फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ । तीन हजारभन्दा बढी उम्मेदवार मैदानमा छन् । अहिले देशभर एउटै दृश्य दोहोरिएको छ, हात जोडेर भोट माग्ने, पुराना भाषण दोहो¥याउने र असम्भव आश्वासन बाँड्ने । तर प्रश्न यो हो कि के हामी फेरि पनि चुप लागेर ठगिन तयार छौँ त ? चुनाव नेताको पर्व होइन, जनताको अधिकार हो, यसबाट देशको भविष्य निर्धारण हुन्छ । तर हाम्रो समाजमा चुनाव भनेको नेता बोल्ने र जनता सुन्ने नाटकमा सीमित हुँदै गएको छ । मतदाताले प्रश्न नगर्ने बानी नेताको सबैभन्दा ठुलो हतियार बनेको छ । प्रश्न नगर्ने हो भने एकछिनको भाषण, दुई शब्दको भावुकता र झूटो आश्वासनमा जनता सधैँ सस्तोमा बिक्छन् ।
पहिले जितेर संसद पुगेकाहरूलाई सोध्नैपर्छ कि तपाईं संसदमा गएर के गर्नुभयो ? हामीलाई मत हाल्न सिकायौँ, तर तपाईंले हामीलाई के दिनुभयो ? पाँच वर्षसम्म तपाईं कहाँ हराउनुभयो ? संसदमा आवाज उठाउनुभयो कि मौन बस्ने दर्शक मात्र बन्नुभयो ? कानून बनाउने ठाउँमा बसेर तपाईंले जनताको पक्षमा कति पटक उभिनुभयो ? यदि यी प्रश्नको जवाफ छैन भने उनीहरूलाई भोट माग्ने नैतिक अधिकार पनि छैन । नयाँ उम्मेदवारहरू पनि कम छैनन्, जो “युवा”, “इमानदार” र “परिवर्तन” शब्द बेचिरहेका छन् । शब्द सस्तो हुन्छ तर जिम्मेवारी महँगो । नयाँ हुनु योग्यता होइन बरु योजना हुनु योग्यता हो । यसलाई पनि प्रश्न गर्नुस्, संसद पुगेपछि पहिलो सय दिनमा तपाईं के गर्नुहुन्छ ? त्यसको एक वर्षमा के गर्नुहुन्छ, दुई वर्षमा के गर्नुहुन्छ पाँच वर्षमा के गर्नुहुन्छ ? शिक्षा सुधार तपाईंको भाषणमा मात्र हो कि लिखित योजना पनि छ ? स्वास्थ्य सेवा गरिबको पहुँचमा कसरी पु¥याउनुहुन्छ ? रोजगारी सिर्जना भन्ने नारा होइन, त्यसको स्रोत के हो ? बजेट कहाँबाट आउँछ ? सिधै प्रश्न गर्नुस् ।
“सरकार बनेपछि हेर्छु” भन्ने उम्मेदवारलाई त्यहीँ रोक्नुस् । संसद सदस्य बन्ने मान्छेलाई अहिले नै थाहा नहुने कुरा पाँच वर्षपछि थाहा हुने होइन । हामीले प्रश्न नगरेकै कारण आज राजनीति यो हालतमा पुगेको हो । नेताले जनतालाई होइन, सत्तालाई मालिक ठान्न थालेका छन् । चुनाव जितेपछि जनता सम्झिँदैनन्, किनकि चुनावअघि जनताले पनि नेतासँग केही मागेका हुँदैनन् । अब पनि प्रश्न नगर्ने हो भने, फेरि त्यही कहानी दोहोरिन्छ । जितेपछि नेताहरु पछाडि फर्केर हेर्दैनन् । पाँच वर्षपछि मात्र फेरि आउँछन्, नयाँ नारा, पुरानो धोका लिएर । अनि हामी फेरि भन्छौं, ‘देश किन बनेन ?’ देश नबन्नुमा हामी पनि दोषी छौं किनभने हामीले समयमा प्रश्न गरेनौं, समयमा रोकेनौं ।
यसपटक चुनावलाई शिष्टाचारको कार्यक्रम नबनाऔँ । घरदैलोमा आएका उम्मेदवारलाई सम्मानपूर्वक तर कठोर प्रश्न गरौँ । मञ्चमा भाषण सुन्दा ताली होइन, उत्तर मागौँ । सामाजिक सञ्जालमा फोटो होइन, प्रतिबद्धता खोजौँ । प्रश्न नगर्ने मतदाता लोकतन्त्रको भार होइन, बोझ बन्छ । प्रश्न सुन्न नसक्ने र त्यसको जवाफ दिन नसक्ने उम्मेदवार जनप्रतिनिधि बन्न योग्य छैन । फागुन २१ गते भोट हाल्ने दिन मात्र होइन, हाम्रो चेतनाको परीक्षा हो । आज प्रश्न गरिएन भने भोलि गुनासो गर्ने नैतिक अधिकार पनि रहँदैन ।
तपाईको प्रतिक्रिया