तराई मधेश केन्द्रीत दलहरु चुनावमा होमि सकेका छन् । बरु काँग्रेस–एमाले चुनावका लागि पूर्णरुपमा तयार भएका छैनन् तर मधेश केन्द्रीत दलहरु आफूलाई चुनावका लागि पूर्णरुपमा तयार गरिसकेका छन् । जब कि आफुहरुको माग पुरा भएन भन्दै आन्दोनलको धम्की र चेतावनी दिनका लागि संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका छन् । तर त्यो मोर्चालाई अहिले पुरै चुनावमा कन्भर्ट गरेका छन् ।
मधेशमा पहिचानका लागि आन्दोलन गरिरहेका छन् । ती दलहरुको कुरा सुन्दा, राजनीतिक दस्तावेज अध्ययन गर्दा चुनाव कहिले प्राथमिकतामा छैन तर उहाँहरु कसरी चुनाव जित्ने र सिंहदरवार पस्ने दाउमा हुनुहुन्छ । संविधान संशोधन उहाँहरुको बहाना मात्र हो । चुनाव हुने नुहुने अझै अन्योल छ । मधेशी केन्द्रीत दलका नेताहरुले चुनावमाथि प्रश्न उठाइ रहनु भएको छ भने अर्कोतिर चुनावको तयारीमा पनि लाग्नु भएको छ । त्यति मात्र होइन अगामी फागुन २१ गते हुने चुनावअघि दलहरुको बिचमा एकता हुने, एकता हुन नसकेका दलहरुको बिचमा गठबन्धन वा तालमेल हुने गृहकार्य पनि सुरु भइसकेको छ ।
मधेश केन्द्रीत छ वटा दलहरुले संघीय लोकतान्त्रिक मोर्चा बनाएका छन् । लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी नेपाल, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी अवद्ध छन् । यी सबै दलको लक्ष्य संविधान संशोधनका लागि सरकारमाथि दबाब बढाउनु हो । मोर्चा सार्वजनिक हुँदा कतैपनि चुनावका लागि गठबन्धन गर्ने वा पार्टीहरुको बिचमा एकता गर्ने कुरा कतै उल्लेख थिएन ।
तर अहिले लोकतान्त्रिक मोर्चा चुनावमा होमि सकेको छ । मोर्चाको एक मात्र लक्ष्य चुनाव भएको छ । मोर्चामा आवद्ध दलहरु कसरी चुनाव जित्ने र सिंहदरवार पस्ने लक्ष्य देखिएको छ । मोर्चामा रहेका दलहरुको बिचमा एकताकै लागि प्रयास भइरहेको छ । यही मोर्चा एकवद्ध भएर चुनावमा भाग लिन्छन् । सम्भव भए एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन्छन् नभए चुनावी तालमेल गरेर सीटको बाँडफाँट गर्नेछन् ।
मोर्चामा रहेका दलहरु बिचमा एकता नै गर्ने भनि दलहरुको बिचमा सैद्धान्तिक सहमति भइसकेको छ । कार्यान्वयनमा ल्याउनका लागि दलहरुको बिचमा आन्तरिक छलफल चलिरहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशलकुमार सिंहले बताउनुभयो । राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबिच एकताका लागि गृहकार्य चलिरहेको छ । राष्ट्रिय मुक्ति पार्टीले जनमुक्ति पार्टीसँग पनि एकताका लागि प्रयास गरिरहेको छ ।
यता, लोसपा नेपाल र जसपा नेपालबिच एकताका लागि धेरै कुरा अगाडि बढी सकेको छ । अर्कोतिर लोसपा, जनता प्रगतिशिल पार्टी र तमलोपाबिचमा पनि एकताका लागि गृहकार्य भइरहेको छ । उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालले एकताका लागि अशोक राइ नेतृत्वको जसपालाई प्रस्ताव गरिसकेको छ । जुन जुन दलहरु मुद्दा एजेण्डामा नजिक छन् ती दलहरु आपसमा एकताका लागि प्रयास गरिरहेका छन् ।
जसपा नेपालका महासचिव इस्तियाक राइले मुद्दा, एजेण्डा मिल्नेसँग मोर्चाबन्दी वा एकता गर्ने पार्टीले निर्णय गरिसकेको बताए । एकता तथा मोर्चाबन्दीका लागि विभिन्न दलबाट प्रस्ताव नै आएको बताउँदै उहाँले दलहरुसँग आन्तरिक छलफल भइरहेको बताउनुभयो । एकताका लागि प्रयास भइरहेको छ, एकता नभए कार्यगत एकता, मोर्चान्दी के हुन्छ त्यो गरेर अगाडि बढ्ने छ । लोसपा नेपालका महासचिव मनिष मिश्रले भन्नुभयो, ‘हाम्रो पहिलो पहिलो प्राथमिकता एकता नै हो, एकता नभए अरु विकल्पमा पनि जान सकिन्छ तर सबै दल तथा शक्ति एकठाउँमा रहने सोच र तयारी हो ।’
मधेशवादी दलहरु अहिले मात्र होइन बिगतमा पनि मोर्चा गरेर नै शक्तिमा आएका थिए । सुरुमा महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मोर्चा गठन गरेर मधेश आन्दोलन गर्नुभएको थियो । मोर्चाकै कारण आन्दोलन सफल भयो । मोर्चाकै कारण मधेशी दलहरु पटक पटक सरकारमा जानुभयो । आन्दोलनदेखि सत्ता सहकार्यमा मोर्चालाई प्रयोग गरेपनि चुनावका लागि मोर्चा कहिले पनि प्रयोग भएको थिएन । यसपटक मोर्चालाई चुनाव केन्द्रीत गरेको छ ।
मधेश केन्द्रीत दलहरु गठबन्धन, मोर्चा तथा महागठबन्धन बनाए पनि चुनावमा एक्ला एक्लै गएका थिए । बरु काँग्रेस, एमाले, माओवादी दलसँग चुनावी तालमेल गरेका थिए तर मधेशी दलहरुको बिचमा कहिले पनि चुनावी तालमेल भएको थिएन । त्यसैको नतिजा हो, २०७९ को चुनावसम्म आइपुग्दा ती दलहरु चार पाँच सीटमा सिमित भए । राष्ट्रिय दल बनाउन धौधौ भयो । त्यसबाट पाठ सिकेर यसपटक दलहरु चुनावका लागि संगठित भएका छन् ।
तराई मधेशका दलहरु निकै कमजोर भइसकेका छन् । कतिपयको दल विभाजन भएका छन् भने कतिपय दलबाट निस्केर अन्य ठुला दलहरुमा गइसकेका छन् । ती दलहरुप्रति आकर्षण पनि कम भएको छ । जेनजी आन्दोलनपछि त्यो चुनौती झन थपिएको छ । दलका नेताहरु चुनावमा राम्रो नतिजा ल्याउन सकिदैन कि भनि चिन्तामा छन् । त्यसै कारणले ती दलहरु अहिले एकता वा मोर्चाबन्दीका लागि विशेष जोड दिएका छन् । यसपटकको चुनावअघि दलहरुको बिचमा एकता नै गर्ने तयारी गरेको छ ।


तपाईको प्रतिक्रिया