माओवादी नेता उमेश यादवले पार्टी नछोडेको स्पष्ट पार्दै भन्नुभयो, “हामी पार्टीमै रहेर निर्णायक संघर्ष गर्दैछौं”
२३ कार्तिक २०८२, शनिबार १०:२७
काठमाडौं कात्तिक २२ गते । माओवादी केन्द्रका नेता उमेश कुमार यादवले आफूले पार्टी छोडेको समाचार असत्य र भ्रामक रहेको स्पष्ट पार्नुभएको छ । जनार्दन शर्माले गठन गरेको नयाँ समूहमा आफू पनि गएको भन्ने अनलाइनमा आएका समाचारको खण्डन गर्दै उहाँले आफू अझै पनि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमै रहेको बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल र सञ्चारकर्मीहरूमार्फत् जारी गरिएको प्रतिक्रियामा भन्नुभएको छ– “मैले आफ्नो कुरा आदरणीय अध्यक्ष कमरेडसँग राखेर आएको छु। अध्यक्ष कमरेडको निर्णय र साथ दिने साथीहरूको सुझावपछि मात्र हामीले सामूहिक निर्णय गर्छौं।”
नेता यादवका अनुसार, उहाँले विगत नौ वर्षदेखि पार्टीभित्रकै अपमान, असहजता र बेवास्ताबीच पनि संगठन नछोडी संघर्ष गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “आफैंले रगत, पसिना बगाएको पार्टीबाट बाहिर नजानु परोस् भनेर नौ वर्षदेखि संघर्ष गरिरहेको छु। पार्टी छोडेर भागेकाहरू फर्किएपछि चाकरी र गुटबन्दी गर्नेहरूलाई अवसर दिइएको छ, तर म त्यस्तो मार्गमा हिँड्ने होइन ।”
नेता यादवले आफूले पाएको जिम्मेवारीहरूमा सधैं सकारात्मक परिणाम निकाल्दै आएको दाबी पनि गर्नुभएको छ । उहाँका अनुसार, माओवादी केन्द्रभित्र भाइ–भतिजा र नातागोता हेरेर पदोन्नति गर्ने प्रवृत्तिले संघर्षशील कार्यकर्ताहरूलाई पछाडि पार्ने काम भइरहेको छ ।
उहाँले थप भन्नुभयो, “हामी पार्टी छोड्दैनौं । नौ वर्षदेखि पार्टीमै रहेर संघर्ष गर्दैछौं । पार्टीबाट लखेट्नेहरू सफल भए भने त्यसपछि सोच्नेछौं । तर त्यस स्थितिमा पनि राम्रो उनीहरूकै हुँदैन ।” मधेसमा संगठनात्मक असन्तुलन र कार्यकर्तामाथिको अन्यायबारे आवाज उठाउँदै यादवले सप्तरी लगायत अन्य जिल्लाका माओवादी कार्यकर्ताहरू असन्तुष्ट रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई सप्तरीको जनता र मधेस प्रदेशका जनता जोगाउन पहिलो पंक्तिमा अवश्य उभिनेछन् भन्ने विश्वास छ।”
तपाईको प्रतिक्रिया