राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले क्रान्ति छाड्नु भएको छ । उहाँले चलाउँदै आएको राष्ट्रिय मुक्ति क्रान्ति अर्काको हातमा गएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर देशैभर आन्दोलनको शुभारम्भ गर्नुभएका अध्यक्ष महतो चुनाव लड्नका लागि राष्ट्रिय मुक्ति पार्टी बनाउनु भएको थियो । राष्ट्रिय मुक्ति पार्टी बनाए पनि क्रान्ति नछाड्ने घोषणा उहाँले गर्नुभएको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका तत्कालिन अध्यक्ष महन्थ ठाकुरलाई समक्ष पनि अध्यक्ष महतोले राष्ट्रिय मुक्ति क्रान्तिका लागि प्रस्ताव गर्नुभएको थियो ।
संसदीय राजनीति छाडेर अब देशभर क्रान्ति गर्नुपर्छ र त्यसमा सबै मिलेर जाउ भनि प्रस्ताव गरेका थिए तर त्यसका लागि न उपेन्द्र यादव तयार हुनुभयो र महन्थ ठाकुर नै । उहाँ दुवै जना तयार नभएपछि अध्यक्ष महतो क्रान्तिका लागि हाम फाल्नुभएको थियो । क्रान्तिलाई अगाडि बढाएपछि उहाँले पटक पटक उपेन्द्र यादव र महन्थ ठाकुरलाई साथ दिन आग्रह गर्नुभएको थियो । मोर्चामा पनि उहाँले क्रान्तिका लागि प्रस्ताव गर्नुभएको थियो । भूमिगत भएर हतियारबन्द आन्दोलन गर्ने सोच अध्यक्ष महतोको बनिसकेको थियो । त्यही अनुसारको संरचनाहरु पनि तयार गरिरहनु भएको थियो ।
राष्ट्रिय मुक्ति क्रान्तिका तत्कालिन नेता केशव झाले विगत स्मरण गर्दै भन्नुभयो, ‘यो मुक्ति क्रान्तिको तयारी धेरै पहिलादेखि भइरहेको थियो, जनता समाजवादी पार्टी नेपाल गठन हुँदा नै महतोजीले राष्ट्रिय क्रान्ति मुक्ति अभियान चलाउन पार्टीमा प्रस्ताव गर्नुभएको थियो तर उपेन्द्रजीले त्यतिबेला मान्नुभएको थिएन ।’
मधेश आन्दोलनलाई साढे तीन दशक हाँकेपछि अध्यक्ष महतो राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट तराई, पहाड हुँदै हिमाल उक्लिनु भएको थियो । महतोले सुरु गर्नुभएको क्रान्तिको चर्चा हिमालसम्म गुञ्जिएको थियो । हिमाल, पहाडका उत्पीडित सामुदायको बारेमा उहााले बोल्न थाल्नु भएको थियो । हिमाल र पहाडका मान्छेले पनि उहाँलाई साथ दिन सुरु गरिएको थियो । तर राष्ट्रिय मुक्ति पार्टी गठन गरेर जब चुनाव जान सोच बनाए अनि भटाभट नेताहरु साथ छाड्न थाल्नुभयो ।
देशमा बहुलराष्ट्रिय राज्य निर्माण गर्ने अध्यक्ष महतोको उद्देश्य थियो । त्यसका लागि काठमाडौँ उपत्यकादेखि देशैभरि त्यही अनुसारका संगठन तथा समितिहरु बनाउन सुरु गर्नुभएको थियो । अलग सत्ताको अभ्यास गर्ने हेतु अध्यक्ष महतोले काठमाडौँमै पटक पटक प्रदर्शन पनि गर्नुभएका थियो ।
अध्यक्ष महतोले प्रायः हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई एक चरणको प्रशिक्षण दिइसक्नुभएको थियो । एकचरणको आन्दोलन पनि सम्पन्न गरिसक्नु भएको थियो । दोस्रो चरणको आन्दोलनको तयारी गरिरहेको बेला जेनजी आन्दोलन भयो र अध्यक्ष महतोको बाटो अर्कैतिर मोडियो । देशभर प्रशिक्षण दिएर अध्यक्ष महतोले सात हजार कार्यकर्ता तयार गर्नुभएको थियो । यस्तो प्रशिक्षित कार्यकर्ता तयार गर्नुभएका थियो जसले जसले जतिबेला पनि वैचारिक प्रशिक्षण दिन सक्छन् त्यो एउटा वैचारिक दस्ता थियो । राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति क्रान्ति एउटा हेडक्वार्टर थियो । त्यसको पछाडि समान नेपाल, सोशियो कल्चलर रिसर्च सेन्टर, ज्ञान दबु, सेन्टर फर स्ट्राटेर्जी हिमालय स्टडी, द नर्दन स्कुल, युनाइटेड वान वल्र्ड ग्रुप, नेपाल इन्डिजिनियस चेम्बर अफ कमर्स, नेशनल कोपरेटिभ अलाइन्स, गजेन्द्रनारायण सिंह अध्ययन प्रतिष्ठानलगायतका संस्था थियो । अहिले उहाँको साथमा कुनै पनि संस्था छैन ।
यी संस्थाहरूले जागरण अभियानका साथै आर्थिक व्यवस्थापनसम्मको काम गरिरहेको थियो । नेशनल कोपरेटिभ अलाइन्स र नेपाल इन्डिजिनियस चेम्बर अफ कमर्सले आर्थिक व्यवस्थाको क्षेत्रमा काम गरेको थियो । समान नेपाल राष्ट्रिय मुक्ति क्रान्तिको स्कुल रहेको त्यहाँबाट नै सबै प्रकारको जनशक्ति उत्पादन हुने गरेको थियो । राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड गरी तीन वटा कमाण्ड बनाएको थियो । त्यस्तै, राष्ट्रिय क्रान्ति मुक्ति अन्तर्गत विभिन्न परिषद्हरू पनि गठन गरिएको थियो । ती परिषद्हरुले स्वशासन तथा सत्ताको अभ्यास गरिरहेको थियो । त्यसलाई सुरक्षा दिने काम स्वदेशवाद युवा लिग (वाईआईएल)ले काम गरिरहेको थियो ।
त्यस्तो शक्तिशाली राष्ट्रिय मुक्ति क्रान्ति अध्यक्ष महतोले राष्ट्रिय मुक्ति क्रान्ति सिएन थारुलाई सुम्पिनु भएको छ । र, त्यसबाट उहाँले आफूलाई अलग राख्नुभएको छ । हुन त अहिले पनि बिना क्रान्तिले मुक्ति हुँदैन भनाई अध्यक्ष महतोको रहेको छ । त्यसका लागि उहाँले नयाँ ढंगले प्रयास गरिरहनु भएको छ । जतिबेला अध्यक्ष महतोले राष्ट्रिय मुक्ति क्रान्ति चलाइ रहनुभएको थियो । त्यतिबेला सिएन थारु उहाँको साथमा हुनुहुन्थ्यो । जब उहाँले पार्टी बनाएर चुनाव जाने सोच बनाउनु भयो अनि सिएन थारुले साथ छाड्नु भएको थियो ।
अहिले सोही सिएन थारु राष्ट्रिय मुक्ति क्रान्तिको संयोजक बन्नुभएको छ । महतोले जस्तै थारुले क्रान्तिलाई अगाडि बढाउने भएको छ । थारुले भन्नुभयो, ‘महतोजीले पार्टी चलाउने भएपछि हामीले राष्ट्रिय मुक्ति क्रान्तिको जिम्मा लिएका हौं, क्रान्तिबिना जनताको मुक्ति सम्भव छैन भनेर हामीले यो अभियानमा लागेका छौं ।’ अध्यक्ष महतोसँग नै कुराकानी गरेर क्रान्तिको अभियानलाई अगाडि बढाएको उहाँले बताउनुभयो । अहिलेलाई अध्यक्ष महतो मुक्ति क्रान्तिमा प्रत्यक्ष सहभागी नभए पनि सहयोग र सद्भाव रहने उहाँले बताउनुभयो ।
(साहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया