखिन्छ । राजनीतिमा नैतिकता भन्नाले सत्ताको लोभ नलिने, जनतासँग गरेको वाचा पूरा गर्ने, सार्वजनिक सम्पत्तिलाई आफ्नो सम्पत्ति नठान्ने, पारदर्शी निर्णय गर्ने, भ्रष्टाचार नगर्ने र राष्ट्रहितलाई प्राथमिकता दिने हो । जब नेताहरू नैतिक हुन्छन्, तब मात्र जनताले पनि राजनीतिलाई सम्मान गर्न थाल्छन् ।
सरकारी कर्मचारीहरूलाई ‘जनताको सेवक’ भनिन्छ, तर आजको यथार्थ त्यो भन्दा धेरै टाढा छ । सरकारी कार्यालयमा काम गराउन जानु भनेको घण्टौँ कुर्नु, फाइल खोज्नु, सिफारिस ल्याउनु र कहिलेकाहीँ घुस खुवाउनु भन्ने बुझिन्छ । धेरैजसो कर्मचारीहरू काममा ढिलो पुग्छन्, समयमै फाइल हेर्दैनन्, सेवाग्राहीमाथि हेलचेक्र्याइँ गर्छन् । कतिपयले त ठूला नेतासँगको सम्बन्ध देखाएर गैरकानुनी काम गरिदिन्छन् ।
सरकारी योजना, अनुदान, ठेक्कापट्टा, भर्ना, सरुवा आदि सबैमा पारदर्शिता नभएको गुनासो सर्वत्र सुनिन्छ । राष्ट्रसेवक कर्मचारीहरूमा कार्यक्षमता, समयपालना, निष्पक्षता, उत्तरदायित्व, सेवा भावना, इमान्दारी र कर्तव्यप्रति निष्ठा हुनुपर्ने हो । जब कर्मचारीहरू आफ्नो कामलाई धर्म सम्झेर गर्छन्, तब जनताले पनि सरकारी सेवाप्रति भरोसा राख्न थाल्छन् । महिला समाजको आधा हिस्सा हुन् । उनीहरू घर, समाज र राष्ट्रको विकासमा समान रूपमा महत्वपूर्ण छन् ।
तर लामो समयसम्म महिलालाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको इतिहास छ । पछिल्ला वर्षहरूमा शिक्षा, रोजगार, राजनीति र कानुनी अधिकारमा प्रगति भए पनि व्यावहारिक रूपमा महिला अझै पनि धेरै समस्यामा छन् ।
विद्यार्थीहरू राष्ट्रको भविष्य हुन् भनेको त सबैतिर सुनिन्छ । तर आजका विद्यार्थीहरू राजनीतिक दलका समर्थक भएर आफू पढ्न भन्दा बढी अरूलाई दबाब दिने काममा लागेका छन् । शिक्षण संस्थाभित्र हड्ताल, तोडफोड, गुरु–शिष्य सम्बन्धमा गिरावट, अनुशासनहीनता आदिले नैतिक मूल्य खस्किरहेको देखिन्छ । शिक्षा भनेको केवल किताबको ज्ञान होइन, जीवनको आचरण हो । विद्यार्थीमा समयको मूल्य बुझ्ने, इमान्दारीपूर्वक अध्ययन गर्ने, शिक्षक र अभिभावकको सम्मान गर्ने, विचार र व्यवहारमा सन्तुलन राख्ने क्षमता विकास हुनु आवश्यक छ ।
मारमा किसान
नेपालको ठूलो जनसंख्या कृषि पेशामा निर्भर छ । किसानहरू देशका मेरुदण्ड हुन् भन्ने कुरा सबैले भन्छन्, तर उनीहरूको अवस्था भने दिनदिनै कमजोर हुँदै गइरहेको छ । सरकारले घोषणा गर्ने अनुदान, सहुलियत ऋण, बीउबिजन र मलखाद समयमै किसानसम्म पुग्दैन । कतिपय अवस्थामा किसानहरू आफू उत्पादन गर्नुभन्दा पनि विदेशबाट आएको वस्तु उपभोग गर्न बाध्य छन् ।
केही किसानले अनुदानको दुरुपयोग गर्ने, झुटा कागजात बनाउने, सहकारीमा अनियमितता गर्ने जस्ता व्यवहार पनि देखिन्छ । यस्तो प्रवृत्तिले सबै किसानको नाम बदनाम हुन्छ । अर्कोतर्फ, सरकारको कमजोरी र बजार व्यवस्थापनको अभावले गर्दा पनि किसानहरू हतोत्साहित भएका छन् । किसानमा इमान्दारी, सहयोगी भावना, पारदर्शिता र मिसावटरहित उत्पादन गर्नु अत्यावश्यक हुन्छ ।
व्यापारीहरू समाजका आर्थिक इञ्जिन हुन् । उनीहरूकै माध्यमबाट सामान, सेवा र उत्पादन जनतासम्म पुग्छ । तर आज नेपालमा व्यापारिक नैतिकता कमजोर हुँदै गएको छ । नाफा कमाउने लोभमा नापतौलमा बेइमानी, म्याद सकिएको सामान बेच्ने, गुणस्तरहीन उत्पादन, मिसावट, कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, कर नतिर्ने, सरकारी अनुगमन छल्ने जस्ता कार्यहरू देखिन्छन् । व्यापार केवल मुनाफाका लागि होइन, समाजप्रतिको उत्तरदायित्वसहितको पेसा हो । ग्राहक ठगेर कमाएको पैसा दीर्घकालीन हुँदैन । व्यापारीमा सत्य र पारदर्शी कारोबार, गुणस्तरको सम्मान, करको पालना, ग्राहकको सम्मानजस्ता गुण आवश्यक छन् ।
समाजिक नैतिकता
नेपालमा विभिन्न पेशा गर्ने मानिस छन् । जसमा पनि डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षकजस्ता पेसाका व्यक्तिलाई समाजले ठुलो आदर गर्छ । तर यिनै पेसामा पनि नैतिकताको गिरावट देखिँदै गएको छ । डाक्टरहरूमा करुणा, संवेदनशीलता, समयको कदर र बिरामीप्रतिको सहानुभूति आवश्यक छ । इन्जिनियरहरूमा गुणस्तरीयता, पारदर्शिता, प्राविधिक इमान्दारी र राष्ट्रप्रतिको जिम्मेवारी जरुरी छ । पत्रकारहरूमा सत्य, निष्पक्षता, स्रोतको गोपनीयता र जनताको हितमा काम गर्ने भावना हुनुपर्छ । शिक्षकहरूमा आत्मबल, ज्ञानको निष्ठा, विद्यार्थीप्रतिको माया र साँचो गुरु बन्ने भावना अनिवार्य छ ।
आजको युग सञ्चारको युग हो । मिडिया र सोसल मिडियाको हो । सामाजिक सञ्जालकझ प्रभाव अहिले समाजमा व्यापक छ । सूचना, समाचार, विचार, बहस र चेतना जनतासम्म पु¥याउने काम यिनै माध्यमबाट हुन्छ । तर सूचना भन्दा अफवाह, सत्य भन्दा सनसनी, शिक्षाप्रद भन्दा विवादास्पद सामग्रीहरू बढी प्रस्तुत भइरहेको देखिन्छ । कुनै पनि विषयको पुष्टि नगरी समाचार बनाउने वा सामाजिक सञ्जालमा अफवाह फैलाउने काम बढ्दो छ । कतिपय मिडिया संस्थाहरू राजनीतिक स्वार्थमा काम गरिरहेका छन् भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अरूको चरित्र हत्या गर्न, जातीय घृणा फैलाउन वा झुटो समाचार फैलाउन सक्रिय देखिन्छन् ।
आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सत्य, विवेक, शिष्टता र सहनशीलता हुनु अत्यावश्यक छ । डिजिटल पोस्ट साँचो, प्रमाणमा आधारित र समाज हितमा हुनुपर्छ । अरूको गोपनीयता, आत्मसम्मान र सामाजिक सद्भावलाई असर पु¥याउने कुनै पनि सूचना अनैतिक हुन्छ । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले जिम्मेवार नागरिकको परिचय दिनुपर्छ ।
हाम्रो समाजको आधार भनेको नागरिक नै हो । हरेक नागरिकले आफू जहाँ छ, जस्तो छ, त्यहीँबाट नैतिक व्यवहार गर्न सुरु गरे भने समाज बदलिन धेरै समय लाग्दैन । सार्वजनिक ठाउँमा फोहोर नगर्नु, लाइनमा लागेर पालो पर्खिनु, कर तिर्नु, झुट नबोल्नु, सवारी नियम पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, छिमेकीसँग सहिष्णु व्यवहार गर्नु यी सबै काम साधारण लाग्न तर नैतिकताको कडी हुन् ।
कानुनको आँखा छल्नु
कहिलेकाहीँ हामी कानुन नलाग्ने ठाउँमा जानी–जानी अनैतिक काम गर्छौं । पानी चोरेर सिँचाई गर्नु, लोडसेडिङमा अनधिकृत लाइन जोड्नु, चाडपर्वमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्नु जस्ता व्यवहारले समाजको अनुशासन मात्र होइन, व्यक्तित्व पनि कमजोर पार्छ । समाजलाई नैतिक बनाउन धेरै काम गर्न सकिन्छ । हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षा अनिवार्य हुनुपर्छ, बाल्यकालदेखि नै मूल्य आधारित शिक्षा दिनुपर्छ । विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, राम्रो मानिस बन्ने शिक्षामा जोड दिनुपर्छ ।
शिक्षक, अभिभावक र समाजले केवल उपदेश होइन, व्यवहारबाट उदाहरण देखाउनुपर्छ । धार्मिक र सांस्कृतिक संस्थाहरूले मानवता र सदाचारको प्रचार गर्नुपर्छ, अन्धविश्वास होइन । यस्तै सामाजिक सञ्जालमा प्रयोगकर्तालाई सचेत बनाउने अभियानहरू चलाउनुपर्छ, जसले साइबर मर्यादा सिकाउँछ । भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोग गर्नेलाई जुनसुकै तहको व्यक्ति भए पनि कडा कानुनी कारबाही गरिनुपर्छ ।
सामुदायिक तहमा नैतिक बहस, गोष्ठी, नाटक, चित्रकला, कविता, लेखनजस्ता सिर्जनात्मक कार्यक्रमबाट चेतना फैलाउनुपर्छ । अन्तिममा, नैतिक व्यक्ति, संस्था वा नेतृत्वलाई सार्वजनिक रूपमा सम्मान गर्ने संस्कार बसाल्नुपर्छ, जसले समाजमा राम्रोको प्रेरणा दिन्छ । नैतिकता भन्नु आदर्श होइन, व्यवहार हो । यो हाम्रै बोली, चालचलन, सोच, कर्म, सम्बन्ध र जिम्मेवारीमा झल्किन्छ । जब मानिसहरूमा नैतिकता बलियो हुन्छ, तब समाज स्वतः सुरक्षित, न्यायपूर्ण र शान्त हुन्छ । नैतिकता कमजोर हुँदा कानुनले मात्र सबै कुरा रोक्न सक्दैन ।
(प्रेम चन्द्र झा रौतहटका पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया