धुरन्धर फिल्मका कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रिएससँग गोप्य रूपमा इन्गेजमेन्ट गरेको खुलासा गरेका छन् । अभिनेताले स्वयं यो कुराको खुलासा गरेका हुन् । साथै, उनकी प्रेमिका गेब्रिएलाले उनीहरू चाँडै विवाह गर्न सक्ने बताएकी छन् । हालै अर्जुन रामपाल प्रेमिका गेब्रिएलासँग रिया चक्रवर्तीको पोडकास्टमा पुगेका थिए । यस क्रममा दुवैले आफ्नो सम्बन्धबारे कुरा गरे। कुराकानीका क्रममा गेब्रिएलाले भनिन्, ‘हामी अहिले विवाहित छैनौँ, तर हामी चाँडै विवाह गर्न सक्छौँ ।’
त्यसैक्रममा अर्जुन रामपालले भने, ‘हाम्रो इन्गेजमेन्ट भइसकेको छ ।’ यो सुनेर रिया चक्रवर्ती चकित भइन् र सोधिन्, ‘तपाईँहरूको इन्गेजमेन्ट भइसकेको छ ?’ जवाफमा अर्जुन रामपालले भने, ‘हो, हामीले यो कुरा पहिलोपटक तपाईँको शोमा बताइरहेका छौँ ।’ यो पोडकास्टको प्रोमो जारी गर्दै रिया चक्रवर्तीले जोडीलाई बधाई पनि दिएकी छन् । उनले लेखेकी छन्, ‘सहरका सबैभन्दा कूल जोडीलाई बधाई होस् ।’
अर्जुन रामपालले सन् १९९८ मा मोडल मेहर जेसियासँग विवाह गरेका थिए । यस विवाहबाट उनीहरूका माहिका र मायरा नामका दुई छोरी छन् । विवाहको २० वर्षपछि अर्जुन रामपाल र मेहरले सम्बन्धविच्छेद गरेका थिए । छोरीहरूको कस्टडी मेहरसँग छ । मेहरसँग सम्बन्धविच्छेद भएपछि सन् २०१९ मा उनले मोडल गेब्रिएलासँगको सम्बन्ध पुष्टि गर्दै उनी गर्भवती भएको घोषणा गरेका थिए । गेब्रिएलाले सन् २०१९ को जुलाईमा छोरा एरिकलाई जन्म दिइन् । यसको चार वर्षपछि २०२३ मा गेब्रिएलाले दोस्रो छोरा एरिवलाई जन्म दिएकी छन् । अब ६ वर्षको सम्बन्धपछि यो जोडीले चाँडै विवाह गर्ने तयारी गरेको छ ।
अर्जुन रामपालले डिसेम्बर ५ मा रिलिज भएको फिल्म ’धुरन्धर’ मा मेजर इकबालको नकारात्मक भूमिका निभाएका छन् । उनको अभिनय र फिल्म दुवैलाई दर्शकले रुचाइरहेका छन्। फिल्मले ९ दिनमै ३०० करोडभन्दा बढीको कमाई गरिसकेको छ ।
तपाईको प्रतिक्रिया