रेशम चौधरी यता कि उता ?

टिकापुरको घटनामा दोषी ठहरिएका रेशम चौधरी अहिले कुन दलमा हुनुहुन्छ टुगों लागेको छैन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो रेशम चौधरी आफ्नो पार्टीमा रहेको भन्दै आएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले रेशम चौधरी आफनो पार्टीमा रहेको भन्दै आउनु भएको छ । दुवै पार्टीले आआफ्नो कार्यकारिणी समिति र संसदीय दलमा नाम राखेका छन् । महन्थ ठाकुरले लोसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि रेशम चौधरीको नाम पनि दिनुभएको छ । रेशम चौधरी आफ्नो पार्टीमा रहेको र सनाखत समेत गरेको दावी महन्थ ठाकुर पक्षका नेताहरुले गरिरहनु भएको छ ।

त्यस्तो दावी गरेपनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ । आयोगले रेशम चौधरी लोसपाको पक्षमा सनाखत नगरेको जनाएको छ । सनाखत गर्नका लागि सशरिर उपस्थित हुनुपर्ने हो, तर रेशम चौधरी सशरिर निर्वाचन आयोगमा उपस्थित नभएको कारण उहाँको सनाखत नमानिने आयोगका पदाधिकारीहरु बताउँछन् । यदि लोसपामा सनाखत नगरिए रेशम चौधरी जसपामै रहेको स्वतः मानिनेछ । यद्यपी लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले रेशम चौधरीको सनाखत कारागारबाट आएको दावी गर्नु भएको छ । कारागारका प्रमुखको उपस्थितिमा रेशम चौधरीले हस्ताक्षर गरेको पत्र निर्वाचन आयोगमा गएको छ, त्यसलाई आयोगले मान्यता दिएको आफूलाई जानकारी आएको उहाँले बताउनुभयो । रेशम चौधरी सांसदबाट निलम्बित भएको हुनाले उहाँको सनाखत सांसदको रुपमा नभएर कार्यकारिणी सदस्यमा भएको लोसपाको दावी छ ।

लोसपाले १५ जना सांसदको नामावली पेस गर्दा त्यसमा रेशम चौधरीको नाम पनि समावेश गरेको थियो । त्यसपछि आयोगले संसद सचिवालयलाई रेशम चौधरीको बारेमा जानकारी माग गर्दा उहाँ निलम्बित सांसद रहेको जानकारी प्राप्त गरेको थियो । त्यसपछि लोसपाका १४ जना सांसद मात्र कायम गरेको आयोगले जनाएको छ । आयोगमा लोसपाको सनाखतको तयारी चलिरहँदा जसपाका दुईजना सांसद रेशम चौधरीलाई भेट्न कारागार जानु भएको थियो । जसपाका सांसदहरु प्रदीप यादव र नरमाया ढकालले रेशम चौधरीलाई भेट्नु भएको थियो । त्यसमा चौधरीले आफू जसपामै रहेको बताउनु भएको थियो । एकदिन अगाडि लोसपाका अध्यक्ष महन्थ ठाकुर आफै हस्ताक्षरका लागि कारागार पुग्नु भएको थियो । तर रेशम चौधरीले हस्ताक्षर गर्नका लागि इन्कार गर्नुभएको थियो । रेशम चौधरीले आफू जसपा लोकतान्त्रिकका सनाखत गर्न तयार थिए तर अब लोसपा भएको कारण आफू हस्ताक्षर नगर्ने भन्दै अध्यक्ष ठाकुरलाई कारागारबाट फर्काएको चौधरीलाई भेटेर फर्केका सांसद यादवले दावी गर्नुभयो ।

रेशम चौधरी जसपाको कार्यकारिणी सदस्यमा रहनु भएको छ । आधिकारिताको लागि भएको मतदानको समय रेशम चौधरी तटस्थ बस्नु भएको थियो । उपेन्द्र यादवले जसपाको आधिकारिता पाइसकेपछि रेशम चौधरीले आफू जसपामा रहेको बताउनु भएको थियो । त्यसपछि जसपाले उहाँलाई कार्यकारिणी सदस्यमा राखेको छ । तर लोसपाले पनि रेशम चौधरी आफूसँग रहेको दावी गर्दै आएको छ । तर रेशम चौधरी यसबारेमा कुनै प्रतिकृया दिनुभएको छैन ।

तपाईको प्रतिक्रिया