Khadya Bibhag

आन्दोलन केका लागि ?

अहिले हरेक दलले आन्दोलनको चेतावनी दिइरहेका छन् । तर आन्दोलन किन गर्ने त्यसको ठोस उद्देश्य कसैले स्पष्ट गरेको छैन । नेकपा एमालेले पनि फागुनदेखि सरकारको विरुद्धमा आन्दोलन गर्ने भनेको छ भने राप्रपाले पनि फागुन ७ गते आन्दोलन गर्ने भनेको छ । यता, मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टीलगायत दल पनि के कम । ती दलहरुले पनि आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । कतिपय दल त त्यसको तयारीमा पनि लागि सकेका छन् तर आन्दोलन केका लागि त्यसको स्पष्टता अझै भएको छैन ।
आन्दोलनको मूल माग संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, प्रदेश निर्माण जस्ता मागहरु पुरा भइसकेका छन् । सबभन्दा प्राथमिकतामा रहेको नागरिकताको माग पनि पुरा भएको छ । समानुपातिक समावेशीको व्यवस्था पनि संविधानमा गरिसकेको छ । मूलभुत मागहरु पुरा भइसकेका छन् तैपनि यी दलहरु के का लागि आन्दोलन गर्दैछन् त ? २०८४ मा चुनाव हुँदैछ, चुनावमा कुनै एजेण्डा नभएको कारण आन्दोलन चर्काउन खोजेको कुरा कसैबाट लुकेको छैन । एमाले होस् वा राप्रपा वा जसपा, लोसपा, जनमत किन नहोस् अगामी चुनावमा सबैको हालत खराब हुनेबाला छ त्यही भएर आन्दोलन गरेर जनतलाई जगाई रहने र त्यसको आधारमा मत आफूतिर तान्ने उनीहरुको दाउ छ ।
विगतमा आन्दोलन गरेकै कारण जनताले मत दिएर ठूलो पार्टी बनाएर पठाएको थियो तर जब आन्दोलनको असर कम हुँदै गयो ती दलहरुको अवस्था पनि कमजोर हुँदै गयो । मधेश आन्दोलन गरेपछि तत्कालिन मधेशी जनअधिकार फोरम अर्थात अहिलेका जसपा, तत्कालिन तमलोपा अहिलेको लोसपा पहिलो संविधान सभामा ठूलो शक्ति भएर आएका थिए ।
तर जसरी जसरी आन्दोलनको प्रभाव कम हुँदै गयो त्यसरी नै ती दलहरुको शक्तिमा पनि ह्रास हुँदै गयो । त्यही शक्ति प्राप्त गर्नका लागि पुनः आन्दोलन गर्ने दाउमा छन् । २०६५ सालदेखि लगातार सरकारमा छन् ती दलहरु । मधेश प्रदेश सरकारको नेतृत्व पनि गरे । संघीय सरकारमा पनि पटक पटक सहभागी भए । उपप्रधानमन्त्रीसम्म भए, गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्रालय जस्ता मालदार मन्त्रालय पनि सम्हाले तर जनतालाई कुनै राहत दिएन । जनताले विकासको अनुभूती नै गरेन । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीको अवस्था जस्ताका त्यस्तै छ ।
जनताको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । २० वर्ष जस्तो अवस्था थियो, अहिलेको अवस्था पनि त्यस्तै छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबैको जीवनशैलीमा परिवर्तन हुन्छ, सबैले समान अधिकार पाउँछन्, शिक्षा, स्वास्थ्य, रोजगार सबै घरसम्म नै आइपुग्छन् जस्ता आश्वासन यी दलका नेताहरुले दिनुभएको थियो । आन्दोलनबाट व्यवस्था परिवर्तन भयो । आन्दोलन गर्ने नेताहरु मन्त्री, सांसद भए तर जनताको जीवनशैलीमा कुनै पनि परिवर्तन आएन । नेताको जीवनशैलीमा परिवर्तन आयो । घर, गाडी, जग्गा जमिन जोडे । छोराछोरीलाई गाउँबाट शहरको राम्रा स्कूल तथा विदेशसम्म पढाउन पाए । तर जनताका छोराछोरी त्यही सरकारी स्कूलमा अल्झिरहेका छन् ।
समान्य शिक्षा लिएर कमाउनका लागि खाडी मुलुक जान बाध्य छन् । तराई मधेशको शिक्षाको गुणस्तर पहिला भन्दा झन खराब भएको छ । स्वास्थ्यको अवस्था विगतको भन्दा झनै खराब भएको छ । विरोजगारी अवस्था यस्तो सृजना भएको छ कि गाउँमा कुनै युवा भेट्दैनन्, रोजगारका लागि शहर गएका छन् कि वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेका छन् । तर आन्दोलन गरेकै नेता तथा त्यसका पार्टी विगत १५ वर्षदेखि सरकारमा छन् । मधेश प्रदेशको सरकार नेतृत्व गरेको अहिले दोस्रो कार्यकाल हो तर एउटा पनि सम्झन लायक जनतासँग जोडिएको काम भएको छैन ।
अनि जनताले फेरि कसका लागि र किन आन्दोलन गर्ने प्रश्न उठेको छ । विगतमा जेका लागि आन्दोलन गरेको थियो त्यसमध्ये केही प्राप्त भएको छैन । अहिले फेरि आन्दोलन गर्न जनतालाई नेताहरुले उक्साइ रहेका छन् । यो आन्दोलन जनताका लागि नभएर नेताहरुले आफ्नो स्वाथृका लागि गर्न खोजिरहेका छन् । आन्दोलनमा दुई चार जनालाई मार्न लगाउँछन्, आन्दोलनलाई उचाईमा पुर्याउँछन् र फेरि त्यसलाई सत्ता र कुर्सीसँग साटफेर गरेर जनतालाई बिच सकडमै छाड्छन् । त्यसैले आन्दोलनको कुरा गर्ने नेतालाई सोधौ, ‘आन्दोलन केका लागि ?

तपाईको प्रतिक्रिया