-रामरिझन यादव
अहिलेको सबैभन्दा चर्चित पुस्ता जेनजीलाई बद्रीप्रसाद मण्डल को थिए (?) भन्ने कुरा सोध्यो भने उनीहरु नजवाफ हुन्छन् । अधिकांशले उनको बारेमा एक शब्द बोल्न सक्दैनन् । किनकि, पछिल्लोकालमा समेत जतिबेला बद्रीप्रसाद मण्डल सत्ताको केन्द्रबिन्दुमा थिए त्यतिबेला उनीहरु वामे सर्दै थिए । तत्पश्चात् उनी सत्ताबाट मात्र होइन, सक्रिय राजनीतिबाट यसरी बाहिरिए कि पुनः कहिल्यै फर्किनै सकेनन् र आफ्नो विराटनगरस्थित घरमा वानप्रस्थ जीवन बिताउँदा बिताउँदै प्राण त्यागे ।
पुस ८ गते जब उनको मृत्यु भयो त्यतिबेला उनी करिव ८३ वर्षका थिए । यसरी ठूलो नेताको मृत्यु भएपछि जसरी ब्यापक चर्चा परिचर्चा हुने गरिन्छ त्यसरी उनको देहावसानमा खासै कुनै शोरगुल भएन । एक आध वटा मिडियाबाहेक कसैले उनको मृत्युको बारेमा उल्लेख गरेनन् वा गर्न आवश्यक ठानेनन् । मानौ उनी कथित अछुतसरह थिए । तर, जब उनको १३ औं दिनको अवसरमा परिवारद्वारा शन्तिभोजको आयोजना गरियो दस हजार मानिस भोज खान उनको पुख्र्यौली घर मझारे पुगे ।
अर्थात् बद्री प्रसाद मण्डल को थिए (?) भन्ने कुराको परिचय उनको श्राद्ध भोजले दिए । यद्यपि स्थानीय स्त्तरमा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजले श्रद्धाञ्जलीका दुई शब्द उल्लेख नगरेका भने होइनन् । दिनहूँ कोही न कोही श्रद्धान्जली र परिवारलाई सान्वना दिन घर पुग्थे । तर, उदेकलाग्दो पक्ष के छ भने राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा पहिचान बनाएका कुनै पनि राजनेता मझारेसम्म पुगेनन् । कतिसम्म भने जसलाई उनले ठूलो संकटको बेला आर्थिक सहयोग गरेपछि मात्र उनको जीवनको पहिलो मधेश सम्बन्धी कृतिको प्रकाशन सम्भव हुन सकेको थियो, त्यो व्यक्ति विराटनगरमा हुँदाहुँदै पनि श्रद्धान्जलि दिन पुगेनन् ।
राजतन्त्रवादी कि राजावादी ?
खासगरि भूपू राजा ज्ञानेन्द्र शाहले श्रद्धाका दुई शब्द कोर्दा पारिवारिक रुपमा श्रद्धा र सान्त्वनाको प्रतिक मानिन्थ्यो । जसप्रति उनको आस्था जीवनको अन्त्यसम्म पनि डगमगाएनन् । अर्थात् उनी सक्रिय राजतन्त्रवादी भएर तत्कालीन मझारे गाउँपंचायतको सबैभन्दा तल्लो निकाय वाडा सदस्यको रुपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए र त्यही विचारको सेरोफेरोमा राजावादी भएर उनको अन्त्य पनि भयो । उनी आफ्नो विचारबाट टसमस भएनन् । अर्थात् राजतन्त्रवादीभन्दा उनी राजावादी थिए । सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने पञ्चायतकालमा सिंगो मोरङ्ग जिल्ला र तत्पश्चात् उसको दक्षिणी भेकको राजनीतिलाई आफ्नो हातमा नचाउने खुबी उनीसँग थियो ।
त्यसैले मोरङ्ग जिल्लाको इतिहासमा उनीबाहेक अर्को कुनै पनि मधेशी नेता अहिलेसम्म जन्मेनन् जो कोइराला परिवारसँग टक्कर लिन सकोस् । चाहे पंचायतकाल होस वा बहुदलीयकाल ! उनी अपबादवाहेक जहिले पनि कोइराला परिवार तथा कांग्रेसलाई मोरङ्गमा पराजित गरे ।
पारिवारिक पृष्ठभूमि
बुबा लेलहु मण्डल तथा आमा इन्द्रबतीको कोखबाट बि.सं. १९९९ साल साउन ३० गते मोरङ्ग जिल्लाको तात्कालिन मझारे गाउँ हाल जहदा गापा–३ मा जन्मेका बद्रीप्रसाद मण्डल पाँच दाजुभाइ दिदीवहिनीमध्ये सबैभन्दा जेठो थिए । मझौला खालका जमिन्दार पिताले उनलाई पूर्वी उत्तरी विहारमा नाम चलेका डि.एस. कालेज कटिहारबाट ग्रेजुवेटसम्म पढाएका थिए । सम्पन्न परिवारको भएकोले उनमा कहिल्यै जागिरे मोह जागेनन् । अध्ययनपश्चात् सोझै राजनीतितिमा हाम फाले उनी । यो सम्भवतः विक्रमको २० को दशक थियो र राजा महेन्द्रद्वारा प्रतिपादित निर्दलीय पञ्चायती व्यवस्थाले आकार प्रकार ग्रहण गर्दै थिए । उनी सबैभन्दा पहिले मझारे गाउँ पञ्चायतको तल्लो निकाय वाड सदस्य भए । त्यसपछि त्यही साल वाडा अध्यक्षको पदमा चुनाव लडे । त्यसमा पनि जिते । र, फेरि त्यही वर्ष प्रधानपञ्च पनि भए । अर्थात पञ्चायत प्रणालीमा इलेक्सनभन्दा सेलेक्सनको प्रचलन थियो ।
मोरङ्ग जिल्लाको इतिहासमा उनीबाहेक अर्को कुनै पनि मधेशी नेता अहिलेसम्म जन्मेनन् जो कोइराला परिवारसँग टक्कर लिन सकोस् । चाहे पंचायतकाल होस वा बहुदलीयकाल !
भर्खरका युवा पञ्चायत राजनीतिको तल्लो निकायमा बारम्वार यसरी चुनाव जितेको देखेपछि तात्कालीन मोरङ्ग जिल्लाका चर्चित नेता तथा जिल्ला पञ्चायतका सभापति चैतुलाल चौधरीको दृष्टिमा उनी परे । बि.स. २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव जितेका चैतुलाल चौधरीले प्रतिबन्धित नेपाली कांग्रेस परित्याग गरी पञ्चायतमा आफ्नो वर्चश्व स्थापित गरीसकेको थिए । दुई पटकसम्म मोरङ्ग जिल्ला पञ्चायतको शक्तिशाली सभापति भइसकेका थिए । युवा बद्रीमा जोश, जाँगर, उत्साह र भाषण गर्ने शैली हेरेपछि सामान्य पढेलेखेका सभापति चौधरीले उनलाई आफ्नो उत्तराधिकारीको रुपमा अगाडि सारे । तत्पश्चात् बद्रीबाबू मोरङ्ग जिल्ला पंचायतको शक्तिशाली सभापति पद हत्याउन सफलमात्र भएनन् चैतुलाल चौधरीलाई समेत पछाडे । बुढो चैतुलालालाई पञ्चायतकालमा समेत सांसद(रापंस) हुने इच्छा हुँदै पनि बन्न सकेनन् ।

ग्रासरुटका नेता
यसरी के देखिन्छ भने बद्रीप्रसाद मण्डलको राजनीति ग्रासरुटबाट शुरु भएको थियो । जो बलियो र खँदिलो भएको हुनालै नै होला उनले मोरङ्ग जिल्लाको राजनीतिलाई आफ्नो हातमा लिन सफल भएका थिए । एकताका त उनको यति वर्चश्व स्थापित भइसकेको थियो कि उनीबिना मोरङ्ग जिल्लाको पञ्चायत राजनीति हाँक्न मुस्किल हुन्थ्यो । वर्षौवर्षसम्म उनले ग्रासरुट राजनीतिमा आफ्नो श्रम र पसिना खर्चेकोले देश विदेशमा नाम कमाएकाहरुलाई पराजित गर्ने सामथ्र्य उनीसँग थियो । रणनैतिक रुपमा पञ्चायती व्यवस्थालाई संरक्षण तथा सम्बद्र्धन गर्न तल्लीन बद्रीप्रसाद मण्डलसँग चुनाव लड्ने युक्ति पनि त्यतिकै थियो । त्यसैले उनले पञ्चायतकालमा कुनै पनि आम चुनाव हारेनन् ।
यसरी चुनाव नहारेका र जनतामा आफ्नो पकड स्थापित गरिसकेका नेताहरुमाथि दरवारको दृष्टि परेकै हुन्थ्यो । खासगरी मोरङ्ग जिल्लामा नेपाली कांग्रेसको मजबूत पकडलाई कमजोर पार्न पञ्चायतको पहिलो टार्जेट काँग्रेस हुन्थे न कि राजतन्त्रको जन्मजात विरोधी कम्युनिष्ट । त्यतिबेला विराटनगरका मनमोहन अधिकारी मोरङ्गका मात्र होइन देशकै सबैभन्दा ठूलो कम्युनिष्ट नेतामध्ये एक थिए । पार्टीका महासचिव भइसकेका मनमोहन अधिकारी त्यतिबेला घोर राजतन्त्र विरोधी थिए । तर उदेकलाग्दो पक्ष के छ भने कांग्रेसलाई राजाले जतिसुकै दुःख दिए पनि राजतन्त्रलाई काँधमा बोक्न भने उ तयार थिए ।
राजतन्त्रप्रतिको यही दुरदर्शिताका कारण बद्रीप्रसाद मण्डलहरुले कांग्रेसीजनलाई धमाधम पञ्च बनाइरहेका थिए । एक समय त मोरङ्गमा कांग्रेस को को हुन भनेर बति बालेर खोज्नु पर्ने अवस्थाको सृजना भएको थियो । त्यसैले त्यस्ता पञ्चहरुलाई तुरुन्ता तुरुन्त काठमाडौं बोलाइन्थ्यो । राजासँग दर्शनभेट गराइन्थ्यो र दरवारको पक्का मान्छे बनाइन्थ्यो । त्यसैले खोजी खाजी आफ्नो बनाउने चलन अहिले मात्र होइन उहिले पनि त्यतिकै घनिभूत थियो ।
एकताका त उनको यति वर्चश्व स्थापित भइसकेको थियो कि उनीबिना मोरङ्ग जिल्लाको पञ्चायत राजनीति हाँक्न मुस्किल हुन्थ्यो । वर्षौवर्षसम्म उनले ग्रासरुट राजनीतिमा आफ्नो श्रम र पसिना खर्चेकोले देश विदेशमा नाम कमाएकाहरुलाई पराजित गर्ने सामथ्र्य उनीसँग थियो ।
बद्रीप्रसाद मण्डल त्यही सघन दर्शनभेंटका उत्पादन थिए । चारपटकसम्म लगातार सिराहा जिल्ला पंचायतका सभापति निर्वाचित भएपछि पंचायतकालीन सिरहा राजनीतिका भीष्मपितामह राजदेव गोइतमाथि दरवारको सघन दृष्टि परेको थियो । राजा महेन्द्रले उनलाई सोझै तत्कालीन संसद राष्ट्रिय पंचायतमा मनोनित गरेका थिए । त्यस दिनदेखि उनी माननीय पदबाट विभूषित भएका थिए । सहायक मन्त्रीसम्म उक्ले पनि सिरहा जिल्लामा माननीयजी’ भन्नेपछि राजदेव गोइत मात्र बुझिन्थ्यो ।
वीरेन्द्र र ज्ञानेन्द्रको प्रिय
त्यसरी नै राजा वीरेन्द्र होस् वा ज्ञानेन्द्र बद्रीप्रसाद मण्डललाई आफ्नो हातमा लिन सफल भएका थिए । यसरी लामो अभ्यासपश्चात् बद्रीप्रसाद मण्डल राजतन्त्रवादीभन्दा कट्टर राजावादी बनेका थिए । यसको पुष्टि यसरी पनि गर्न सकिन्छ कि संघीय लोकतान्त्रिक गणतान्त्रिककालमा कुनै पनि राजतन्त्रवादी राजनीतिक दलमा प्रवेश गरेनन् । चाहे त्यो कमल थापाको पार्टी होस् वा राजेन्द्र लिङ्गदेलको । र, सायद त्यसैले होला राप्रपा एकीकरण भएर मोरङ्गमा एउटा आकार ग्रहण गरिसकेपछि पनि औपचारिक श्रद्धान्जलिबाहेक उनको देहावसानमा कुनै पनि कार्यक्रमको आयोजना गरेनन् । त्यसैले जीवनको अन्तिमकालसम्म राजतन्त्रवादी पार्टी एकातिर र उनी अर्कोतर्फ देखिन्थे । जीवनको उषाकादेखि पंचायत राजनीतिसंग संलग्न भएपछि निरन्तर रुपमा दरवारको आर्शिवादले गर्दा एकपछि अर्को पदमाथि उक्लिदै जादा उनको मनमा राजाप्रति अगाध आस्थाले स्थायी रुप ग्रहण गरिसकेको थियो ।
आस्था एउटा यस्तो अवस्था हो जसको निर्माणको प्रक्रिया जटिल हुन्छ । ह्वातै बन्दैन र बनिसकेपछि फेरि तुरन्तै भत्किदैन । यो सोचसँग गाँसिएको प्रश्न हो । बद्रीप्रसाद मण्डललाई कांग्रेसले लोभ नदेखाएका होइनन् । तर, उनी कांग्रेसको संवैधानिक राजतन्त्रभन्दा माथि राजालाई राख्न चाहन्थे । अर्थात् उनको भेंट राजा महेन्द्रसंग भएपछि उनी कट्टर महेन्द्रवादी भए ।
र, राजा महेन्द्र एउटा यस्तो राजा थिए जो जर्मनीको हिटलर जस्तै राष्ट्रवादको निरंकुश मिश्रित घोल कसैलाई खुवाइसकेपछि ह्वातै कसैबाट हट्दैन थियो । बद्रीबाबु त्यही घोल पिएका थिए । त्यसैले त संवैधानिक राजतन्त्रलाई मूलमन्त्र मानेर मधेश नायक गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी कालान्तरमा राजतन्त्रको सवाललाई लिएर विभाजित हुन पुग्यो । किनकि, नेपाल सद्भावना पार्टी कट्टर संवैधानिक राजतन्त्रवादी थिए । त्यसका अधिकांश नेताको उत्पादनको कारखाना कांग्रेस थियो भने बद्रीप्रसाद मण्डलको उत्पति नै राजावादी पंचायतकालमा भएको थियो ।
संघीय लोकतान्त्रिक गणतान्त्रिककालमा कुनै पनि राजतन्त्रवादी राजनीतिक दलमा प्रवेश गरेनन् । चाहे त्यो कमल थापाको पार्टी होस् वा राजेन्द्र लिङ्गदेलको । र, सायद त्यसैले होला राप्रपा एकीकरण भएर मोरङ्गमा एउटा आकार ग्रहण गरिसकेपछि पनि औपचारिक श्रद्धान्जलिबाहेक उनको देहावसानमा कुनै पनि कार्यक्रमको आयोजना गरेनन् ।
त्यसैले २०३७ सालको जनमत संग्रहमा सिरहाका राजदेव गोइत, धनुषाका मकेश्वर प्रसाद सिंहजास्ता पूर्व कांग्रेसीहरु बहुदलको पक्षमा प्रचार गरे पनि बद्रीप्रसाद मण्डलले भने सुधारिएको निर्दलीय पंचायती व्यवस्थाको पक्षमा धुवाँधार प्रचार प्रसार गरे । यसको एउटा विशेष कारण के थियो भने तत्कालीन पंचायती सरकारले एउटा निर्दलीय प्रचार समिति गठन गरेका थिए जसको पदेन अध्यक्ष जिल्ला पंचायतको सभापति हुन्छ भन्ने कुरा तोकेरै माथिबाट पठाइएको थियो । तर एकमात्र मोरङ्गमा जिल्ला पंचायतको सभापति काजिमान कन्दङ्गवालाई त्यो समितिको पदेन अध्यक्ष नबनाएर भूपू सभापति बद्रीप्रसाद मण्डललाई बनाइएको तथ्यबाट पनि उनी प्रभावकारी पञ्च भएको पुष्टि हुन्छ । मोरङ्गमा वीपीजस्तो राजनेतालाई समेत चुनौती दिएको जस्तो देखिन्थ्यो । तर सफल हुन सकेनन् ।
यद्यपि मोरङ्ग कांग्रेसी जिल्लाको रुपमा जतिसुकै प्रचारित भए पनि निर्दलले राम्रो मत (४० प्रतिशत) ल्याए, जसमा बद्रीप्रसाद मण्डलको अहम् भूमिका थियो । यसकालागि तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले विशेष रुपमा धन्यवाद दिदै अगामि आमनिर्वाचनमा सरकारी टिकट दिने वाचा गरे । त्यसैले वि.स. २०३८ सालको आम निर्वाचानमा दुइटा सिट भएको मोरङ्ग जिल्लाबाट उनी र कर्णबहादुर धीमाल अत्यधिक मतले निर्वाचित भएका थिए र सुबथाको मन्त्रीमण्डलमा पहिलो पटक अर्थ सहायक मंत्रीको रुपमा शपथ खाए ।
यसरी २०३८ सालदेखि मंत्री बन्ने उनको राजनीतिक यात्रा बहुदलकालसम्म निरन्तर जारी रहियो । जो राजा ज्ञानेन्द्रकालमा उपप्रधानमंत्री भएर टुङ्गियो ।
यसैबीचमा निर्दलीय पंचायती व्यवस्थाभित्र ठूलो भूइचाल आयो । दरवारले प्रधानमन्त्री सूर्यबहादुर थापालाई पदबाट विस्थापित गर्ने काम ग¥यो । गाठी कुरा के हो भने राजा महेन्द्रद्वारा प्रतिपादित निर्दलीय पञ्चायती व्यवस्थालाई जनमतसंग्रहले जनअनुमोदित गरिसकेपछि दरवारको बर्चश्वलाई प्रधानमन्त्रीले न्यूनीकरण गर्न प्रयास गरेका थिए । जो दरवरिया तत्वहरुलाई असहनीय भयो । त्यतिबेला दरवारको नाममा भाइभरदारहरुले पनि शासनसत्तमा वेदखल गर्ने चलन थियो, जसलाई प्रधानमन्त्री सूर्यबहादुर थापाले रोक्ने प्रयास गरेका थिए । त्यसेले यसप्रकारको परिस्थितिको सिर्जना भएको थियो ।
सूर्यबहादुर थापा निर्दलियतालाई खुकुलो बनाउदै सबैलाई समेट्ने सोचको वकालत गरिरहेका थिए भने दरवरीया शक्ति यसलाई यथास्थितिमा राख्न खोजेको देखिन्थ्यो । पंचायतभित्रको यो द्वन्द्वले पराकाष्ठा नाघ्यो । पंचायत उदार र अनुदार दुई चिरामा विभाजित भए । उदार पक्षको नेतृत्व भूपू प्रधानमन्त्री सूर्यवहादुर थापाले गर्न थाले भने अनुदार पक्षको नेतृत्वको जिम्मा दरवारले प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई दिइयो । यहीबाट बद्री प्रसाद मण्डलको राजनीतिक चतुराईको सुरुवात हुन्छ । उनले सूर्यबहादुरको खेमाबाट लेकेन्द्र बहादुर चन्दको खेमामा हाम फाले र अनुदार पक्षलाई साथ दिए, जसले उनको राजनीतिक पहुँचलाई खँदिलो बनायो ।
गाठी कुरा के हो भने राजा महेन्द्रद्वारा प्रतिपादित निर्दलीय पञ्चायती व्यवस्थालाई जनमतसंग्रहले जनअनुमोदित गरिसकेपछि दरवारको बर्चश्वलाई प्रधानमन्त्रीले न्यूनीकरण गर्न प्रयास गरेका थिए ।
अनुदार पक्षमा आफनो मत हालेपछि उनलाई २०४० असोज १ गते एक तहको बृद्धि भयो । उनी सहायकबाट राज्यमन्त्रीको रुपमा वन मन्त्रालय सम्हाल्न पुगे । यही मन्त्रीमण्डललाई सूर्यबहादुर थापाले भूमिगत गिरोहको कठपुतली रहेको आरोप लगाएका थिए । जो पञ्चायती राजनीतिमा वर्षौवर्षसम्म चर्चा परिचर्चाको विषय बन्यो । सूर्यवहादुर थापा समर्थित साप्ताहिक विमर्श पत्रिकाका सम्पादक पदम ठकुराठीलाई यही समूहले गोली हान्न लगाएपछि पञ्चायतभित्रको अन्तरद्वन्द्वले मुलुक नै हल्लाएको थियो । आधिकारिक रुपमा मेरो पनि पत्रकारिता जीवनको प्रारम्भ यही पत्रिकाबाट भएको हो । बद्रीबाबु भूमिगत गिरोहको यति नजिकिए कि म पनि उनको विरुद्धमा कैयौं समाचार मोरङ्गबाट सम्प्रेषण गरे । गिरोहलाई साथ दिने अरु कोही होइन, तत्कालिन अधिराजकुमार र पछि राजा बनेका ज्ञानेन्द्र शाह थिए, जसलाई रानी ऐश्वर्याले पनि भरथेग गरेकी थिइन । राजा मूकदर्शक बनेका थिए ।
मातृकालाई हराएपछि कानुनमन्त्री
यतिबेलासम्म म पनि विराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसमा पढाउन थालेको थिए । तर, पत्रकारितामा प्रवेश गरेको थिइन । २०४४ साल असोजदेखिमात्र विमर्श समूहमबाट सम्वाददाताको नियुक्ति पाएको हूँ । त्यसैले वि.स.२०४३ सालको आम निर्वाचनमा नेपालका पहिलो जनप्रधानमन्त्री र २००७ सालका क्रान्ति नायक मातृका प्रसाद कोइरालालाई बद्रीबाबुले कसरी हराए त्यसको सदृश्य विवरण अहिले पनि मेरो मानस पटलमा नाचिरहेको छ । नहराएको भए मातृका प्रसाद कोइराला पुनः प्रधानमन्त्री बन्ने थियो भन्ने चर्चा व्यापक रुपमा सुनिन्थ्यो । पञ्चायतमा मातृका हराउने पक्ष हौसिए र बद्रीबाबुलाई मरिचमान सिंह श्रेष्ठको मन्त्रीमण्डलमा फुलमन्त्रीको रुपमा न्याय तथा कानुन मन्त्रीको पदभार थमाए ।
यो त्यो साल हो जतिबेला पञ्चायती व्यवस्थाले रजत जयन्ती महोत्सव मनाइसकेका थिए र व्यवस्था परिपक्व भइसकेको छ, अब कसैबाट डर त्रासको वातावरण छैन भन्ने महापञ्चहरुले घुर्की लगाउँदै थिए । पञ्चहरुमा यसप्रकारको विचारको उत्पादन हुनुको प्रमुख कारण केही कम्युनिष्ट पार्टीहरुले आफ्नो उम्मेदवारलाई प्रगतिशीलताको पगरी लगाउन लगाएर मैदानमा उतारेका थिए । जसमध्ये केही जिते त केही हारे । सबैभन्दा बढी चर्चा पद्मरत्न तुलाधरको भयो जसले काठमाण्डौमा महापञ्च जोगमेहर श्रेष्ठलाई हराए । ठीक अहिलेको बालेन साह जस्तो ! तर पञ्चहरुको यो ध्वांस धेरै दिन टिक्न सकेनन् । २०४६ सालको ऐतिहासिक जनआन्दोलनले तीन दशकदेखि अविछिन्न रुपमा राज्य गर्दै आएका राजा महेन्द्रद्वारा प्रतिपादित पञ्चायती व्यवस्थाको अन्त्यसँगै बद्रीबाबू पनि केही वर्षसम्म हाइवरनेसन पिरियडमा गए ।
बहुदलीय व्यवस्थाको पुनस्र्थानासँगै राजनीतिक दलहरुको उदय भयो । पूराना राजनीतिक दलहरु प्रतिबन्धित अवस्थामा रहेको बेला पनि लुकिछिपी काम गर्दै थिए । जसमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरु प्रमुख थिए । तर, ३० वर्षसम्म निर्दलीय पंचायती व्यवस्थामा राजनीतिक अभ्यास गरिरहेकाहरुले पनि आ–आफ्नो विचार अनुसार पार्टी स्थापना गरे । प्रारम्भमा त्यो एकमुष्ट पञ्चायत पक्षधरहरुको राष्टिय प्रजातन्त्र पार्टीको रुपमा उदाए । पछि विभाजित भएर राप्रपा (थापा) र राप्रपा (चन्द) भए । पञ्चायतकालीन राजनीतिका यी दुई व्यक्ति सूर्यवहादुर थापा र लोकेन्द्र बहादुर चन्दको आँकडा जहिले पनि छतिसको रहियो । नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका दुई महाभिष्म मोहनविक्रम सिंह र निर्माल लामा जस्तै । नेपाली राजनीतिमा माओ र चाओ नामले विभुषित यी दुई व्यक्तिमध्ये एकको मृत्यु भए पनि एक ठाउँमा भने अहिलेसम्म आउन सकेका छैनन् ।
त्यस्तै सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दको अवस्था भयो । कालान्तरमा यी कम्युनिष्ट नेताहरु जसरी फुट्दै जुट्दै अहाँसम्म आइपुगेका छन् । ठीक त्यसरी नै सुर्यबहादुर थापा र लोकबहादुर चन्द पक्षबीच घट्ना घटेका छन् । र, अद्यावधी घट्दै छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् अन्ततोगत्वा सूर्यबहादुर थापा पक्ष जो पञ्चायती व्यवस्थाको उदारीकरणको पक्षमा थिए आफू मरे पनि बुबाको सोचलाई मूर्त रुप दिदै छोरा सुनिल बहादुर थापाको समूह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
फलस्वरुप काँग्रेसले उनलाई पुरस्कृत गर्दै राष्ट्रिय सभाको उम्मेदवार बनाएका छन् । अनुदार पक्ष भने लोकेन्द्र बहादुर चन्दलाई संरक्षक मान्दै भर्खरै राप्रपा (लिङ्गदेल) र राप्रपा (थापा) एकीकरण गरेर पार्टीलाई संगठित पारेका छन् । यति हुँदाहुँदै पनि बद्रीबाबु भने कही देखिएका थिएनन् । उनी मधेशवादको झण्डा फहराउन केही महिना पहिले वीरगंजमा आयोजित नेपाल सद्भावना पार्टीको महाधिवेसनमा पुगेका थिए । जहाँ उनालाई सर्वमान्य नेता बनाइएको थियो । तर मोरङ्गमा यो पार्टी उनको खल्तिमा थियो । त्यसैले उनको पार्थिव शरीरमाथि पनि कसैले पार्टीको झण्डा ओह्राएनन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् अन्ततोगत्वा सूर्यबहादुर थापा पक्ष जो पञ्चायती व्यवस्थाको उदारीकरणको पक्षमा थिए आफू मरे पनि बुबाको सोचलाई मूर्त रुप दिदै छोरा सुनिल बहादुर थापाको समूह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
यसरी के देखिन्छ भने पञ्चायतको अन्त्यपश्चात २०४८ सालको पहिलो आम निर्वाचनमा बद्रीबाबुले भाग लिएनन् । किनकि, बहुदलको रापताप यति घनिभूत थियो कि पञ्चहरुको बीचमा मुर्दाशान्तिको स्थिति सिर्जना भएको थियो । तर, त्यो परिस्थिति २०५१ सालको मध्यावधि आमनिर्वाचनमा भने रहेनन् । राजनीतिका चतुर खेलाडी बद्रीबाबुले यो कुरा पहिले नै आँकलन गरिसकेकोले उनी चुनावी मैदानमा हाम फाले ।
राप्रपाबाट चुनाव लडे तर जीवनमा पहिलो पटक आम चुनावमा पराजित भए । वास्तवमा पञ्चायती व्यवस्थामा कैयौं पटक प्रधानमन्त्री भइसकेकाहरु एक पटक बहुदलीय व्यवस्थामा त्यो पद चाख्न पाए हुन्थ्यो भन्ने मनसाय राख्थे । सिरहाको पञ्चायत राजनीतिका एक स्तम्भ कृष्णचरण श्रेष्ठले पनि यसप्रकारको विचार व्यक्त गरेको कुरा मलाई याद आइरहेको छ । स्वयं सूर्यबहादुर थापाले आफ्नो पुस्तक “मेरा नौ दशक” मा पनि यो कुरा उल्लेख गरेका छन् । तर पद पाएपछि संसदीय व्यवस्थालाई जसरी उनीहरुले दुरुपयोग गरे त्यसलाई नेपाली राजनीतिको मुसोकाल भनिन्छ ।
यही कालमा सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले कांग्रेस र एमालेको काँध चढेर बहुदलीय कालमा पनि प्रधानमन्त्री बन्ने आफ्नो उत्कठ इच्छा पूरा गरे । तर बद्रीबाबुको त्यो चाहना भने पूरा भएनन् । तत्पश्चात् उनले मधेशी राजनीतिलाई आधार बनाए । मधेशका नायक गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीमा प्रवेश गरे । जो अन्ततोगत्वा उनको चाहनालाई पूरा ग¥यो । उनी २०५६ सालको आम निर्वाचनमा नेपाल सद्भावना पार्टीको टिकटबाट मोरङ्गमा एउटा हेभिवेट उम्मेदवारलाई यसरी हराए जो देशभरीमा चर्चापरिचर्चाको विषयवस्तु बन्यो । उनी थिइन् नेपाली कांग्रेसको तर्फबाट भविष्यमा बन्ने प्रधानमन्त्री तथा महिला नेतृ शैलजा आचार्य । मातृका र वीपीका एक मात्र क्रान्तिकारी भान्जी । द बर्निङ्ग लेडी !
मोरङ्गमा मधेशी राजनीति
पञ्चायतकालमा कोइराला परिवार भनेको मातृकाप्रसाद कोइराला बुझिन्थ्यो भने बहुदलीयकालमा गिरिजाप्रसाद कोइराला । अहिलेको कोइरला निवास सुनसान देखिन्थ्यो भने राजा त्रिभुवनले ५५ हजारमा बनाइदिएको मातृका बाबुको घरमा भीड लागेको हुन्थ्यो । दुबै कालमा बद्रीबाबुले कोइरालाहरुलाई चुनौती दिए भन्ने कुरा ममाथि उल्लेख गरिसकेको छु । तर जब मधेश जनविद्रोहपश्चात् मधेशवादले मूर्तरुप धारण गरे त्यसपछि उनले मधेशी जनअधिकार फोरमलाई सघाए पनि खुलेर भने साथ दिएनन । यसको मूलकारण उनी भर्खर सत्ता राजनीतिबाट बाहिरिएको कारणले पनि होला । तर, मधेशी राजनीतिका मूलधार समातेका उपेन्द्र यादवसंग विगतको सम्बन्ध राम्रो भए पनि कालान्तरमा उनी उनको पार्टीमा समावेश हुन सकेनन् ।
बरु मधेशमा दोस्रो दर्जाको पार्टीमा उनको संलग्नता देखिन्छ । कतिसम्म भने दोस्रो संविधान सभामा उनी राजेन्द्र महतो अध्यक्ष रहेको सदभावना पार्टी, नेपालको टिकटमा मोरङ्गको दुइटा क्षेत्रबाट चुनाव लडेका थिए । जो उनको जीवनको सबैभन्दा ठूलो हार भयो । मातृकाप्रसाद कोइराला तथा शैलजा आचार्यजस्तो हेभिवेट उम्मेदवारलाई हराउन सक्ने सामर्थ भएका बद्रीप्रसाद मण्डलले त्यतिबेला अमृत अर्याल र शिवकुमार मण्डलजस्ता भर्खरका युवाहरुबाट पराजित हुन पुगेका थिए ।
हिलेको कोइरला निवास सुनसान देखिन्थ्यो भने राजा त्रिभुवनले ५५ हजारमा बनाइदिएको मातृका बाबुको घरमा भीड लागेको हुन्थ्यो ।
यसरी के देखिन्छ भने उनको पराजयसंगै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो । जसले झापा, मोरङ्ग, सुनसरी र उदयपुरलाई प्रदेश न. १ मा गाभेपछि मधेशी राजनीतिको सर्वनाश भयो । उल्लेख्य संख्यामा मधेशी समुदायको बसोबास भए पनि मधेशी राजनीति भने नाम मात्रको रहेको छ । कोशी प्रदेशको रुपमा नामाकरण भएपछि पहिचानवादीहरुले जसरी आन्दोलन चर्काएका थिए त्यसलाई पनि कमजोर पारिसकेपछि यथास्थितिवादीहरु हौसिएका छन् ।
बद्रीप्रसाद मण्डलको मृत्युपश्चात् मधेशी राजनीतिलाई आकार दिन सक्ने नेताको अभाव देखिन्छ । खासगरी संघीय शासन व्यवस्थाको मूर्तिकरणमा अहम् भूमिका निर्वाह गरेका उपेन्द्र यादवको उठिवास भैसकेपछि झन् यो प्रदेश अभिभावकविहीन बनेका छन् । कोशी प्रदेशमा कही कतै एउटा सिट जितेका छैनन् । मधेश जनविद्रोहपश्चात् मोरङ्गको दक्षिणी भेक कब्जा गर्ने फोरमको नामोनिसान छैन ।
बद्रीबाबुबाट त्यो सम्भव थियो । यो कुरा नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहले त्यतिबेला अनुभूत गरे जतिबेला विराटनगरको शहीद मैदानमा आयोजित महाधिवेशनको पुरै तयारीमा लाग्नु भएका बद्रीबाबु त्यहाँ उपस्थित हुन सक्नुभएन । बुझिन्छ, उनी पार्टीमा कुनै ठूलै पदको आकांक्षा राखेका थिए । जसलाई गजेन्द्रबाबूले आनाकानी गर्दै थिए । पछि उपाध्यक्ष पद दिने स्वीकृति गरेपछि समापन समारोहमा भाग लिएका थिए ।
अन्त्यमा चिप्ले
बद्रीबाबुले देशको वस्तुगत परिस्थितिलाई छाम्न सकेनन् । टाउकोमा पञ्चायतकालीन भूत सवार थियो । संवैधानिक राजतन्त्र र सक्रिय राजतन्त्रको भेद नै छुट्याउन सकेनन् । राजविराज महाधिवेशनबाट नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष निर्वाचित भइसकेपछि पनि पार्टीको विधान अनुकुल हिडेनन् । संवैधानिक राजतन्त्रको दायराभन्दा बाहिर गए । यसले गर्दा पार्टीभित्र विद्रोहको परिस्थिति सिर्जना भयो । त्यतिबेलासम्म तत्कालिन राजा ज्ञानेन्द्रले संवैधानिक राजतन्त्रको मर्यादालाई मटियामेट परिसकेको अवस्था थियो ।
एउटा मधेशीको हैसियतले पार्टीको विधान अनुकूल अध्यक्षले पनि आचरण गरेको भए शायद सद्भावना पार्टी यति चिराचिरामा विभक्त हुने थिएनन् । मोरङ्गमा मात्र होइन देशमा नै उनी आज मधेशीको अन्तरमनका नेता हुन्थे । सदासर्वदा मधेशले उनलाई स्मरण गर्थे । यसको तात्पर्य उनी मधेशी राजनीतिबाट अलग भएका थिए भने होइन । तर, भूमिकाविहीन अवस्थामा रहेकोले मोरङ्गमा स्थापित गरेको चार दशकको यात्राले संस्थागत रुप धारण गरेनन् । उनले जजसलाई अगाडि सारे उनीहरु मधेशी राजनीतिको गाँठी कुरा जान्दैनन् । यद्यपि मधेशी भोंटबाट नै चुनाव जित्छन् तर आफ्नो भेषभुषामा संसदमा शपथग्रहण गर्दैनन् । किनकि तिनीहरु संस्थागत उम्मेदवार होइनन् ।
बद्रीबाबुको निधनपछि उहाँको मृत्युभोज खान जति मान्छे गाउँमा आए, त्यो उहाँको राजनीतिक शक्ति वा लगानी थिएन । यदि त्यस्तो हो भने ती जमातले पछिल्लो राजनीतिमा बद्रीबाबुलाई किन साथ दिएनन् ? मधेशी समाजमा भोजभतेरमा जति खर्च गर्छन् त्यसको एउटा सानो अंश संस्मरणात्मक पुस्तक प्रकाशनमा लगानी गर्न सकेको भए त्यो भोजभन्दा कैयौं गुणा बढी लाभकारी हुन्थ्यो । मेले थाहा पाए अनुसार आफ्नो जीवनको बारेमा उनले लेख्न लगाएका पनि थिए ।
त्यसकालागि विराटनगरका चर्चित साहित्यकार शिवनारायण पण्डित सिंगलसंग दुइचार पटक भेंटघाट पनि भएको थियो । तर यसैबीचमा उनको देहावसान भयो । यो कार्यलाई उनका सन्ततीले निरन्तरता दिए उत्तम हुन्थ्यो । जसले देश र समाजको लागि काम गरेका छन् त्यस्ता व्यक्तिको भौतिक शरीर नष्ट भए पनि उनले गरेका काम र कृति कहिल्यै नष्ट हुँदैनन् । बद्रीबाबुको लामो राजनीतिक जीवनमा जेजस्ता सकारात्मक तथा नकारात्मक घट्नाहरु घटे त्यसको बारेमा उनका शुभचिन्तकहरुले केही न केही काम गर्न सके विराटनगरका लागिमात्र होइन, सिंगो देशको लागि सुखद् समाचार बन्थ्यो । किनकि, बद्रीबाबु कुनै आदिगुदी नेता थिएनन् । शब्दश्रद्धान्जलि ।


तपाईको प्रतिक्रिया