तीन दिनसम्म चलेको दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ पुस ११ गते सम्पन्न भयो । काठमाडौंको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा पुस ८ गतेदेखि सुरु भएको सो प्रदर्शनीको संयोजन प्रख्यात मिथिला चित्रकार रञ्जु यादवले गर्नुभएको थियो । सो प्रदर्शनीको उद्घाटन नाफाका कुलपति नारदमणि हार्तम्छालीले गनुृभएको थियो । हार्तम्छालीले कला प्रदर्शनी संस्कृतिगत समझदारी, सिर्जनशीलता तथा जनस्तरको अन्तरदेशीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
प्रदर्शनीका क्युरेटर तथा आर्ट हब ढाकाका निर्देशक तैमुर हन्नान (बंगलादेश)ले पनि आफ्नो धारणा राख्दै सीमा पार कलात्मक सहकार्यको महत्व बारे प्रकाश पार्नुभएको थियो । नेपाल–बंगलादेश बिच अघिल्ला सांस्कृतिक आदान–प्रदानको स्मरण गर्दै यस्ता अन्तर्राष्ट्रिय कला मञ्चले सिर्जनात्मक संवाद गहिरो बनाउने र क्षेत्रीय मित्रता सुदृढ गर्ने बताउनुभयो ।
वरिष्ठ मिथिला चित्रकार विभा लालले धन्यवाद ज्ञापन गर्दै आयोजक, सहभागी चित्रकार, सहयोगी तथा दर्शकप्रति कृतज्ञता व्यक्त गर्नुभयो । वरिष्ठ साहित्यकार दम्पती धिरेन्द्र प्रेमर्षि र रूपा झा, मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरी, नाफाका सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, नाफाका परिषद् सदस्यहरू दिनेश्वर महतो, अरुणा हिङमाङ्ग, प्रदीप अधिकारी ‘सुसान्त’, सौरगंगा दर्शनधारीका साथै वरिष्ठ चित्रकार तथा पत्रकार केशव राज खनाललगायतले प्रदर्शनीको अवलोकन गरेका थिए ।
कार्यक्रमको अर्को प्रमुख आकर्षण पुस १० गते सम्पन्न कला कार्यशाला थियो । जसको संयोजन प्रदर्शनी संयोजक तथा मिथिला चित्रकार रञ्जु यादवले गर्नुभएको थियो । प्रदर्शनी संयोजक तथा प्रख्यात मिथिला चित्रकार रञ्जु यादवले कला भूगोल, विचारधारा र पहिचानको सीमा भन्दामाथि उठ्ने सार्वभौमिक भाषा भएको बताइन् । कार्यशालामा नेपालका नौ जना र बंगलादेशका छ जना चित्रकारहरु सहभागी थिए ।


तपाईको प्रतिक्रिया