रेशम चौधरीको रिहाइ (सम्पादकीय)

कैलालीको टिकापुर २०७२ भदौं ७ गते भएको एउटा घटनाको मुख्य दोषी देखाउँदै रेशम चौधरीलाई जन्मकैदका फैसला गरेको छ । उहाँ अहिले जेलमा हुनुहुन्छ । अदालतको फैसलाका आधारमा उहाँ जेलमा हुनुहुन्छ । देशको विधि र शासनलाई मान्ने हो भने रेशम चौधरी जेलमा हुनुहुन्छ भने कुरालाई स्वीकार गर्नुपर्छ र उहाँले सजाय भोग्नुपर्छ तर राजनीतिक पूर्वाग्रही हो भने उहाँलाई रिहाइ गर्नुपर्छ ।

कैलाली टिकापुरको घटना राजनीति घटनाक्रमको एउटा परिघटना हो । राजनीतिमा यस्तो घटना पहिलो पटक मात्र भएको होइन । यस्ता घटना थुप्रै्रपटक भएको हो । आन्दोलनकारी र राज्य दुवैतर्फ क्षति भएको घटनाहरु थुप्रै छन् । ती घटनामा मुछिएर पक्राउ परेकाहरु छुटेका छन् । राजनीति मुद्दा र राजबन्दीलाई आधार मान्ने हो भने रेशम चौधरी पनि रिहाइ हुनुपर्छ । किनभने टिकापुरको घटना पनि एक राजनीतिक मुद्दाको आधारमा भएको थियो । राजनीतिक घटनाक्रमले भएको आन्दोलनमा क्षति भएको हो । जता पट्टीका मान्छे मारिए पनि त्यो राम्रो होइन । मारिनु हुँदैन्थ्यो, परिवारप्रति संवेदना छ तर पहिलाका राजनीतिक घटनाक्रमलाई नजिर मान्ने हो भने टिकापुरको घटना मामुली हो ।

रेशम चौधरी दोषी हुन् भने कुरा अदालतले भनिसकेको छ । त्यसको आधारमा उहाँलाई सजाय तोकिएको छ । उहाँ सजाय भोगिरहनु भएको छ । तर राजनीतिक रुपमा उहाँलाई रिहाई गर्नुपर्छ भने मधेशवादी दलको माग रहेको छ । रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । त्यसमा बहस र पैरवी चलिरहेको छ । राजनीतिक दलबाट पनि दवाव परिरहेको छ । त्यसमा विभिन्न कोनबाट बहस र छलफल भइरहेको छ । तर सबै कुरा एकजना रेशम चौधरीको रिहाइमै केन्द्रीत गर्नु हुँदैन । अहिले जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाईलाई मुख्य माग बनाएर सरकारसँग बार्गेनिङ्ग गरिरहेको छ । मानौ, रेशम चौधरी रिहाइ भएपछि तराई मधेश, थरुहट तथा उत्पीडित समुदायको सबै माग पुरा हुन्छ जस्तो ।

जसपाले एकातिर रेशम चौधरीलाई राजनीतिबन्दी रुपमा उभ्याई रहनु भएको छ भने अर्कोतिर त्यसलाई रिहाइ गर्न दवाव दिइरहेको छ । यदि रेशम चौधरी राजनीति बन्दी हो भने उहाँलाई छोडाउन सबै कुरा दाउमा लगाउनु हुन्न । उहाँ एउटा राजनीतिक एजेण्डाका लागि पक्राउ पर्नुभएको छ भने राजनीति बन्दीको रुपमा रहन दिनुपर्छ । राजनीति इतिहासमा यस्ता धेरै घटनाहरु भएका छन् । नेताहरु वर्षौसम्म राजनीति जीवन विताएर जेलबाट रिहाइ भएका छन् । तर उसैलाई रिहाइको मुख्य सर्त कहिल्यै बनाएन ।

के रेशम चौधरी जे मुद्दाका लागि टिकापुरमा आन्दोलन गर्नुभएको थियो त्यो माग पुरा भयो त ? भएको छैन भने उहाँको रिहाइलाई मुख्य शर्त किन बनाइरहेको छ । थारुको अधिकारका लागि, उसको पहिचानका लागि अरु रेशम चौधरीहरु जेल जान तयार हुनुपर्छ नकि एकजनाको रिहाइका लागि सबै माग त्याग्नु पर्छ । वर्षौदेखि आफ्नो अधिकार र पहिचानका लागि मधेशी र थारुले यो देशमा आन्दोलन गरिरहेको छ । तर अझै मागहरु पुरा भएको छैन ।

देशमा गणतन्त्र आएपनि मधेश र थरुहटमाथि उस्तै विभेद रहेको छ, उस्तै शोषण भइरहेको छ । अधिकारबाट वन्चित गरिएको छ के रेशम चौधरीलाई रिहाइ गरेपछि ती सबै माग पुरा हुन्छ त ? हुँदैन । जसपा नेपालले अहिले जसरी रेशम चौधरीको रिहाइलाई मुख्य माग बनाएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग वार्ता गरिरहेको छ यदि उहाँले रेशम चौधरीको रिहाइ गर्दिनु भयो र अरु माग पुरा गर्न तयार हुनुभएन भने जसपाले के गर्छ ? रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाउनु हुँदैन, रेशम चौधरी राजनीतिक बन्दी हुनुहुन्छ भने उहाँलाई राजनीतिक रुपमा पहल गरेर छोडाउनुपर्छ तर उहाँकै रिहाइलाई बटमलाइन बनाउनु हुँदैन । उहाँको रिहाइलाई बटमलाइन बनाइयो भने अरु मुद्दाहरु ओझेलमा पर्न सक्छ भने कुरामा सचेत रहनु पर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पनि रेशम चौधरीलाई रिहाइ गरेर अरु मुद्दालाई ओझेलमा पार्ने रहेको छ । नागरिकताको समस्या र त्यो भन्दा ठूलो माग संविधान संशोधनको हो । संविधान निर्माण तथा त्यसको संशोधनका लागि सैयौं मधेशीले सहादत दिएका छन् । सैयौं मधेशी घरवारविहिन भएका छन्, कतिपयको छोराछोरी टुहारो भएका छन्, कतिपय श्रीमान गएका छन् भने कतिपयको छोरा गएका छन् । सबभन्दा ठूलो कुरा मधेश तथा थरुहटका होनहारहरुको अन्त्य भएको छ त्यसको तुलनामा रेशम चौधरीको जेल मामुली कुरा हो त्यसलै रेशम चौधरीको रिहाइभन्दा पनि संविधान संशोधनमा केन्द्रीत हुनुपर्छ ।

तपाईको प्रतिक्रिया