वीरगञ्ज महानगरपालिकाका मेयर सिंहमाथि विशेष अदालतमा मुद्दा

काठमाडौँ जेठ २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेयर सिंहले अर्कैकी छोरीलाई आफ्नी छोरी बनाई झूटो विवरणको आधारमा नागरिकता दिलाएको ठहर गर्दै अख्तियारले उहाँहरूविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले मेयर सिंहलाई मतियारको रूपमा मुख्य कसुरदार सरह सजायको माग गरेको छ । नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ । त्यसैगरी, गलत छानबिन प्रतिवेदन तयार पारेको अभियोगमा गृह मन्त्रालयका कर्मचारीहरू पुस्कर राना र परशुराम पोखरेललाई पनि कसुरदार मानी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार मेयर राजेशमान सिंहले सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी भनी झुटा विवरण पेस गर्नुभएको थियो । उहाँले वीरगञ्ज महानगरपालिका वडा नं ३ बाट रुविनाको जन्मदर्ता बनाउन सूचकको रूपमा कार्य गर्नुभएको थियो । सोही जन्मदर्ताको आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट रुविनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।

छानबिनका क्रममा सरकारी निकायको कागजातमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने र कागजात लुकाउने जस्ता गैरकानुनी कार्य भएको भेटिएको अख्तियारले जनाएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत दोषीलाई बचाउने गरी गलत प्रतिवेदन तयार पारेको अख्तियारको ठहर छ । समितिका तत्कालीन संयोजक (उपसचिव) पुस्कर राना र सदस्य (शाखा अधिकृत) परशुराम पोखरेलले वास्तविक तथ्य लुकाएर र प्रमाणहरू नष्ट भएको भन्दै गलत प्रतिवेदन बुझाउनुभएको अख्तियारको भनाइ छ । आयोगले उहाँहरू सबैलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवानाको सजाय माग दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया