—जयप्रकाश गुप्ता
बाबा रामजनम तिवारी नेपालको मधेशी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ नेपाल सद्भावना परिषद् तथा पछि बनेको नेपाल सद्भावना पार्टीका संस्थापक नेतामध्ये गनिनुहुन्छ । तर विडम्बना के छ भने उहाँको परिचय प्रायः यही सीमित वाक्यभित्र कैद गरियो । उहाँको योगदानमाथि गहिरो अध्ययन गर्ने, उहाँको राजनीतिक दृष्टि र ऐतिहासिक भूमिकालाई पुनः मूल्यांकन गर्ने प्रयास भने कहिल्यै पर्याप्त रूपमा भएन ।
सद्भावना पार्टीको राजनीति सधैं विभाजन, विवाद र आपसी अविश्वासले गाँजिएको पृष्ठभूमिबाट गुज्रियो । त्यसैले त्यही धारबाट आएका धेरै मानिसहरू पनि रामजनम तिवारीप्रति सहज देखिएनन् । उनीहरूको आरोप थियो, रामजनम तिवारीले गजेन्द्र नारायण सिंहलाई नेता मान्नुभएन, पार्टी विभाजन गर्नुभयोे र “सद्भावना तिवारी” बनाउनु भयो । अर्कोतर्फ, आफूलाई राष्ट्रको मूलधार ठान्ने काँग्रेस र कम्युनिष्ट धारले पनि उहाँलाई गम्भीरतापूर्वक बुझ्न चाहेन । पछिल्ला मधेश आन्दोलनका नेताहरूले त झन् पुराना संघर्ष र पुराना योगदानहरूलाई लगभग विस्मृतिमै पु¥याए । यही कारणले रामजनम तिवारीको समुचित ऐतिहासिक मूल्यांकन हुन सकेन ।
तर यति हुँदाहुँदै पनि, वीरगञ्जको घण्टाघर चौकमा उभिएको उहाँको सालिक भावी पुस्तालाई एउटा मौन प्रश्न गरिरहेझैं लाग्छ, “प्रजातन्त्र र अधिकारको सम्बन्ध के हो ?” वि.सं. २०१७ मा निर्वाचित प्रधानमन्त्री बी.पी. कोइराला जेल पर्नुभयो । राजा महेन्द्रको सैनिक ‘कू’ पछि नेपाली काँग्रेसको नेतृत्व प्रवासमा केन्द्रित भयो र जिम्मेवारी सुवर्ण शम्शेरले सम्हाल्नुभयो । संसदीय प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली काँग्रेसले सशस्त्र प्रतिरोधको बाटो रोज्दै सबै राजनीतिक शक्तिलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।
त्यस समय नेपाली काँग्रेसका नेता बासुदेव रिसालसँग मेरो निकट संवाद हुन्थ्यो । उहाँ मलाई “मधेशी” भन्दा बढी “प्रजातन्त्रवादी” ठान्नुहुन्थ्यो । उहाँ राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता हुनुहुन्थ्यो, म प्रतिनिधि सभाको सदस्य थिएँ । एक दिन उहाँकै कार्यकक्षमा मधेशको राजनीति र इतिहासबारे कुरा उठ्यो । मैले सोधेँ—“बासु दाइ, सुवर्णजीले भद्रकाली मिश्र, गजेन्द्र नारायण सिंह, रामजनम तिवारी, काशीप्रसाद श्रीवास्तव, चैतुलाल चौधरीजस्ता नेताहरूलाई नेपाली काँग्रेसमा किन टिकाउन सक्नुभएन ? किन ती सबै विस्तारै काँग्रेसबाट बाहिरिए ?”
यी सबै नाम मधेशमा नेपाली काँग्रेससँग जोडिएका प्रभावशाली नेताहरू हुनुहुन्थ्यो । वि.सं. २०३२ तिर उहाँहरूले नागरिकता लगायत मधेशी सवालहरू उठाउन थाल्नुभएको थियो । नेपाली काँग्रेसको केन्द्रीय समितिमा ती विषयमा बहस हुनुपर्ने मागसहित संयुक्त वक्तव्य जारी भएको थियो । त्यसपछि कतिपयसँग स्पष्टिकरण सोधियो । असहमतिको दूरी बढ्दै जाँदा अन्ततः सद्भावना परिषद् गठनतर्फ यात्रा मोडियो ।
म यही पृष्ठभूमि बुझ्न खोज्दै थिएँ । बासु दाइले अचानक गम्भीर नजरेले हेर्दै सोध्नुभयो—“ल भन त, एउटा मधेशीका लागि ‘प्रजातन्त्र’ कतिको आधारभूत कुरा हो ?” म केही क्षण स्तब्ध भएँ । कलेज जीवनमा ‘प्रेम’ र ‘प्रजातन्त्र’ मध्ये प्रजातन्त्र रोजेको मानिसका लागि यो प्रश्न असाध्यै गहिरो थियो । उहाँले फेरि अर्को प्रश्न गर्नुभयो—“मधेशीको आदर्श पुरुष को हो ? वेदानन्द झा कि गजेन्द्र नारायण सिंह वा रामजनम तिवारी ?” त्यो क्षण मलाई नेता सी.के. प्रसाईका शब्द सम्झना आयो । उहाँले एकपटक भन्नुभएको थियो—“उहाँ कृष्णका बासुदेव होइनन्, नेपाली राजनीतिका खेलाडी बासुदेव हुन्, जेपी !” कठिन प्रश्नले मानिसलाई भित्रैसम्म गलाउने क्षमता बासुदेव रिसालमा थियो ।
त्यसपछि उहाँले इतिहासका पानाहरू पल्टाउनुभयो ।२०१७ सालको शाही ‘कू’ पछि संसदको मुख्य प्रतिपक्षी दल गोरखा परिषद्ले आफ्नै विगत बिर्सेर नेपाली काँग्रेससँग एकता ग¥यो । राणाशाही र सामन्ती शक्तिको प्रभाव रहेको त्यो दलका लागि यो असाधारण निर्णय थियो । उनीहरूको निष्कर्ष थियो, “राजाले संसदीय प्रजातन्त्र नै समाप्त पारेका छन्, त्यसैले लोकतन्त्रको पक्षमा उभिनुपर्छ ।” भरत शम्शेर को नेतृत्वमा गोरखा परिषद् नेपाली काँग्रेसमा विलय भयो । त्यो नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण मोड थियो ।
तर यही घटनाले तराई काँग्रेसभित्र गम्भीर विवाद निम्त्यायो । तराई काँग्रेस मूलतः नेपाली काँग्रेसको मधेशमा बढ्दो प्रभावको विरोधमा बनेको थियो । त्यहाँ तराईका जमीन्दार, सम्पन्न र अभिजात वर्गको प्रभाव बढी थियो । २०१५ सालको चुनावमा पराजय भोगिसकेको त्यो दल २०१७ पछि नयाँ मोडमा पुग्यो । तराई काँग्रेसका संस्थापक सभापति वेदानन्द झा राजा महेन्द्रको कदमलाई समर्थन गर्ने पक्षमा हुनुहुन्थ्यो । उहाँको धारणा थियो, राजासँग निकट भएर शक्ति हासिल गर्न सकिन्छ । तर पार्टीका महामन्त्री रामजनम तिवारीको सोच बिल्कुल फरक थियो । उहाँको स्पष्ट मत थियो—“यदि मुलुकमा प्रजातान्त्रिक शासन रहेन भने मधेश र मधेशीको हित सम्भव छैन । मधेशी समुदायको मुख्य चुनौती संसदीय प्रजातन्त्रको पुनस्र्थापना हो ।”
रामजनम तिवारीले आपत्कालीन बैठक बोलाएर प्रस्ताव राख्नुभयो—“प्रजातन्त्र र मधेशीको अधिकार अन्योन्याश्रित विषय हुन् । प्रजातन्त्रविनाको मधेश दासत्वबाट कहिल्यै मुक्त हुन सक्दैन ।” उहाँले राजा महेन्द्रको कदमको विरोध गर्दै असाधारण परिस्थितिमा तराई काँग्रेसलाई नेपाली काँग्रेसमा विलय गर्नुपर्ने प्रस्ताव गर्नुभयो । अन्ततः वेदानन्द झाको विचार टिकेन । तराई काँग्रेस औपचारिक रूपमा नेपाली काँग्रेसमा समाहित भयो । पछि वेदानन्द झा पञ्चायती व्यवस्थामा मन्त्री र भारतका लागि राजदूतजस्ता पदमा रहनुभयो । तर रामजनम तिवारीहरूको अगाडि संघर्षको कठिन र लामो बाटो खुल्यो ।
अन्ततः पटनामा बसेको नेपाली काँग्रेसको बैठकमा रामजनम तिवारीले तराई काँग्रेस नेपाली काँग्रेसमा विलय भएको घोषणा गर्नुभयो । त्यस दिन बासुदेव रिसालले मलाई भन्नुभएको एउटा वाक्य अझै स्मृतिमा ताजा छ—“बुझ्यौ जेपी, मधेशले त्यही बेलादेखि दुईवटा बाटो देख्यो, सत्ताको बाटो र आधारभूत अधिकारका लागि संघर्षको बाटो ।” म नेपालको प्रजातान्त्रिक आन्दोलनका ती पुराना अध्यायहरू सम्झिरहेको छु । मधेशी नेताहरूको सोच, उनीहरूको राजनीतिक प्रतिबद्धता र लोकतन्त्रप्रतिको दृष्टिकोणबारे सोचिरहेको छु ।
पछि उपेन्द्र यादवले आफ्नो पार्टीको अवधारणा पत्रमा नेपाली काँग्रेसलाई “मुख्य शत्रु” लेखे । कम्युनिष्टहरूको काँग्रेसप्रतिको दृष्टिलाई नै आधार बनाएर उहाँले राजनीति अघि बढाउनुभयो । पछिल्ला निर्वाचनहरूमा पनि सत्ता सुनिश्चित गर्न कम्युनिष्टहरूसँग सहकार्य गर्नुभयो । आज मलाई लाग्छ, वेदानन्द झा र रामजनम तिवारीको त्यो वैचारिक विभाजन अहिले पनि मधेशको राजनीतिमा जीवित छ । इतिहासको घुमाउरो बाटोमा उहाँहरूले बनाएको सद्भावना पार्टी आज अस्तित्वमा छैन । अनेक टुक्रामा विभाजित छ । हालैका निर्वाचनहरूमा अपमानजनक पराजय भोगेको छ । विभाजन, विखण्डन र जनतिरस्कारको ओरालो लागिरहेको बेला, निर्वाचनअघि काँग्रेस–एमालेको सहयोगमा महन्थ ठाकुर राष्ट्रिय सभामा पुग्नुभयो । त्यसका लागि उहाँले उपेन्द्र यादव नेतृत्वको पार्टीमा समाहित हुनुप¥यो । यो पनि मधेसी राजनीतिको एउटा प्रतीकात्मक दृश्यजस्तै लाग्छ ।
तर प्रश्न अझै बाँकी छ, ‘उपेन्द्र यादव, महन्थ ठाकुर वा सीके राउतहरूले रामजनम तिवारीको त्यो सरल तर गहिरो चेतनालाई कति बुझ्नु भयो ? “प्रजातन्त्र र मधेशीको अधिकार अन्योन्याश्रित विषय हुन् । प्रजातन्त्रबिनाको मधेश दासत्वबाट कहिल्यै मुक्त हुन सक्दैन ।” सायद, नेपाली लोकतन्त्र र मधेशको इतिहास बुझ्न आज पनि यही प्रश्नतिर फर्किनु आवश्यक छ ।
२००७ सालको क्रान्ति सफल भएपनि मधेशीमाथिको विभेद अन्त्य नहुँदा बाबा रामजनम तिवारीले तत्कालिन गृहमन्त्री एवं काँग्रेसका नेता बीपी कोइरालालाई भेटेर मधेशमाथि भइरहेको विभेद अन्त्यका लागि आग्रह गर्नुभएको थियो । त्यतिबेला कोइरालाले भर्खर आएको प्रजातन्त्र सुदृढ अवस्था नभएको र सुधार हुनमा केही समय लाग्ने आश्वासन दिनु भएको थियो । २००८ मा तत्कालिन राजा त्रिभुवन वीरगञ्ज भ्रमणमा गएको बेला रामजनम तिवारीले उहाँलाई तराई काँग्रेसको ब्यानरबाट भव्य स्वागत गरी मधेशको समस्या बारे जानकारी गराउन चाहनु भएको थियो । तर त्यहाँ उहाँको कुरा नसुनी त्रिभुवनले उहाँलाई काठमाडौँ बोलाउनु भएको थियो । पछि काठमाडौँ आएर उहाँले राजा त्रिभुवन समक्षको मधेशका हरेक समस्याको बारेमा जानकारी गराउनु भएको थियो । साथै राजाबाट पनि समाधान हुने कुराको आश्वसान पाउनु भएको थियो ।
त्यसपछि उहाँ काँग्रेस पार्टी छाडेर सप्तरीका कुलानन्द झाको अध्यक्षतामा गठन भएको तराई काँग्रेसको महामहामन्त्री हुनुभयो । तराई काँग्रेसमा लागेपछि उहाँ त्यसको संगठन विस्तार गर्नुको साथै हिन्दी भाषा बचाउ आन्दोलनमा पनि लाग्नुभएको थियो । २०१७ सालमा पञ्चायतकाल आएपछि रामजनम तिवारी भारत प्रवासमा बस्नुभएको थियो । त्यतिबेला भारत पटनामा नेपाली काँग्रेसको सम्मेलन भएको थियो । सो सम्मेलनमा रामजनम तिवारीले तराई काँग्रेसलाई नेपाली काँग्रेससँग एकता गराएर प्रजातन्त्र प्राप्तिको लडाईंमा लाग्नुभएको थियो ।
उहाँको संघर्ष जारी थियो । त्यतिबेलै बसाइसराइसम्बन्धी हर्क गुरुङको प्रतिवेदन आयो ।
त्यो प्रतिवेदनले तराई मधेशलाई निकै अपमान गरेको महसुस गर्दै त्यसको विरोधमा रामजनम तिवारीले आन्दोलनसमेत गर्नुभएको थियो । प्रतिवेदनको विरुद्धमा लामो आन्दोलन चलेको थियो । त्यही आन्दोलनको क्रममा उहाँ वीरगञ्जबाट समातिनु भएको थियो । गजेन्द्रनारायण सिंह लगायत अन्य नेताहरु समातिनु भएको थियो । सरकारले रामजनम तिवारीबाहेक अन्य सबैलाई छाडेको थियो । रामजनम तिवारीलाई भने दुई महिनापछि मात्र छाडिएको थियो ।
२०४६ सालको आन्दोलनमा पनि सक्रियका साथ लाग्नुभएका रामजनम तिवारी २०४७ सालमा नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावाना पार्टीमा परिवर्तन गर्नुभयो । र, उहाँले त्यसको अध्यक्ष गजेन्द्रनारायण सिंहलाई बनाउनुभएको थियो । उहाँ आफै वरिष्ठ नेताको रुपमा रहनुभयो । २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीले भाग लिनुभएको थियो तर रामजनम तिवारी चुनाव लड्नु भएन । त्यसबेला पार्टीको ६ वटा सीट आएको थियो । राष्ट्रसभामा रामजनम तिवारीलाई मनोनित गर्ने कुरा थियो तर गजेन्द्रनारायण सिंहले रामेश्वर राय यादवलाई मनोनयन गरेपछि उहाँ गजेन्द्रनारायण सिंहको साथ छाडेर नेपाल सद्भावना पार्टी (आर) गठन गर्नुभयो । सोही दलबाट उहाँले आफ्नो राजनीति यात्रा तय गर्नुृभएको थियो ।
गजेन्द्रनारायण सिंहबाट अलग भएपछि नेपाली काँग्रेसले उहाँलाई पार्टीमा ल्याउन निकै प्रयास पनि गरेको थियो । तर उहाँले आफू मरेपनि अब नेपाली काँग्रेमा नजाने र यही दलबाट बाँचेसम्म मधेशका लागि आवाज उठाउने जवाफ दिनुभएको थियो । तिवारीले नेपाल सद्भावना पार्टी (आर) बाट निरन्तर संघर्षमा रहनुभयो । तर, सार्वजनिक लाभको पदमा कहिले जानुभएन । उहाँलाई काँग्रेस पार्टीले राष्ट्रि सभामा मनोनित गर्ने भनेर पटक–पटक पार्टीमा आउन आग्रह गरेको थियो । तर आफू पदका लागि मधेशसँग बेइमानी नगर्ने भन्दै सोही पार्टीमा रहेर आन्दोलनमा रहनुभाये । उहाँको निधन २०५६ वैशाख २९ गते भएको थियो ।
उहाँ मरेर गए तर जीवनभर कसैसँग पदका लागि कुनै पनि सम्झौता गर्नुभएन । उहाँसँगै आएका नेताहरु गिरफ्तार हुँदा दरवारमा बिन्ती चढाएर रिहा हुन्थ्यो । रिहाइका लागि विभिन्न ठाउँमा भनसुन गराउनु हुन्थ्यो तर रामजनम तिवारीले भने कहिले त्यस्तो गर्नुभएन । उहाँले चाहेको भए काँग्रेस पार्टीमा गएर मन्त्रीसम्म बन्न सक्नु हुन्थ्यो तर उहाँले मधेशको साथ कहिले धोका गर्नुभएन ।
भारतमा बेलायती शासन रहेको बेला उहाँ त्यहाँको दरोगा (पुलिस इन्सपेक्टर) हुनुहुनथ्यो । तर, त्यहाँका निर्दोष जनतामाथि गोली चलाउन निर्देशन आएपछि उहाँले जागिर नै छाड्नुभएको थियो । प्रहरीबाट जागिर छाडेपछि उहाँले त्यहीको अमेरिकी सूचना केन्द्रमा अनुवादकको रुपमा काम गर्नुभएको थियो । अंङ्ग्रेज विरोधी आन्दोलन शुरु भएपछि उहाँले त्यो जागिर छाडेर आन्दोलनमा होमिनुभएको थियो ।

तपाईको प्रतिक्रिया