रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादव निलम्बित, अन्तरकालीन आदेश जारी

काठमाडौँ, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा जिल्ला कार्यसमितिका सभापति लक्ष्मेश्वर यादवलाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले यादवमाथि लागेका आरोपबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अर्को निर्णय नभएसम्मका लागि पदमुक्त गरी अन्तरकालीन आदेश जारी गरेको हो ।

केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा हस्ताक्षरित पत्र अनुसार यादवमाथि पार्टीको विधान, आचारसंहिता, कार्यविधि र निर्वाचन सम्बन्धी नियमहरू विपरीत कार्य गरेको आरोप लागेको छ । उहाँमाथि पार्टीको मूल्य मान्यता र हित अनुकूल पदीय जिम्मेवारी सम्पादन गर्न नसकेको, कार्यक्षमताको अभाव देखिएको, पदीय क्षेत्राधिकार मिचेको, अनावश्यक पदीय हस्तक्षेप गरेको र समूहगत राजनीतिलाई बढुवा दिएको जस्ता गम्भीर आरोपहरू लगाइएको छ ।

यादवविरुद्ध विभिन्न समयमा परेका उजुरीका आधारमा आयोगले यसअघि स्पष्टीकरण सोधेको थियो । उहाँबाट प्राप्त स्पष्टीकरणको ब्यहोरा चित्तबुझ्दो नभएको र थप अनुसन्धान गरी प्रमाण सङ्कलन तथा विश्लेषण गर्नुपर्ने देखिएकाले यो कदम चालिएको आयोगले जनाएको छ ।

आयोगले जारी गरेको अन्तरकालीन आदेश अनुसार अर्को पत्र प्राप्त नभएसम्म यादवले धनुषा जिल्ला सभापतिको हैसियतमा कुनै पनि कार्य सम्पादन गर्न पाउने छैनन् । साथै, पार्टीका कुनै पनि गतिविधि, उपस्थिति वा कार्यक्रमहरूमा सहभागी हुन समेत उहाँलाई पूर्ण रूपमा रोक लगाइएको छ । उक्त पत्रको बोधार्थ रास्वपाको केन्द्रीय कार्यसमिति सभापति, केन्द्रीय सङ्गठन विभाग, मधेश प्रदेश कार्यसमिति, मधेश प्रदेश अनुशासन आयोग र जिल्ला अनुशासन आयोग धनुषालाई समेत पठाइएको छ ।

तपाईको प्रतिक्रिया