नेपालका वामपन्थी पार्टीलाई चीनको सन्देश

काठमाडौँ मंसिर १५ गते । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एकसय वर्ष पूरा भएको अवसरमा पार्टीको १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकले ऐतिहासिक निर्णय गरेको छ । पार्टीले आगामी एकसय वर्षका लागि चीनको भविष्यको खाका कोर्दै बैठक सम्पन्न गरेको छ । यही सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको अन्तर्राष्ट्रिय विभागले दक्षिण एसियाका वामपन्थी पार्टीहरुलाई बैठकका अनुभव र निर्णयहरुबारे जानकारी साझा गरेको छ ।

भर्चुअल रुपमा आयोजना गरिएको उक्त बैठकमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, नेकपा माले, मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टीका साथै श्रीलंका, भारत र बंगलादेशका वामपन्थी पार्टीहरुको सहभागिता थियो । बैठकमा २० भन्दा बढी पार्टीका ३ सयजना भन्दा नेताहरु सहभागी रहेका थिए ।

बैठकलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्र्ताष्ट्रिय विभागका मिनिस्टर सोङ ताओले १९ औँ केन्द्रीय कमिटीको छैटौँ बैठकको महत्ववारे प्रकाश पार्दै चीन चिनियाँ विशेषतासहितको समाजवादको नयाँ युगमा प्रवेश गरेकोमा जोड दिनुभएको थियो । उहाँले एक वर्षको अवधिमा चीनले कसरी चामत्कारिक गतिमा आर्थिक विकास हासिल गर्न सक्यो भन्ने विषयमा चीनको अनुभव पनि साझा गर्नुभयो ।

‘यो एक सय वर्षको अनुभवले हामी कसरी सफल भयौँ भनेर सिक्न सक्छौँ र भविष्यमा कसरी सफलता पाउन सकिन्छ भनेर सिक्न सक्छौँ,’ उहाँले भन्नुभयो, ‘विश्वभरका वामपन्थी पार्टीहरु जातीय स्वाधिनता, राष्ट्र धनी र जनता सुखीको उद्देश्य हासिल गर्नका लागि काम गरिरहेका छौँ । हाम्रो अनुभव उस्तै छ । त्यसैले हामीले एकअर्कालाई बुझ्न र समर्थन गर्न सकिछौँ ।’

मिनिस्टर सोङ ताओले चीनको अनुभव सुनाउँदै देशको उन्नति र प्रगतिका लागि बलियो नेतृत्व र वैज्ञानिक सिद्धान्त चाहिनेमा जोड दिनु भएको थियो । ‘बलियो नेतृत्वका कारण नै चिनियाँ कम्युनिस्ट पार्टीले सिंगो राष्ट्रलाई एउटा सिद्धान्तमा एकीकृत गर्न सफल भयो ।’

उहाँले माक्र्सवादको सिद्धान्तलाई कसरी आफ्नो देशको वास्तविक अवस्था, संस्कृति र परम्परसँग जोडेर नयाँ सिद्धान्तको प्रयोग गर्न सकिन्छ भन्ने चीन बलियो उदाहरण भएको जिकिर गर्नुभयो । ‘१८ औँ महाधिवेशनदेखि यता हामी चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रयोग प्रवेश गरेका छौँ । महासचिव सी जिनफिङको नेतृत्वमा चीन राष्ट्र बलियो र जनता धनी बनेका छन् । किनभने हामी चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ जिनपिङ विचारधारा छ ।’

‘हामी आफ्नो देशको वास्तविक अवस्थतासँग अनुकूल बाटो हिँड्नुपर्छ । हामीले माक्र्सवादको आधारभूत सिद्धान्त र चीनको वास्तविक अवस्थालाई एक अर्कासँग जोडेका छौँ । हाम्रो देशसँग अनुकूल भएको चिनियाँ विशेषतायुक्त समाजवादको सी विचारधारालाई अघि सारेको छाँै,’ उहाँले भन्नुभयो । चीनले पनि अरु देशको अनुभवबाट पाठ सिकेको भए पनि यो सिद्धान्त अरुको हुबहु नक्कल भने नभएको उहाँले जिकिर गर्नुभयो । ‘त्यही भएर हामीले आर्थिक रुपमा द्रूत रुपमा विकास गर्न सक्यौँ, चमत्कार हासिल गर्न सक्यौँ,’ उहाँको भनाइ थियो ।

वामपन्थी पार्टीहरुले जहिले पनि जनतालाई केन्द्रीय स्थानमा राख्नुपर्ने उनको तर्क थियो । ‘जनता भनेको देश र देश भनेको जनता हो । त्यसैले हामीले गरिबी निवारण गरेका छौँ, कोरानाविरुद्ध विजयी हासिल गर्न सफल भएका छौँ, सम्पन्न समाज निर्माण गरेका छौँ ।’

उनले वामपन्थी पार्टीले आत्मक्रान्ति गर्नुपर्नेमा पनि जोड दिनुभयो । ‘नयाँ सिद्धान्त लागू गर्दा हामीबाट केही गल्ती भए । तर, आत्मक्रान्तिका कारण ती गल्तीलाई पनि सुधार गर्दै अघि बढ्न सक्यौँ ।’ मिनिस्टर सोङ ताओले अब चीनले दोस्रो सय वर्षको सपना साकार गर्न कामको थालनी गर्ने जानकारी दिनुभयो ।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ कम्युनिस्ट पार्टीले अंगिकार गरेको सिद्धान्तलाई समीक्षा गर्दै पार्टीको नयाँ यात्रा तय गर्न, चीन र विश्वकै विकासको नयाँ युगको शुरुवात गर्न र विश्वका सबै राष्ट्रहरूबीच ‘विन–विन’ को अवस्थामा विश्वका राष्ट्रबीच सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्नका लागि छैटौँ विस्तारित बैठकको विशेष महत्व रहेको बताउनु भएको थियो । उहाँले नेपाल सधैँ ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र तिब्बत, ताइवानलगायतका विषयहरु चीनको आन्तरिक मामिला रहेको भन्ने नेपालको धारणा रहेकोमा पनि जोड दिनु भएको थियो ।

यसअघि, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि चिनियाँ नेताहरुलाई विस्तारित बैठकको सफलताको शुभकामना दिनु भएको थियो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको सफलताबाट दक्षिण एसिया मात्र नभए विश्वकै कम्युनिस्ट पार्टीहरू प्रभावित बनेको पनि बताउनुभयो । त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आमन्त्रण गरिएको थियो । बैठकमा महासचिव विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एकसय वर्ष पूरा गरेकोमा साथै छैटौँ विस्तारित बैठकले लिएका ऐतिहासिक निर्णयका लागि बधाइ दिनु भएको थियो । उहाँले चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै आफूहरु पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको जिकिर गर्दै यसका लागि आन्तरिक र वाह्य धेरै चुनौतिहरु रहेको पनि उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सीताराम यचुरी, बंगलादेशको कम्युनिस्ट पार्टीका नेता दिलिप बरुवालगायतले चिनियाँ कम्युनिस्ट पार्टीलाई शुभकामना दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया