श्रीमानको हत्यारालाई सजाय दिलाउन नसकेका श्रीमतीहरु

राजनीतिमा राम्रो भन्नुस् वा नराम्रो भन्नुस् एउटा संस्कार नै बसिसकेको छ । लामो समयदेखि राजनीतिक गर्दै आउनु भएका कुनै श्रीमानको निधन भयो भने उहाँको ठाउँमा श्रीमतीलाई ल्याउने प्रचलन शुरु भएको छ । 

चाहे ती श्रीमतीहरुको राजनीतिमा कुनै योगदान होस् या नहोस् । कतिपय श्रीमतीको योगदान पनि हुन्छ तर श्रीमान जिवित हुँदासम्म कुनै ठाउँ पाइरहेका हुँदैनन् तर निधन भएपछि पार्टीले उसलाई सेतो साडीमा अघि सार्छन् र जनतालाई ‘इमोशनल ब्ल्याकमेलिङ’ गर्छ ।

श्रीमानको स्वभाविक मृत्यु भएपनि त्यसको फाइदा लिँदै अधिकाँश श्रीमतीहरु श्रीमानको नाम लिएर चुनावमा जान्छन् र जनतालाई ‘इमोशनल ब्ल्याकमेलिङ’ गरेर चुनाव जित्छन् । कतिपय अवस्थामा पार्टीले ती श्रीमतीलाई समानुपातिक संसदमा ल्याएको हुन्छ ।

 वा टिका लाएर पार्टीमा भित्र्याएका हुन्छन्, मन्त्रीसम्म बनाएका हुन्छन् । श्रीमानले देखेको सपना आफूले पुरा गर्ने भनि आश्वासन बाँड्छन् । कुनै श्रीमानको हत्या भएको छ भने त्यसलाई चुनावमा पार्टीले क्यास गर्छ भने श्रीमतीले पनि त्यसको फाइदा लिदै चुनाव लड्छन् । 

चुनावमा ती श्रीमतीहरुको एउटै नारा हुन्छ, श्रीमानका हत्यारालाई कानुनको कठघारामा उभ्याउने, श्रीमानले जनताका लागि देखेको सपना पुरा गर्ने पनि वचन बाँडेका हुन्छन् । श्रीमानको मृत्युपछि चुनाव लडेका एकाआध बाहेक अधिकाँश श्रीमतीहरु चुनाव जितेका छन् । यसैबाट पुष्टि हुन्छ कि श्रीमानको मृत्युपछि जनतालाई कसरी ‘इमोशनल ब्ल्याकमेलिङ’ गरेर चुनाव जितेका हुन्छन् ।

कहिले काही यस्तो कुरा फिल्ममा पनि हेर्न पाइन्छ कि कुनै नेतालाई चुनाव जित्नुछ भने छोरी, छोरा, श्रीमती, श्रीमानलाई अपहरण वा हत्या गर्न लगाएका हुन्छन् र चुनाव जितेका हुन्छन् । रिलमा देखिएका कुरा रिलयमा पनि भइरहेका छन् । नेपालमा पनि भएका कतिपय घटनाहरुमा त्यस्तो आशंकाहरु नभएको होइन, तर त्यो पुष्टि भएको छैन । 

श्रीमानको निधनपछि राष्ट्रपतिसम्म बनेको घटना नेपालमै छन् । मन्त्री त अधिकाँश महिलाहरु बनेका छन् । एमाले नेता मदन भण्डारीको निधनपछि विद्यादेवी भण्डारी एकाएक राजनीतिमा उदाउनु भयो ।

त्यस्तै काँग्रेसक नेता चन्द्रनारायण यादवको निधनपछि सीता देवी यादव राजनीतिमा आउनुभयो । हेमनारायण यादवको निधनपछि पारो देवी यादव, जितेन्द्र साह बेपत्ता भएपछि ललिता साह, दुर्गानन्द झाको निधनपछि काशीदेवी झा, रामवृक्ष यादवको निधनपछि रामकुमारी यादव, रवीन्द्र अधिकारीको निधनपछि विद्या भट्टराई, मोहम्मद आलमको निधनपछि नेजमा खातुन, प्रकाश दाहालको निधनपछि विणा मगरलगायतका थुप्रै महिलाहरु राजनीतिमा आउनु भयो । त्यसमध्ये कतिपय महिलाहरु अझै राजनीतिमा टिकी रहनु भएको छ भने कतिपय हराउनु भएको छ । 

उहाँहरु राजनीतिमा आउँदा एउटै ‘मिसन’ थियो, श्रीमानको हत्यारालाई कारवाही गराउनु । यसमध्ये अधिकाँशका श्रीमानका हत्याराले सजाय पाएका छैनन् । दोस्रो संविधानसभाको चुनावकै बेला बारा जिल्लामा तत्कालिन एमालेका नेता मोहम्मद आलमको हत्या भएको थियो । उहाँको हत्या लगतै पार्टीले उहाँका श्रीमती नेजमा खातुनलाई संविधानसभा सदस्यका लागि उम्मेदवार बनाएको थियो । 

उहाँ सहजरुपमा त्यो चुनाव जित्नु भयो । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता जितेन्द्र सोनल चुनाव हार्नु भएको थियो । हुन त उहाँको श्रीमानको हत्यारा पक्राउ परे र कारवाही पनि भयो । तर अहिले उहाँ राजनीतिमा हुनुहुन्न । संविधानसभा सकेपछि उहाँ गृहिणी हुनुभएको छ । अहिले उहाँका छोरा नेकपा एमालेको युवा संघमा हुनुहुन्छ । 

त्यसैगरि २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा कास्कीका नेता रवीन्द्र अधिकारीको निधन भएको थियो । त्यतिबेला उहाँ सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि हुनुहुन्थ्यो । उहाँको निधनपछि कास्की क्षेत्र नम्बर २ मा उपचुनाव भयो । तर त्यो चुनावमा उम्मेदवार बनायो उहाँकै श्रीमती विद्या भट्टराईलाई । सो क्षेत्रमा अरु होनहार नेताहरु पनि थिए । 

वाम गौतमलाई समेत चुनाव लड्ने सोच थियो तर अधिकारीकी श्रीमती भट्टराई नै चुनाव लड्ने भएपछि सबैजना चुप लागेका थिए । श्रीमती भट्टराईको विद्यार्थीकालदेखि कम्युनिस्ट राजिनामा लागेका थिए तर रवीन्द्र अधिकार राजनीतिमा सक्रिय भएपछि उहाँ निस्कृय हुनु भएको थियो । तर एउटा सीट जितका लागि पार्टीले श्रीमती भट्टराईलाई उम्मेदार बनाएको थियो ।

त्यसैगरि, २०५७ सालमा सिरहाका काँग्रेसी नेता चन्द्रनारायण यादवको हत्या भएको थियो । सो हत्या तत्कालिन माओवादीले गरेको आरोप परिवारजन लगाउँदै आएका छन् । माओवादीले हत्या गरेको कुरा विभिन्न अनुसन्धानले पनि खुलेको छ । उहाँको निधन भएपछि उहाँका श्रीमती सीतादेवी यादवले त्यो ठाउँ लिनुभयो । जिल्लाको राजनीतिमा सक्रिय हुँदै उहाँको केन्द्रको राजनीतिमा पनि आउनु भयो । 

उहाँ हालसम्म राजनीतिमा सक्रिय हुनुहुन्छ तर उहाँले राजनीतिमा कदम राख्दाखेरी श्रीमानको हत्यारालाई जसरी पनि कठघारामा ल्याउने अठोट लिनु भएको थियो । तर उहाँ पार्टीको उच्च तहमा जानुको साथै दुई पटक सांसद र एकपटक मन्त्री पनि बन्नुभयो तर अहिलेसम्म आफ्ना श्रीमानका हत्यारालाई सजाय दिलाउन सक्नु भएको छैन । उहाँले अहिले पनि आफ्नो चुनावी क्षेत्रमा भाषण गर्दा श्रीमानको हत्या बारेमा चर्चा गर्नुहुन्छ र न्यायको कठघारामा उभ्याएर नै छाड्ने कुरा राख्नु हुन्छ तर उहाँ सक्नु भएको छैन । 

अहिले पनि उहाँको क्षेत्रमा चर्चा हुने गरेको छ कि सीतादेवी यादव चन्द्रनारायण यादव हत्याको व्याज अझैसम्म खाइ रहनु भएको छ । अझै पनि उहाँले जनताको सेन्टीमेन्ट पाइरनु भएको छ । अहिले पनि उहाँ भाषण गर्दा गर्दै रुन थाल्नु हुन्छ । 

सिरहाकै एमालेका नेता हेमनारायण यादवको २०६० माघ १९ गते हत्या भएको थियो । उहाँको हत्या नेपाली सेनाबाट भएको आरोप परिवारले लगाएको छ । विभिन्न छानविन समितिले पनि त्यस्तै प्रतिवेदन पनि दिएको छ । उहाँको हत्यापछि सेन्टीमेन्ट मत तान्नका लागि तत्कालिन एमालेले उहाँका श्रीमत पारो देवी यादवलाई राजनीतिमा उतारेको थियो । 

२०६३ सालको व्यवस्थापिका संसदमा पारोदेवी यादवलाई सांसद बनाइएको थियो । त्यसपछि उहाँलाई पहिलो संविधानसभा चुनाव टिकट पनि दिएको थियो तर उहाँ चुनाव हार्नुभएको थियो । दोस्रो संविधानसभा चुनाव उहाँले चुनावमा भाग लिनुभएन घर बस्नु भयो तर उहाँका छोरा डा.नविन यादव चुनाव लड्नु भएको थियो तर उहाँले पनि चुनाव हार्नुभएको थियो । 

हेमनारायण यादवका श्रीमती पारोदेवी यादव २०६३ को व्यवस्थापिका संसदमा आएदेखि आजसम्म श्रीमानको हत्यारालाई कारवाही हुनुपर्छ भनि अवाज उठाइ रहनु भएको छ । हरेक प्रधानमन्त्री तथा गृहमन्त्रीलाई भेटेर कारवाहीको माग गर्दै आउनु भएको छ तर उहाँले सक्नु भएन । 

उहाँ सांसद हुँदा उहाँको कामै थियो श्रीमानको लागि न्याय माग्ने । जहाँ जाँदा उहाँ आफ्नो श्रीमानको कुरा राख्नु हुन्थ्यो तर उहाँको कुराको कही सुनुवाई भएन । हत्या भएको १७ वर्ष भइसक्यो तर पारोदेवी यादवले आफ्नो श्रीमानलाई न्याय दिलाउन सक्नु भएन ।  

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका युवा नेता जितेन्द्र साहलाई आन्दोलनको क्रममा बेपत्ता पार्यो । हालसम्म फेला परेको छैन । र अहिले पार्टीले पनि त्यसको चर्चा गर्दैन । जितेन्द्र साह वेपत्ता भएपछि त्यसको सेन्टीमेन्ट तान्नका लागि मधेशी जनअधिकार फोरम नेपालले ललिता साहलाई पहिलो संविधानसभा चुनावमा समानुपातिकबाट संविधानसभा सदस्य बनाएको थियो । 

ललिता साह संविधानसभा सदस्य भएपछि उहाँको कामै थियो श्रीमानको लागि न्याय माग्ने तर उहाँको अवाज कसैले सुनेनन् । संविधानसभा सदस्य हुँदा जुन मञ्चमा जाँदा पनि आफ्नो श्रीमानको न्यायका लागि कुरा गर्नुहुन्थ्यो, अवाज उठाउनु हुन्थ्यो । 

तर उहाँको श्रीमानलाई कसैले पत्ता लगाउन सकेन । उहाँ सविधानसभा सदस्य नरहेपनि केही दिनसम्म काठमाडौंमा बसेर श्रीमानको पत्ता लगाई दिन, श्रीमानलाई न्याय गर्न सरकारको ढोका ढोका चहार्नु भएको थियो तर उहाँको अवाज कसैले सुनि दिएन र अहिले उहाँ थाकेर राजनीतिबाट टाढा हुनुभएको छ । 

सहिद दुर्गानन्द झाको निधनको धेरैपछि उहाँका श्रीमती काशीदेवी झा पनि राजनीतिमा आउनु भयो । दुर्गानन्द झा काँग्रेसको नेता भएपनि तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीले काशी देवी झालाई पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य बनाएको थियो । उहाँ राज्यमन्त्रीसम्म बन्न सफल हुनुभयो । 

उहाँ संविधानसभा सदस्य हुँदा श्रीमानलाई सहिद घोषणा गर्न सफल हुनुभयो तर त्यसबाहेक उहाँको नाममा केही गर्न सक्नुभएन । सरकारको तर्फबाट दुर्गानन्द झाको नाममा विभिन्न कामहरु गर्ने भनेको थियो तर केही पनि गरेनन् । काशीदेवी झा अहिले घर बस्नु भएको छ । 

तत्कालिन माओवादीका नेता रामवृक्ष यादवका श्रीमती रामकुमारी यादव पनि राजनीतिमा आउनु भएको थियो । आन्दोलनको क्रममा २०५१ भदौं १ गते उहाँको हत्या भएको थियो । राज्यको तर्फबाट नै उहाँको हत्या भएको उहाँका परिवारजनको आरोप रहेको छ । 

रामवृक्ष र रामकुमारीबीच २०१८ सालमा विहे भएको थियो । रामवृक्षको राजनीतिक संघतले गर्दा रामकुमारीमा पनि राजनीतिक चेतनाको विकास भएको थियो र उहाँले पनि रामवृक्ष यादवलाई सहयोग पुर्याउँदै आउनु भएको थियो । 

सोझी र शान्त महिलाको रुपमा चिनिएका रामकुमारी पार्टीको सम्पर्कमा भएपनि राजनीतिमा त्यति सक्रिय हुनुहुन्थेन । उहाँका छोरा, छोरी, ज्वाई सबै राजनीतिमा सक्रिय थिए । माओवादीमै लागेका कारण छोरा तथा ज्वाईले सहादत दिएको थियो । पहिलो संविधानसभामा रामकुमार यादवालाई पार्टीले रामकुमार यादवलाई टिकट दिएर चुनाव जिताएर संविधानसभा सदस्य बनाएको थियो । संविधानसभा सदस्य रहेकै बेला उहाँको घरमा ग्यास विस्फोट हुँदा उहाँको निधन भएको थियो । उहाँ पनि श्रीमान रामवृक्ष यादवको नामबाट राजनीतिमा आउनु भएको थियो ।

 मास्टर साहबका श्रीमतीका नामले उहाँ परिचित हुनुहुन्थ्यो । तर एउटा दुर्घटनामा परी उहाँका निधन भयो । रामवृक्षले परिवर्तनका लागि देखेको सपना रामकुमारीले पुरा गर्न सक्नुभएन अहिले उहाँका छोरीहरु नेकपाको राजनीतिमा सक्रिय हुनुहुन्छ । 

तत्कालिन एमालेका नेता मदन भण्डारीको निधन २०५० जेठ ३ गते चितवनको दासढुगांमा दुर्घटनामा परि निधन भएको थियो । तर त्यो दुर्घटना होइन हत्या नै हो भनि पाटी तथा अन्य अनुसन्धानले देखाएका छन् । मदन भण्डारीको निधनपछि २०५० सालको उपनिर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । 

विद्यार्थी राजनीतिबाट राजनीतिको जीवन यात्रा सुरु गर्नुभएका भण्डारी छोटो समयमा प्रतिनिधिसभा सदस्य हात पार्नुको मुख्य कारण मदन भण्डारीको निधन नै थियो । २०५० मा जिफन्टको महिला विभागको प्रमुख हुनुहुन्थ्यो । 

तर श्रीमन मदन भण्डारीको निधन भएपछि राजनीतिको सिढी ओकल्न थालेपछि पछाडी फर्केर कहिले हेर्नुभएन र आज उहाँ देशको राष्ट्रपति हुनुहुन्छ । २०५१ सालमा प्रतिनिधिसभा सदस्य हुनुभएका विद्यादेवी भण्डारी २०५४ मा भएका छैठौ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बन्नुभएको थियो । उहाँ मदन भण्डारीको नामबाट २०५६ सालमा पनि चुनाव जित्नुभयो । 

२०६४ सालमा सिधै पार्टीको उपाध्यक्ष बन्नुभयो भने पहिलो संविधानसभामा संविधानसभा सदस्यमा निर्वाचित हुनुको साथै रक्षामन्त्री समेत बन्नुभयो । श्रीमानको निधनपछि राजनीतिमा सक्रिय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको हत्यारालाई खोजविन गरी कारवाही गर्ने अवाज सधै उठाउनु भयो । 

पार्टीको बैठक होस् वा कुनै सार्वजनिक कार्यक्रम उहाँले मदन भण्डारीको नाम लिइरहनु हुन्थ्यो । घटनाको छानविन हुनुपर्ने कुरा उठाई रहनु हुन्थ्यो तर उहाँ रक्षामन्त्री बन्नुभयो । उहाँकै पार्टीबाट नेताहरु पटक पटक प्रधानमन्त्री बन्नुभयो ।

 उहाँले आफै दुईपटक राष्ट्रपति बन्नुभयो तर दोषी पत्ता लगाउन सक्नु भएन । २०७४ मंसिर ३ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भयो । जुनबेला उहाँको निधन भयो देशमा चुनावको प्रचार प्रसार चलिरहेको थियो । उहाँका श्रीमती विना मगर कञ्चनपुर १ बाट चुनावमा उठ्नु भएको थियो । उहाँ त्यहाँबाट चुनाव जित्ने कुनै सम्भावना थिएन ।

 संयोगले प्रकाश दहालको निधन भयो र विना मगरको भाग्य चम्केको टिप्पणीहरु त्यतिबेला सुनिएको थियो । प्रकाश दहालको निधनको भावनात्मक मत पर्यो र उहाँ चुनाव जित्नुभयो ।

माथि उल्लेख भएका प्रतिनिधि पात्रहरु मात्र हुन यस्ता धेरै राजनीतिक पात्रहरु छन् जो श्रीमानको हत्यापछि राजनीतिमा आए । त्यसको फाइदा लिए तर श्रीमानलाई न्याय दिलाउन सकेनन् । माओवादी जनयुद्धका क्रममा थुप्रै श्रीमानहरु बेपत्ता भए । बेपत्ता भएको नामबाट त्यसमध्येका कतिपय श्रीमानका श्रीमतीहरु राजनीतिमा आए । 

श्रीमानले न्याय पाउनुपर्छ भनि पार्टीमा कुरा उठाए । सकडमा आन्दोलनसम्म गरे तर ती श्रीमतीका श्रीमानहरुले अझै न्याय पाएका छैनन् । श्रीमानको नामबाट आएका ती कतिपय श्रीमतीहरु श्रीमानको लागि लड्दा लड्दै राजनीतिबाट पनि ओझेलमा परेका छन् । तर न्याय दिलाउन सकेन ।

तपाईको प्रतिक्रिया