नेपालमा चिनियाँ अपराधको जालो

काठमाडौँ उपत्यकामा रहेका तीनवटा कारागारमा हाल २३ जना भन्दा बढी चिनियाँ कैदी छन् । सुन्धारास्थित केन्द्रीय कारागारमा सबैभन्दा बढी १८ जना, नख्खु कारागारमा तीन र डिल्लीबजार सदरखोरमा २ जना चिनियाँ नागरिक कैदी जीवन बिताई रहेका छन् । त्यसबाहेक विभिन्न थुनामा ९ जना चिनियाँ रहेका छन् । पछिल्लोसमय नेपालमा चिनियाँ नागरिकहरुको अपराधिक गतिविधिमा संलग्नता ह्वातै बढेको छ ।

प्रहरी स्रोतका अनुसार अपराधको ममलामा नेपालमा भारतपछि चीन दोस्रो नम्बरमा पर्छ । नेपाल–भारतबीच खुल्ला सीमा भएको कारण भारतीय अपराधीको सँख्या अलि बढी छन् तर पछिल्लो समय चिनियाँ अपराधीका सँख्यामा वृद्धि भइरहेका छन् । खासगरि दोस्रो संविधानसभाको चुनावपछि चिनियाँ नागरिकहरुको नेपालमा अवगमन बढ्न थालेपछि त्योसँगै अपराधी प्रवृद्धिका व्यक्तिहरु पनि आएका छन् । यहाँसम्म कि अरु देशमा अपराध गरेका चिनियाँ नागरिकहरु पनि लुक्नका लागि नेपाललाई नै रोजेका छन् । एमाले र माआवादी गठबन्धनको सरकार बनेपछि नेपाल–चीनबीचको सम्बन्ध प्रगाढ हुँदै गयो । दुई देशबीचका नागरिक एक अर्काको देशबीच यसरी आउजाउ गर्न थाले । त्यस बीचमा कुन खालका व्यक्तिहरु आए र कुनखालका व्यक्ति गए गए त्यसको कुनै लेखाजोखा राखेको छैन । कपी शर्मा अ‍ोली प्रधानमन्त्री भएपछि छिमेकी देशको नाताका कारण भिसा शुल्क फ्रि गर्दिएपछि चिनियाँहरु झन ओर्लिए ।

अहिले नेपालमा चिनियाँ नागरिकको तर्फबाट शङ्खलाबद्ध रुपमा अपराधमा वृद्धि भइरहेको छ । पहिला सानोतिनो अपराध हुँदा आम मान्छेलाई जानकारी पनि हुँदैन्थ्यो । आकल झुकल कुनैकुनै अपराधमा संलग्न भएको चिनियाँहरु भेटिन्थ्यो । तर नेपालमा उनीहरुले ठूलो सञ्जाल खडा गरेका छन् । प्रहरी प्रधान कार्यालयबाट चिनियाँ नागरिक पक्राउ अनुसन्धानमा खटिएका एक प्रहरीले भन्नुभयो, देशमा लोकतन्त्र आएपछि चिनियाँ अपराधको ग्राफ पनि विस्तारै विस्तारै बढेको दखिएको छ ।’ पछिल्लो समय अर्थात साउन १५ गते ठमेलमा प्रहरीले अवैध चिनियाँ रक्सी कारखाना फेला पारेको छ । प्रहरीले उक्त कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी जिहुईलाई पक्राउ गरेको छ ।

पर्यटन भिसामा नेपाल आएका उनले रक्सी कारखाना चलाएर बसेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार ती चिनियाँले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गर्दै आइरहेका थिए । करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थसमेत बरामद गरिएको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो । चिनियाँ नागरिकको अपराधिक शृङ्खलाको पछिल्लो घटना हो ।

नेपालमा चिनियाँ नागरिक अपराधमा संलग्न रहेका छन् भनि नेपाली नागरिक त्यतिबेला थाह पाए जतिबेला एकैपटक १२२ चिनियाँ नागरिक पक्राउ परे । ट्रान्सबोर्डर अपराधमा संलग्न चिनियाँ नागरिक माथी नेपालको प्रहरीले गरेको सो अपरेशन अहिलेसम्मकै ठूलो थियो । चिनियाँ प्रहरीले चार्टर्ड बिमानमार्फत उनिहरुलाई आफ्नो देशमा लगेका थिए । उनहरुलाई आफ्नो देश लगेपछि नेपालमा त्यसको आलोचना पनि भएको थियो । काठमाडौँका विभिन्न ठाउँमा अपराधी कार्य गरी लुकेर बसेका चिनियाँ नागरिकलाई पक्राउ गरी चिनियाँ सरकारलाई नै बुझाएको थियो । चीन सरकारको दावी अनुसार चिनियाँ अपराधीलाई पक्राउ गर्न आफ्नो देशका प्रहरीको पनि सहयोग रहेको दावी गरेको थियो । तर त्यसको बारेमा नेपालले केही बोलेको थिएन । त्यसअघि केही चिनियाँ नागरिक एटीएमबाट पैसा झिक्ने क्रममा समातिएका थिए ।

त्यसपछि पटक पटक चिनियाँ नागरिकहरु अपराधी कार्यमा संलग्न रहेको भन्दै समातिदै आइरहेका छन् । ठमेलस्थित ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको जियाङ्गहु खाजान होटलबाट जुवा खेलाई रहेको अवस्थामा २०७८ असार २१ मा चारजना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । चिनियाँ नागरिक झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्ग र पेङ्ग हुईको कोठा खानतलासी गर्दा २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला र गाईको छाला भेटिएको थियो ।

प्रहरीले जुवा खेल्न प्रयोग गरिने गोटी र विद्युत्तिय टेवल बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताउनुभयो । ठमेल जेपी मोडमा रहेको जियो जियाङ होटलबाट असार २३ मा फेरी पाँच जना चिनियाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको टोलीले हु वेनबिन, लि जियाओ तोङ र हे फुयु सहितका पाँच जनालाई पक्राउ गरेको थियो ।

२०७६ पछि पटक–पटक चिनियाँ नागरिकले एटीएम ह्याक गरेर चोर्ने क्रममा समातिएका छन् । २०७६ भदौमा दरबारमार्गमा रहेको नविल बैंकको एटीएमबाट रकम चोरी गर्दागर्दै एकजना चिनियाँलाई प्रहरीले पक्राउ परेपछि प्रहरीलाई ठूलै गिरोह फेला परेको थियो । सो गिरोहले वी च्याटमा पठाएको कोड नम्बर हालेर एसबिआई, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथबाट ३ करोड ४४ लाख नगद निकालेका थिए, त्यतिबेला नेपालमा निकै हलिखली मचेको थियो । कसको पैसा कति लुटिएला, कुन बेला कुन बैंकको रकम लुटिएला भनि ठेगान थिएन ।

२०७७ चैत १८ मा चिनियाँ वाङ जियाओलोले चीनबाट एटिएम मेशिनको साँचो लिएर आएका थिए । प्रहरी पुग्दा उनी मेशिनको सिरियल नम्बरको फोटो खिचिरहेका थिए । मेशिन खोल्ने साँचोबारे सोध्दा उनले जवाफ दिए–‘चिनबाट साँचो लिएर आएको थिएँ, साँचो छिराएँ मेशिन खुल्यो फोटो पठाउन भ्याएको छैन् ।’

काठमाडौंमा बसेर चिनियाँहरुले चीनमा मुख्य तीन प्रकारका अपराध गर्ने गरेको प्रहरीले जनाएको छ । अनलाईनको माध्यमबाट आश्वासन बाँडेर पैसा हाल्न लगाएर धोकाधडी गर्ने, मनि लाउण्डरिङ, अनलाईन जुवा तथा अनलाइनकै माध्यमबाट यौन अपराध गर्ने जस्ता कार्य गरेको पाइएको प्रहरीले जनाएको छ । एक चिनियाँ अपराधी पक्राउ गर्नमा संलग्न एक प्रहरीका अनुसार उनीहरुको मुख्य अपराध मनि लाउण्डरिङ रहेको बताउनुभयो । कतिपय चिनियाँ सिंगापुर, कम्बोडिया र फिलिपिन्समा अपराध गरेर नेपाल आएर लुकेर बसेका पनि छन् । ‘अनलाईन गेमिङ’ मा संलग्न भएको अभियोगमा फिलिपिन्स प्रहरीले दुई वर्षअघि स्विप अपरेशन चलाएर ९४२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

त्यति मात्र होइन, नेपाल आएर यहाँका युवतीलाई विभिन्न प्रलोभन दिएर विहे गर्ने बहानामा चीन लगेर यौन दासी बनाउने गरेको घटना पनि बाहिर आएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विवाहको बहानामा चीनमा यौनदासी बनाउन नेपाली युवतीलाई लग्न खोज्ने चारजना चिनियाँलाई पक्राउ गरेको थियो । उनीहरूलाई त्रिभुवन विमानस्थल हुँदै चीन जाने क्रममा सोधपुछ गर्दा आशंका लागेर नियन्त्रमा लिएपछि विवाहको बहानामा यौनकर्मीका रूपमा नेपाली युवतीलाई लग्न खोजेको खुलेको थियो । पक्राउ पर्नेमा झाङ डोङ हुई, क्वान हाङ पिङ, क्वीन लियाङ र जेङ छिङडाङ थिए ।

चिनियाँ नागरिकहरु अपरणमा पनि संलग्न भएको भेटिएको छ । एक चिनियाँ नागरिकले नै अर्का आफ्नै देशका नागरिक नागरिक लि विपिङ र लि झयाङजिङलाई भेट्न भन्दै चिनियाँ नागरिक वु चाव र झाङ वेले होटल बाहिर बोलाए र सिन्धुपाल्चोकतिर लगेर बन्धक बनाउका थिए । अपहरणको ५ दिनपनि अपहरणमा परेका दुई व्यक्तिलाई सकुसल उद्धार गरी घटनामा संलग्न चारजना पक्राउ गरेको थियो ।

अघिल्लो वर्षको फागुन ३० गते ठमेलको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ टोलीको भिडले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए । चिनियाँ नागरिककले नेपालीलाई पिटेपछि चिनियाँको व्यवहारबाट वर्षौंदेखि आजित ठमेलका व्यापारी र बटुवा समेतले ती चिनियाँलाई प्रतिकार गरेका थिए । घटनालगत्तै प्रहरीले चिनियाँ भिडको नेतृत्व गरेका चिनियाँ व्यापारी वाङ्ग युन फेङ्गलाई पक्राउ गरे पनि पछि त्यत्तिकै छाडिएको थियो ।

२०७६ मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । २०७६ साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे । २०७६ भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परे । टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिक काठमाडौँमा पक्राउ परेका थिए । यी घटनाका उदाहरण मात्रै हुन् जुन प्रहरीको नजरमा परेको छ । कतिपय घटना प्रहरीले गोप्य राखेको छ ।

चिनियाँ नागरिक बालुवाटार, बालाजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रमा पुरै घर भाडामा लिएर बस्छन् । चिनियाँ नागरिकको अर्को अखडा हो, ठमेल । ठमेल क्षेत्र चिनियाँले करिब कब्जा गरेका छन् । ठमेल क्षेत्रका रेष्टुरेष्ट चिनियाँ ग्राहकले भरिएका हुन्छन् । चिनियाँ लगानीमा धेरै होटल ठमेलमा संचालित छन् । ठमेलमा होटलदेखि डिपार्टमेन्ट स्टोरसम्ममा चिनियाँले लगानी गरेका छन् । चीनबाट काठमाडौँ आउँदा भिसा शुल्क लाग्दैन् । धैरै चिनियाँ पर्यटक भिसामा नेपाल आएर ब्यापार गर्ने गरेका छन् । अध्यागमन विभागले त्यसरी फरक प्रयोजनको भिसा लिएर ब्यापार गर्नेहरुलाई नियमन गर्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया