काठमाडौँ जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने उद्देश्यका साथ सुरु भएका विभिन्न तहका अधिवेशनहरूमा विवाद र तनाव बढ्दै गएको छ । पार्टीका देशका विभिन्न स्थानमा भइरहेका अधिवेशनहरूमा तीव्र मतभेद, विवाद र कतिपय ठाउँमा भौतिक झडपका घटनाहरू समेत बाहिर आउन थालेका छन् । यसै क्रममा आज सोमबार सिराहा र बारा दुवै जिल्लाको अधिवेशन प्रक्रिया स्थगित हुन पुगेको छ ।
सिराहामा कुटाकुट
रास्वपाको सिराहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच सोमबार दिउँसो अधिवेशन स्थल जिरोमाइलमा व्यापक कुटाकुट र झडप भएको छ । जिल्ला कार्यसमितिको नेतृत्व हत्याउने विषयमा आकांक्षीहरूबीच विवाद बढ्दै जाँदा परिस्थिति नियन्त्रण बाहिर पुगेको हो ।
उक्त झडपमा परेर रास्वपाको र्यापिड एक्सन टिम (आरएटी) का जिल्ला प्रमुख दिनेश थापालगायतका जिम्मेवार नेता-कार्यकर्ताहरू घाइते भएका छन् । सिराहाको सभापति पदका लागि सुवास यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी रहनुभएको छ । आकांक्षीमध्ये रामसोगारथले आफू सर्वसम्मत रूपमा नेतृत्वमा आउनुपर्ने अडान राख्दै आउनुभएको छ भने सुवास र हरिले चुनावमार्फत नै नेतृत्वको टुङ्गो लगाउनुपर्ने अडान राखेपछि विवादले उग्र रूप लिएको हो ।
सिराहाको स्थिति तनावग्रस्त बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले हस्तक्षेप गर्दै भोलि (मङ्गलबार) बिहान ९ बजेसम्मका लागि नेतृत्व चयनका सम्पूर्ण प्रक्रियाहरू स्थगित गरेको छ ।
अनिश्चितकालका लागि अधिवेशन स्थगित
सिराहामा झडप भएर अधिवेशन स्थगित भएकै दिन रास्वपा केन्द्रीय निर्वाचन आयोगले बारा जिल्लाको अधिवेशन पनि स्थगित गरेको छ । आयोगका प्रमुख भुवन केसीद्वारा जेठ २५ गते (आज) जारी गरिएको ‘अत्यन्त जरुरी सूचना’ अनुसार जेठ २६ गतेका लागि तय गरिएको बारा जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू विविध अपरिहार्य कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
केन्द्रीय निर्वाचन आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति र समयबारे पछि आधिकारिक रूपमा जानकारी गराइने जनाएको छ । साथै, अधिवेशनका बाँकी प्रक्रियाहरू र आगामी कार्यतालिकाका सम्बन्धमा आयोगद्वारा जारी हुने थप निर्देशनको प्रतीक्षा गर्न सम्पूर्ण जिल्ला सदस्य, पार्टी पङ्क्ति र सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।
पार्टीभित्र नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा उत्साह हुनुपर्नेमा एकपछि अर्को जिल्लामा देखिएको गुटबन्दी, विवाद र भौतिक झडपले रास्वपाका आम नेता तथा कार्यकर्ताहरूमाझ चिन्ता बढाएको छ ।

तपाईको प्रतिक्रिया