२०८२ पुस ८ गते काठमाडौँ महानागरपालिकाका तत्कालिन मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच ६ घण्टा लगातार वार्ता भएको थियो । त्यो वर्ताले नेपालको सिस्टम नै परिवर्तन भयो । यही असार २८ गते पुनः प्रधानमन्त्री बालेन र सभापति लामिछानेबिच ४ घण्टा वार्ता भयो । यो वार्तापछि देशमा के परिवर्तन हुने हो त्यो प्रतिक्षाकै विषय हो ।
त्यतिबेला पनि बालेन्द्र शाह शक्तिशाली मेयर हुनुहुन्थ्यो । उहाँकै मास्टरमाइन्डले जेनजी आन्दोलन भएको धेरैले दावी गर्दै आएको छ । जेनजी आन्दोलनपछि बालेन र रविको त्यो ६ घण्टाको वार्ताकाले देशमा उथल पुथल आयो । बालेनकै कारण रास्वपाले सर्वाधिक मत ल्याएर झण्डै दुई तिहाइको शक्तिशाली पार्टी बन्यो । र, त्यो पार्टीबाट बालेन शाक्तिशाली प्रधानमन्त्री बन्नुभयो ।
मेयरको रुपमा काठमाडौँबासीले बालेनको शासन भोगेका थिए अब प्रधानमन्त्री भएपछि देशले नै शासन भोगिरहेको छ । बालेनको शासन व्यवस्था बारे आलोचना भइरहेको बेला यो असार २८ गतेको वार्ता भएको हो । यो वर्ता गत पुस ८ गतेको जस्तै शक्तिशाली तथा अर्थपूर्ण रहेको जानकार बताउँछन् । स्रोतहरु भन्छन्, ‘बालेनको शासनशैली सभापति रवि लामिछानेलाई मन परेको छैन ।
सकुम्बासीलाई हटाउनेदेखि लिएर करारका कार्मचारी हटाउनु, सीमाको विषयमा अभिव्यक्ति दिनुदेखि लिएर विदेशीहरुसँग भेट्न नमान्नु जस्ता कुरा रविलाई मन परेको छैन ।’
बालेन सरकारले मान्छेलाई जथाभावी धडपकड गरेको कुरा पनि रविलाई मन परेको छैन । सुशासनको नाममा जनतामा त्रास सृजना गरेको छ । त्यो कुरा पनि रविलाई मन परेको छैन । बालेन सरकारका कारण अन्तराष्ट्रिय शक्तिसँग सम्बन्ध खराब भइरहेको कुरा पनि रविलाई मन परेको छैन । पछिल्लो समय गणेश नेपालीलगायत अन्य तीन जनाले गरेको आत्मदाहको विषय पनि रविलाई मन परेको छैन । राहदानी विभागका महानिर्देशकलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर अख्तियारबाट पक्राउ गर्न लगाउनु विषय पनि रविलाई मन परेको छैन ।
यिनै विषयमा कुराकानी गर्नका लागि रविले बालेनसँग कुरा गरेको बुझिएको छ । बुढानिलकण्ठस्थित रविको नीजि निवासमा भएको वार्तामा दुवैजनाको बिचमा कुरा माझामाझ भयो । रविले यो शैलीले धेरै समय सरकार चलाउन सकिदैन, कार्यशैलीमा परिवर्तन ल्याउन भन्नुभएको थियो भने बालेनले देशमा आमुल परिवर्तनका लागि यो शैली नअपनाए कुनै काम हुँदैन त्यसैले आफूलाई काम गर्न दिन आग्रह गर्नुभएको थियो ।
विगतका सरकारहरुले देशलाई यसरी खोक्रो बनाइ सकेको छ कि अब नयाँ शैलीले काम गर्न सकिएन भने लक्ष्यमा पुग्न सकिदैन भनि बालेनको धारणा थियो । स्रोतका अनुसार बालेनले भन्नुभएको थियो, ‘मलाई सरकार चलाउन दिनुस्, तपाई पार्टी चलाउनुस् एक अर्काको काममा हस्तक्षेप नगरौं यदि त्यस्तै हो भने आआफ्नो बाटो लागौं । हामी केही नयाँ गर्नका लागि यहाँसम्म आइपुगेका हौं जनताले हामीसँग धेरै अपेक्षा गरेको छ तर नयाँ शैली र नयाँ ढंगबाट काम गरिएन भने गन्तव्यमा पुग्न सकिदैन, पुरानै शैलीले काम गर्नुथियो भने हामी किन आयौं पुरानै दललाई काम गर्न दिँदा हुन्थ्यो ।’
रविको भनाइ थियो संसदीय व्यवस्थामा काम पनि त्यही अनुसार गर्नुपर्छ, यो दलीय व्यवस्था हो, केही हुँदा दल जवाफदेही हुनुपर्छ, दलले जवाफ दिनुपर्ने हुन्छ, जवाफ दिन अप्ठ्यारो हुने गरी काम नगर्दिए हुन्थ्यो ।’
स्रोतहरुले दावी गरे अनुसार रवि लामिछानेले प्रधानमन्त्रीका सचिवालयमा केही व्यक्ति हेरफेर गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । सचिवालयका केही व्यक्तिमाथि प्रश्न उठेको छ । त्यसमा केही फेरबदल गर्नुपर्ने कुरा पनि राख्नुभएको थियो । बालेन त्यसमा सकारात्मक देखिएको थिएन ।
बालेनले काम गर्नका लागि केही मन्त्रीहरु परिवर्तन गर्नुपर्ने कुरा राख्नुभएको थियो । प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम बाग्लेको सम्बन्ध राम्रो छैन भनि कुराहरु आइरहेका छन् त्यसको बारेमा पनि रविले कुरा राख्नुभएको थियो । त्यसको जवाफमा प्रधानमन्त्री बालेनले त्यस्तो अफवाहको पछि नलाग्न रविलाई आग्रह गर्नुभएको थियो । सरकारले आफ्नो तरिकाले काम गरिरहेको र त्यसमा अनेकखालको टिकाटिप्पणी भइरहेकाले त्यसमा सचेत रहन प्रधानमन्त्री बालेनले आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।
हालै चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनित हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि दुई जनाबीच छलफल भएको बताइएको छ । सरकार सञ्चालन, संगठन निर्माणलगायतको विषयमा थप कुराकानी गर्ने सहमति भएको बताइएको छ । सरकार सञ्चालनलाई थप व्यवस्थित कसरी बनाउन सकिन्छ त्यसको बारेमा के के गर्न सकिन्छ लगायतका थप छलफल गर्दै जाने दुई दिनको बिचमा कुराकानी भएको स्रोतले जनाएको छ ।
(साहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया