सम्भवतः नेपालकै सबभन्दा कान्छी प्रधानाध्यापक अर्थात हेडमास्टर्स हुनुहुन्छ, रक्षाकुमारी यादव (चन्दु) । रक्षालाई घरमा बोलाउने नाम चन्दु हो । उहाँ २० वर्षको उमेरमै दाङकै बबई गाउँपालिका वडा नं ७ जलजलास्थित सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापक बन्नुभयो । २० वर्षको उमेरलाई केटाकेटीको उमेर नै भनिन्छ । यो पढ्ने लेख्ने र आफ्नो क्यारियर बनाउने उमेर हो । तर कलिलै उमेरका रक्षाकुमारीको काँधमा त्यो जिम्मेवारी आइपुग्यो ।
प्रधानाध्यापक जस्तो महत्वपूर्ण प्रशासनिक जिम्मेवारी उहाँले रहरले होइन बाध्यताले स्विकार गर्नुभएको हो ।
घरको चार सन्तानमध्ये दोस्रो जेठी छोरीको काँधमा घरको जिम्मेवारी पनि थियो । घरकै जिम्मेवारीका कारण उहाँले अर्को काँधमा प्रावि हेडमास्टरको जिम्मेवारी पनि लिनुभयो । दाङको देउखुरीस्थित राजपुर गाउँपालिका वडा नं ३ भैरहवाका बुवा लौकुश यादव र आमा धर्मीदेवी यादवका चार जना सन्तानमध्ये दोस्रो जेठी छोरी हुनुहुन्छ रक्षााकुमारी यादव । लौकुशका जेठो छोरा हेमराज यादव हुनुहुन्छ भने तेस्रो कान्छो छोरा राहुल यादव र चौथो कान्छी छोरी समिक्षा यादव हुनुहुन्छ । समिक्षा १२ मा बढ्दैछिन् भने राहुल यादव र हेमराज यादवको पनि क्याम्पसमा उच्च शिक्षाको पढाइ जारी छ ।
रक्षा यादवलाई सोधेका थियौं, तपाईको दाइ पनि हुनुहुन्छ, अनि घरको जिम्मेवारी तपाईको काँधमा किन आयो अनि उहाँको जवाफ थियो, ‘दाई पनि पढ्दै हुनुहुन्थ्यो, म पनि पढ्दै थिए तर घरको आर्थिक अवस्थाका कारण मैले सुरुदेखि जागिरको लागि प्रयास गरे, र मैले पाए पनि दाइ अझै पढ्दै हुनुहुन्छ । दाइले आफ्नो पढाइको खर्च घरबाट नै म्यानेज गर्नुहुन्छ यता भाइ राहुल र बहिनी समिक्षालाई मैले अलिअलि सहयोग गर्छु ।’

अभावको शैक्षिक यात्रा
रक्षाकुमारी पढाइमा तेज नै हुनुहुन्थ्यो, उहाँलाई कति धेरै पढौं भनि लाग्थ्यो तर घरको आर्थिक अवस्थाले उहाँलाई कहिले साथ दिएन । अहिले उहाँ आफै कमाउन थाल्नुभएको छ तर समयले साथ दिइरहेको छैन । बुवा लौकुश वनको कर्मचारी हुनुहुन्थ्यो त्यतिबेला । छोरी (रक्षा)लाई बोर्डिङ स्कूलमा भर्ना गर्नुभयो । त्यतिबेला उहाँको गाउँमा बोर्डिङ स्कुल थिएन । लम्हीमा दुई कक्षासम्म पढ्नु भयो । पछि उहाँको गाउँ राजपुरमा नै खुल्यो बोर्डिङ स्कूल । रक्षा त्यस स्कूलमा भर्ना हुनुभयो । तर त्यहाँ पढाइ राम्रो नभएपछि अर्को बोर्डिङ स्कूलमा तीन कक्षामा नाम लेखाउनुभयो । तर घरभन्दा टाढा थियो, खर्च पनि धेरै हुने भएका कारणले उहाँ बिचमै पढाइ छाड्नुभयो ।
रक्षा भन्नुहुन्छ, ‘त्यतिबेला मेरो बुवाले जागिर छाडि सक्नुभएको थियो, जागिर हुँदा केही सपोर्ट हुन्थ्यो जागिर छाडेपछि बोर्डिङ स्कूलको पढाइ धान्न नै गाह्रो भयो, दाइ पनि पढ्दै हुनुहुन्थ्यो ।’ त्यसपछि रक्षा गाउँकै जनकल्याण प्राविमा एकै पटक पाँच कक्षामा नाम लेखाउनुभयो । ३ र ४ कक्षा उहाँले पढ्नुभएन । जनकल्याण पाँच कक्षासम्म मात्र थियो । त्यहाँबाट पास गरेर उहाँ श्रीशंकर मावि राजपुरमा ६ कक्षामा नाम लेखाउनुभयो ।
रक्षाकुमारी घरको आर्थिक अवस्था यति कमजोर थियो कि सरकारी स्कुलको पढाइ खर्च व्यवस्थापन गर्न पनि गाह्रो थियो । संयोग उहाँले सिपी नेपाल (एक समाजिक संस्था)बाट छात्रवृति पाउनुभयो । आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने त्यो संस्थाले स्कूलको सिफारिसमा रक्षाकुमारीलाई सहयोग गर्न सुरु गरेको थियो । ६ कक्षादेखि १२ सम्म रक्षाले सिपी नेपालकै सहयोगमा पढ्नुभयो । रक्षा भन्नुहुन्छ, ‘सायद सिपी नेपाल नभएको भए म यहाँसम्म आइपुग्ने थिएन होला । मेरो अध्ययन र अगाडि बढाउनमा सिपी नेपाल र विद्यालयको धेरै ठुलो सहयोग छ ।’
पढाइमा मेहनती र अब्बल रक्षालाई स्कूलका सरहरु पनि माया गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘मेरो म्याथ अलि कमजोर छ अँग्रेजी ठिकठिकै छ ।’ सिपी नेपालले कापी, किताबसहित अन्य शैक्षिक सामग्रीमा सहयोग गर्नुको साथै ट्युशन फिमा पनि सहयोग गथ्र्यो । अर्थात रक्षा पढाइका लागि घरको बोझ बन्नुभएन । रक्षाले २०७४ सालमा एसएलसी पास गर्नुभयो । त्यसपछि गढ्वाको बुद्ध ज्योति मावि (बोर्डिङ) मा नाम लेखाउनुभयो । त्यहाँ पनि सिपी नेपालको सहयोग थियो । गढवामा सानी आमा (मौसी) घरमा बस्नुहुन्थ्यो । २०७७ मा १२ पास गरेपछि रक्षा गोरखा मोडल सेकेन्ड्री स्कुलमा पढाउन सुरु गर्नुभयो ।
जागिरको यात्रा
आफू त पढ्नुभयो भाइ, बहिनीलाई पनि पढाउनुपर्छ भनि उहाँले तत्कालै जागिर सुरु गर्नु भएको थियो । त्यहाँ पढाउदै गर्दा उहाँले देउखुरी बहुमुखी क्याम्पस लमहीमा बीएडमा नाम लेखाउनुभयो । पढाइ र जागिरलाई उहाँले एकसाथ अगाडि बढाउदै हुनुहुन्थ्यो तर उहाँलाई गाह्रो भइरहेको थियो । रक्षाकुमारी भन्नुहुन्छ, ‘बोर्डिङ स्कूल पढाउँदा कामको निकै प्रेसर थियो, क्लाश पनि थुप्रै पढाउनु पथ्र्यो यता आफ्नो पढाइ पनि । स्कूल पढाउने कामले अध्ययनमा डिस्टर्ब भइरहेको छ भनि मलाई महसुस भइरहेको थियो तर के गर्नु बाध्यता थियो ।’ ब्याचलरको फस्र्ट इयरमा हुँदा रक्षा यादवले निमावि शिक्षकको लाइसेन्स पनि पास गर्नुभयो ।
त्यति नै बेला राजपुर गाउँपालिकामा स्वंयसेवक शिक्षकको लागि विज्ञापन निस्कियो । रक्षाले त्यो विज्ञापन भर्नुभयो । परीक्षा भयो, उहाँ पास पनि हुनुभयो । त्यसपछि उहाँले जनज्योती मावि राजपुर–२ शिक्षिकाको रुपमा काम गर्न थाल्नुभयो । उहाँ भन्नुभयो, ‘बोर्डिङ स्कूलमा मलाई गाह्रो भइरहेको थियो, तलब पनि त्यति थिएन कतिबेला छाडि हालौ जस्तो भइरहेको थियो तर बाध्य भएर त्यहाँ काम गरिरहेका थिए । लगभग आठ महिना त्यहाँ पढाएर छाडे ।’ रक्षा यादव त्यतिकैमा शान्त हुनेबाला हुनुहुन्थेन । उहाँ जनज्योतिमा काम गर्दैगर्दा शिक्षक सेवाको तयारीमा लाग्नुभयो ।
यसरी हुनुभयो हेडमास्टर
शिक्षक सेवा पनि उहाँले पास गर्नुभयो । ब्याचलर पढ्दै गर्दा उहाँ स्थायी शिक्षिका हुनुभयो । उहाँ २०८० चैत २७ गते नियुक्तिपत्र लिएर दाङकै बबई गाउँपालिका वडा नं ७ जलजलास्थित सरस्वती आधारभूत विद्यालयमा जानुभयो । त्यहाँ एक जना करार शिक्षक हेडमास्टर हुनुहुन्थ्यो । नियमले भन्छ स्थायी शिक्षक आइसकेपछि करार शिक्षक हेडमास्टर रहन पाउदैनन् । स्थायीले स्वतः पाउछ । पहिलो दिन स्कूलमा नियुक्तिपत्र लिएर जाँदा कसैले उहाँलाई पत्याएन । रक्षा २० वर्षको हुनुहुन्थ्यो । केटाकेटी जस्तो देखिएको कारण त्यहाँका हेडमास्टर र अन्य शिक्षकहरु नपत्याएपछि उहाँ त्यो दिन फर्किनु भएको थियो । त्यसपछि स्कुल व्यवस्थापन समितिका अध्यक्षका साथमा त्यहाँ गएपछि मात्र पत्याएका थिए ।
पहिलो दिन नै उहाँलाई हेडमास्टरको जिम्मेवारी दियो तर रक्षालाई हेडमास्टर बन्ने मन थिएन । रक्षा यादवले सहारा टाइम्ससँग भन्नुभयो, ‘मलाई हेडमास्टर बन्ने फिटिक्कै मन थिएन, मलाई चाहिदैन पनि भने । जो हुनुहुन्छ उहाँ नै चलाउनुहोस् म शिक्षिका भएर यहाँ काम गर्छु भने तर नियमले मिल्दैन मिस तपाई नै हुनुुपर्छ भनि कुरा आयो अनि बाध्य भएर हेडमास्टर पद स्विकार गरे ।’ सुरुदेखि शिक्षिका भएर काम गरेको कारण आफूलाई पढाउन कुनै गाह्रो थिएन, त्यसमै आनन्द लाग्थ्यो भन्दै उहाँले प्रशासनिक काम मेरो लागि बिल्कुल नयाँ थियो त्यो पनि अचानक आयो, त्यसलाई सम्हाल्नै पर्ने परस्थिति आएको बताउनुभयो ।
छिमेकीको सहयोग
चार–पाँच महिना त उहाँलाई निकै गाह्रो भएको थियो । यसअघिका हेडमास्टर स्कूल छाडेर हिडिसक्नुभएको थियो । जुन दिन रक्षा यादवले हेडमास्टरको पद सम्हाल्नुभयो त्यही दिन अघिल्लो हेडमास्टर करारको जागिर छाडेर जानुभयो । त्यहाँ भएका कामकाजको बारेमा बताउने पनि कोही भएन । अरु शिक्षक तथा स्टाफलाई प्रशासनको बारेमा केही जानकारी नै थिएन । रक्षालाई निकै आपत्त आइलाग्यो । तर उहाँ हिम्मत हार्नुभएन । छिमेकी स्कुलका हेडमास्टरहरुसँग उहाँले परामर्श गर्न थाल्नुभयो ।

कहिले काही आफ्नो स्कूलका फाइल नै लिएर अर्को स्कूलमा गएर त्यहाँका हेडमास्टरहरुसँग सल्लाह गर्नुहुन्थ्यो । रक्षा यादव भन्नुहुन्छ, ‘त्यो प्रियड मेरो लागि निकै चुनौतीपूर्ण थियो, मलाई प्रशासनका केही जानकारी थिएन एकाएक जिम्मेवारी आइलागेथ्यो, मभन्दा अघिका हेडमास्टर स्कुल छाडेर गइसक्नुभएको थियो । म अरु स्कूलका हेडसरहरुबाट सहयोग मागेर कामहरु अगाडि बढाउदै गए, सबै कुरा थाह पाउन चार–पाँच महिना लाग्यो, अहिले कुनै गाह्रो छैन आनन्दले स्कूल चलाइ रहेको छु ।’
स्कुल अलि दुर्गममा छ । नेट तथा अन्य कुराको समस्या नै छ त्यहाँ । खानेपानीको पनि समस्या छ । उहाँले भन्नुभयो, ‘स्कूलमा समस्या कति छन् कति तर ती सबैलाई झेल्दै काम गरिरहेको छु ।’ समयमा किताब आउदैन, विद्यार्थीको छात्रवृतिका रकम पठाउदैन, दरबन्दी अनुसारको शिक्षक तथा कर्मचारी छैन । पटक पटक यसको जानकारी माथिल्लो निकायमा गराएको छु तर कुनै सुनुवाइ भएको छैन ।’ घरबाट ६०–७० किलोमिटर टाढा छ त्यो स्कुल । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।
मास्टर्स पढ्न मन तर…..
रक्षाकुमारीलाई बिहेका लागि घरबाट कुनै दबाब छैन । र, उहाँलाई पनि अहिले विवाहका लागि कुनै हतार छैन । उहाँ भन्नुहुन्छ, ‘मलाई बिहेको कुनै हतार छैन, घरमा पनि कुनै हतार छैन अझै केही गर्ने सोच छ, त्यसको तयारीमा लागेको छु स्कूलको हेडमास्टर भएपछि जिम्मेवारी अलि बढी नै छ त्यसले गर्दा पढाइलाई निरन्तरता दिन सकिरहेको छैन । भर्खर ब्याचलर सकाएको छु । मस्टर्स पढ्न मन छ तर फुर्सद छैन ।’ बिहेका लागि कुराहरु नआएको होइन तर रक्षाले मतलब राख्नु भएको छैन, उहाँले आफ्नो घरपरिवार र क्यारियरमा मात्र फोकस गर्नुभएको छ ।
उहाँ बिनि (विद्यालय निरिक्षक)को तयारीमा लाग्नुभएको छ । स्वयअध्ययन गरेर त्यसको तयारीमा जुट्नु भएको छ । बिएड सकाएको कारण त्यसमा फाइट गर्न सजिलो भयो । उहाँ भन्नुहुन्छ, ‘मलाई मास्टर्स पढ्ने मन छ तर अहिले सक्दिन अहिले म बिनीको तयारीमा जुटेको छु त्यसको विज्ञापन निस्किने बित्तिकै म त्यसमा भर्छु ।’



तपाईको प्रतिक्रिया