काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) ले लुम्बिनी प्रदेश सरकारमा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयप्रति घोर आपत्ति प्रकट गरेको छ।
जसपा नेपाल का प्रवक्ता मनिष कुमार सुमनद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै जसपा, नेपालले उक्त कदमको कडा शब्दमा भर्त्सना गरेको हो । विज्ञप्तिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालेको कदमलाई अनैतिक, स्वेच्छाचारी र कानुनी राज्यको उपहासको संज्ञा दिइएको छ ।
जसपा, नेपालले सर्वोच्च अदालतको हालैको फैसलाले दल विभाजनको गैरकानुनी प्रपञ्चलाई खारेज गर्दै जसपा, नेपाललाई वैधानिकता प्रदान गरिसकेको स्पष्ट पारेको छ । अदालतको फैसलासँगै सम्पूर्ण जनप्रतिनिधि, नेता र कार्यकर्ताहरू कानुनी रूपमा जसपा, नेपालकै मातहत र दलीय अनुशासनमा बाँधिएको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले अदालतको फैसला लगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराउँदागराउँदै लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता गठबन्धनका मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य-मान्यताको ख्यालै नगरी जसपा नेपालको नाममा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराएको आरोप लगाएको छ। पार्टीले यसरी मन्त्री नियुक्त गर्नु लोकतन्त्रमाथिको नाङ्गो प्रहार र बलमिच्याइँको पराकाष्ठा भएको भन्दै मुख्यमन्त्रीको यो हर्कत घोर अलोकतान्त्रिक, असंवैधानिक र राजनीतिक रूपमा अत्यन्तै निन्दनीय रहेको बताएको छ।
जसपा, नेपालले भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। पार्टीको यस न्यायसंगत र कानुनी मागलाई नजरअन्दाज गरिएमा कडा कदम चाल्ने चेतावनीसमेत दिइएको छ। अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा उत्रिने लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले-कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा, नेपाल सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।


तपाईको प्रतिक्रिया