रास्वपा अधिवेशनमा झडप, चुनाव स्थगित

सिरहा जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिराहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच आज झडप भएको छ । जिरोमाइलस्थित अधिवेशन स्थलमा भएको सो झडपपछि आजका लागि तय गरिएको चुनाव स्थगित गरिएको छ । झडपमा पार्टीको र्‍यापिड एक्सन टिम (आरएटी) का जिल्ला प्रमुख दिनेश थापालगायत केही कार्यकर्ता घाइते भएका छन् ।

जिल्ला कार्यसमितिको नेतृत्व कसले पाउने भन्ने विषयमा आकांक्षीहरूबीच कुरा नमिल्दा विवादले उग्र रूप लिएको हो । यस अधिवेशनमा सभापति पदका लागि सुवास यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली बलिया आकांक्षीका रूपमा देखिनुभएको छ । उहाँ तीनै जना आआफ्नो अडानमा भएको कारणले विवाद उत्पन्न भएको हो । रामसोगारथले आफू सर्वसम्मत सभापति चयन हुनुपर्ने अडानमा हुनुहुन्छ भने सुवास र हरिले चुनावमा जानुपर्ने भनिरहनु भएको छ ।

अधिवेशन स्थल तनावग्रस्त र विवादित बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले हस्तक्षेप गर्दै नेतृत्व चयनका सम्पूर्ण प्रक्रियाहरू स्थगित गरेको छ । आयोगका प्रमुख भुवन केसीज्यूले एक विज्ञप्ति जारी गर्नुहुँदै भोलि बिहान ९ बजेसम्मका लागि निर्वाचनका कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया