ममताको संघर्षः परिवारदेखि राजनीतिकसम्म

सानैदेखि पिडा, अभाव र संघर्षले मानिसलाई भित्रैदेखि बलियो र आत्मविश्वास बढाउछ । त्यसले जीवनमा जस्तोसुकै अप्ठ्यारो आएपनि त्योसँग लड्न र जिउन सिकाउछ । यस्तै एक संघर्षशिल मधेशका नारी हुनुहुन्छ बारा सिम्रौनगढका ममता शर्मा । बाल्यकालदेखि संघर्ष र अभावको जीवन बिताइ रहनु भएको ममता शर्माले सोच्नु भएको थिएन कि यसरी जीवनको अभिन्न अंग बन्छ राजनीति ।

उहाँको सोचाइ थियो डाक्टर बन्ने । डाक्टर बनेर देशलाई सेवा गर्ने तर परस्थितिले जीवनलाई यस्तो मोडमा ल्याइ दियो कि उहाँ होलटाइमर राजनीतिकर्मी बन्नुभयो । सानैदेखि घरपरिवारमा जसरी संघर्ष गर्नुभयो त्यसरी नै अहिले उहाँ राजनीतिमा पनि संघर्ष नै गरिरहनु भएको छ । अब उहाँले राजनीतिलाई छाड्न चाहे पनि उहाँलाई राजनीतिले छाड्ने छैन । एउटा बालक अपहरण मुद्दामा बुबा जेल परेपछि मानौ घरको सबै जिम्मेवारी उहाँकै काँधमा आइपुग्यो । बुबाको रिहाका लागि कानुन र राज्यका विभिन्न निकायको ढोका ढकढकाउने क्रममा ममतालाई धेरै कुरा सिकायो । बुबाको रिहाका लागि गुहार माग्ने क्रममा त्यो अपमान, त्यो तिरस्कारले ममतालाई हिम्मतबाली र आँटली बनायो र त्यसले उहाँलाई राजनीतितिर डोर्यायो । राजनीतिमार्फत आफू जस्तै पिडामा परेकालाई सहयोग गर्ने उद्देश्यले राजनीतिमा लाग्नु भएका ममता अहिले काँग्रेस पार्टीमा सक्रिय हुनुहुन्छ ।

राजनीति यात्रा

बुवा अमलदेव ठाकुर जेलमा भएको बेला उहाँको न्यायका लागि ममता शर्मा २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेट्न वनस्थलीस्थित पार्टी कार्यालयमा जानुभएको थियो । त्यतिबेला रविसँग ममताको सहज रुपमै भेट भएको थियो । चुनावको तयारीमा रहेको रवि लामिछाने ममतासँग इतमिनान (समय दिएर)ले कुरा गर्नुभएको थियो । ममताले आफ्नो बुवाको बारेमा सबै कुरा सुनाउनु भएको थियो । रविले तपाईको बुबामाथि ज्यादती भएको हो, आफ्नो पार्टी सरकारमा गयो भने रिहाका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो । तर त्यसका लागि तपाई पनि सहयोग गर्नुपर्छ, पार्टीमा आएर काम गर्नुस्, मधेशमा संगठन बनाउनुस् तपाईलाई तपाईको बुबाको लागि सक्दो सहयोग गर्छु भनि रविको आश्वासनपछि ममता त्यही दिनदेखि रास्वपामा प्रवेश गर्नुभएको थियो ।

२०७९ साउन १० गते रास्वपामा प्रवेश गरेर ममताले आफ्नो राजनीति यात्राको पहिलो कदम चाल्नुभएको थियो । तर त्यतिबेला रास्वपामा कहाँबाट काम गर्ने केही तयारी थिएन । त्यस अनुसारको केही योजना पनि थिएन, ममता भन्नुहुन्छ, ‘पार्टीमा सबैजना अन्योलमा हुनुहुन्थ्यो, खासगरि मधेस त पुरै शुन्य अवस्थामा थियो, त्यस अवस्थामा काम गर्न निकै चुनौती थियो ।’ त्यही दिन ममताले रविलाई भन्नुभएको थियो, ‘मधेश जाउ’ । त्यसपछि रविले भन्नुएको थियो, ‘मधेशमा त हाम्रो केही छैन अनि कसरी त्यहाँ जाने ।’

गएर त पहिल बिउ रौपौ, त्यसपछि केही नकेही भइहाल्छ नि भनेर रविलाई ममताले मनाउनु भयो । रवि मधेश जान तयार हुनुभयो । ममताले रविलाई मधेश लग्ने कुरा त गर्नुभयो तर कसरी लाने, कार्यक्रम कसरी गर्ने, ककसलाई बोलाउने कुनै आइडिया थिएन उहाँलाई । तर आँट गर्नुभयो । २०७९ साउन २८ गते जनकपुरमा मधेश भेला आयोजना गर्नुभयो । ममत भन्नुहुन्छ, ‘मैले आफ्नो आँटमा भेला आयोजना गरे, प्रचार प्रचार सुरु गरे । टेम्पो तथा गाडीबालाहरुलाई केही पैसा दिएर पोस्टरहरु गाडिमा टाँस्न लगाए, केही सहयोगीहरु ठिक पारेर भ्याएसम्म मधेशभर त्यसको प्रचार प्रसार गरे ।’

 

रविले तपाईको बुबामाथि ज्यादती भएको हो, आफ्नो पार्टी सरकारमा गयो भने रिहाका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो । तर त्यसका लागि तपाई पनि सहयोग गर्नुपर्छ, पार्टीमा आएर काम गर्नुस्

 

भेलामा ६–७ सय जनाको उपस्थिति थियो । केही मान्छे काठमाडौँबाट पनि आउनु भएको थियो । कार्यक्रम सञ्चालनदेखि अन्य सबै काम ममताले एक्लै गर्नुभएको थियो । उद्घाटनसत्र सकिएपछि बन्दसत्र सुरु भयो । त्यसमा २०–२१ जना मात्र बाँकी रहे ।

पहिलो सभापति

त्यसमध्ये कोही पनि मधेश प्रदेशको नेतृत्व लिन तयार भएका थिएनन् । सबैले सहयोग मात्र गर्ने मात्र भने तर पदमा बस्न कोही तयार नभएको ममता शर्माले सुनाउनुभयो । त्यसपछि पार्टीका अन्य पदाधिकारीहरु ममतालाई नै सो पदको जिम्मेवारी दिए । ममता मधेश प्रदेशको संस्थापक सभापति बन्नुभयो । त्यही दिन ममता रातीको बस चढेर ममता काठमाडौँ फर्किनुभयो र आफ्नो बुबालाई गएर जेलमा भेट्नुभयो । ममता भन्नुहुन्छ, ‘बुबालाई यी सबै कुरा बताएपछि उहाँ अच्चममा पर्नुभयो । मधेशमा गाह्रो छ राजनीति गर्न यसरी कसरी सक्छौं तिमी, एउटा लफडा छदैं थियो फेरि अर्को लफडा किन लिएको भन्नुभएको थियो तर होइन बुबा म गर्न सक्छु, रवि दाइ सहयोगी हुनुहुन्छ अरुअरुले पनि सहयोग गर्छु भन्नुभएको छ मलाई राजनीतिमा ट्राइ गर्न दिनुस् भनेको थिए ।’ ममताको कुराले उहाँको बुबा कन्भिन्स हुनुभयो । पार्टीको विधान लिएर ममता भदौं १ गते जनकपुर ओर्लिनुभयो । जनकपुरमा पार्टी निकट एक जना गणेश मण्डल हुनुहुन्थ्यो उहाँको घरमा बस्नुभयो ।

पार्टीको कामका लागि उहाँकै अफिस प्रयोग गर्न थाल्नुभयो । अर्थात मधेश प्रदेशको पार्टीको सम्पर्क कार्यालय त्यही गणेश मण्डलको अफिस भयो । ममता शर्माले संगठनका लागि मधेशमा विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्न खोज्दा कोही कुरा गर्न समेत नमानेको आफ्नो अनुभव सुनाउनुभयो । मधेश प्रदेशका आठवटै जिल्ला उहाँ घुम्नुभयो । जहाँ जो भेट्थे उहाँले उनीसँग कुरा गनुहुन्थ्यो । पार्टीमा जोडिन आग्रह गर्नुहुन्थ्यो । एक महिनाभित्र मधेश प्रदेशका हरेक जिल्लामा उहाँले सम्पर्क व्यक्ति खडा गर्नुभयो । कुरा गर्न सम्पर्क प्रत्येक जिल्लामा उहाँले एउटा टीम बनाइ सक्नुभएका थियो ।

प्रतिनिधि सभाका चुनाव

पार्टी २०७९ को चुनावको तयारीमा थियो तर त्यसको प्रभाव मधेशमा कतै थिएन । ममताको उमेर नपुगेको कारण समानुपातिक उम्मेदवार बन्नुभएन । त्यसपछि कहाँबाट सम्पर्क गरेर मनिष झालाई उम्मेदवार बनाउने कुरा भयो । तर त्यतिबेला पनि मनिष झाको विरोध भएको थियो, ममता भन्नुहुन्छ, ‘मनिष झाको नाम आएपछि मलाई पार्टीले सोधेपछि मैले समर्थन जनाएको थिए तर मधेशका अन्य साथीहरुले विरोध गरिरहनु भएको थियो । तैपनि मैले थामथुप पारेर मनिषजीलाई अगाडि बढाएको थिए ।’ तर मनिषको आठैवटा जिल्लाबाट विरोध भइरहेको थियो । यो विरोध ममताले नै गराएको हो भनि मनिषलाई लागेको थियो । जो पछि उहाँले धेरै ठाउँमा बोल्नु पनि भएको ममता बताउनुहुन्छ ।

ममता भन्नुहुन्छ, ‘मनिषजीलाई शंका थियो तर मेरो त्यसमा केही विरोध थिएन, आपत्ति पनि थिएन ।’ तर मनिषको मनमा त्यो कुरा बसिसकेको थियो । मनिष समानुपातिक सांसद हुनुभयो । २०७९ को चुनावमा रास्वपा राम्रै पोजिसन ल्याएको थियो । मधेशबाट पनि राम्रो सहयोग पुगेको थियो । ममता शर्मा प्रदेश सभापतिको हैसियताले आफ्नो काममा सक्रिय हुनुभयो । मधेशमा संगठन विस्तारको काममा लाग्नुभयो । काठमाडौँ बस्ने ममता अधिकाँश समय मधेशमै दिन थाल्नुभयो । सात वटै प्रदेशमा ममता मात्र एक जना महिला सभापति हुनुहुन्थ्यो । त्यतिबेला उहाँको बारेमा केन्द्रदेखि प्रदेशसम्म चर्चा हुन्थ्यो ।

यति सानै उमेरमा राजनीतिमा यसरी छलाङ मार्नुलाई धरैले प्रसंशा गरेपनि धरैलाई पचिरहेको पनि थिएन । तर ममताले आफ्नो इमान्दारीताका साथ काम गरिरहनु भएको थियो । रविले पनि ममताको कामको तारिफ गर्नुहुन्थ्यो । ममतालाई हौसला दिने काम गर्नुहुन्थ्यो । चुनावमा पनि आफू उम्मेदवार रहेको जस्तै ममता खटिनुभयो । रविको चितवन क्षेत्रदेखि मधेश प्रदेशका जिल्लाहरुमा पनि उहाँ खटिनुभएको थियो । मधेशबाट अपेक्षा गरे जस्तो मत त थिएन तर नट ब्याड ।

मनिषको आठैवटा जिल्लाबाट विरोध भइरहेको थियो । यो विरोध ममताले नै गराएको हो भनि मनिषलाई लागेको थियो । जो पछि उहाँले धेरै ठाउँमा बोल्नु पनि भएको ममता बताउनुहुन्छ ।

सभापतिबाट हटाउने प्रपञ्च

चुनावपछि पार्टीलाई पुनसंरचना गर्ने तयार सुरु भयो । प्रदेश तथा जिल्लाहरुमा भेलाहरु सुरु भयो । चुनावमा राम्रो गरेको कारण पार्टीप्रति आकर्षण बढ्न थालेको थियो । त्यतिबेला पार्टी .सरकारमा पनि थियो । २०७९ फागुन महिनामा मधेश प्रदेशको विस्तारित बैठक जनकपुरमा बस्यो । बैठकको तयारीदेखि लिएर हरेक व्यवस्थापनमा ममताको सक्रिय सहभागिता थियो तर त्यहाँ उहाँकै विरुद्धमा षड्यन्त्र भइरहेको कुरा उहाँलाई नै थाह थिएन । ममता भन्नुहुन्छ, ‘मलाई सभापतिबाट हटाउने षड्यन्त्रको तानाबाना तयार भइसकेको थियो, तर म सोझो मान्छे मलाई ती कुराको ज्ञात पनि भएन ।’

मनिष झाले ममताको विरुद्धमा तपेश्वर यादव र चन्दन सर्राफलाई तयार गरेर राखिसक्नु भएको थियो । सर्वसम्मतीको प्रयास भयो । ममता पनि पछाडी नहट्ने पक्षमा जानुभयो । ममतालाई प्रदेश छाडेर केन्द्रमा आउन आश्वासन दिइरहेको थियो । पार्टीका हाइकमाण्डले पनि ममतालाई केन्द्रमा आउन र प्रदेश छाड्न भनिरहेको थियो । तर ममताले आफू मधेश प्रदेशमा धेरै मेहनत गरेको, मधेश आफूले बनाएको कारण एक कार्यकाल यही काम गर्न दिनका लागि आग्रह गर्नुभएको थियो तर कोही मान्न तयार थिएन । ममता पनि पछाडि हट्नु भएन । आखिर चुनाव नै भयो ।

मनिष झाको षड्यन्त्रको अगाडि ममताको केही चलेन । ममताले भन्नुभयो, ‘खाना खाने कुपनको आधारमा भोटिङ भयो, जति जनाले खानाको कुपन लिनुभएको थियो ती सबै मतदाता भए त्यो तयारी मनिषजीको थियो म बेचारी एक्ली केही प्रतिवाद गर्न सकिन ।’ राती १२–१ बजे मतदान भयो । उनीहरुको मानिस सबै बसिरहेका थिए, मेरा धेरै मानिसहरु हिडिसकेका थिए । मतदान भयो म १२ मतले तपेश्वरबाट हारे ।’

चुनाव हारेपछि राती २ बजे ममता आफ्नो घर बारा पुग्नुभयो । तर उहाँ चुनाव हारे पनि राजनीतिबाट हार मान्नु भएको थिएन । ममतालाई ४–५ महिना कुनै जिम्मेवारी दिएन । तैपनि ममता पार्टीको कामबाट पछाडि हट्नुभएन । आफ्नो सुझबुझ अनुसार पार्टीका लागि उहाँले काम गरि नै रहनुभयो । तर केन्द्रीय समिति विस्तार हुँदा ममतालाई त्यसमा राखिएन । मधेश प्रदेशबाट कामिनी चौधरी र नन्दन यादवलाई राखिएको थियो । रविले नै सरी यसपटक राख्न सकिएन अर्को पटक अवश्य राख्नेछौं, पार्टीमा काम गरिरहनु भनि आश्वासन दिनुभएको थियो ।

ममताको राजिनामा

तर ममता भित्रबाट नै टुटिसक्नुभएको थियो । उहाँलाई जेलमा उहाँको बुबाले भनेको कुरा सम्झना आइरहेको थियो । मधेशमा राजनीति गर्न निकै गाह्रो छ । राजनीतिमा धेरै छलकपट हुन्छ, तिमीबाट हुँदैन भन्नुभएको थियो । यी कुरा ममताले पटक पटक सम्झिनु भएको थियो । पार्टीले गरेको व्यवहारबाट ममता निराश हुनुभएको थियो । उहाँले पार्टीबाट राजिनामा दिनुभयो । तर रविले उहाँको राजिनामा स्विकार गर्नुभएन । उहाँलाई पार्टीको महिला विभागको सदस्यमा राख्यो ।

त्यसलाई स्विकार गर्ने बाहेक ममतासँग अरु कुनै उपाय नै थिएन । महिला विभागमा सदस्य बनाएपनि उहाँलाई कुनै जिम्मेवारी दिएन । उहाँले कुनै काम गर्न पाइरहनु भएको थिएन । कार्यकारी भूमिका नभएको कारण उहाँले कही कतै मुभ गर्न पाइरहनु भएको थिएन । रवि उपप्रधान तथा गृहमन्त्री समेत बन्नुभयो । ममता आफ्नो बुवाको रिहाका लागि रविलाई भेटेर पटक पटक आगह गर्नुभएको थियो । तर उहाँले त्यसलाई कहिले गम्भिर रुपमा लिनुभएन ।

खाली हुन्छ हुन्छ भन्नुहुन्थ्यो, कहिले काही कुनै सचिव वा कसैलाई फोन गरेर भन्दिनु हुन्थ्यो तर गम्भिरतापूर्वक कहिले लिनुभएन, ममता शर्मा भन्नुहुन्छ, ‘पछि त गृहमन्त्रालयमा छिर्न पनि गाह्रो बनाएको थियो, रवि दाइ त भेट्न समेत मान्नुभएन ।’ त्यसपछि आफू विस्तारै त्यहाँ जान छाडेको उहाँ बताउनुहुन्छ । पार्टीबाट विस्तारै ममताको मोह भंग भइरहेको थियो । उता बुबा जेलमा हुनुहुन्छ । उहाँलाई न्याय दिलाउन सकिरहेको छैन, यता पार्टीमा पनि राम्रो अवस्था छैन भनि ममता निराश हुनुभएको थियो तर हिम्मत हार्नुभएको थिएन ।

जेलमा भेट्न जाँदा उहाँको बुबाले हौसला दिनुहुन्थ्यो । तर उहाँको दाइ रिसाउनु हुन्थ्यो । वैदेशिक रोजगारीमा रहनुभएका दाइले यो राजनीति फाजनीति गर्नुहुँदैन, चुपचाप पढाइ गर, नभए विहे गरेर जाउ उता जे गर्न मन लाग्छ गर्नु भन्नुहुन्थ्यो । तर उहाँको बुबाले जहिले पनि हौसला दिनुहुन्थ्यो । त्यतिबेलासम्म रवि पनि सहकारीको केसमा जेल परिसक्नु भएको थियो ।

उहाँको बुवा र रवि नख्खु जेलमा एक साथ हुनुहुन्थ्यो । ममता आफ्नो बुबालाई भेट्न जाँदा रविसँग पनि भेट्नुहुन्थ्यो । रवि जहिले पनि ममतासँग सरी हैं तपाईको बुबाका लागि केही गर्न सकिएन, भन्नुहुन्थ्यो । पार्टी नछाड्नु, संघर्ष जारी राख्नुपर्छ एक न एक दिन सफल भइन्छ भनाइ रविको हुन्थ्यो । आफू बाहिर निस्केपछि तिम्रो लागि र बुबाको लागि केही नकेही गर्छु भनि आश्वासन दिन कहिले नछाडेको ममता बताउनुहुन्छ । रविकै प्रतिवद्धता र आश्वासनका कारण ममता पार्टीमा जोडि रहनुभयो ।

पार्टीले अह्राएको, नअह्राएको कार्य ममताले गरिरहनु भयो । तर पहिलाको जस्तो सक्रियता उहाँको थिएन । ममता भन्नुहुन्छ, ‘रवि दाइ जेल पर्नुभयो, म कुनै कार्यकारी जिम्मेवारीमा पनि थिइनन्, मधेश मनिषजीको इसारामा चल्न थाल्यो, मनिषका कारण मलाई त्यहाँ कुनै कुराको जानकारी पनि हुँदैन्थ्यो तर आफ्नो तरिकाले भेटघाट गर्दै पार्टीका लागि काम गरि नै रहेको थिए ।’ पार्टीले गरेको कुनै पनि कार्यक्रम उहाँले छुटाउनु हुन्थेन । उहाँले भ्याएसम्म मधेशमा संगठन बनाउने काममा लाग्नुभएको थियो ।

जेनजी आन्दोलन

२०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको दिन उहाँ घरमै हुनुहुन्थ्यो । भदौ २४ गते जेल ब्रेक गरेर रविलाई निकाल्न जानुपर्छ भनि ज्वाला संग्रौलाको फोन ममतालाई पनि आएको थियो । रविलाई निकाल्ने भनेपछि उहाँलाई जान मन थियो तर उहाँको दाजुले रोक्नुभयो । यस्तो आन्दोलनमा कतै जानुपर्दैन चुपचाप घरमा बस भनेपछि ममता जेल ब्रेक गर्न जानुभएन ।

 

पार्टी नछाड्नु, संघर्ष जारी राख्नुपर्छ एक न एक दिन सफल भइन्छ भनाइ रविको हुन्थ्यो । आफू बाहिर निस्केपछि तिम्रो लागि र बुबाको लागि केही नकेही गर्छु

 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता समेत रहेका तत्कालिन सांसद मनिष झाको नेतृत्वमा नेता तथा कार्यकर्ताहरु नख्खु जेल गएर रविलाई बाहिर निकालेका थिए । रवी बाहिर निस्केपछि देशैभर जेलबाट कैदीहरु निस्केका थिए । पछि सरकारले सबैलाई जेल फर्किन आह्वान गरेको थियो । त्यो आह्वानको आधारमा रविलगायत कैदीहरु फर्के अरु कैदीहरु अझै बाहर नै छन् ।

जेनजी आन्दोलनपछि सुशिला कार्की नेतृत्वमा सरकार बन्यो त्यसमो ६ महिनापछि चुनाव हुने भयो । दलहरु चुनावको तयारीमा जुट्यो । ममता पनि बारा २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा जुट्नुभयो । उम्मेदवार चयन गर्ने कार्य पार्टी सुरु भयो । प्राइमरी एलेक्सन सुरु भएको थियो । प्रत्यक्ष चुनाव लड्ने तयारी गरिरहँदा मनिषले भन्नुभएको थियो, ‘ममतालाई तिमी समानुपातिकबाट आउ म प्रत्यक्षमा चुनाव लड्छु, तिमीले गत चुनावमा मलाई सहयोग गरेर समानुपातिकमा सघाएका थियौं यसपटक म सहयोग गर्छु ।’

मनिषको कुरामा विश्वास गरेर ममताले समानुपातिकतर्फको उम्मेदवार बन्नुभयो । ५० हजार रुपियाँ तिरेर उहाँ उम्मेदवार बन्नुभयो । त्यसको प्राइमरी चुनाव भयो । ममताको नाम तीन नम्बरमा आएको थियो । तर पछि सातमा नम्बरमा पुग्यो । ममता भन्नुभयो, ‘प्राइमरी इलेक्सनमा मेरो नाम तीन नम्बरमा आएको थियो तर मनिषजीले षड्यन्त्र गरेर मेरो नाम सात नम्बरमा पुर्याउनुभयो । मनिषले धोका दिनुभयो । उहाँ मलाई सुरुदेखि नै धोका दिँदै आउनु भएका थियो पछिल्लो समय म उहाँमाथि विश्वास गरे थिए तैपनि धोका दिनुभयो ।’

ममताले मनिषसँग कुरा राख्नुभयो । ममताको कुरा सुन्नुको सट्टा मनिषले झपार्नुभयो । ममताले भन्नुभयो, ‘मेरो नाम सात नम्बरमा हालेपछि त्यसको गुनासो मनिषजीसँग गरे तर उहाँले उल्टो उल्टो कुरा गरेर मलाई थर्काउनुभयो र रवीसँग कुरा गर्न भन्न भन्नुभयो ।’ ममताले रविसँग पनि कुरा गर्नुभयो । रविले पनि के भएको हो तपाईहरु मिलाउनुस् न भनेर पठाउनु भएको थियो । ममताले आफू प्रत्यक्ष चुनाव लड्ने त्यसका लागि टिकटको व्यवस्था गर्दिन रविसँग आग्रह गर्नुभएको थियो । रविले हुन्छ भन्दै तयारीमा लाग्न भन्नुभएको थियो । ममता भन्नुहुनछ, ‘रविले मात्र होइन, स्वर्णिम बाग्लेले पनि आश्वासन दिनुभएको थियो ।’

ममता बारा २ बाट चुनाव लड्ने भनि तयारीमा लाग्नुभयो । उहाँ फेरि २५ हजार रुपियाँ तिरेर प्राइमरी इलेक्सनका लागि फर्म भर्नुभयो । माघ ५ गते जनकपुरमा कार्यक्रम हुने घोषणा गर्यो । र, त्यही दिन मधेश प्रदेशको टिकट वितरण गर्ने कुरा पनि भएको थियो । बालेनको उपस्थितिमा जनकपुरमा भव्य कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा पनि ममतालाई बोल्न दिइरहेको थिएन । मनिषले रोकिरहनुभएको थियो तर ममता जवर्जस्ती समय लिएर त्यहाँको मञ्चमा बोल्नुभएको थियो ।

होटलमा बसेर टिकट वितरण भइरहेको थियो । तर ममतालाई विभिन्न बहानामा टारिरहेको थियो । ममताले टिकट पाउदैन भनि कसैले भनिरहेको थिएन सबैले आश्वासन मात्र दिइरहेका थिए । ममताको छटपटी बढ्दै गइरहेको थियो । राती १२–१ बजे ममतालाई साजन शर्माले सुनाउनुभयो कि तपाई टिकट पाउनु हुन्न तपाईको टिकट बिक्रि भइसक्यो बेकारमा तपाई यति रातीसम्म यहाँ यताउती गरिरहनुभएको छ ।

त्यो बेला ममताले सम्पर्क गर्न चाहेको कुनै पनि व्यक्ति सम्पर्कमा आइरहेका थिएनन् । मनिषसँग पटक पटक भेट्ने प्रयास गर्नुभएको थियो तर उहाँले भेट्नै मान्नुभएको थिएन । बल्ल रविसँग ममताको कुरा भएको थियो । रविले ममतालाई भन्नुभएको थियो, ‘एक माघले जाडो जाँदैन, जाडो फेरि आउँछ चिन्ता नगर तयारी गरिराख तिम्रो र मेरो सम्बन्ध एउटा चुनावको लागि मात्र हो र ? हामीले मिलेर थुप्रै काम गर्नुछ तिमी नआत्तिनु ।’ ममता निराश भएर २ बजे राती बारा घर फर्किनुभएको थियो ।

काँग्रेसमा प्रवेश

ममताले टिकट नपाएपछि उहाँको क्षेत्रमा हलचल नै भएको थियो । उहाँका शुभचिन्तक तथा सहयोगीहरुले नाराबाजी समेत गर्नुभएको थियो । मिडियामा पनि चारैतिर ममताको बारेमा समाचार आउन थाले । त्यसपछि काँग्रेस पार्टीका नेताहरुले उहाँलाई सम्पर्क गर्न थालेका थिए । काँग्रेसका सभापति गगन थापा नै ममतासँग भेट्नुभयो । उहाँलाई पार्टीमा आउन आग्रह गर्नुभएको थियो । परिवार तथा आफ्ना सहयोगीहरुसँग सल्लाह गरेर उहाँ काँग्रेस पार्टीमा प्रवेश गर्नुभयो ।

चुनावमै उहाँले काँग्रेसका लागि खटिनुभयो । काँग्रेस पार्टीको प्रचार प्रसारमा लाग्नुभयो । काँग्रेसमा गइसकेपछि रास्वपाबाट नेताहरुले सम्पर्क गरेर पार्टीमा फर्किन आग्रह गरेका थिए तर ममताले फर्किन मान्नुभएको थिएन । उहाँ अहिले काँग्रेस पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ भने संगठन निर्माणको काममा उहाँलाई ललितपुर महानगरपालिकामा खटाइएको छ ।

पारिवारिक तथा शैक्षिक अवस्था

बुबा अमलदेव ठाकुर र आमा लिलादेवी शर्माको छोरी ममता शर्मा सात दाजु भाइ वहिनी हुनुहुन्छ । जेठो दिदी रमिता शर्मा हुनुहुन्छ भने दाई रामविश्वास शर्मा र अरमान शर्मा हुनुहुन्छ । भाइहरु रामजनम शर्मा, शनि शर्मा र मुना शर्मा हुनुहुन्छ । ममताको पढाइ ३ कक्षाबाट सुरु भएको थियो । उहाँका बुबा काठमाडौँमा फर्निचर उद्योग चलाइ रहनुभएको थियो । घरायसी झन्झटका कारण २०५८ मा गाउँ फर्किनु परेको थियो । त्यतिबेला ममता निकै सानी हुनुहुन्थ्यो । आर्थिक अवस्था कारण ममता शर्मालाई स्कूल भर्ना गरेको थिएन । २०६३ मात्र गाउँकै स्कूलमा तीन कक्षाबाट आफ्नो पढाइ सुरु गनुृभएको थियो ।

२०७० मा वीरगञ्जको ज्ञानदीप स्कूलबाट एसएलसी पास गर्नुभएका ममता हरि खेतान मल्टीपल क्याम्पसमा ११ मा भर्ना हुनभएको थियो । उहाँका बुबा जेल परेपछि ममता आफ्ना आमा र दाइहरुसँग फेरि काठमाडौँ फर्किनुभयो । काठमाडौ आएर विश्व निकेतन स्कूलमा १२ कक्षामा नाम लेखाउनुभयो । २०७३ मा १२ पास गरेपछि उहाँ नेपाल ल .क्याम्पसमा एलएलबीमा पढ्ने सोच बनाउनुभयो ।

ममता शर्माले भन्नुभयो, ‘मलाई डाक्टर बन्ने इच्छा थियो, बुबाले पनि त्यही भनिरहनुभएको थियो तर एउटा घटनाले सब भत्ताभुङ भयो । बालक अपहरण गरेको आरोपमा बुबा जेल परेपछि सबै सपना चकनाचुर भएको थियो ।’ बुबा जेलमा भएको कारण आर्थिक अवस्था निकै कमजोर भएको थियो । उहाँका दाइ विदेश त जानुभयो त्यहाँबाट आउने खर्चले परिवार चलिरहेको थियो तर अध्ययनका लागि चाहिने जति पुगि रहेको थिएन । सात जना दाजु भाइ वहिनी पाल्न हुर्काउन निकै गाह्रो भइरहेको थियो ।

त्यो संकटको समयमा उहाँका दिदी र भिनाजुले पनि राम्रो सहयोग गर्नुभएको थियो । प्लस टु पढ्दै गर्नुभएको ममता बुबाको न्यायको लडाइमा एक्लै दौडी रहनुभएको थियो । ठुृला ठुला नेता, मन्त्री, सांसदहरु भेटिरहनुभएको थियो । बाबुको लागि ममताले हरेक शीर्ष नेताहरुलाई भेट्नु भएको थियो । विभिन्न वकिलहरुसँग परामर्श गर्नुभएको थियो । जहाँ सम्भावना देख्नु हुन्थ्यो, त्यहाँ उहाँ पुग्नु हुन्थ्यो । सबै ठाउँबाट उहाँले आश्वासन मात्र पाउनुभएको थियो ।

बुबाको रिहाका लागि दौडधुप गरेको कारण कानुनतिर चाख बढेको थियो । कानुन पढेर आफूजस्तै पिडितलाई सहयोग गर्ने उद्देश्यले उहाँ एलएलबी पढ्ने भनि इन्ट्रान्स दिनुभयो उहाँको नाम पनि निस्कियो तर आर्थिक अवस्था कमजोर भएको कारण उहाँ पढ्न पाउनु भएन अनि डिल्ली बजारको कन्या क्याम्पसमा बीबीएसमा नाम लेखाउनुभयो । २०७८ मा उहाँको बीबीएस पनि क्लियर भएको थियो ।

 

ममताको बुबालाई ११ वर्ष जेल भयो । त्यतिबेला ममता १६ वर्षको हुनुहुन्थ्यो । एसएलसी दिनुभएको थियो तर रिजल्ट आएको थिएन । ममता भन्नुहुन्छ, ‘बुबा जेलमा हुँदा पनि त्यहाँ पनि फर्निचरको काम गर्नुहुन्थ्यो

 

बुबाको रिहाका लागि दौडधुपसँगै उहाँ राजनीतिमा लागेपछि थप पढाइतिर उहाँको ध्यान नै गएन । २०७९ को चुनावमा टिकट पाउनु भएन । पार्टीमा पनि खासै भूमिका नभएपछि उहाँ २०८१ मा पोल्टिकल साइन्स लिएर एमए पढ्न थाल्नुभयो । त्यसको पढाइ पनि अन्तिम अन्तिम चरणमा छ । बीबीएस पढेपनि उहाँ जागिरतिर कहिले ध्यान दिनुभएन । ममता भन्नुहुन्छ, ‘किन हो कुनी मलाई जागिरतिर कहिल्यै ध्यान गएन, सायद सानैदेखि बुबालाई आफ्नै काम गरेको देखेर होला मलाई पनि आफै केही गरौं भनि सोच थियो । तर राजनीतिमा लागियो अब राजनीतिलाई निरन्तरता दिने सोच बनाएको छु ।’

बुबाको घटना

२०७१ मा भक्तपुरबाट बच्चा अपहरण हुँदा त्यसमा ममताको बुबाको मटरसाइकल प्रयोग भएको थियो । ममता भन्नुहुन्छ, ‘मेरो बुबा काठमाडौँ छाडेर गाउँमै बस्न थाल्नुभएको थियो, एकजना चिनजान भएको व्यक्तिले एउटा काम छ भनेर मोटरसाइकल मागेर लगेको थियो तर बुबालाई के थाह कि त्यो बाइक बच्चा अपहरणमा प्रयोग हुन्छ ।’ बच्चा अपहरणपछि छानविन गर्दा मोटरसाइकल धनी भनेर बुबालाई प्रहरीले पक्राउ गरेको थियो ।

बुबाले सबै कुरा यथार्थ बताइ  दिनुभयो । उनीहरुलाई समात्नमा बुबाले सहयोग पनि गर्नुभएको थियो । तर प्रहरीले ममताको बुबालाई छाडेन । उहाँलाई पनि जेल भयो । ममताको बुबालाई ११ वर्ष जेल भयो । त्यतिबेला ममता १६ वर्षको हुनुहुन्थ्यो । एसएलसी दिनुभएको थियो तर रिजल्ट आएको थिएन । ममता भन्नुहुन्छ, ‘बुबा जेलमा हुँदा पनि त्यहाँ पनि फर्निचरको काम गर्नुहुन्थ्यो, त्यहाँबाट पनि उहाँले हामीलाई सहयोग गर्नुहुन्थ्यो तर बाहिरको जस्तो कमाइ थिएन ।’ ११ वर्ष २५ दिनपछि ममताको बुबा जेलबाट रिहा हुनुभएको छ ।

अहिले उहाँ काठमाडौँमै हुनुहुन्छ । ममता राजनीतिमा सक्रिय हुनुहुन्छ । ममताको राजनीतिमा उहाँको बुबाको ठुलो सहयोग रहेको छ । तर दाइले विवाहको लागि दबाव दिइरहेको छ । तर ममता राजनीतिमा केही गर्ने त्यसपछि मात्र विहे गर्ने सोचमा हुनुहुन्छ । २०८४ को चुनावमा बाराको सिम्रोनगढ नगरपालिकामा चुनाव लड्ने सोच बनाउनु भएको छ त्यसैको तयारीमा उहाँ लाग्नुभएको छ ।

(सहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया