Khadya Bibhag

आर्टमार्फत थारुलाई चिनाउने सोमिना

खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । हो ।

विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आउनुभएकी चितवन राप्ती नगरपालिका–६ बेल्डियाका सोमिना चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । उहाँ भन्नुहुन्छ, “थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।” ललितकला क्याम्पसबाट आर्टमा स्नातक गर्नुभएकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आउनुभएको छ ।

साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय हुनुहुन्छ । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आउनुभएकी उहाँका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । उहाँ भन्नुहुन्छ, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ ।

चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।” सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गर्नुभयो । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उहाँमा थियो । “आर्ट भनेको प्यासन हो”, उहाँले भन्नुभयो, “यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उहाँ अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आउनुभएको छ ।

सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आउनुभएको छ । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आउनुभएकी उहाँका कलाकृतिको माग बढ्दो छ । सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ ।

तपाईको प्रतिक्रिया