पुलिस पोल्टिक्स

मंसिरको अन्तिमतिर राजनीतिमा एउटा बेग्लै चर्चा थियो । दुईटा नयाँ पार्टीको जन्म भयो । मधेश राजनीतिबाट उदय हुनु भएका ह्रदयश त्रिपाठीले जनता प्रगतिशील पार्टी घोषणा गर्नुभयो भने सुरक्षा क्षेत्रबाट अवकास प्राप्त गर्नुभएका नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी घोषणा गर्नुभयो । दुई नयाँ पार्टी घोषणा गरेपनि चर्चामा नेपाल सुशासन पार्टी गठन गर्नुभएको रमेश खरेलको नै हुनुहुन्थ्यो । आफ्नो काम र आइजीपी नियुक्तिको विषयलाई लिएर चर्चामा रहि सकेका रमेश खरेलले राजनीतिमा प्रवेश गरेपछि चर्चा हुनु नौलो कुरा थिएन ।

यसरी प्रहरीका पूर्व प्रमुखले पार्टी खालेको पहिलो होइन । २०७३ मा पूर्वडीएसपी चुडा लामाको नेतृत्वमा पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गर्नुभएको थियो । त्यसमा प्रहरीका अवकाश प्राप्त प्रहरी तथा कर्मचारीहरु मात्र थिए । तर त्यो पार्टी लामो समय नचलेपछि एमालेमा मिसाइयो । अहिले सो पार्टीमा रहेका कोही पनि एमालेमा सक्रिय छैनन् । सो पार्टीमा पूर्व एआइजी विनोद सिंह, रुपसागर मोक्तान, पूर्व एसएसपी केदार कोइराला, पूर्वएसपी बसन्त कुँवर, सशस्त्रका पूर्वएआइजी जीवन थापा, विभागका पूर्वडीआइजी नवराज थापालगायतका हुनुहुन्थ्यो । अहिले उहाँहरु राजनीतिमा हुनुहुन्न ।

ओहदाको दुरुपयोग
तर प्रश्न उठेको छ के यसरी सुरक्षा क्षेत्रको उच्च ओहदामा बसेका व्यक्ति राजनीति गर्न पाउँछन् त । सुरक्षा क्षेत्रको उच्च अ‍ोहदामा रहेका व्यक्ति अवकाश प्राप्त गरेपछि उ राजनीतिमा आउनु हुँदैन भनि देशको कानुनले कहि कतै रोकेको छैन । तर व्यवहारिक यो सही होइन भनि हरेक ठाउँमा टिप्पणी हुने गरेका छन् । अहिले मात्र होइन, पञ्चायतकालदेखि सुरक्षा क्षेत्रबाट अवकाश प्राप्त अधिकारीहरु राजनीतिप्रति आकर्षित छन् । त्यसमध्ये कतिपय मन्त्री पनि हुनुभयो भने कतिपय पार्टीको उच्च तहसम्म पुग्नुभयो । कतिपय बीचमै ओझेलमा पर्नुभयो ।

सुरक्षाको उच्च ओहदामा बसेका व्यक्तिहरुको राज्यका हरेक संयन्त्रसँग जोडिएका हुन्छन् । सुरक्षाका संवेदनशिल कुराहरु पनि उहाँहरुलाई जानकारी हुन्छ । कतिपय दस्तावेज नै उहाँहरुसँग हुन्छन् । राज्यका कतिपय सकारात्मक र नकारात्मक कुराहरु पनि उहाँहरुले थाह पाउनु भएको हुन्छ । राज्यका उच्च पदमा रहेका व्यक्तिहरुको कमी कमजोरीहरु पनि उहाँहरुलाई थाह हुन्छ । त्यही व्यक्ति सुरक्षाबाट अवकाश प्राप्त गरेर राजनीतिमा लागेपछि त्यसको दुरुपयोग हुँदैन भनि कसैले भन्न सक्दैनन् ।

राजनीतिक प्रतिस्पर्धाको खेल हो । यसमा साम, दाम, दण्ड, भेद सबै प्रयोग हुन्छ । सेना र प्रहरीका उच्च ओहदामा रहेका व्यक्तिहरु सबभन्दा बढी राजनीतिक दलका नेताहरुको टचमा हुन्छन् । उहाँहरुसँग उठ बस भएका हुन्छन् । एक अर्कालाई सहयोग गरेका हुन्छन् तर जब त्यही सुरक्षा अधिकारी भोली गएर राजनीतिक पार्टी खोल्छन् वा दलमा प्रवेश गर्छन् अनि सम्बन्ध त्यही आधारमा आगडि बढ्छ । आइजीपीबाट अवकाश प्राप्त गरेपछि सर्वेन्द्र खनालले राजनीतिमा गर्नुभएको एउटा घटनाले सबैलाई त्यतिबेला चकित पारेको थियो ।

एउटा अवकाश प्राप्त उच्च ओहदाका प्रहरीले आफ्नो शक्ति र पहुँचको कसरी दुरुपयोग गर्न सक्छ खनालले गर्नुभएको घटना एउटा सानो उदाहारण मात्र हो । रमेश खरेल र नवराज सिलवाल पनि त्यसैको एउटा कडी हुनुहुन्छ । रमेश खरेल एउटा इमान्दार प्रहरी हुनुुहुन्थ्यो । उहाँले गरेको कामको प्रसंशा चौतर्फी हुन्थ्यो तर आइजीपी बन्ने समय जसरी उहाँको विरुद्ध राजनीतिक चलेखल भयो त्यसलाई उहाँले ‘इगो’ को रुपमा लिनुभएको छ र त्यही कारणले उहाँ राजनीतिमा प्रवेश गर्नुभएको अधिकाँशको बुझाई छ । त्यसैले उहाँको राजनीतिक कति पूर्वाग्रही हुनेछ भनि सहजै अनुमान गर्न सकिन्छ । नवराज सिलवालले त आफू राजनीतिमा आएर गृहमन्त्री बनेर सबैलाई देखाई दिने चेतावनी नै दिएर २०७४ असोज २० गते एमाले पार्टीमा प्रवेश गर्नुभएको थियो ।

उहाँ २०७३ मा आइजीपी बन्ने दौडबाट बाहिरिनु भएको थियो । आइजीपी बन्न नसकेपछि राजिनामा दिएर उहाँ एमालेमा प्रवेश गर्नुभएको थियो । वरियताको तेस्रो नम्बरमा रहनु भएका तत्कालिन डीआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाइएको थियो । तर चन्दको नियुक्ति हुनुअगावै सिलवालले सर्वोच्च अदालतमा रिट दिनु भएकाले उहाँको शपथ रोकिएको थियो । सर्वोच्च अदालतले वरिष्ठता नमिच्न आदेश दिएपछि चन्द प्रमुख हुन सक्नु भएन अहिले चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त हुनुुहुन्छ । पछि सिलवाललाई कार्यसम्पादन मूल्यांकन सच्याएर कीर्ते गरेको आरोप लागेपछि अनुसन्धानमा तानिनुभयो । त्यही भएर उहाँ राजनीतिको ओत लिनुभएको हो ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले आइजीपी बन्न नदिएको उहाँलाई लागेको छ । उहाँ अहिले सांसद हुनुहुन्छ । उहाँले आफ्नो पहुँचको आधारमा काँग्रेस पार्टीलाई कतिको क्षति गर्दो होला त्यो सहजै अनुमान लगाउन सकिन्छ । एक तथ्यांक अनुसार २०४६ को परिवर्तनपछि नेपाल प्रहरीले १५ जना संगठन प्रमुख पायो । यीमध्ये पाँच जना अवकाशपछि राजनीतिकमा लागि सकेका छन् । सर्वेन्द्र खनाल २०७७ मा एउटा विवादमा आउनुभयो । उहाँले एमालेका लागि तत्कालीन संघीय समाजवादीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुर गएर अपहरणशैलीमा काठमाडौं ल्याउनु भएको थियो । त्यसबेला प्रहरीको त्यो कृयाकलापप्रति निकै आलोचना भएको थियो ।

त्यो अपहरण एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले गर्न लगाउनु भएको थियो भनि तत्कालिन समाजवादी पार्टी नेपालका नेताहरुको आरोप छ । र, साथ महेश वस्नेत र किसान श्रेष्ठले दिनुभएको थियो । तत्कालिन समाजवादी पार्टीले खनाललगायत अन्य नेतामाथि प्रहरीमा उजुरी गर्न गएको थियो तर खनालका पहुँचका आधारमा त्यो उजुरी लिएन । शक्ति र पहुँचको कसरी दुरुपयोग हुन्छ त्यो खनालको त्यो एउटा सानो उदाहरण मात्र हो । खनाल एमालेमा प्रवेश गर्नुभएको छैन तर ढिलो चाँडो उहाँ एमालेमा नै जानुहुन्छ । अन्ततः रमेश खरेल र सर्वेन्द्र खनालको द्वन्द कायम नै रहने भयो । आइजीपीको लाइनमा रमेश खरेल हुनुुहुन्थ्यो तर राजनीतिक चलखेलका कारण उहाँलाई बन्न नदिएर खनाललाई बनाइएको थियो । त्यसको पीडा खरेललाई अझै छ ।

दुई कारण
पूर्व सुरक्षाकर्मी दुईटा कारणले राजनीति रोजेका हुन्छन् । पहिलो अवकाश भएपछि आफ्नो शक्ति र पहुँचको आधारमा राजनीति गर्ने र दोस्रो, उच्च ओहदामा रहेको बेला गरेको गल्तीलाई ढाकछोप गर्न । र अहिले अधिकाँश पूर्व प्रहरीहरु आफ्ना गल्ती ढाकछोपका लागि राजनीतिको ओत लिनुभएको हो । खनालले यस्तो बेला एमालेको ओत लिनु भएको थियो, जतिबेला उहाँमाथि गैरन्यायिक हत्याको एउटा जाहेरी प्रहरीमा परेको थियो । २०७६ असारमा सर्लाहीको लालबन्दी जङ्गलछेउ प्रहरीले विप्लव समूहका नेता कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको आरोपबारे अदालतको आदेशपछि खनालविरुद्ध जाहेरी दर्ता भएको छ । त्यसबाट बच्नका लागि उहाँ एमाले पार्टीको ओत खोज्नु भएको धेरैको बुझाई छ । एमाले त्यतिबेला सत्ताधारी दल थियो । त्यस्ता व्यक्ति सक्रिय राजनीतिमा लागेपछि देशको राजनीति कसरी अगाडि बढ्छ त्यसको सहजै अनुमान लगाउन सकिन्छ ।

त्यस्तै, २०५३ माघमा आइजीपीबाट अवकाश पाउनु भएका मोतीलाल बोहरा पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । बोहरा त्यतिबेला काँग्रेसमा प्रवेश गर्नुभयो, जतिबेला अख्तियारले उहाँको सम्पत्तिको छानविन गरिरहेको थियो । उहाँमाथि अख्तियारमा दर्जनौ उजुरी परेका छन् । उहाँ काँग्रेसमा प्रवेश गरेपछि सक्रिय कहिले हुनुभएन । उहाँ अहिले सो पार्टीमा हुनुहुन्न । २०५३ मै अच्युतकृष्ण खरेललाई हटाएर आइजीपी बन्नु भएका ध्रुवबहादुर प्रधान पनि त्यतिबेला एमाले रोज्नु भएको थियो । कारण थियो, त्यही अख्तियार । अख्तियारमा उहाँको सम्पत्ति बारेमा छानविन भइरहेको थियो । तर त्यो छानविन अगाडि बढेको थिएन, कारण थियो राजनीतिक ओत । उहाँलाई तत्कालीन गृहमन्त्री वामदेव गौतमले आइजीपी बनाउनु भएको थियो । पछि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । सो पार्टीबाट कपिलवस्तुमा पटकपटक चुनाव लड्नु भयो तर कहिले जित्नु भएन ।

पञ्चायतमा पनि
२०४६ पछि पूर्व प्रहरीहरु राजनीतिमा लागेको बढी देखिए पनि यसको सुरुवात पञ्चायतकालमा नै भएको थियो । २०२९ मा नेपाल प्रहरी प्रमुख बन्नु भएका खड्गजित बराल पनि अवकाशप्राप्त पछि राजनीतिमा लाग्नु भएको थियो । उहाँले तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बन्नुभएको थियो । त्यस्तै,२०३९ मा प्रमुख बन्नु भएको दिलबहादुर लामा पनि नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको थियो । उहाँले २०५६ सालमा रसुवाबाट चुनाव जितेर मन्त्रीसम्म बन्नु भएको थियो ।

२०५७ मा प्रहरी प्रमुख बन्नु भएका प्रदीप शमशेर जबरा पनि शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गर्नु भएको थियो । दोस्रो संविधानसभामा रौतहटबाट चुनाव पनि लड्नु भयो तर जित्नु भएन । सो पार्टी राजपा बनेपछि उहाँ निस्कृय हुनुभयो ।

२०६९ मा प्रहरी प्रमुख बन्नु भएका रविन्द्रप्रताप शाह दोस्रो संविधानसभा चुनावमा माओवादी केन्द्रबाट समानुपातिक संविधानसभा सदस्य बन्नु भएको थियो । तर अहिले सो पार्टीमा हुनुहुन्न । एआइजीबाट अवकाश प्राप्त गरेपछि गणेश राई र सशस्त्रकै एआइजी ऋषवदेव भट्टराई पनि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लाग्नु भएको थियो ।

तर उहाँहरु अहिले सो पार्टीमा हुनुहुन्न । सशस्त्र प्रहरी प्रमुख भइसकेका कृष्ण तामाङ तत्कालिन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । तर त्यहाँ धेरै समय सक्रिय रहन सक्नु भएन । पूर्व डीआइजी पार्वती थापा पनि अवकाशपछि तत्कालिन संघीय समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो तर अहिले सक्रिय हुनुहुन्न । त्यस्तै, तत्कालिन मधेशी जनअधिकार फोरममा एसएसपीबाट अवकाश प्राप्त श्यामानन्द कुर्मी प्रवेश गर्नुभएको थियो । तर अहिले उहाँ त्यहाँ सक्रिय हुनुहुन्न ।

त्यस्तै, सोही पार्टीमा कुनै समय रामलगन यादव (एसएसपी), मदन यादव (इन्स्पेक्टर), बिरेन्द्र यादव, विन्देश्वर यादव (हवल्दार) अवकाशपछि प्रवेश गर्नुभएको थियो । उहाँमध्ये कतिपयजना अहिले निस्कृय भइसकेका छन् ।

-सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया