Khadya Bibhag

सशंकित छन् मधेशी केन्द्रीत दलहरु

निर्वाचन आयोगले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरे पनि निर्वाचन हुनेमा जनताको भरोसा छैन । त्यसरी भरोसा नबढ्नुमा दलहरुको गतिविधि मुख्य रहेका छन् । जुन राजनीतिक दल चुनावमा भाग लिन्छन्, त्यही दलहरुले फागुन २१ मा चुनाव हुन नसक्ने अभिव्यक्ति दिन थालेपछि जनताले भरोसा गर्न छाडेका छन् ।

त्यसमध्ये मधेश केन्द्रीत दलहरु चुनावमाथि शंका मात्र होइन त्यसमाथि प्रश्न पनि तेर्साइएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले चुनावमाथि प्रश्न उठाएको छ । जसपा नेपालका अध्यक्ष यादवले आफ्नो राजनीतिक प्रतिवेदनमा नै क्रान्तिकारी परिवर्तन भनेको केवल सत्ताको हस्तान्तरण मात्र होइन, बरु सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक जीवनमा आमूल रुपमान्तरण रहेको उल्लेख गरेका छन् ।

उहाँले आफ्नो प्रतिवेदनमा भन्नुभएको छ, ‘‘जेनजी पुस्ताले गरेको विद्राहको उपलब्धि केवल सरकार परिवर्तन र २०८४ मा हुने संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सिमित रहने हो कि आशंका र दुविधा उत्पन्न भएको छ ।’’ जेनजी आन्दोलन चुनावका लागि मात्र भएको थिएन, आमुल परिवर्तनका लागि भएको थियो तर २०८४ हुने भनिएको चुनाव ८२ मा गराइ रहेको छ, त्यसबाहेक यो आन्दोलनको कुनै उपलब्धी नदेखिएको कुरा जसपा नेपालले मात्र होइन अन्य दलहरुले पनि उठाउन थालेका छन् ।

संविधान पुनर्लेखन
जसपा नेपालका अध्यक्ष यादवले यो चुनावले गर्दा संविधान संशोधन अथवा पुनर्लेखन, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन, समानुपातिक समावेशीकरण तथा पहिचान जस्ता महत्वपूर्ण राजनीतिक मुद्दाहरु ओझेलमा परेको बताउनुभएको छ । उहाँको कथन चुनावअघि नै यी सब माग पुरा हुनुपर्ने हो, त्यसैका लागि भदौं २३ र २४ को आन्दोलन भएको हो । चुनावबाट जनताले आआफ्नो क्षेत्रमा एक थान सांसद र संघमा एक थान सरकार पाउनुबाहेक अरु केही पनि नपाउने भएकाले चुनावअघि जेनजी आन्दोलनले उठाएको मुद्दा सम्बोधन हुनुपर्ने उहाँको तर्क छ ।

त्यस्तै कुरा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको तर्फबाट आएको छ । उहाँले भन्नुभएको छ, ‘‘प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलनको मर्म बुझ्दै बुझेन, लाग्छ चुनाव गराउनकै लागि जेनजी आन्दोलन भएको हो ।’ असोजको अन्तिम साता बसेको राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समितिमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा भन्नुभएको छ, ‘‘जेनजी आन्दोलनमा बलिदान दिएका युवाका लागि उनीहरुले उठाएका माग सुन्ने सट्टा सरकार प्रशासनिक सन्तुलन र नियुक्तिमा व्यस्त देखिन्छ ।’’

आन्दोलन पछिको परिस्थितिमा सेटलमेन्टको नाममा भएको सहमतिले अन्तरिम संविधान निर्माण नगरेर आन्दोलनको उपलब्धिलाई बेवास्ता गरेको उल्लेख गर्दैै अध्यक्ष महतोले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले “यो संबिधान भित्रै बसेर नै सबै काम गर्छु’’ भनिसक्नु भएको कारण जेनजी पुस्ताको माग यथास्थितिमा पुरा नहुने निश्चित भएको बताउनुभयो ।

संविधान सुधार आयोग
संविधान पुनर्लेखन, सत्य निरुपन तथा छानविन आयोग र भ्रष्टाचार नियन्त्रणका ठोस कदम नचालिँदा सरकार पुराना दलकै छायाँमा सीमित रहेको अध्यक्ष महतोको दावी छ । उहाँले भन्नुभयो, “यो आन्दोलन केवल सत्ता परिवर्तनमा सिमित हुनुपर्ने थिएन, औपनिवेशिक विचारसँगै संरचना र मूल्यपरिवर्तनको आन्दोलनको रुपमा पूर्णता दिइनु पर्ने थियो तर त्यस्तो केहि पनि देखिएको छैन ।”

उहाँले बहुल–संस्कृति, स्वशासन र समान अधिकार सुनिश्चित गर्न नयाँ संविधानका लागि “संविधान सुधार सुझाव आयोग’’ गठन गर्न माग गर्नुभएको छ । अध्यक्ष महतोले समावेशी निष्पक्ष निर्वाचनको निम्ति र आसन्न निर्वाचनको ख्याल गर्दै आगामी संसदले संस्थागत गर्ने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ रहनेगरी विशेष “अन्तरिम घोषणा“ गर्न पनि माग गर्नुभएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि कार्की नेतृत्वको सरकार निर्वाचन गराउने पक्षमा नदेखिएको गुनासो गर्नुभयो । जेनजी आन्दोलन चुनाव गराउनका लाग भएको थिएन, जेनजी आन्दोलनको उद्देश्य भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गराउनका लागि भएको थियो तर अहिलेको वर्तमान सरकार चुनाव मात्र एक एजेण्डा बनाएर अगाडि बढेको छ ।

२०८४ को चुनाव २०८२ मा गर्नका लागि जेनजी आन्दोलन भएको होइन भन्दै उहाँले वर्तमान सरकारले परिवर्तनको अनुभूति जनतालाई गराउन नसकेको बताउनुभयो । अहिलेको यो सरकारले गराएको चुनावबाट जेनजी पुस्ता आउनुमा आशंका रहेको बताउँदै उहाँले फेरि उही पुरानै दल आयो भने यो आन्दोलनको कुनै अर्थ रहदैन भनि टिप्पणी गर्नुभयो । परिवर्तनको अनुभूति हुने गरी सरकारले काम नगरेको उहाँले गुनासो गर्नुभयो ।

सुरक्षाको अनुभूति छैन
प्रहरीको हतियार लुटिएको छ, फिर्ता आएको छैन, कैदीहरु समातिएका छैनन्, भ्रष्टाचारीहरु कारवाही गरिएको छैन भने यो अवस्थामा चुनाव गराउन नसकिने बताउदै उनले देशमा दण्डहिनताको अवस्था जस्ताको त्यस्तै रहेको उहाँले बताउनुभयो ।

भ्रष्टाचार विरोधी आन्दोलनमा ७० जना भन्दा बढी जेनजीले सहादत दिएका छन् । तर कुनै ठाउँमा भ्रष्टाचार रोकिएको छैन । वडा कार्यालयदेखि मालपोत, अदालत, सिडियो कार्यालयलगायत जनतालाई सेवा दिने हरेक सरकारी कार्यालयको अवस्था त्यस्तै रहेको गुनासो भइरहेको छ । भ्रष्टाचारीहरुको फाइल गृहमन्त्रालयदेखि अख्तियारसम्म छन् । छानविन गरेर उनीहरुको माथि कारवाही गर्नुपर्ने हो तर सरकार आफूलाई चुनाव केन्द्रीत गरेको छ ।
जेलबाट भागका हजारौं अपराधी अहिले पनि जेल बाहिर छन् । हतियार, गोलीगठ्ठा पनि लुटिएका छन् । त्यो अहिले कहाँ कुन अवस्थामा छन् त्यसको कुराको जानकारी गराएको छैन । उहाँले यो अवस्थामा चुनाव गराउछु भन्नु जनतालाई मुर्ख बनाउनु हो भनि धारणा राख्नुभयो ।

यो सरकारले यो चुनावी सरकार हो, चुनावबाहेक अरु केही गर्दैन भनिसकेको छ भने २०८४ को चुनाव ०८२ मा गराएको भनि प्रष्ट रहेको उहाँले बताउनुभयो ।

चुनावको वतावरण बनाउ
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइले पनि चुनावको वतावरण तयार गर्न सरकारसँग माग गर्नुभएको छ । कात्तिक २० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आन्दोलनका कारण चुनावको वतावरण खल्बलिएको र त्यो वतावरण बनाउन आग्रह गरिएको छ । बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘‘भदौ २४ गते भएका आगजनी, प्रहरीको हत्या र हतियार कब्जा कैदी बन्दी फरार हुने लगायतका विध्वंशात्मक घटनाका अपराधीहरुको खोजी गर्न, अनुसन्धान गर्न र सजाय गर्न माग गर्ने ।’’ सरकारले निर्वाचनको वातावरण तयार गर्न शान्ति सुव्यवस्थाको प्रत्याभुति गरोस् भनि जसपाले सरकारलाई ध्यानकर्षण गराएको छ । ।

भ्रष्टाचारका काण्डहरुको छानविन गर्न माग गर्दै जसपाका अध्यक्ष राइले आगामी निर्वाचनमा सहभागी हुन सरकारले तयारमिा ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले चुनावको तयारीमा जुट्न आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले पनि चुनावको वतावरण बनाउनमा वर्तमान सरकार चुकेको बताउनुभयो । जेनजी आन्दोलनपछि बनेको सरकारले ६ महिनाभित्र चुनाव गराउने घोषणा गरेसँगै फागुन २१ गते चुनाव हुन गइरहेको छ तर जनतामा एकखालको भय अझै कायम रहेको छ, जनताले पनि चुनाव नहुने हो कि चिन्ता जाहेर गरिरहेको उहाँलेब बताउनुभयो ।

पछिल्लो समय जेनजी पुस्ताका अगुवा नेताहरुले चुनाव हुँदैन भनि अभिव्यक्ति दिन थालेका छन् । त्यसले चुनावमाथि आशंका उत्पन्न भएको छ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूहरुको माग पुरा नभएसम्म चुनाव नहुने चेतावनी दिइरहनु भएको छ । यो सरकार चुनाव मात्र गराउनका लागि मात्र बनेको होइन, भ्रष्टाचारीलाई जेल हाल्न, देशमा सुशासन कायम गर्न यो सरकार बनेको हो, अर्थात देशलाई स्थायित्व रुपमा कसरी अगाडि बढाउनका लागि यो सरकार बनेको हो तर ती सबै काम छाडेर चुनाव गराउनका लागि मात्र अगाडि बढेको छ त्यो गलत हो यसरी आफूहरु चुनाव हुन नदिने गुरुङले भन्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया