प्रतिनिधि सभा चुनाव: यस्तो छ मधेशी दलको भित्रि हिसाब किताब
६ माघ २०८२, सोमबार १२:४१
–श्रीमन नारायण,
राजनीतिमा व्याप्त भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना, राजनीतिबाट परिवारवादको अन्त्य र देशभित्रै रोजगारको अवस्था सृजना गर्ने घोषित लक्ष्य लिएर भदौँ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनले नेपालको राजनीतिमा अभूतपूर्व पराकम्पन ल्याईदिएको थियो । देशका स्थापित एवं पुराना राजनीतिक दलहरु पनि आफनो संगठनभित्र जेनजी नामक छुट्टै भातृ संगठन नै खोल्न थाले । यस्तो पहल देशका नव–युवा र युवाहरु प्रतिको स्नेह र सदासयताका कारण भयो कि अवसरवादी राजनीतिको यो एउटा सानो दाउपेच मात्रै थियो, त्यो त प्रष्ट भएन तर देशका राजनीतिक दलहरुले फागुन २१ गते हुन लागेको निर्वाचनमा आ–आफनो दलवाट निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको सूचिमा युवालाई केवल सांकेतिक प्रतिनिधित्व मात्रै गराए ।
अधिकांश दलहरुको मानसिकतामा कुनै खासै परिवर्तन आएको देखिएन । देशका ठुला दलहरु मात्रै होईनन, तराई मधेसका समस्याको समाधान गर्ने घोषित लक्ष्यसहित खोलिएका मधेशी दलहरु त जेनजी आन्दोलनको मर्म र भावनाको बिल्कुलै सम्मान गरेको देखिदैन । चुनावको समयमा मिलेर जाने तर चुनावी सफलतापछि पद, स्वार्थ र सत्ताका लागि छुट्टाछुट्टै दल खोल्ने प्रवृति अथवा मनोवृति मधेशी दलका नेताहरुमा कायमै रहेको छ । एक पटक फेरि पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबिच पार्टी एकता भएको छ । तर यो एकीकरण पनि धेरै दिनसम्म टिक्न सक्ला जस्तो कसैलाई लाग्दैन । कतै यो एकीकरण पनि केही ठुला भनिएका मधेशी दलका नेताहरुलाई चुनाव जित्नमा सहज होस् भन्ने उद्देश्यले मात्रै भईरहेको त छैन ? भन्ने आशंकाहरु भइरहेका छन् ।
उद्देश्य चुनाव जिताउने मात्र
मधेश र मधेशी जनताको आर्थिक–सामाजिक अवस्थामा परिवर्तन ल्याउने उद्देश्यले त यो एकीकरण पक्कै पनि भएको छैन । अवश्य नै यसको अभिष्ट भनेको केही नेताहरुलाई चुनाव जिताउनु मात्रै हो । मधेशी दलका नेताहरु जातिवाद, परिवारवाद, अवसरवाद र सत्तालोलुपताले ग्रसित छन् । जनता पनि मधेशी दलहरुलाई मतदान गर्न चाहन्नन् किनभने मधेशी दलहरुले जनताको समर्थन र विश्वास गुमाई सकेका छन् । मधेशी दलहरुमा अहिलेसम्म भएका विभाजन र विगतका निर्वाचनमा यसले गरेका प्रदर्शनहरु बारे विवेचना हुनु समय सापेक्ष देखिन्छ ।
२००८–२००९ सालतिर कुलानन्द झाले आफनो नेतृत्वमा, तराई काँग्रेसको स्थापना गरे । रामजनम तिवारी यसका महासचिव थिए । जबकी बेदानन्द झा उपाध्यक्ष थिए । बलदेवदासहरु कार्यकारिणी समितिका सदस्य थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा पार्टी अध्यक्ष कुलानन्द झाले आफना भाइ बेदानन्द झालाई पार्टीको अध्यक्ष बनाए । आम निर्वाचनमा तराई काँग्रेसले ४७ सिटमा उम्मेदवारी दिएको थियो । पार्टी अध्यक्ष बेदानन्द झाले चार ठाउँवाट उम्मेदवारी दिएका थिए तर पार्टीका सबै उम्मेदवारले पराजय भोग्नु परेको थियो । निर्वाचनमा करीव २ प्रतिशत मत ल्याएको यस पार्टीको मुख्य राजनीतिक एजेण्डामा, नेपालमा हिमाल, पहाड र तराई गरी तीन स्वायत्त प्रदेसको स्थापना गर्नु थियो ।
नेपालमा बहुदलीय व्यवस्थाको स्थापना पछि २०४८ सालमा भएको आम निर्वाचनमा गजेन्द्र नारायण सिंह नेतृत्वको एक मात्र मधेशी दल, नेपाल सदभावना पार्टीले ७५ उम्मेदवार खडा गरेकोमा पार्टीका ६ जना उम्मेदवारहरु चुनाव जित्न सफल भएका थिए । पार्टीले ४.१० प्रतिशत मत ल्याएको थियो । कुल मत दुई लाख ९८ हजार ६१० थियो । पार्टी अध्यक्ष गजेन्द्र नारायण सिंह, ह«दयेश त्रिपाठी, त्रियुगी नारायण चौधरी, सन्त प्रसाद चौधरी, मिर्जा दिलशाद वेग र श्यामसुन्दर गुप्ता चुनाव जितेका थिए । रामेश्वर राय यादव, राष्ट्रिय सभाका सदस्य थिए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेपाल सदभावना पार्टीलाई ठुलो धक्का लाग्यो । पार्टीले दुई लाख ६५ हजार ८४७ मत मात्रै ल्याउन सक्यो । यो कुलमतको ३.४९ प्रतिशत थियो । पार्टीको मतमा ०.६१ प्रतिशतले कमी आयो जबकी सिट संख्या पनि आधी हुन गयो । गजेन्द्र नारायण सिंह, ह«दयेश त्रिपाठी र अनिस अन्सारीले मात्रै चुनाव जित्न सके ।
.२०५६ सालमा भएको आम निर्वाचनमा नेपाल सदभावना पार्टीले दुई लाख ७७ हजार २३९ मत ल्याउन सक्यो । यो कुल मतको ३.२२ प्रतिशत थियो । पार्टीको मतमा केही बृद्धि भयो । पार्टी अध्यक्ष गजेन्द्र नारायण सिंह १२ मतको झिनो अन्तरले चुनावमा पराजित भए । यो नै उनको जीवनको अन्तिम चुनाव पनि सावित भयो । यद्यपि उनी राष्ट्रिय सभामा आए तर पराजयको दुःखद स्मरणसँगै लिएर जानु प¥यो । त्यस चुनावमा ह«दयेश त्रिपाठी, राजेन्द्र महतो, मृगेन्द्र कुमार सिंह यादव, बद्री प्रसाद मण्डल र यज्ञजित शाह चुनाव जितेका थिए ।
प्रतिनिधि सभा विघटन
.२०५६ सालको निर्वाचन पछि देशको राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन आयो । नेपाली काँग्रेसको अन्तरकलहका कारण साढे ३ वर्षमै देशले तीन प्रधानमन्त्री नेतृत्व हेर्नुप¥यो । अन्ततः २०५९ असोजमा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा प्रतिनिधिसभालाई विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गरियो । यसले देशमा थप राजनीतिक र संवैधानिक संकट निम्त्याउने काम ग¥यो । तात्कालिन राजा ज्ञानेन्द्रले नेपालको संविधान २०४७ मा निहित आफ्नो अधिकारको दुरुपयोग गरी आफनो उच्च राजनीतिक महत्वाकांक्षालाई पूर्ति गर्न सक्रिय भूमिकाको निर्वाह गर्न थाले । जनआन्दोलन–२ का कारण सधैका लागि नेपालवाट राजतन्त्रको अन्त्य भयो र नयाँ नयाँ राजनीतिक शक्तिहरु अस्तित्वमा आउन थाले । एक दशकसम्म सशस्त्र संघर्ष गरेको नेकपा माओवादी र केही मधेशवादी दलहरुले पनि आफनो सशक्त उपस्थिति जनाए ।
२०६४ मा खुलेको मधेशी जनअधिकार जनअधिकार फोरम नेपालवाट २०६५ मा मधेश तराई फोरम, २०६६ मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), २०६७ मा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय मधेश समाजवादी पार्टी (२०६९), संघीय समाजवादी फोरम (२०७२), नेपाल संघीय समाजवादी पार्टी (२०७३), समाजवादी पार्टी (२०७६), जनता समाजवादी पार्टी (२०७७), लोसपा (२०७८) जसपा २०८१ र नेपाल समाजवादी पार्टी (२०७९), को जन्म भयो । २०८१ मा नेसपा (नयाँ शक्ति) को पनि जन्म भयो । यसरी दलहरु फुटने, जुटने क्रम जारी छ । एक पटक फेरि पनि चुनावको बेलामा मधेशी दलहरु एकजुट भईरहेका छन् तर चुनावपछि फेरि यी दलहरु विभाजित हुनेछन्् किनभने यिनीहरुबीच एकीकरण हुनुको आधार मधेशका जनताको हक, हित र अधिकार छैन, न त सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन बारे कुनै प्रष्ट भिजन नै छ ।
जनआन्दोलन–२ को सफलता पश्चात् २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले समानुपातिक तर्फ छ लाख ७८ हजार ३२७ मत ल्याएको थियो । जुन कुलमतको ६.३२ प्रतिशत थियो । पार्टीले २२ सिट हासिल ग¥यो । प्रत्यक्षतर्फ पार्टीले छ लाख ३४ हजार १५४ मत ल्याई ३० सिट जित्न सफल भएको थियो । यो कुल मतको ६.१५ प्रतिशत थियो । बामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवको नेतृत्वको यो ऐतिहासिक सफलता थियो । यसले राष्ट्रिय राजनीतिमा पनि उनलाई स्थापित गर्ने काम ग¥यो । सोही चुनावमा नेपाली काँग्रेस पृष्ठभुमिका महन्थ ठाकुरको नेतृत्वमा विभिन्न राजनीतिक दलहरुवाट आएका नेताहरुको संगठन, तराई मधेश लोकतान्त्रिक पार्टीलाई ३.३५ प्रतिशत मत सहित ९ सिट हासिल भएको थियो ।
पार्टीले प्राप्त गरेको कुल मत ३ लाख ४५ हजार ५८७ थियो । समानुपातिक तर्फ पार्टीलाई प्राप्त भएको कुल मत तीन लाख ४५ हजार ५८७ थियो । समानुपातिक तर्फ पार्टीलाई तीन लाख ३८ हजार ९३० मत र ११ सिट हासिल भएको थियो । यो ३.१६ प्रतिशत थियो । नेपाल सदभावना पार्टी (आनन्दी देवी) बाट छुटिएर राजेन्द्र महतोले गठन गरेको सदभावना पार्टीले एक लाख ७४ हजार ८६ मतसहित चार सिट जित्न सफल भएको थियो । यो कुल मतको १.६९ प्रतिशत थियो । पार्टीले समानुपातिक तर्फ १ लाख १६७ हजार ५१७ मत सहित पाँच सिट जित्न सफल भएको थियो । यो कुल मतको १.५६ प्रतिशत थियो । सबैभन्दा पुरानो मधेशी दल नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बीचको अन्तरकलहका कारण यस पार्टीले समानुपातिक तर्फ ५५ हजार ६७१ मत सहित दुई सिट जित्न प्राप्त गर्न रहयो । यो कुल मतको ०.५२ प्रतिशत थियो ।
संविधान सभा विघटन
पहिलो संविधानसभामा राम्रो सफलता प्राप्त गरेका मधेशी दलका नेताहरु मन्त्री पद, सुविधा र बिना कारण पहिलो संविधान सभाको विघटनको सिफारिस गरे । प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको त्यस मन्त्रीपरिषदमा ५१ प्रतिशत मन्त्रीहरु मधेशी दलकै थिए । त्यस ६ वर्षको अवधिमा मधेशी जनअधिकार फोरम नेपाल आधा दर्जन टुक्रामा, तमलोपा २ टुक्रामा र सदभावना पार्टी तीन टुक्रामा विभाजित भए यसरी पहिलो संविधान सभामा चार वटा मधेशी दलले सहभागिता जनाएकोमा २०७० सालको निर्वाचनमा १४ वटा मधेशी दल सहभागी भए । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले ३.१३ प्रतिशत मत सहित ४ सिट प्रत्यक्षमा र २.९१ प्रतिशत सहित १० सिट समानुपातिकमा, मधेशी जनअधिकार फोरम नेपालले २.२८ प्रतिशत मत सहित २ सिट प्रत्यक्षमा र २.२६ प्रतिशत सहित ८ सिट समानुपातिकमा हासिल गरे । तराई मधेश लोकतान्त्रिक पार्टीले १.९० प्रतिशत मत सहित ४ सिट प्रत्यक्षमा र १.९१ प्रतिशत मतसहित ७ सिट समानुपातिकमा हासिल गरे ।
सदभावना पार्टीले १.५६ प्रतिशत मत १ सिट प्रत्यक्षमा र १.४१ प्रतिशत मत सहित ५ सिट समानुपातिकमा प्राप्त गरे । राष्ट्रिय मधेश समाजवादी पार्टीले ०.८४ प्रतिशत मत ल्याएर ३ सिट समानुपातिकमा, तराई मधेश सदभावना पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी कुल ३ सिट प्राप्त गरे । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र संघीय सदभावना पार्टीले समानुपातिक तर्फ १–१ सिट प्राप्त गरे । यसै अवधिमा मधेशीदलका नेताहरुले आफनी श्रीमती, प्रेमिका, सम्धिनी, नातेदार र उद्योगपति व्यापारीलाई समानुपातिक कोटामा ल्याएका थिए । फलस्वरुप संविधान निर्माण कार्यमा उपरोक्त दलहरुको सशक्त उपस्थिति भएन । यसै अवधिमा नेपालको संविधान २०७२ को निर्माण भयो । नेपालको संविधान २०७२ को निर्माण भएपछि २०७४ सालमा आम निर्वाचन भएको थियो ।
त्यस निर्वाचनमा एकातिर नेकपा एमाले र नेकपा माओवादीले मिलेर वाम गठबन्धनको निर्माण गरेको थियो भने अर्कोतिर छ वटा मधेशी दलहरु (महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको सदभावना पार्टी, शरद सिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादवको तराई मधेश सदभावना पार्टी, फोरम (गणतान्त्रिक) र नेपाल सदभावना पार्टी) मिलेर बनेको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर बनेको मधेशी मोर्चा चुनावमा भाग लिएको थियो । नेपाली काँग्रेस भने एक्लै चुनाव लडेको थियो । चुनावमा राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४ मत सहित प्रत्यक्ष तर्फ ११ सिट जितेको थियो । यो कुल मतको १४.९५ प्रतिशत थियो जबकी समानुपातिकतर्फ पार्टीले ६ सिट जितेको थियो । त्यसै गरि उपेन्द्र यादव नेतृत्वको सङीय समाजवादी फोरमले प्रत्यक्ष तर्फ चार लाख ७० हजार २०१ मत (४.९३ प्रतिशत) सहित १० सिट जित्न सफल भएको थियो ।
फागुन २१ को हिसाब
मधेशी मोर्चाले मिलेर चुनाव लडेका कारण मधेस प्रदेस सरकारको नेतृत्व पनि पाँच वर्षसम्म गरेको थियो । यद्यपि राष्ट्रिय जनता पार्टी तीन वर्ष पछि सरकारवाट बहिरिएको थियो । दुवै पार्टी एक भएर जनता समाजवादी पार्टी नेपालको गठन पनि भएको थियो तर ५ वर्षको अवधिमा जनता समाजवादी पार्टी नेपालबाट महन्थ ठाकुर बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टीको गठन गरे । महेन्द्र राय यादव, राजकिशोर यादवहरु जसपाभित्रै रहे । पछि, महेन्द्र राय यादवले पनि नयाँ दल खोले । हाल उनी प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा छन् । २०७९ सालको आम निर्वाचनमा जसपा नेपालले ४ लाख २१ हजार ३१३ मत (३.९९) प्रतिशतसहित प्रत्यक्ष तर्फ ७ र समानुपातिकको ५ गरी कुल १२ सिट जित्न सफलता हासिल ग¥यो जबकी महन्थ ठाकुरको लोसपाले प्रत्यक्षतर्फ चार सिट जित्न सफल रहयो । समानुपातिकमा यसले ३ प्रतिशत मत ल्याउन सकेन । नवोदित जनमत पार्टीले प्रत्यक्ष तर्फ १ र समानुपातिक तर्फ ५ सिट जित्न सफल रहेको थियो ।
२०८२ को निर्वाचनमा महन्थ ठाकुर र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल गएमा ६ प्रतिशत जति मत पाउने सम्भावना छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी मिलेर गएमा यो प्रतिशत १० को नजिक पनि पुग्न सक्दछ तर जनमत एक्लै चुनावमा जाने सम्भावना छ । अशोक राइ नेतृत्वको जसपा पनि विभाजित भई त्यसको एक समूह जसपा नेपालमा फर्केको छ । मधेशी दलहरु प्रति त्यहाँको जनताको खासै विश्वास र उत्साह छैन तर चुनावी राजनीतिलाई धेरै कुराले प्रभावित गरिरहेको हुन्छ, केवल विचारधारा तथा गुण–अवगुण मात्रै निर्णायक हुँदैन । चुनावलाई जाति, धनबल, साम्प्रदायिकता, भावना र स्थानीय परिस्थितिले पनि प्रभावित गरिरहेको हुन्छ । मधेशमा नेपाली काँग्रेस, नेकपा मधेशी दल र एमालेबीच नै मुख्य प्रतिस्पर्धा रहनेछ । युवाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति उत्साह देखिए पनि त्यसले चुनाव परिणामलाई नै प्रभावित गर्न सक्ने अवस्था छैन । मधेशी दलहरु मिलेर चुनावमा गए केही हदसम्म प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ ।
तपाईको प्रतिक्रिया