चर्चित भारतीय अभिनेत्री तथा राजनीतिज्ञ स्मृति इरानी आफ्नो लोकप्रिय टेलिभिजन धारावाहिक ‘क्योंकि सास भी कभी बहू थी’ को दोस्रो सिजनमार्फत पुनः पर्दामा फर्कने चर्चामा हुनुहुन्छ । टेलिभिजन उद्योगबाट राजनीति र त्यसपछि पुनः टेलिभिजनमा फर्किनु भएका इरानीले आफ्नो करियरका बारेमा सोहा अली खानको कार्यक्रम ‘अल अबाउट हर’ मा खुलेर कुरा गर्नुभएको छ ।
स्मृति इरानीले आफ्नो करियरको सुरुवाती दिनहरूमा धेरै संघर्ष गर्नुपरेको बताउँदै उहाँले मिस इन्डियाको प्रतिस्पर्धामा भाग लिनका लागि आफ्ना बुबाबाट १ लाख भारु ऋण लिएको पनि खुलासा गर्नुभयो । त्यसबापत उहाँले एक वर्षभित्र पैसा फिर्ता गर्न नसके बुबाले रोजेको केटासँग विवाह गर्ने सर्त स्वीकार गर्नुभएको थियो ।
राजनीतिमा प्रवेश गर्दा आफ्नो करियरमा नोक्सान भएको बताउँदै इरानीले भन्नुभयो, ‘मानिसहरूले करियरको अन्त्यमा राजनीतिमा आउँछन् भन्ने सोच्छन्, तर म त करियरको सुरुवातमा नै राजनीतिमा आएँ । यसकारण मैले यहाँ धेरै मेहनत गर्नुप¥यो ।’ राजनीतिमा सक्रिय भएपछि इरानी टेलिभिजनबाट पूर्ण रूपमा टाढा हुनुभएको थियो । उहाँ भारत सरकारको मानव संसाधन विकास मन्त्री, कपडा मन्त्री र सूचना तथा प्रसारण राज्यमन्त्री (स्वतन्त्र प्रभार) जस्ता महत्त्वपूर्ण पदमा कार्य गर्नुभयो ।


तपाईको प्रतिक्रिया