Khadya Bibhag

बालेन शाहको नक्कली पहिचान

–गोपाल झा
जेनजी आन्दोलनपछि राजनीतिक दलमा पनि एकपछि अर्को गरी पुराना पार्टीहरू मिसिने र पुरानै अनुहार थपिने क्रम जारी छ । जेनजी आन्दोलनपछि उदाएका केही युवा पुस्ताले पुराना दलहरू र तिनका नेताहरूलाई कामै नलाग्ने र विगत तीन दशकसम्म देशमा कुनै विकास नभएको भाष्य खडा गरेर आफूहरूले मात्र देशको मुहार फेर्न सक्छौँ भन्ने दाबी गर्दै आइरहेका छन् ।
तर समय क्रमअनुसार एकपछि अर्को उनीहरुको चरित्र उदाङ्गो हुँदै गइरहेको छ । अनि भएका विकासलाई छोप्ने र केही नभएको भाष्य निर्माण गर्नेहरू अहिले आफैमा अलमलमा छन्, बाटो बिराएको बटुवा जस्तै । उनीहरूको गतिविधि नियाल्दा वास्तविक लक्ष्य सत्ता र शक्तिबाहेक अरू केही नभएको प्रष्ट हुन्छ । तर एउटा तप्का जसले विगतलाई पढेकै छैनन् त्यसलाई अलमलमा पार्न उनीहरू केही हदसम्म सफल देखिएका छन् ।
भूराजनीतिको गन्ध
उनीहरू कसको इसारामा नाँच्दै छन् भने पनि बुझ्न अब कसैलाई गाह्रो छैन । नेपाली जनता यति कुरामा कुरा प्रष्ट छ कि भूराजनीतिक हिसाबले नेपाललाई एक रणभूमि बनाउने प्रयास भइरहेको छ । पहिला उत्तरको छिमेकी देश चीनलाई अप्ठ्यारोमा धकेल्ने अनि त्यसपछि दक्षिणको छिमेकी देश भारतलाई पनि अस्थिर बनाई राख्ने उनीहरुको प्रयास रहेको छ । किनभने यी दुवै मुलुक एसियामा मात्र होइन, विश्वमै महाशक्तिका रुपमा उदाइरहेका छन, जुन आफूलाई पहिलो विश्व ठान्ने पश्चिमा शक्तिहरूको प्रभुत्वविरुद्धमा एक चुनौती बनेको छ । पश्चिमाहरूमा यी दुई उदयमान सुपर पावरप्रति ईष्र्या रहेको बुझ्न अब कसैलाई कठिन छैन ।
पश्चिमाहरुले नेपालका दुई नजिकका छिमेकी भारत र चीनलाई एक ठाउँमा उभिन दिनु हुँदैन भन्ने अघोषित लक्ष्य पनि लिएको देखिन्छ, जसलाई विभिन्न घटनाक्रमहरूले उजागर गरिसकेका छन् । ती शक्तिहरूको लक्ष्य एकातिर छ भने यसको प्रारम्भिक निसाना भने एक सुन्दर र शान्त देशको रूपमा चिनिएको नेपाल पनि हो ।
जहाँबाट उनीहरूलाई आफ्ना रणनीतिक गतिविधिहरू सञ्चालन गर्न सजिलो छ । केही कथित सभ्रान्त वर्गमा पैसाको लागि जे पनि गर्ने चरित्रका कारण नेपाल उनीहरूका लागि उर्वरभूमि बनेको भन्दा गलत नहोला । यो कुरा अहिले नयाँ आएका शक्तिले या त बुझेको छैन वा यसमा उपयोग भएका छन् वा उनीहरूलाई देशको भविष्यप्रति सरोकार छैन । सानोतिनो लोभमा नेपालका ती होनहार युवालाई फँसाइ सकेका छन् । कान भरेर आफ्नै देश विरुद्ध उभिन ‘मानव बम’ को रुपमा तयार गरिसकेको छ, जुन कुरा ती युवाले बुझ्न सकेका छैनन् । जतिखेर बुझ्छन् त्यतिखेर समय गइसकेका हुन्छन् ।
यसका लागि पात्रहरूको खोजी एकदुई वर्षदेखि मात्र होइन, यो वर्षौँ अघिको खोजी र उनीहरूमा गरिएको लगानीबाट आएको देखिन्छ । विभिन्न पात्रहरूले उनीहरू (पश्चिमा)बाट विभिन्न बहानामा ठूलै आर्थिक सहयोग पाइरहेको बुझिएको छ । जुन कुराहरु मिडियामा पनि आइसकेका छन् ।
बालेन प्रवृति
यस्तै पात्रहरूमध्ये एक हुन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह), जो मधेशी मूलका त हुन् तर आत्मामा मधेशप्रति थोरै पनि कदर नभएका व्यक्ति हुन् उनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक रणनीति हेर्दा यो दलले २०७९ मा भ्रष्टाचारविरोधी र सुशासनको नारासहित युवा र डायस्पोराको समर्थनमा उल्लेखनीय सफलता हासिल गरेको थियो । तर आलोचनात्मक रूपमा विश्लेषण गर्दा, यो रणनीति अब पुराना दलहरूको जस्तै देखिन थालेको छ । विवेकशील साझा, नागरिक उन्मुक्ति र उज्यालो नेपाल जस्ता दलहरूसँग मर्जर गर्दै पुराना अनुहारहरूलाई भित्र्याउने, जेन–जी आन्दोलनको गति क्यास गर्ने र मधेश कार्ड खेल्ने रास्वपाका सभापति रवि लामिछानेको दाव रहेको छ । जुन पुरानो दलको पुरानै शैली हो ।
यसखालको दलीय एकताले दललाई बलियो बनाउने दाबी गरिए पनि वास्तवमा यसले मूल उद्देश्यलाई धुमिल पार्दै छ । उही पुरानो रणनीति प्रयोग गरेर मधेशमा बालेन कार्ड प्रयोग गर्न खोजिदैछन् । यसले मधेशका संवेदनशील मुद्दालाई ओझेलमा पारेर मधेशलाई उही दास बनाएर राख्ने प्रपञ्च मात्र हो । मधेशलाई रणनीतिक रूपमा प्रयोग गर्दा यो दलले साँचो परिवर्तन ल्याउने होइन, मात्र सत्ता कब्जा गर्ने खेल खेलिरहेको जस्तो देखिन्छ । जसले मधेशी जनताको आन्दोलनको इतिहासलाई नै मजाक बनाउन सक्छ ।
पात्र चयन गर्ने रणनीतिकारहरूलाई राम्रोसँग थाहा छ कि काठमाडौँमा आएर बसेका अधिकांश मधेशीहरूमा एउटा अनौठो मनोविज्ञान छ । उनीहरू सभ्रान्त देखिन नेपाल देशको स्थापना कालदेखि नै शासन गर्दै आएका शासक वर्गजस्तै आफूलाई देखाउने र व्यवहार पनि गर्ने गरेका छन् । यसका लागि कतिपय मधेशीहरु पनि आफ्नो वास्तविक पहिचान लुकाउन प्रयत्नरत रहन्छन् । यस्तो मनोविज्ञानको शिकार यस म स्वयंले भएको छु र त्यो घटना बालेनको व्यवहारसँग मेल खान्छ ।
२०४५ सालतिरको कुरा हो । म एक उच्च सरकारी ओहदामा कार्यरत एक मधेशी कर्मचारीको निवासमा कुनै काम विशेषले भेट्न गएको थिए । बैठक कोठामा बसिरहेको बेला मेरो बारेमा एक जना महिलाले सम्भवतः उनकी पत्नीले ‘को भेट्न आएको’ सोध्दा, त्यहाँ रहेको एक बालकले ‘एउटा मदिसे आएको’ भनेर जवाफ दिएको थियो । त्यो जवाफ सुन्दा म आश्चर्यमा परे । किनभने एक मधेशी परिवारमा पनि बच्चाहरूलाई आफ्नो पहिचान लुकाउन त्यतिबेला नै सिकाइएको देखियो, नत्र त्यो बालक आफ्नो घरमा आएका आगन्तुकप्रति शब्द जे भए पनि त्यस्तो अपमानजनक ढंगले प्रयोग गर्ने थिएनन् । २०६२⁄०६३ को आन्दोलनबाट स्थापित नयाँ संविधानअन्तर्गत मधेशकेन्द्रित दलको कोटामा एक उच्च संवैधानिक ओहदा पनि प्राप्त गरे ।
पहिचान लुकाउने प्रवृति
काठमाडौँमा मधेशीलाई हेय गरी प्रयोग गर्ने शब्द ‘मदिसे’ हो, तर यसमा अचेल निकै परिवर्तन भएको देखिन्छ । यस्ता शब्दहरू प्रायः प्रयोग गरिँदैनन् । तर बालेनजस्ता कैयौँ यस्ता मधेशी छन् जो आफूलाई मधेशी कहलाउन सहज मान्दैनन् । बालेनले टोपी लगाउँदैमा उनीमाथि प्रश्न गरेको कदापि होइन, किनभने त्यो उनको रोजाइ हो र हाम्रो साझा टोपीलाई सम्मान गर्नु पनि पर्छ । तर उनले यहाँ काठमाडौँमा रहेका साइकलमा तरकारी बेच्ने र कवाडी व्यापारीहरू जो अधिकांश मधेशी छन्, त्यसलाई गरेको व्यवहारबाट उनमा मधेशी आत्मा या त मरिसकेको देखाउँछ ।
बालेन आफ्नो पहिचान लुकाएर राजनीतिक लाभ लिन रहस्यमय रूपमा रणनीति लिएर बसेका छन् । मधेशी पहिचान दियो भने काठमाडौँले स्विकार गर्दैन भने कुरा बालेनले बुझेर नै आफ्नो असली पहिचान लुकाएर मधेशी समुदायमाथि ज्यादती गरेका छन् । मेयर भएर काठमाडौँमा मधेशीमाथि ज्यादती गर्दा काठमाडौँले बजाएको ताली मधेशसम्म गुञ्जेको थियो । अहिले बालेनको मधेशप्रतिको लगाव तत्काल एक ढोंग हो भने कुरा मधेशी जनताले थाह पाइसकेका छन् । मधेशको बच्चा हुँ भनेर आफ्नो राजनीति अभिष्ट पुरा गर्न खोजेका छन् । त्यो पुरा भइसकेपछि उनी पुनः काठमाडौँको शाह भएर मधेशमाथि शासन गर्नेछन् ।
र, यी सब उनले आफ्नो संरक्षकको उद्देश्य पूरा गर्नका लागि गरिरहेका छन्, जो एक खास उद्देश्यका साथ नेपाललाई एक रणभूमिमा परिणत गर्न उद्यत छन् । बालेन आफैँमा राजनीतिक संस्कार बोकेको नेता भएको भए उनी सबै तपकाका मानिसहरूसँग घुलमिल भइसकेका हुन्थे, तर उनी केही समूहबाट मात्र परिचालित भएकाले कहिल्यै आमजनतासँग संवाद गर्दैनन् झन मधेश उनको सोचभन्दा धेरै टाढा छ । मधेशी जनतालाई उनले मानव नै गन्दैनन् ।
उनलाई मधेशसँगको सरोकार न्यून नै छ । उनमा राजनीतिक चेतको अभाव मात्र होइन, उनमा समाजको तल्लो वर्गका मानिसप्रति कुनै समवेदना छैन ।
उनले काठमाडौँमा कवाडी र दैनिक सडकपेटीमा व्यापार गरेर गुजारा गरिरहेकाहरूप्रति गरेको व्यवहारबाट प्रस्ट हुन्छ । उनको गरिब निमुखासँग कुनै मतलब छैन । उनी प्रवेश गरेको पार्टी पनि संघीयता र गणतन्त्रप्रति प्रस्ट छैन । बुझ्नुपर्ने कुरा के छ भने देशमा कसैलाई संघीयता बढी चाहिएको हो भने त्यो मधेशी समुदाय नै हो । यसले आफ्नो उपादेयता सावित गर्न सक्यो कि सकेन, त्यो एउटा बहसको विषय हुन सक्छ, तर यथार्थमा देशको सार्वभौम अखण्डता राख्न पनि यो आवश्यक छ, जसप्रति बालेन स्वयं पनि ढुलमुल विचार राख्छन् ।
यतिबेला फागुन २१ मा हुने भनिएको आम चुनावका लागि राजनीतिक हलचल बढ्न थालेको छ र बालेन अहिले रास्वपाको प्रचारका लागि मधेश घुम्न लागेको सुनिएको छ । उनीमाथि दाव लगाएर रास्वपाले मधेश कार्ड खेल्ने रणनीति लिएको पनि हुन सक्छ । र यसैअन्तर्गत बालेन टोपी उतारेर भोटका लागि धोती–कुर्ता नलगाए पनि गम्छा अवश्य धारण गर्नेछन् ।
यस्ता नक्कली पहिचान बनाउने व्यक्तिको छद्मभेदीबाट मधेशी जनता भूलभुलैयामा पर्ने वाला छैन किनभने यस्ता थुप्रै मञ्चन विगतमा पनि भएका छन्, जसबाट मधेश ठगिएको छ । मधेशी जनताहरू मधेशी अनुहार होइन, मधेशी आत्मा भएको नेताको खोजीमा छन् । मसिहा होइन सेवक खोजेको छ । थुप्रैपटक धेरै मसिहाले मधेशलाई ठगे अब अर्को शाहज्यादा मधेशलाई ठग्न जाँदैछन् भने कुरा मधेशी जनता थाह पाइसकेका छन् र त्यसबाट सचेत छन् ।
(लेखक गोपाल झा वरिष्ठ पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया