काठमाडौँ, जेठ २६ गते । जिल्ला अधिवेशन र प्रतिनिधि छनोटका क्रममा विवाद र झडप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको अधिवेशन स्थगित गरेको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मधेश प्रदेशको अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गरिएको जानकारी दिनुभएको हो।
रास्वपाले आजैदेखि देशभर आफ्ना प्रदेश अधिवेशनहरू सुरु गरे पनि मधेश प्रदेशमा भने आन्तरिक विवादले उग्र रूप लिएपछि नेतृत्व पछि हट्नुपरेको हो। विभिन्न जिल्लामा प्रतिनिधि छनोट र निर्वाचनका विषयलाई लिएर कार्यकर्ताहरूबीच झडप भएपछि निर्वाचन आयोगले तत्कालका लागि प्रक्रिया नै रोक्ने निर्णय गरेको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार अब मधेश प्रदेशमा अधिवेशन केन्द्रित कुनै पनि राजनीतिक वा प्राविधिक कार्यहरू गर्न पाइने छैन। आयोगले जारी गरेको सूचनामा भनिएको छ, “मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।”
यसअघि धनुषा लगायतका जिल्लाहरूमा पदीय मर्यादा मिचेको र समूहगत राजनीतिलाई प्रश्रय दिएको भन्दै पार्टीले कारबाही प्रक्रिया अघि बढाएको पृष्ठभूमिमा मधेश प्रदेशको सम्पूर्ण अधिवेशन नै रोकिनुलाई रास्वपाभित्रको बढ्दो आन्तरिक असन्तुष्टिका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया