–रामकुमार शर्मा
जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक सङ्कटलाई अनुकुल बनाउन मधेशी पार्टीहरु बिच मोर्चा, सघर्ष र एकताको नीतिमा पहिलो र दोस्रो पुस्ताका नेताहरु अगाडी बढे । धेरै प्रयास पछि “संघीय लोकतान्त्रिक मोर्चा“ गठन भयो । काठमाण्डौंदेखि मधेशका प्रमुख शहरहरुमा वृहत्त अन्तरक्रिया कार्यक्रमहरु प्नि सम्पन्न भयो । मोर्चाको कारण जनतामा उत्साह र आकर्षण पैदा भयो । तर दुर्भाग्य चुनावअघि सघर्षका थप कार्यक्रम घोषणा गर्न सकेन । अनेक अन्योल र दुविधा बिच चुनावतिर जाने स्थिती बन्यो ।
चुनावमा जाने निश्चित भइसकेपछि त्यसअघि पार्टीहरु बिच एकता गरेर जाउ भनि मोर्चामा छलफल भयो । एक प्रकारका सहमति पनि बन्यो । मोर्चाको सचिवालयमा रहेका दोस्रो पुस्ताका नेताहरुले त्यसका लागि धेरै प्रयास गरे तर केही अध्यक्षहरुको स्वार्थ र अंहकारको कारण न त पार्टी एकता हुन सक्यो न त एउटै चुनाव चिन्हमा सहमति हुन सक्यो । यद्यपी अन्तिम समयमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी बिच एकता भयो ।
अर्कोतर्फ राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, अशोक राइ नेतृत्वको तत्कालिन जनता समाजवादी पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल बिच एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिने सहमति भयो । तर सिके राउत नेतृत्वको जनमत पार्टी एक्लै चुनावमा गयो । मोर्चाका लागि यो दुर्भाग्यपूर्ण अवस्था थियो ।
नेताहरुको अहङ्कार र व्यक्तिगत स्वार्थको कारण एकता हुन नसक्दा मधेश÷थरुहट र राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका मधेशी÷थारु नेतृत्वमा रहेका राजनीतिक शक्तिहरु शुन्यमा झरेको यथार्थ सबै सामु प्रष्ट छ । चुनावपछिको यथार्थ सबैको सामुने आइसकेपछि हामीलाई लाग्यो अब त नेताहरुको घैंटोमा घाम लाग्यो होला ।
अब त पार्टीका नेतृत्वकर्ताहरुले सत्यलाई स्वीकार गर्नुहुन्छ होला ? अब त चुनाव पहिला हुन नसकेका एकता, संघर्ष र रुपान्तरणको लागि तयार हुनुहोला ? हामी पुनः मोर्चामार्फत एकता र संघर्षको मोडालिटी नैं बनाएर पटक–पटक बैठक बस्यौ । तर दुखको साथ भन्नुपर्छ, महापराजय पश्चात् पनि अधिकांश प्रमुख नेताहरु आ–आफ्नो पुरानो रोगबाट मुक्त हुन सकिरहनु भएको छैन । यस्तो अवस्थामा अब के गर्ने भन्ने प्रश्न हामी सबैको सामु ठिङ उभिएको छ ।
सुक्ष्म किसिमले हेर्दा अहिले मधेशमा चार किसिमको प्रवृतिहरू देखिन्छन् । पहिलो, नवयुवाहरु जसले मधेश आन्दोलन र बिद्रोहमा भएका दमन र शहादत देखेन, उनीहरुलाई आन्दोलन र क्रान्ति बारे कुनै किसिमले दीक्षित पनि गरिएन । उनीहरुले विगत १० वर्षमा सिर्फ काग्रेंस र कम्युनिष्टहरुसँग भएका नैतिक र अनैतिक गठवन्धनहरु देखे । उनिहरुले संघ र प्रदेश सरकारले गरेको नांगों कुशासन र भ्रष्टाचारका कृतिमानहरु देखे । गरिबी, वेरोजगारी र लाखौं युवाहरु विदेश पलायन भएका पिडाहरु देखें । यी मात्र हरेका युवाहरु सुशासन र भ्रष्टाचार विरुद्ध परिवर्तनको कुरा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाहको पछाडी कुदिरहेका छन ।
दोस्रो, युवा र प्रौढ नेताहरु आ–आफ्नो वैचारिक मान्यता अनुसार युवा नेता गगन थापा र विश्वप्रकश शर्माको कारण काँग्रेंसतर्फ आकर्षित भइरहेको देखिन्छ । तेस्रो, विकल्पको रुपमा कम्युनिष्टहरु बिचमा एकता र पुस्तान्तरणसहित रुपान्तरण भएको खण्डमा मधेशका युवाहरुको आकर्षण कम्युनिष्टहरु पनि हुनसक्ने देखिन्छ । चौथो, विगतका तमाम सकारात्मक र नकारात्मक अनुभवहरुको आधारमा मधेशी जनताको मुक्ति काँग्रेस÷कम्युनिष्ट र नायक भनिएको रास्वपा जुन सारमा पहिचान र संघीयता विरोधी, सम्राज्यवादी शक्तिको दलाल र डिप स्टेटबाट सञ्चालित शक्तिको रुपमा रहेको छ ।
यिनि सबैका बिरुद्ध साथैं आफ्नो घमण्ड, अंहकार र गलत कार्यशैलीको कारण महापराजय भोगिसक्दा पनि समयको माग र जनचाहनालाई स्वीकार गरि रुपान्तरण हुन नचाहने पुरानो मधेशी नेताहरु जसले बिगतमा पार्टी र सरकार सञ्चालनमा व्यक्तिवादी, जातीवादी, अलोकतान्त्रिक, अपारदर्शी र सामन्ती कार्यशैलीहरु अपनाएर पार्टीलाई बिघटन र विसर्जनको डिलमा पुर्याएर मधेश र मधेशी युवाको भविष्यसँग खेलबाड गरे । र अझैपनि आन्दोलन, पुस्तान्तरण र रुपान्तरणको लागि तयार नहुनेहरुसँग पूर्णरुपमा सम्बन्ध विच्छेद गरेर युवाको नेतृत्वमा क्रान्तिकारी विचार, राजनीति र मुद्दासहित क्रान्तिकारी शक्ति निर्माणको अभियानमार्फत अगाडी बढ्ने प्रयासमा लागेको देखिन्छ ।
सारमा जेनजी विद्रोहको मुल उद्देश्य विगत ३५ वर्षदेखि कायम रहेको मुख्य रुपमा नेपाली कांग्रेस र कम्युनिष्ट नेतृत्वका यथास्थितीवादी पार्टी र सरकार तथा सहयोगीको रुपमा मधेशी पार्टीहरु थियो । उनीहरुको कुशासन र भ्रष्टाचारजन्य क्रियाकलाप अन्त्य गर्न र देशमा समानतामा आधारित शान्ति, समृद्धि र विकासको आकांक्षा पूर्तीका लागि बालेन शाहमाथि ठुलो विश्वास गरेर शक्तिशाली दुई तिहाइको सरकार बनायो ।
तर सय दिन पनि नपुग्दै रास्वपा पार्टी र बालेन सरकारको अलोकतान्त्रिक, असंवैधानिक र व्यक्तिवादी कार्यशैलीको कारण देश झन अस्थिरता, अँध्यारो र ठुलो विकृतितर्फ गइरहेको छ । यस्तो अबस्थामा मधेशी, जनजाती, दलित, अल्पसँख्यक लगायत उत्पिडित राट्रियताहरुले विभिन्न आन्दोलन, सघर्ष र बलिदानबाट प्राप्त गरेको उपलब्धीहरुको रक्षा गर्नु अवाश्यक छ । राज्यले लोकतान्त्रिक मधेशी मोर्चासँग विगतमा गरेका सम्झौताहरु कार्यान्वयनका लागि मधेशी युवाहरु जाग्नुपर्छ ।
अब युवाहरु निराशा, पलायन वा अवसरवादको बाटो होइन मधेशी जनतालगायत सम्पूर्ण उत्पीडित समुदायहरुको मुक्तिको लागि चौथो विकल्पको रुपमा अभियान, आन्दोलन र रुपान्तरणको लागि युवा अभियान चलाउनुको विकल्प छैन । मधेसी लगायत सम्पूर्ण उत्पिडित राष्ट्रियताहरुको मुक्तिको लागि क्रान्तिकारी विचार सहितको क्रान्तिकारी पार्टी निर्माण गर्नुको विकल्प छैन ।
(लेखक रामकुमार शर्मा राजनीतिकर्मी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया