गठबन्धनका लागि काँग्रेस हाम्रो प्राथमिकतामा छ

–सर्वेन्द्रनाथ शुक्ला
–कार्यकारिणी सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पुनः चर्चामा आएको छ । वर्तमान सरकारमा सहभागी हुनका लागि पार्टीभित्र र बाहिर बहस सुरु भएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक पटक छलफल गर्नुभएको छ । समाचारका अनुसार छलफल सकारात्मक रुपमा अगाडि बढी रहेको छ । लोसपा बनाएका नेताहरुले यसअघि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारालई पनि सहयोग गर्नुभएको थियो । संसद विघटनमा लोसपाका नेताहरुको पनि सहयोग थियो । त्यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकार बन्नुहुँदैन भनि पक्षमा हुनुहुन्थ्यो उहाँहरु । जब देउवा प्रधानमन्त्री बन्नुभयो अनि महन्थ ठाकुर पक्षका नेताहरुले उहाँलाई समर्थन गर्नुभयो । अहिले सरकारमा जाने नै तयारी भइरहेको छ । प्रस्तुत छ, कहाँ पुग्यो तयारी, सरकारमा जानका लागि सर्तहरु के के छन् लगायतका विषयमा सो लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लासँग सहारा टाइम्सले गरेको छोटो कुराकानीः

लोसपा वर्तमान सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ, चर्चा मात्रै हो कि साँच्चै सहभागी हुँदैछ ?
–सरकारमा नजाने भनि हामीले सपथ लिएका छैनौ । तर त्यसअघि काँग्रेस पार्टीले मधेशको मुद्दाको बारेमा स्पष्ट गर्नुपर्छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग यही विषयमा कुराकानी चलिरहेको छ । हामीले उठाउँदै आएको मधेशको मुद्दा सम्बोधन गर्न तयार हुनुभयो र त्यसलाई कार्यान्वयनमा ल्याउनुभयो भने मात्र हामी सरकारमा जानका लागि विचार गर्नसक्छौं । अहिले लोसपा सरकारमा जाने कुरा चर्चा मात्र भइरहेको छ । हाम्रो लागि सरकारभन्दा पनि मधेशको मुद्दा प्राथमिकतमा छ । नागरिकता अहिले ‘िक्वरेसिअल’ अवस्थामा छ । आन्दोलनको समयमा लगाइएको मुद्दामध्ये केही फिर्ता भएका छन्, केही बाँकी छन् । कतिपय यस्ता पनि मुद्दाहरु छन् जो सरकारको तर्फबाट पुरा गर्न ‘डिस्टर्व’ नै भइरहेका छन् । यी सबै विषयमा सरकारसँग हाम्रो कुराकानी भइरहेको छ । यी मुद्दाहरुलाई सकारात्मक रुपले टुगों लगाउने कुरा भयो भने मात्र हामी सरकारको बारेमा सोच्छौं ।

हामीले उठाउँदै आएको मधेशको मुद्दा सम्बोधन गर्न तयार हुनुभयो र त्यसलाई कार्यान्वयनमा ल्याउनुभयो भने मात्र हामी सरकारमा जानका लागि विचार गर्नसक्छौं । अहिले लोसपा सरकारमा जाने कुरा चर्चा मात्र भइरहेको छ । हाम्रो लागि सरकारभन्दा पनि मधेशको मुद्दा प्राथमिकतमा छ ।

जहिले पनि सत्तासँग मधेशको मुद्दालाई किन बार्गेनिङ हुन्छ, सत्तामा जानका लागि मधेशको मुद्दा अगाडी बढाउँछन् केही पुरा हुने छाँटकाँट देखेपछि सरकारमा सहभागी हुन्छन् यस्तो किन ?
–मुद्दाको समाधान गर्ने निकाय भनेको सरकार नै हो । हामीले आन्दोलन गर्छौ, संघर्ष गर्छौ अन्तिममा गएर त्यसलाई पुरा गर्ने वा कार्यान्वयन गर्ने सरकार नै हो । जेजस्तो आन्दोलन गरेपनि, जेजस्तो कुरा गरेपनि अन्तिममा जाने सरकारसँग नै हो । मुद्दाको बार्गेनिङ गर्नुभन्दा पनि मुद्दाको बारेमा सत्ता पक्षसँग कुरा गर्न मात्र हामी जान्छौं । त्यसलाई बार्गेनिङ भन्न मिल्दैन । अहिले सँख्याको हिसाबले यो वर्तमान सरकारलाई हाम्रो आवश्यकता छैन । तैपनि हामीलाई ल्याउन चाहेको छ भने हामीले पनि आफ्नो मुद्दा अघि सारेका छौं र त्यसका लागि कुराकानी गरिरहेका छौं । सरकार हाम्रोप्रति सकारात्मक छ । त्यसलाई सुखद आश्चर्य नै मान्नुपर्छ । यद्यपी अहिलेको वार्ता र संवाद प्रारम्भिक चरणमै छ ।

विगतमा के देखिएको छ भने जब सरकारमा जाने कुरा हुन्छ अनि मधेशको मुद्दामा बार्गेनिङ हुन्छ, सत्ता पक्षले पनि उठाएको मुद्दालाई पुरा गर्ने गरि केही प्रकृया अगाडि बढाइन्छ, अनि त्यही आधारमा मधेशवादी दलहरु सरकारमा जान्छन् । तर सरकारमा गएपछि फेरि ती सबै मुद्दा हराउँछन् यस्तो किन ?
–विगतमा हाम्रो र केपी शर्मा अ‍ोलीबीचको सम्बन्धलाई पुनर्विचार गर्नुभयो भने तपाईले सोधेको प्रश्नको जवाफ तपाई आफै पाउनु हुन्छ किनभने हामी वितगमा केपी अ‍ोली नेतृत्वको सरकारमा सहभागी भयौं । उहाँको सरकारसँग वार्ता र संवाद गरेर सरकारमा गएका थियौ र हामी १८ दिन मात्रै सरकारमा बस्यौं । त्यो १८ दिनमा मधेशको हकमा जति काम भयो त्यो १८ महिनामा पनि हुन सकेको थिएन । नागरिकताको समस्या अध्यादेश ल्याएर समाधान गर्नुभयो तर पछि त्यसमा विभिन्न षड्यन्त्र भयो र लागु भएन । मन्त्रीपरिषद्बाट संविधान संशोधनका लागि एउटा कार्यदल नै गठन गर्नुभयो । थुप्रै मुद्दाहरु पनि फिर्ता भए । केही मान्छे रिहाय पनि भए । सायद अझै केही दिन सरकार रहेको भए लगभग मधेशको सबैजसो माग पुरा हुन्थ्यो । त्यसैले हामी के कुरामा विश्वस्त छौं भने यो वर्तमान देउवा सरकारसँग हामीले जसरी वार्ता गरिरहेका छौं त्यसबाट मधेशको माग पुरा हुने सुनिश्चित नभएसम्म हामी सरकारमा सहभागी हुने छैनौं । र हामीलाई विश्वास छ यो वर्तमान सरकार पनि मधेशको मुद्दा पुरा गर्न प्रतिवद्ध हुनेछ ।

भन्नाले केपी शर्मा अ‍ोलीले मधेशको माग पुरा गर्न जसरी तत्पर्यता देखाउनु भयो त्यसरी यो वर्तमान देउवा नेतृत्वको सरकारले पनि देखाउला जस्तो तपाईहरुलाई लाग्छ ?
–लोसपाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको छ । समर्थन गर्ने समयमा पनि उहाँले हामीसँग संवाद गर्नुभयो र सोध्नुभयो के छ तपाईहरुको डिमाण्ड । हामीले भन्यौं, यसअघिका (ओली सरकार) सरकारले जसरी मधेशका माग मुद्दा पुरा गर्न वा कार्यान्वयनमा ल्याउन प्रकृया सुरु गरेको थियो । त्यसलाई तपाईको सरकारले पनि निरन्तरता दिनुपर्छ, हाम्रो डिमाण्ड यति नै हो ।’ त्यसमा उहाँ सकारात्मक हुनुभयो र अहिलेसम्म उहाँ त्यसमा प्रतिवद्ध हुनुहुन्छ । हामीले विश्वास गरेका छौं कि यो सरकारले पनि मधेशको माग मुद्दा सम्बोधनका लागि कार्यलाई अगाडि बढाउनेछ ।

त्यसैले हामी के कुरामा विश्वस्त छौं भने यो वर्तमान देउवा सरकारसँग हामीले जसरी वार्ता गरिरहेका छौं त्यसबाट मधेशको माग पुरा हुने सुनिश्चित नभएसम्म हामी सरकारमा सहभागी हुने छैनौं ।

स्थानीय तहको चुनावभन्दा पहिले नै सरकारमा सहभागी हुने कुरा छ कि के हो ?
–त्यसरी म्याद र मिति तोकिएको छैन । अहिले प्रारम्भिक कुराकानी मात्र सुरु भएको छ । प्रारम्भिक कुराकानी सुन्दा र बुझ्दा त्यो प्रस्ताव प्रधानमन्त्रीबाट आउनसक्छ तर अहिले नै सबै कुराको टुगों लागेको छैन ।

कतिवटा मन्त्रालय लिने कुराकानी भइरहेको छ ?
–अहिलेसम्म सरकारमा जाने संकेत मात्र आएको छ भने त्यसका लागि कतिवटा मन्त्रालय लिने, कुन मन्त्रालय लिने, को को जाने, को को नजाने यस्ता कुराहरु गर्ने कुरै भएन । अहिले त सरकारमा जाने निश्चित नै भएको छैन । अहिले त प्रारम्भिक कुरा मात्र सुरु भएको छ । जब सरकारमा जाने निश्चित हुन्छ अनि मात्र कतिवटा मन्त्रालय लिने वा के लिने कुरा हुनसक्छ ।

सरकारमा जाने विषयमा काँग्रेससँग कुराकानी सुरु भएपछि पक्कै पनि अगामी दिनमा एउटै गठबन्धन बनाएर अगाडि बढ्ने कुरा हुन्छ त्यसको सम्भावना कति छ ?
–काँग्रेस एउटा गठबन्धनसँग अगाडि बढी सकेकोे छ । त्यो गठबन्धनलाई छाडेर हामीसँग गठबन्धन बनाउने कुरा काँग्रेसले गर्यो भने त्यो कुरालाई हामी स्वीकार गछौं । काँग्रेस त्यही गठबन्धनमा जाने हो भने हामीले अर्को गठबन्धन बनाउने कि नबनाउने बारेमा अहिले कुनै निर्णय गरेका छैनौं । काँग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले सो पार्टीसँग हाम्रो कुराकानी अगाडि बढेको छ । हाम्रो पहिलो प्राथमिकता काँग्रेस नै हो । त्यहाँ हाम्रो कुराको सुनवाई भएन, हाम्रो कुरा सुनेन, कुनै सहमति भएन भने मात्र हामी अरु विकल्पमा जान सक्छौं ।

काँग्रेस र लोसपाको छुट्टै गठबन्धन बन्नसक्छ वा अहिलेकै चारदलीय गठबन्धनमा लोसपा सामेल हुन्छ के छ तयारी ?
–काँग्रेस र लोसपाको छुट्टै गठबन्धन बन्नसक्छ । त्यसका लागि वार्ता र छलफल चलिरहेको छ । चार दलको गठबन्धनमा हामी सहभागी न हुनसक्छौं । अर्को गठबन्धन पनि बन्नसक्छ । किनभने चार दलको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीच एउटा अनौपचारिक गठबन्धन जस्तै छ । ती तीनवटा दलको बीचमा राम्रै कुरा मिलिरहेका छन् । त्यस अवस्थामा काँग्रेस र लोसपाको छुट्टै गठबन्धन बन्न सक्छ । विचार र सिद्धान्तको हिसाबले पनि काँग्रेस र लोसपा मिल्छ । तर हाम्रो मान्यता के हो भने स्थानीय तहको चुनावमा स्थानीय अवश्यकता हेरेर चुनावी गठबन्धन गर्नुपर्छ । केन्द्रबाट नै फलानोसँग गठबन्धन गर वा फलानोलाई मात्र भोट हाल भन्यो भने त्यसले स्थानीय तहका लागि फलदायी हुँदैन । त्यसैले स्थानीय तहको चुनावमा गठबन्धन बनाउने नबनाउने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ । मोटामोटी हाम्रो मान्यता यही नै हो ।

अहिलेकै चार दलीय गठबन्धनमा लोसपा मिसिने सम्भावना कतिको छ ?
–यस विषयमा चारदलीय गठबन्धनसँग कुरा भएको छैन । हाम्रो कुरा नेपाली काँग्रेससँग मात्र भइरहेको छ । चार दलकै गठबन्धनमा लोसपा जान्छ भन्दा पनि हामीले काँग्रेससँग कुराकानी गरिरहेका छौं, छुट्टै गठबन्धन बनाउने कुरा कतिको सफल हुन्छ कतिको पूर्ण हुन्छ त्यो हेर्न बाँकी नै छ ।

ती तीनवटा दलको बीचमा राम्रै कुरा मिलिरहेका छन् । त्यस अवस्थामा काँग्रेस र लोसपाको छुट्टै गठबन्धन बन्न सक्छ । विचार र सिद्धान्तको हिसाबले पनि काँग्रेस र लोसपा मिल्छ । तर हाम्रो मान्यता के हो भने स्थानीय तहको चुनावमा स्थानीय अवश्यकता हेरेर चुनावी गठबन्धन गर्नुपर्छ ।

यसअघि राष्ट्रिय सभाका चुनाव लगायत अन्य प्रकृयामा एमालेसँग एकखालको गठबन्धन जस्तै बनेको थियो अब अगामी चुनावमा एमालेसँग गठबन्धन बनाउने सम्भावना कतिको छ ?
–मैले अघि नै भने नि कि स्थानीय आवश्यकता अनुसार गठबन्धन बनाउनुपर्छ । त्यसैले हामी एमालेका लागि ढोका बन्द गरेका छैनौ । एमालेसँग हाम्रो कुनै पानी बाराबार छैन । आवश्यकता अनुसार एमालेसँग पनि सीटका लेनदेन हुनसक्छ । सायद एमालेले पनि यो आवश्यकता महसुस गरेको हुनुपर्छ जस्तो लाग्छ मलाई । अहिलेसम्म त्यो खालको वार्ता त भएको छैन तर सम्भावना पनि मरेको छैन । स्थानीय आवश्यकता अनुसार एमालेसँग पनि सहकार्य हुनसक्छ भने ढोका हामीले खुल्ला राखेका छौं ।

लोसपाको सांगठनिक काम अगाडी बढेको छैन, जति काम भइरहेको छ, त्यो एकल ढंगबाट भइरहेको छ, त्यसले पार्टीभित्र असन्तुष्टि पनि देखाएको छ । यसमा तपाईको बुझाई के छ ?
–हामीले ९० प्रतिशत ठाउँमा वडा समिति गठन गरिसकेका छौं । भिडभाडका साथ र जनताको उपस्थितिमा गठन गरिरहेका छौं । सन्तुष्ट असन्तुष्ट मानव स्वभाव हो । १० मा ९ पाउँदा पनि असन्तुष्ट हुन्छ म १० नै किन पाइनन् भनेर । त्यो भिन्दै कुरा हो । मतभेद छदैछैन, सैद्धान्तिक मतभेद छदैछैन । अलिअलि मनभेद छ त्यसलाई समाधान गर्दै हामी अगाडि बढी रहेका छौं । ठूला ठूला दलमा जुन खालको मतभेद छ, त्यस हिसाबले लोसपामा एकदमै न्युन मतभेद छ । त्यसलाई पनि हामीले सम्बोधन गर्दै अगाडि बढ्छौं ।

अहिलेसम्म कार्यकारिणी समिति विस्तार भएको छैन, केन्द्रीय समिति बनेको छैन, संसदीय दलको नेता चयन भएको छैन, अन्य भातृ संगठनलगायत अन्य संगठन निर्माण भएको छैन यस्तो अवस्था किन भयो ?
–चैत १६ गतेदेखि कार्यकारिणी समितिको बैठक बस्दैछ । त्यो बैठकले तपाईले उठाएको सबै कुराको सम्बोधन गर्छ । यी सबै कुरालाई अगाडि बढाउँछ । कार्यकारिणी समिति विस्तार गर्ने विषयमा कुनै डेट तोकेको छैन विधानमा । हामीले त्यसको बारेमा छलफल गर्दैछौं । पार्टीमा विभिन्न व्यक्तित्वहरु प्रवेश गर्दैछन् । उनीहरुलाई पनि व्यवस्थापन गर्ने कुरा हुन्छ । स्थानीय तहको चुनावमा सबैको क्षमता योग्यता हेर्न बाँकी नै छ । त्यसैले हामी केही पर्खेको मात्र हौं तर विस्तार गर्ने तयारी चलिरहेको छ । केन्द्रीय समिति गठनको विषयमा पनि व्यापक गृहकार्य भएको छ । एउटा खाका तयार भएको छ । त्यसमा केही कुरा थपघट गरेर घोषणा हुनेछ । भोली वा पर्सी नै घोषणा हुन्छ भने होइन । पार्टीका अध्यक्ष आदरणीय महन्थ ठाकुर नेताहरुको सम्पर्कमा हुनुहुन्छ । त्यस विषयमा परामर्श गरिरहनु भएको छ । कुनै उपयुक्त समयमा केन्द्रीय समितिको घोषणा गरिनेछ ।

हालसम्म संसदीय दलको नेता किन चयन गर्नुभएको छैन, त्यसमा कुनै विवाद छ कि ?
–कुनै विवाद छैन । संसदीय दल राम्रोसँग चलिरहेको छ । दलको नेता नभएपनि यसरी राम्रोसँग चलिरहेको छ भने किन नेता चयन गर्नुपर्यो । आवश्यकता पर्यो भने जुनसुकैबेला पनि चयन गर्न सकिन्छ । अध्यक्षज्युले पनि यसको बारेमा नेताहरुसँग परामर्श गरिरहनु भएको छ ।

स्थानीय तहको चुनावमा सबैको क्षमता योग्यता हेर्न बाँकी नै छ । त्यसैले हामी केही पर्खेको मात्र हौं तर विस्तार गर्ने तयारी चलिरहेको छ । केन्द्रीय समिति गठनको विषयमा पनि व्यापक गृहकार्य भएको छ ।

पछिल्लो समय स्थानीय तहमा जितेका मेयर, अध्यक्ष, वडाअध्यक्षलागयत प्रतिनिधि, पार्टीका जिम्मेवार व्यक्तिहरु लोसपा छाडेर अन्य पार्टीमा गइरहनु भएको छ यस्तो किन ?
–अरु पार्टीबाट पनि लोसपामा आइरहेका छन् नि त । लोसपाबाट अरु पार्टीमा गइरहेका छन् भने अरु पार्टीबाट लोसपामा पनि आइरहेका छन् । पार्टीबाट जानेलाई हामीले रोक्न सक्दैनौं, आउनेलाई हामी स्वागत गर्छौ ।

यसरी पार्टी छाडेर जानुको कारण के हुनसक्छ, पार्टीको कमीकमजोरी हो कि नेताहरुमा कुनै कमजोरी छन् ?
–उनीहरु किन पार्टी छाडेर गइरहेका छन् त्यो उनीहरुलाई मात्र थाह होला । उनका केही आकाँक्षा होला, जुन यहाँ पुरा नहोला भनि लागेको हुनसक्छ, उता पाइन्छ कि भनेर गएको होला तर धेरै मान्छे यस्ता पनि छन् कि त्यहाँ गएर पश्चताइ रहेका छन् र कतिखेर फर्किहालौं भनि लागि रहेको छ । चुनावको समयमा यसरी आउने जाने समान्य कुरा हो । यो लोसपामा मात्र होइन, सबै पार्टीमा यस्तो भइरहेको छ । फलानो पार्टी छाडेर फलानो पार्टीमा, फलानो पार्टी छाडेर फलानो पार्टीमा गए भनि समाचार दिनका दिन हामी सुनिरहेका हुन्छौं । चुनावका समयमा यो मामुली कुरा हो ।

यो स्थानीय तहको चुनावमा लोसपाले कति ठाउँमा उम्मेदवारी दिन लगाउँछ ?
–मधेश प्रदेशका सबै ठाउँमा हाम्रो उम्मेदवारी हुन्छ । त्यसबाहेक लुम्बनी प्रदेश, एक नम्बर प्रदेश, सुदुरपश्चिम प्रदेशलगायत पहाडका केही जिल्लामा पनि हाम्रो उम्मेदवारी पर्छ । यसको तयारी चलिरहेको छ । चुनाव नजिक आइसकेपछि मात्र तथ्यांकसहित भन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया