प्रदीप यादवको कारवाही फिर्ता लिने सहमति

काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालको नेता एवं सांसदको कारवाही सो पार्टीले फिर्ता लिने भएको छ ।
जसपाका कार्यकारिणी बैठकले सांसद प्रदीप यादवमाथि गरिएको कारवाहीको फिर्ता लिने सहमति गरेको छ तर त्यो निर्णय सार्वजनिक गरेको छैन । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार कार्यकारिणी समितिको बैठकमा नेता तथा सांसद प्रदीप यादवलाई गरिएको कारवाही फिर्ता लिने सहमति भइसकेको छ तर अहिले त्यो निर्णय सार्वजनिक गरिएको छैन ।

उहाँमाथि गरिएको कारवाही फिर्ता लिइ केन्द्रीय सदस्यमा पुर्नवहाली गरी पार्टीमा अन्य जिम्मेवारी दिने छलफल भएको स्रोतले जनाएको छ ।
जसपाबाट सरकारमा मन्त्री पठाउँदा प्रदीप यादवलाई मन्त्री बनाएको विरोध गर्दै उहाँका समर्थकहरुले पार्टी कार्यालयमा तालाबन्दी गर्नुको साथै पार्टीको झण्डा समेत जलाइएको थियो । प्रदीप यादवलाई मन्त्री बनाउनुपर्ने माग गर्दै उहाँका समर्थकहरुले पर्सादेखि काठमाडौँसम्म आन्दोलन गर्नुभएको थियो ।

सो आन्दोलन सांसद प्रदीप यादवले नै गराएको भन्दै पार्टीले उहाँलाई अनुशासनको कारवाही गर्दै अनिश्चितकालका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो ।

पार्टीको कार्यकारिणी समितिको बैठक चल्दा चल्दै अनिश्चितकालका लागि स्थगित भएको हुनाले सहमति भएका सो निर्णय सार्वजनिक गर्न नसकिएको पार्टीले जनाएको छ । अहिले कुनै पनि निर्णयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राइको हस्ताक्षर हुने अनिवार्य गरिएको छ ।

माइन्युटमा तीनजना शीर्ष नेताको हस्ताक्षर नभएसम्म कुनै पनि निर्णयलाई सदर मान्न नसकिने भएकाले प्रदीप यादवको कारवाही फिर्ताको निर्णय सार्वजनिक भएको छैन । सहमति भएपनि माइन्युटमा तीनैजनाको हस्ताक्षर भएको छैन ।

तपाईको प्रतिक्रिया