बर्खाले धानमा क्षति

सुदूरपश्चिमका किसान यतिबेला खेतमा पाकेर झुलिसकेको बर्खे धान काट्न नपाउँदा चिन्तित बनेका छन् । लगातार वर्षा र आकाशमा मडारिएको बादलका कारण धान भित्र्याउने समय ढिलो भएको किसानहरू बताउँछन् । धनगढीका किसान वीरबहादुर रानाले भन्नुभयो, “दुई हप्ताअघि नै काट्ने समय भइसकेको धान अझै खेतमै झुलिएको छ । मौसमको भर नहुँदा काट्न सकिएको छैन । कतिपय ठाउँमा काटेको धान वर्षाले भिजाएर बिगारेको छ ।”

दशैं सकिएसँगै तिहारको तयारीमा रहेका किसानहरूलाई मौसमले फेरि चिन्तित बनाएको छ । केही दिनअघिसम्म सामान्य रहेको मौसम अहिले फेरि खराब बन्दै जाँदा बाली सुकाउने समस्या थपिएको छ । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार, मनसुन निष्क्रिय भइसके पनि स्थानीय वायुको प्रभाव रहिरहेकाले सुदूरपश्चिमका केही स्थानमा अझै वर्षा हुने सम्भावना छ ।

कैलालीका किसान लक्ष्मण चौधरीले भन्नुभयो । “फूलपातीको दिन काटेर खेतमै सुकाइ राखिएको धान राति परेको पानीले भिजाएर क्षति पु¥यायो । आकाशमा बादल हट्ने नाम नै छैन, अब काटौँ कि कुर्लौँ भन्ने अवस्थामै छौँ ।” कृषि प्राविधिकका अनुसार पछिल्ला वर्षहरूमा धान बाली भित्र्याउने समयमै वर्षा हुने समस्या दोहोरिँदै आएको छ । यसले उत्पादनमा कमी ल्याउने डर बढेको छ । कृषि विकास निर्देशनालयका तथ्याङ्कअनुसार, सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ८१ हजार हेक्टरमा बर्खे धानखेती हुने गर्छ । सबैभन्दा बढी कैलाली ७२ हजार ५०० हेक्टर र कञ्चनपुर ४८ हजार ४९० हेक्टर मा खेती हुने गरेको छ । प्रदेशभर बर्खे धानको वार्षिक उत्पादन करिब पाँच लाख ८६ हजार मेट्रिक टन रहेको छ ।

तपाईको प्रतिक्रिया