Khadya Bibhag

ममाथि समाजसेवाको भूत सवार छ


–आशाराम यादव (अन्सु)

मलाई धेरैले भन्छन्, ‘यसलाई समाजसेवाको भूत लागेको छ ।’ मलाई पनि त्यस्तै त्यस्तै लाग्छ । मलाई लाग्छ यो समाजमा समाजसेवा भन्दा ठूलो अरु कुनै काम नै होइन । 

सायद त्यही कारणले होला म त्यसको पछि पछि दौडीरहन्छु । म बाल्यकालको हुँदा घरमा भिक्षामा माग्ने आउनेहरुलाई आमाले थोरै चामल दिएर पठाउनु हुन्थ्यो । त्यो देख्दा मेरो चित्त दुख्थ्यो रे । हाम्रो घरमा भात पकाउँदा यति धेरै चामल पकाउनु पर्छ भने त्यो मान्छेलाई यति थोरै चामल किन दिन्छन् भनि मनमा प्रश्न उत्पन्न हुन्थ्यो । र, मलाई त्यो कुराको चिन्ताले सताइ रहन्थ्यो । 

त्यसपछि मैले आफ्ना आमा–बुवाबाट चामल चोराएर ती भिक्षा माग्नेहरुलाई बाटोमा गएर दिन्थे । चामल दिएपछि ती माग्नेहरुको अनुहारमा खुशी देख्दा मेरो शरीरभित्र बेग्लै उर्जा उत्पन्न हुन्थ्यो । आमा–बुवाले भन्नुहुन्थ्यो, ‘म सानो छँदा कसैको दुख सहन सक्दैन्थे, कोही रोइरहेका छन् भने म पनि रोइदिन्थे रे । कसैलाई कुनै सहयोगको आवश्यकता छ भने म त्यसलाई पुरा गर्ने प्रयास गर्थे रे । आफूबाट सम्भव हुन्थ्यो भने आफैले नत्र आमा–बुवाबाट पनि भनेर म सहयोग गराउँथे । त्यो सहयोग अर्थात समाजसेवाको त्यो बेलाको भूत अहिलेसम्म छाडेको छैन । 


कोरोना महामारी

कोरोना महामारी सबैका लागि पीडादायी क्षण हो । विश्व नै यसबाट प्रभावित भएका छन् । कोरोनाको समयमा मैले बाटोमा मानिसले पाएको दुख सहन सकिन । घर तथा डेरा छाडेर मान्छेहरु जथाभावी भागेको देख्दा मेरो मन रोयो । काठमाडौंबाट हिडेर मान्छे घण्टौ लगाए घर जान थाले । साना लालाबालालाई काँखमा राखेर, टाउकेमा पोके पन्तेरो बोकेर गन्तव्य गइराखेको दृश्य देख्दा मलाई निकै झकझकायो । 

भोकै, प्यासै मान्छे कोसौं टाढा हिडेर जान्थे । त्यतिबेला मेरो मनमा सोच आयो कि उनीहरुलाई केही सहयोग गर्न सकियो भने धेरै राम्रो हुन्छ । अनि हामीले थानकोट र भक्तपुर नाकामा उभिएर पैदल हिडेर जानेलाई खाना खुवाउन थाल्यौं । एक बोतल पानी, प्याक गरिएको खाना प्रत्येकलाई दिन थाले । त्यसले धेरैलाई राहत भयो ।

पछि सरकारले काठमाडौंबाट जथाभावी मान्छेलाई बाहिरिन थालेपछि त्यसलाई नियन्त्रण गर्न थाले । टेस्ट गराएर जानुपर्ने, जाँदा वा आउँदा सिडियो तथा वडा अध्यक्षको सिफारिसको प्रावधान राखेपछि मान्छे काठमाडौँबाट निस्किने तथा आउनेमा आफै नियन्त्रण हुन थाल्यो । पहुँच हुनेहरु त जसरी पनि जान्थे आउँथे तर पहुँच नहुनेहरु काठमाडौँमै गुम्सिन थाल्नुभयो । 

हुनेखानेहरु जतिदिन घरमा बसेपनि हुने तर गरिखानेका लागि यो कोरोना महामारी अभिसाप जस्तै भयो । घरभाडा उठेपछि मात्र चुल्हो बल्नेहरुको हालत झन खराब भयो । घरमा बस्ने भाडाबालाहरु घर छाडेर आआफ्नो घर गइसकेका थिए । घरपेटीहरुले घर भाडा नपाउँदा दुख पाउन थाले । एकछाक खान पनि समस्या भयो । दैनिक मजदुरी गर्नेहरु सबै सडकमा आए । सरकारले राहत दिने भन्यो तर ती हुने खानेहरुको हातमा मात्र गएको थियो । कतिपयले दुई केजी दाल चामल पाए तर त्यसले धेरै दिनसम्म उसको चुल्हो बल्न सकेन ।


टोलमा विरोध

काठमाडौंमा मैले राम्रा राम्रा मान्छेको हालत खराब भएको आफ्नै आँखाले देखे । छरछिमेकको घरमा पनि चुल्हो बल्न छाड्यो । त्यसपछि मैले भोकाएकालाई खाना खुवाउन थाले । जहाँ जहाँ गरिब तथा भोकाएकोहरुको समूह हुन्थ्यो, त्यही गएर हाम्रो ग्रुपले खुवाउनु थाले । टोलटोलमा गएर खुवाउन थालेपछि ती टोलका मान्छेहरुले त्यसको विरोध गर्न थाले । यसरी भिडभाड गरेर खुवाउन थाले भने यसले नै कोरोना सार्छ भनि टोलमा जाँदा विरोध हुन थाल्यो । कतिपयलाई मैले आफै सम्झाउँथे । कतिपयले कुरा बुझ्थे भने कतिपयले कुरा समेत सुन्न चाहदैन्थे । 

त्यसपछि हामीले भोकाएको ठाउँमा गएर खाना खुवाउन छाडेर टुडिखेलमा खुवाउन थाले । एक दुई दिन जानकारी गराउन नै समय लाग्यो तर त्यहाँ नियमित खुवाउन थालेपछि मान्छेहरु आउन थाले । त्यसमा हरेकखालको व्यक्तिहरु आउँथे । ठूला ठूला घरका व्यक्तिहरु समेत माक्स लगाएर आएर खाना खाएर जान्थे । काठमाडौमा घर हुनेहरु पनि टुडेखेलमा आएर भात खाएर जान्थे ।

 हामीले त्यस्तो धेरैलाई चिनेका थियौं तर नाम खोल्न अप्ठ्यारो छ । एकपटक नेपालका ठूलै नाम चलेका नायिकले मलाई फोन गरेर ‘भाइ म निकै निकै समस्यामा छु, सक्छौ भने मलाई केही सहयोग गर न’ भन्नुभएको थियो । म केही खाद्यान्न र पानी उहाँको घरमा पुर्याई दिएका थिए । 

त्यतिबेला म टुडिखेलमा दैनिक एकहजार भन्दा बढी व्यक्तिलाई खाना खुवाउथे । तर जहिले पनि साकाहारी खाना नै हुन्थ्यो अहिलेसम्म त्यही छ । कतिपय संस्थाले मासु पकाएर ल्याएर मासु भात पनि खुवाएको देखे । उनीहरु एकदिन मासु–भात खुवाउथे, फोटो खिचेर फेसबुकमा राख्थे अनि फेरि हराउँथे । यस्ता धेरै संस्थाहरु आएर गए तर हामी अहिलेसम्म टिकिरहेका छौं । चैत ११ गतेसम्म खुवाउने योजना छ त्यसपछि के गर्ने सल्लाह गर्छौ । 


दुख त पाएको हो नि 

हामी टिक्नुको मुख्य कारण इमान्दारीता र लगनशिलता हो । हामीलाई पनि विभिन्न संघ संगठन तथा व्यक्तिले लोभ नदिएका होइनन् । कसैले मेरो नामबाट मासु पकाएर खुवाई दिनुस्, कसैले मेरो नामबाट यो गर्दिनुस् भन्थे । कसैले म आज फलानो थोक पकाएर ल्याउछु त्यो खुवाई दिनुपर्छ भन्थे ।

 तर हामीले त्यस्तो प्रस्ताव कसैको स्वीकार गरेनौं । मंसाहारीबाहेक अरु के खुवाउनुछ त्यो दिनुस् हामी आफै पकाएर खुवाउँछौ भनियौं कतिपयले दिन्थे कपितय दिदैन्थे । हामीले त्यस्तो किन गर्यौं भने कसैले खानेकुरामा केही मिसाएर खुवाइ दियो भने हामी बर्बाद हुन्थ्यौं । त्यही भएर हामीले कसैले पकाएर दिएको कुरा लिएनौं । 

त्यसले गर्दा हामीमाथि विभिन्न आरोपहरु लाग्ने गथ्र्यो । हामीले समाजसेवा गथ्र्यौ । समाजसेवा भनेको इश्वरको बरदान हो । सबको बसको कुरा होइन यो । त्यस अवस्थामा हामीले कुनै जीवको हत्या गरेर दुखी पीडिताई खुवाउन चाहेनौं । हामीसँग जे हुन्थ्यो त्यही सकाहारी भोजन मात्र खुवाउथ्यौं । सरकारले बन्दाबन्दी अन्त्य गरेपछि विस्तारै धेरै कुराहरु सहज हुँदै गयो । 

मान्छेहरु घर जाने थाले । कतिपयको घरबाट दाल चामल पनि आउन थाल्यो । कतिपय व्यक्ति जागिरमा पनि फर्के । त्यसपछि हामीलाई सहयोग गर्ने सहयोगी हातहरु बन्द भयो । हामीलाई देश विदेशबाट सहयोग आउथ्यो । कसैले नगद दिन्थ्यो भने कसैले खद्यान्न नै उपलब्ध गराउँथे त्यसमा पनि कमी आयो । 

लकडाउन सकेपछि ती सहयोगहरु आउन बन्द भएपछि मैले आफ्नै पकेटबाट पनि खर्च थाले तर त्यसरी कति दिन चलाउने भनि समस्या भयो । खाना खुवाउने कार्य बन्द गर्नु हुँदैन भने मेरो सोचाई थियो । 

कुनै पनि हालतमा त्यसलाई ‘कन्टीन्यु’ गर्नुपर्छ भने हाम्रो सोच थियो । हामीलाई खाद्यान्न तथा नगदको निकै अभाव भइसकेको थियो । दुई तीन दिन त पीठोलाई तातो पानीमा घोलेर त्यसमा हल्दी र नून हालेर पनि भोकाएकालाई तरकारीको रुपमा खुवाएका थियौं । केही दिन हामी साथीहरु आफैमा चन्दा उठाएर पनि भोकाएकालाई खुवायौं । तर यसरी धेरै दिनसम्म चल्दैन भनि साथीहरुले पनि गुनासो गर्न थाल्नुभयो । 

लकडाउन हटिसक्यो अब खाना खुवाउन छाडि दियौं भनि हाम्रा साथीहरुले पनि भन्न थाल्नुभयो । तर म त्यसका लागि तयार थिइनन् । अहिले पनि लकडाउनका कारण थुप्रै पीडितहरु सकडमा छन् । रोजगार पाएका छैनन्, जागिर छुटेको छ । खाना खानेको लाइन त्यतिकै छ अनि यस अवस्थामा कसरी छाड्ने भनि साथीहरुलाई कन्भीन्स गर्ने प्रयास गरे । 


परीक्षा फी समाजसेवामा

पूर्वअञ्चल विश्व विद्यालयमा इन्जिनियरीङको परीक्षा दिनु थियो । त्यसको फर्म भर्नका लागि बुवाले पैसा पठाई दिनुभएको थियो । त्यो पैसा खाना खुवाउनमा लगाउने सोच बनाए मैले । परीक्षाको फर्म भर्ने अझै टाइम छ । यो समस्या सल्टिएपछि अरु कुनै उपाय गरेर फर्म भर्न सकिन्छ तर सकडमा रहेकालाई त्यतिकै भोकै राख्न मिल्दैन भनि निष्कर्षम पुगे । 

मैले साथीहरुलाई भने, पैसाको व्यवस्था कहाँबाट हुन्छ म गर्छु तर तिमीहरुले मलाई साथ मात्र दिनुपर्छ । तिमीहरुलाई आर्थिक भार अब पर्न दिन्न, म आफै सबै म्यानेज गर्छु ।’ अनि साथीहरु तयार हुनुभयो । साथीहरुले खुलेर साथ दिनुभयो । 

कतैकतैबाट सहयोगहरु पनि आउथ्यो । साथीहरुले पनि केही न केही व्यवस्थापन गर्नुहुन्थ्यो । २०७६ चैत १४ गतेदेखि खाना खुवाउन सुरु गरेको थिए । त्यसदिन देखि एकदिन पनि ग्याप भएन । जसरी पनि हामीले मेन्टन गरि नै रहेका थियौं ।

सरकारको दवाव

टुडीखेलमा यसरी हुलका हुल खाना खुवाउँदा सरकारको बेइज्जत भयो रे भनि कुरा आयो । सरकारले भोकाएकालाई खाना खुवाउन सकेन । राहत दिन सकेन । अझै पनि टुडिखेलमा लाइन लागेर खाना खाँदैछन् भनि देश विदेशमा गलत संदेश गएको कुरा सरकारको बुझाइ थियो । टुडिखेलमा हामीलाई खाना न खुवाउन भन्यो । काठमाडौं महानगरपालिका कर्मचारीले त आएर नै खाना न खुवाउनुस् भने, तिमीहरु जवर्जस्ती खुवायौं भने हामीले हस्तक्षेप गरेर यसलाई हटाउँछौं भने । 

उनीहरुले अब खाना खुवाउनु पर्दैन । सरकारले आफै खुवाउँन व्यवस्था गर्दैछ, यसरी खाना खुवाउँदा सरकारको बेइज्जती भयो, यसरी भिडभाड गर्दा कोरोना सर्छन् त्यसलै खाना खुवाउने कार्यक्रम बन्द गर्न भन्थे । अनि हामीले सरकारले खाना खुवाउने हो भने आजैबाट सुरु गर्दा हुन्छ, सरकारले खाना खुवाउन थालेपछि हामी छाडेर जान्छौं भनेका थियौं ।

तर सरकारले खाना के खुवाउथ्यो र । जसरी पनि टुडिखेलबाट हटाउने प्रयास गरेको थियो । मैले आफै महानगरपालिकाका प्रमुखसँग कुरा गरे । खाना खुवाउनु के अपराध हो र, अहिले पनि धेरैलाई समस्या छ, अझै कोरोनाको कहर गएको छैन । 

अहिले पनि सेवाको आवश्यकता छ, समाजिक दुरी कायम गरी, सरकारले तोकेको मापदण्डभित्र रहेर हामीले खाना खुवाउँछौं, सरकारले रोक्न सक्छ भने रोकोस् भनि चेतावनी पनि दिएका थियौं । महानगरपालिकाका कर्मचारीहरु आएर त्यहाँबाट भगाउने प्रयास नगरेको होइन, तर त्यहाँ खाना खाने मान्छेहरु यति हुन्थ्यो कि केही उपद्रो गर्न ती कर्मचारीहरुलाई आँटै हुँदैन्थ्यो । एकदिन ती कर्मचारीहरुले हाम्रा सबै फ्यालेर हप्काउन खोजेका पनि थिए तर त्यहाँ भएका व्यक्तिहरु जाइ लागेपछि ती कर्मचारीहरु भागेका थिए । 

पछि सरकारले कुनै पार्टी प्यालेसमा गएर खाना खुवाउन भन्यो, त्यसमा पनि हामी तयार भयौ तर यो कोरोनाको महामारीमा कुन पार्टी प्यालेसले ठाउँ दिन्थ्यो, कसैले ठाउँ नै दिएन । सरकारको त्यो योजना पनि फेल भयो । एकदिन एउटा ठूलो ट्रक लिएर महानगरका केही कर्मचारीहरु टुडिखेलभित्र पस्यो, उनीहरुले एउटा पार्टी प्यालेसमा लग्न लागेको भनि सबै समान तथा मान्छेहरुलाई समेत ट्रकमा राखे ।

 तर शहरमा यताउती गाडि घुमायो । कुनै पार्टी प्यालेस लगेन । कतै पार्टी प्यालेस पाएको भए पो लग्नु । उनीहरुको चाहना थियो कि कतै कुनै ठाउँमा लगेर छाडी दिएपछि आफै भाग्छन् र फेरि टुडिखेल आउँदैनन् । तर त्यसरी छाड्ने ठाउँ पनि उनीहरुले पाइरहेका थिएनन् । 

अन्त्यमा थापाथालीको बागमती किनारमा लगेर छाड दिए । मान्दिरको पछाडीमा लगेर छाडेपनि त्यहाँ निकै फोहर थियो । फोहरमा खुट्टा टेक्ने ठाउँ थिएन । हामीले त्यसलाई साफा गर्यौं । त्यसपछि खाना खुवाउन काम त्यही सुरु गर्यौं । खाना खान त्यहाँ पनि मान्छेहरु आउन थाले  । 

अहिले पनि त्यही निरन्तरता दिइरहेका छौं । अहिले पनि सयजना भन्दा बढी मान्छे दैनिक रुपमा खाना खान्छन् । अहिलेसम्म यताउतीबाट पुर्याउने काम गरिरहेका छौं । कतैबाट सहयोग आएन भने आफ्नै घरबाट पनि समेत व्यवस्था गरेर खाना खुवाउने कामलाई निरन्तरता दिँदै आएका छौं । यसमा साथीभाइ र मेरा आमाबुवाको पनि साथ रहेको छ । 

आमा–बुवाको सहयोग

कोरोनाको महामारीबाट संसार भयभित थियो । सबैले आआफ्नो ज्यान बचाउन घरघरमा थिए । कोरोनाबाट बच्न विभिन्न उपायको खोजीमा थिए । त्यति नै बेला मैले आफ्नो ज्यान जोखिममा राखेर दिनदुखीको सेवा गरिरहेका थिए । मान्छे नै मान्छेको सामुनेमा जान डराउँथे, छुनु त कहाँ हो कहाँ तर सडक तथा गल्लीमा भोकै तड्पी रहेकालाई मलगायतका टीमले सेवा गरिरहेका थिए । 

त्यसबाट मेरा आमा निकै चिन्तित हुनुहुन्थ्यो । कोरोना आएपछि सबैजना काठमाडौं छाडेर घर आएका छन्, तिमी यो के गरेको हो, बाहिर घुमिरहेका छौं, सडकमा खाना खुवाई रहेका छौं तिमीलाई केही भइदियो भने हाम्रो हालत के हुन्छ, तिमी मेरो एक्लो छोरा छौं, आमाले भन्नुभएको थियो ।

अरुबेला त समाजसेवा गर्नु त ठिकै हो तर यो बेला सेवाको होइन, ज्यान बचाउनुपर्छ भनि आमाको सुझाव थियो । तर मैले उल्टै आमालाई सम्झाए । 

आमा मलाई केही हुँदैन, मसँग तपाईको आशिर्वादको साथसाथै यहाँका दिनदुखिको आशिर्वाद रहेको छ, यो बेला उनीहरुलाई सहयोग गर्न सकिएन भने अरु बेला केही गर्न सकिदैन, अहिले नै सेवा गर्ने मौका हो आमा भनि सम्झाए । तैपनि उहाँहरु मान्नु भएन । घर आइजा कि आइजा भन्नुहुन्थ्यो । मैले कुनै पनि हालतमा यतिबेला घर आउन सक्दिन भनेर जवाफ फर्काउथे । 

पछि आमा बुवाले पनि यो कुरा बुझ्नु भयो । त्यसपछि काठमाडौं आएर मलाई सघाउनुभयो । उहाँ खाना पकाएर मसँगै टुडिखेलमा गएर खाना खुवाउनुभयो । आमाबुवाले ममाथि गर्व गर्नुभयो । तिमीले सहयोग गर, कुनै कुराको आवश्यकता पर्यो भने हामीलाई भन तर यो काम नछाड भन्नुभएको थियो । त्यो दिनको जस्तो खुशी मेरो जीवनमा कहिले आएको थिएन । 

आमाको आशिर्वादले कहिले पनि कुनै कुराको अभाव भएन । अहिले पनि निरन्तर खाना खुवाई नै रहेको छु । कही न कहीबाट जोगाड भइ हाल्छ । 

अलपत्रलाई उद्धार

म १६ वर्षको हुँदादेखि नै सडकमा अलपत्र परेकाहरुको उद्धार कार्यमा लागेका थिए । सडकमा कोही अलपत्र छन्, असहाय छन् भने उसलाई सहयोग गर्न मन लाग्छ । सडकमा अलपत्र परेकालाई सहयोग गर्नु मेरो कुनै मिसन होइन, बाटो हिडरहँदा कुनै असहाय व्यक्ति अलपत्र परेका छन् भने त्यसलाई सहयोग गर्न मन लाग्छ । 

सडकमा उद्धार गरेपछि उसको गन्तव्य कहाँ हो त्यहाँसम्म पुर्याउने प्रयास गर्छु वा प्रहरीलाई पनि बुझाइ दिन्छौं । कोही बेसाहारा छन्, त्यसको कुनै गन्तव्य छैन भने त्यसलाई कुनै आश्रममा गएर छाड्ने गरेको छु । उसलाई आश्रममा मात्र छाड्ने गरेको छैन, बेलाबेलामा गएर खोजखबर पनि लिने गरेको छु । कुनै समस्या छ भने समाधान गर्ने प्रयास गर्ने गरेको छु । 

म स्कूल कलेज जाँदा हेर्छु ट्राफिकको निकै समस्या छ । अहिले कही कही ट्राफिक बत्ती छन्, त्यसले खासै केही समस्या देखिएको छैन तर केही पहिले अर्थात २०७०–०७१ साल तिर ट्राफिक अव्यवस्थित हुँदा मान्छेलाई बाटो काट्न निकै गाह्रो थियो । बाटोमा मान्छे उभिरहँदा गाडीहरु रोकेर उनीहरुलाई जान दिइरहेको थिएन । 

त्यसले खासगरि वृद्धवृद्धालाई बाटो काट्न निकै गाह्रो भइरहेको देखेको थिए । त्यसबेला हामी केही युवाहरुले बाटो कटाउने काम पनि गर्यौं । त्यो बेला भिडभाड हुने बानेश्वर, कोटेश्वर, कलंकी, चावहिलजस्ता चोकमा मान्छेलाई बाटो कटाउने काममा हामीले सहयोग गरेका थियौं । 

यी सबै काम निस्वार्थभावले गरेका थिए । हामीलाई त समाजसेवा के हो त्यो पनि थाह थिएन । बाटोमा कसैलाई पीडामा देखियो भने सहयोग गरौं जस्तो लाग्छ, यही काम समाजसेवा हो भनि पछि थाह पाए । त्यसपछि त्यसलाई संस्थागत गरौं भनि लाग्यो र १०० ग्रुप नामको संस्था खोल्यौं । १०० ग्रुप भनेको सयजनाको समूह होइन, सबैले त्यसलाई त्यसरी नै बुझेको छ । यो प्रहरीको कन्ट्रोल नम्बर १०० जस्तै हो । कसैलाई कुनै पनि समस्या भयो भने यो ग्रुपले सहयोग गर्न तयार छ । मानव सेवाका लागि यो ग्रुप हरहमेशा तयार छ । 

टिप्पर विरुद्धको संघर्ष

खासमा भन्ने हो भने मैले २०७२ सालमा आएको भूकम्पका बेला मात्र समाजसेवा के हो थाह पाएका थिए । भूकम्प आएको बेला हाम्रो समूहले ठाउँ ठाउँमा गएर उद्धार गर्नुको साथै राहत वितरण गर्ने काम गरेको थियो । घर मर्मत गर्नुको साथै नयाँ घर बनाउनमा पनि सहयोग गरेको थियो । त्यहीबेला समाजमा देखिएको पीडा, अभाव र द्वन्दले मेरो मुटुलाई छोयो । र, समाजसेवा प्रति झन आकर्षित गर्यो । भुकम्पको बेलामा मान्छेको पीडा र दुःखलाई मैले नजिकबाट महसुस गर्ने मौका पाएका थिए । काठमाडौँमा टिप्परको आतङ्क थियो । जथाभावी मान्छे मार्दै हिडरहेको थियो । एकपटक मेरा आफ्नै साथीलाई टिप्परले हानेको थियो र त्यसको मृत्यु भएको थियो । त्यसले मलाई एकदमै हल्लाई दियो । म तनावमा परे । यसरी टिप्परले जथाभावी मान्छे मार्दै हिडिरहेका छन् तर यसको बारेमा कसैले केही बोलेको छैन किन ? भनि म आफैलाई प्रश्न गरे ।

त्यसपछि यतायात मन्त्रीदेखि लिएर विभिन्न सांसद, ट्राफिक प्रमुखलगायत विभिन्न उच्चतहका व्यक्तिलाई भेटेर उपत्यकामा टिपरलाई नियन्त्रण गर्न आग्रह गरे । त्यसका लागि धेरै पापर बेल्नुपरयो । अन्त्यमा सरकारबाट राती ८ वजेपछि मात्र चल्न दिने निर्णय भयो । अहिले राती ८ वजेदेखि विहान ६ वजेसम्म मात्र टिप्पर चलाउन पाउँछ । यो हाम्रै प्रयासबाट भएको हो । हामीले यस्ता थुप्रै काम गरेका छौं तर हामी प्रचारमा गएनौं । प्रचारमा गएपछि अनेक जालझेल हुन्छ, धेरैको नजरमा परिन्छ । त्यसले काममा हेम्पर गर्छ । आफ्नो काम गर्दै जाने हो, फलको आशा नगर्ने हो भने कुनै पीडा हुँदैन । मैले यी कामहरु गर्दा एउटा के कुरा थाह पाए भने आँटेको काम अवश्य पुरा हुन्छ । 

(२३ वर्षीय अन्सु यादव अर्थात आशाराम यादव धनुषा सवैलाका हुनुहुन्छ । उहाँको घर काठमाडौंको बानेश्वरमा पनि छ । उहाँको सानोतिने व्यपार पनि छ । उहाँले व्यपार, पढाई र समाजसेवालाई एकसाथ लगिरहनु भएको छ तर उहाँको प्राथमिकतामा समाजसेवा नै हो । उहाँले यो कोरोनाको समयमा गरेको समाजसेवालगायतका विषयमा सहारा टाइम्सले गरेको कुराकानीका आधारमा यो तयार पारिएको हो ।)

तपाईको प्रतिक्रिया