ओलीलाई मधेशमा इन्ट्री गराउन क–कसको लगानी ?

केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको एमालेले मधेशमा कति जनाधार बनाउन सक्यो त्यो त चुनावको परिणामले नै देखाउँछ । तर, अहिले मधेशलाई लिएर फेरि केपी शर्मा अ‍ोली चर्चामा आउनु भएको छ । मधेशमा साह्रै कमजोर रहेको एमाले पछिल्लो समय विभिन्न दलबाट नेताहरुलाई तान्दै आफ्नो पार्टीमा भित्र्याउन थालेपछि शुन्यमा रहेको एमाले केही तग्रिन थालेको छ । कमसे कममा केपी शर्मा ओलीले मधेशमा खुट्टा टेक्ने ठाउँ बनाउन सफल हुनुभएको छ ।

तर मधेशमा अझै पोजिशन बनाउन नसकेको एमाले पार्टीको स्वयंको निष्कर्ष रहेको छ । एमालेको चैत ९ गते सम्पन्न केन्द्रीय समितिको बैठकले मधेशमा अझै राजनीतिक स्थिरता नभएको कारणले मधेशमा अहिले कुनै पोजिसन लिन नसकेको निष्कर्ष निकालेको छ । एमालेका प्रचार विभागका प्रमुख पृथ्वी सुव्वा गुरुङ्गले भन्नुभयो, मधेस प्रदेशमा राजनीतिक संक्रमणकै स्थिति रहेकाले शक्ति सन्तुलनको टुंगो लागेको छैन त्यहाँबाट ठोस रिर्पोर्ट आउन बाँकी छ ।’ यद्यपी छवटा प्रदेशमा एमाले बलियो रहेको दावी उहाँले गर्नुभयो । मधेशमा एमाले कमजोर रहेको आफैले स्विकार गरेपछि यसैबाट अनुमान लगाउन सकिन्छ यसअघि मधेशमा एमालेको अवस्था कस्तो थियो ।

अहिले त विभिन्न पार्टी छाडेर केही साना ठूला नेताहरु एमालेमा प्रवेश गरेका छन् । तैपनि कमजोर रहेको एमालेले भनेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशमा इन्ट्री गरिसकेको भनि यो संकेत हो र यो इन्ट्री गर्ने अवस्था लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी र जनमत पार्टीका अध्यक्ष सिके राउतले निर्माण गर्नुभएको हो । कहिले जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओललाई मधेश लग्नु भएको छ भने कहिले लोसपाका अध्यक्ष महन्थ ठाकुर त कहिले जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी त कहिले जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेशमा इन्ट्री गराउनु भएको छ ।

उहाँहरुको बुइँ चढेर मधेशमा इन्ट्री गर्नुभएका ओली अहिले उहाँहरुकै लागि घाँडो बन्नु भएको छ । नत्र एक समय एउटा यस्तो अवस्था थियो कि एमाले मुक्त मधेश बनि सकेको थियो । ओलीलाई मधेशमा निषेध भनि ठाउँ ठाउँमा ब्यानर लगाइएको थियो । एमालेका अध्यक्ष ओली मात्र होइन, एमालेका अन्य कुनै नेताले पनि मधेशमा हतपत प्रवेश गर्न आँट गर्दैन्थे । एमालेमा रहेका मधेशी नेतालाई पनि मधेशमा गाह्रो थियो त्यतिबेला । तर जब ओलीलाई उपेन्द्र यादव, महन्थ ठाकुर, ह्रदयश त्रिपाठी र सिके राउतले साथ दिनुभयो अनि उहाँ विभिन्न बहानामा मधेश छिर्न थाल्नुभयो । आज यस्तो अवस्था भएको छ कि मधेश दलको नेताहरुलाई आआफ्नो नेता तथा कार्यकर्ता जोगाउन धौधौ भएको छ ।

राजनीतिक विश्लेषक तुलानारायण साह भन्नुहुन्छ, ‘मधेशी जनता ओलीको साथमा जानु भन्दा पहिले उपेन्द्र यादव र महन्थ ठाकुरहरु निवेदन दिएर उहाँ नेतृत्वको सरकारमा गइसक्नु भएको छ । अहिले त्यही जनता भन्छ, हामी जाँदा के हुन्छ ।’ उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरु ओलीको साथमा जान हुने र उहाँकै पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु जान किन नहुने यो प्रश्न मधेशमा धेरैले गरिरहेका छन् ।

लोसपाका नेता शिव पटेल एमालेमा पार्टी प्रवेश गर्दा नै भन्नुभएको थियो, ‘हाम्रा नेताहरु ओलीलाई नेता मानेर उहाँको नेतृत्वमा सरकार जानु हुन्छ अनि हामी जहिले पनि ती नेताहरुको कार्यकर्ता भएर बस्नुपर्ने, उपेन्द्र, महन्थहरुले ओलीलाई नेता मान्नुहुन्छ भने हामीले अ‍ोलीलाई नेता मान्दा केही फरक पर्दैन ।’

अध्यक्ष अ‍ोलीले बेलाबेलामा गर्ने टिप्प्णी र उहाँको व्यवहारले एमाले र मधेशको दुरी निकै बढेको थियो । तर पछिल्लो समय मधेश र एमालेको दुरी कम भएको छ । एमालेले विस्तारै विस्तारै मधेशमा आफ्नो उपस्थिति देखाउन थालेको छ । काँग्रेस, माओवादी केन्द्र, जसपा, लोसपाका ‘हेभी वेटेड’ नेताहरु एमालेमा प्रवेश गर्न थालेका छन् । पछिल्लो समय ह्रदयश त्रिपाठीको साथमा रहनु भएका वृजेश गुप्ता र पशुपति दयाल मिश्रालाई पनि ओलीले आफ्नो पार्टीमा प्रवेश गराउनु भएको छ । त्यसअघि जसपाका वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीलाई प्रवेश गराउनु भयो । लोसपाका बारा कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीलाई एमालेमा प्रवेश गराउनुभयो ।

जनता समाजवादी पार्टीकै केन्द्रीय सदस्य कपिलवस्तुका मंगलप्रसाद गुप्तालार्इृ पनि ओलीले एमालेमा प्रवेश गराउनुभयो । मधेशका जतिपनि नेताहरु एमालेमा प्रवेश गरे ती सबैलाई ओलीले स्वयं प्रवेश गराउनु भयो । आफै त्यस ठाउँमा गएर टिका लगाएर उनीहलाई प्रवेश गराउनुभयो । चुनावको समय भएको कारण पार्टीमा आउने जाने समान्य भइसकेका छन् । तर अन्य पार्टीभन्दा एमालेप्रति मधेशमा किन झुकाव बढ्यो, के मधेश र एमालेको सम्बन्ध सुधार भएकै हो त मधेश मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोर भन्नुभयो, ‘सम्बन्ध सुध्रिएको छैन तर एमालेले आफ्नो स्पेश बनाउन अवश्य सफल भएको छ ।’

एमालेप्रति किन आकर्षित ?
मधेश आन्दोलन भावनात्मक रुपमा भएको थियो, त्यसमा हरेक दलबाट मान्छे जोडिएका थिए, त्यहाँबाट अधिकार, पहिचान र संरक्षण पाइन्छ भनि सबैको इच्छा थियो । तर त्यो इच्छा कसैको पुरा भएन । न अधिकार पाए न पहिचान, न संरक्षण नै पाए । अधिकार र पहिचानका लागि लडाई अझै जारी छ तर मधेशवादी दलमा रहेका नेता तथा कार्यकर्ताले आफूलाई सुरक्षित महसुस गर्नुभएन । संरक्षण खोज्दै उहाँहरु अन्य ठूला दलतिर आकर्षित हुन थाल्नु भएको पत्रकार चन्द्रकिशोरको बुझाई छ ।

काँग्रेस हाउसफुल छ, मधेशमा एमाले मात्र खाली छ, त्यस कारण अन्य दल खासगरि मधेशवादी दलबाट संरक्षण खोज्दै नेताहरु सो पार्टीमा प्रवेश गर्न थालेका छन् । राज्यको स्रोत र शक्ति केन्द्रमा काँग्रेस र एमालेको मात्र पहुँच छ, त्यसमा माओवादी केन्द्र पनि पछाडी छ । नेपालको सेना, प्रहरी, ब्युरोक्राइटस, अख्तियारलगायत हरेक क्षेत्रमा एमालेको पकड छ । त्यहाँबाट संरक्षण दिन थालेपछि मधेशवादी दल तथा माओवादी केन्द्रमा रहेका नेताहरु एमालेतिर आकर्षित भएका छन् । मधेशका बुद्धिजिवी, युवा, उद्योगी र हेवी वेटेड नेताहरु एमालेको टार्गेट हो । र, जो जो एमालेमा प्रवेश गरेका छन् त्यसले आफूलाई सुरक्षित महसुस गरेका छन् ।

मधेश भर्सेज ओली
२०६४ मा मधेशमा माओवादीका कारण आन्दोलन चर्केको थियो । केही समय माओवादीको विरोधमै मधेशको आन्दोलन अगाडि बढ्यो । आन्दोलन चर्किदै गएपछि एमालेका अध्यक्ष ओलीले मधेश आन्दोलनको बारेमा टिकाटिप्पणी गर्न थाल्नु भएको थियो । त्यसपछि मधेश आन्दोलन ओली केन्द्रीत भयो । मधेश आन्दोलनमा ओली विरोधी नारा लाग्न थाल्यो । ओलीको पुतला जल्न थाल्यो । मधेशमा एमालेलाई निषेध गर्यो । ‘ओली निषेधित मधेश’ भनि ब्यानर ठाउँ ठाउँमा झुण्ड्याइयो । मधेशमा ओलीको विरोध हुँदाहुँदै पनि मेची महाकाली अभियानको नाममा एमालेले सप्तरीको मलेठमा जवर्जस्ती कार्यक्रम गर्दा मधेशका पाँचजना युवाको ज्यान गएको थियो । राजविराजमा कार्यक्रम नगर्न ओलीसमक्ष सरकारी रिर्पोर्ट पुगेको थियो । तर उहाँले जवर्जस्ती कार्यक्रम गर्नुभयो जसको परिणाम मधेशका पाँचजना युवाको ज्यान गयो ।

मधेश र एमालेको सम्बन्ध दिनदिनै बिग्रिदै गइरहेको थियो । यो क्रम २०७४÷०७५ सम्म चल्यो । त्यस अवस्थामा पनि एमालेले मधेशमा आफ्नो स्पेश बनाउन सकिरहेको थिएन । यद्यपी मधेशमा आफ्नो स्पेश बनाउन नखोजेको पनि होइन । एमाले विभिन्न बहाना बनाउँदै मधेशमा जानु हुन्थ्यो तर सफल भइरहनु भएको थिएन । मधेशमा कार्यक्रम गर्ने दर्जनौपटक तयारी थाल्यो । ओली आउने भनि ब्यानर बनाएर नै ठाउँठाउँमा झुण्ड्याइयो तर मधेशमा प्रवेश गर्ने आँट एमालेका कुनै पनि नेताले गर्नुभएको थिएन । तर एक समय यस्तो आयो, जुन नेताले उहाँको विरोध गर्नुहुन्थ्यो त्यही नेता संरक्षण दिँदै मधेशमा इन्ट्री गराउनुभयो ।

ओलीलाई उपेन्द्रको साथ
जब उपेन्द्र यादव नेतृत्व तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले ओली नेतृत्वको सरकारलाई समर्थन गरे अनि विस्तारै विस्तारै ओलीप्रतिको मधेश आक्रोश सेलाउँदै गयो । उपेन्द्र यादव नेतृत्वको पार्टी ओली नेतृत्वको सरकारमा सहभागी नै भएको थियो भने महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपाले बाहिरबाट समर्थन मात्र गरेको थियो । पछि मधेशको माग पुरा नगरेको भन्दै राजपाले समर्थन फिर्ता लिएको थियो । तर उपेन्द्र यादवले ओली नेतृत्वको सरकारलाई निरन्तरता दिइ रहनुभयो । मधेशका सबभन्दा ठूलो दल उपेन्द्र यादव नै अ‍ोलीको साथमा हुनुहुन्छ भने अन्यले अ‍ोलीको विरोध गर्नुको कुनै अर्थ रहदैन भनि मधेशमा एउटा मनोविज्ञान बन्यो ।

ओलीले उपेन्द्र यादवको आडमा मधेशमा आफ्नो स्पेश बनाउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमण आएको बेला पनि ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । तैपनि उहाँलाई जनकपुर जान हिम्मत भइरहेको थिएन । मोदी आएको बेला पनि जनकपुरमा ओलीको विरोध गर्ने तयारी थियो । तर उपेन्द्र यादव नेतृत्वको तत्कालिन फोरमले र मधेश प्रदेशको सरकारले ओलीलाई संरक्षण दिँदै जनकपुर लगेको थियो । यद्यपी सांकेतिक रुपमा भएपनि ओलीको विरोध भएको थियो । विरोधकै डरले ओली जानकी मन्दिरबाहेक कतै जानुभएन । मोदीसँग जानकी मन्दिरमै भेटेर सिधै एयरपोर्ट पुगेर काठमाडौँ फर्किनु भएको थियो ।

मधेश इन्ट्रीका लागि ओलीको त्यो पहिलो पाइला थियो । मधेशी दल केन्द्रीत युवाहरुले विरोध नगरेको कारण ओलीको हौसला बढ्दै गयो । प्रधानमन्त्री भएपनि उहाँले मधेशका लागि विभिन्न कार्यक्रमहरु बनाउन थाल्नुभयो । र, मधेशमा सयर गर्न थाल्नुभयो । कहिले विद्यार्थीलाई गोद लिने नाममा त कहिले सहिदको सम्झाना कार्यक्रममा त कहिले कहिले कसैको श्रद्धाञ्जली कार्यक्रम त कहिले कुनै उद्घाटन कार्यक्रमका बहानामा मधेश आउजाउ गर्न थाल्नुभयो । यहाँसम्म कि मधेश प्रदेशको प्रदेशसभामा गएर उहाँले भाषण नै दिनुभयो । र, त्यो भाषणमा उहाँले संविधान संशोधन गर्ने जिकिर गर्नुभयो । त्यसले गर्दा उहाँको चौतर्फी प्रसंशा भयो । मुख्यमन्त्री लालबाबु राउतले स्वयं ओलीको प्रसंशा गर्दै बीबीसीमा इन्टरभ्यु दिनुभएको थियो । प्रदेशसभामा भाषण दिइसकेपछि एकरात जनकपुर नै बस्नुभयो । उहाँको स्वागतमा मधेश प्रदेश सरकारले मिथिला परिकारहरु पकाएर उहाँलाई खुवाउनुभयो । त्यसपछि मधेशमा ओलीको माहोल झन बन्दै गयो । ओलीप्रति जति रिसराग थियो मधेशी जनता बिर्सिदै गइरहेका थिए ।

आलीलाई सिके राउतको साथ
मधेशमा आफ्नो पक्कड बनाएका तत्कालिन फोरम र राजपालाई आफ्नो काबुमा लिइसकेपछि अ‍ोलीको ध्यान मधेशमा छुट्टै देशका लागि आन्दोलन गरिरहेको सिके राउततिर गयो । स्वतन्त्र मधेश गठबन्धनबाट मधेशमा आन्दोलन गर्नुको साथै तत्कालिन प्रधानमन्त्री ओलीको खुब आलोचना हुन्थ्यो । सिके राउत स्वयं अ‍ोलीको आलोचना गर्नुहुन्थ्यो । त्यसपछि ओलीले राउतलाई मिलाउनेतिर लाग्नु भयो । सिके राउत जेलमा हुनुहुन्थ्यो । आफ्नो सुत्र लगाएर राउतलाई कन्भिन्स गर्नमा उहाँ सफल हुनुभयो । ओलीले तामझामका साथ एउटा कार्यक्रम गरी सिके राउतसँग ११ बुँदे सम्झौता गरी उहाँलाई मुलधारको राजनीतिमामा ल्याउनुभयो । त्यसपछि त सिके राउत ओलीको पुरै फ्यान हुनुभयो ।

मधेशमा रहेको एउटा काँटा पनि अ‍ोलीले साफ गर्नुभयो । सिके राउतले ओलीको विरोध गर्न पुरै छोड्नुभयो । उहाँका कार्यकर्ताले समेत ओलीको विरोध गर्न छाड्नुभयो । ओली मधेशमा विन्दास्त तरिकाले घुम्न थाल्नुभयो । मधेशमा ओली अर्थात एमालेको विरुद्धमा बोल्ने कोही भएन । टाउकोमा कालापट्टी बाँधेर अ‍ोलीको पुतला जलाएर विरोध गरेका जनकपुरका सरोज मिश्रलगायत थुप्रै युवाहरु एमाले पार्टीमा नै प्रवेश गर्नुभयो । अब स्वतन्त्र संघ संगठनबाट पनि ओलीको विरोध गर्ने मधेशमा कोही भएनन् ।

ओलीलाई त्रिपाठीको साथ
पश्चिम मधेशमा ह्रदयश त्रिपाठीको राम्रो पक्कड छ । त्रिपाठी एमालेको चुनाव चिन्हबाट प्रतिनिधिसभामा जित्नु भएको थियो । आफ्नो समूहबाट अरुअरुलाई पनि जिताउनु भएको थियो । प्रधानमन्त्री भएको बेला अ‍ोलीले त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाउनु भएको थियो । त्रिपाठीसँग ओलीको सम्बन्धका कारण पश्चिम मधेशमा पनि ओलीको विरोध मथ्थर भएको थियो । स्थिति यतिसम्म बन्यो ह्रदयश त्रिपाठी आफ्नो समूहसहित एमालेमा नै प्रवेश गर्ने तयारीमा लाग्नुभयो । सबै कुरा मिलेपनि त्रिपाठी र अ‍ोलीबीच पदमा कुरा मिलेन । विस्तारै त्रिपाठी ओलीको पार्टीमा जाने कुरा सैलाउँदै गयो तर उहाँ दुईजनाको सम्बन्ध कायमै रह्यो । त्यो सम्बन्ध अहिले पनि कायम छ ।

मधेशमा जोजो विरोध गर्थे ओलीले सबैलाई आफ्नो पक्कडमा लिनुभयो । त्यसपछि त अ‍ोलीको विरोधमा आन्दोलन गर्दा पनि मधेशमा कुनै प्रभाव परेन । उपेन्द्र यादव ओली नेतृत्वको सरकारबाट बाहिरिए पछि ओलीको विरोधमा आन्दोलन सुरु भयो । तर आन्दोलनले असर देखाउन सकेन । यहाँसम्म कि ओलीले उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन गराउन खोज्दा, उहाँको सांसद अपहरण गराउँदा त्यसको विरुद्धमा फोरमले आन्दोलन सुरु गरेको थियो । त्यतिबेला उपेन्द्र यादवसँग बाबुराम भट्राई पनि आइसक्नु भएको थियो । उहाँले पनि काठमाडौमा विरोधका कार्यक्रम गर्नुभयो । आफ्नो पार्टीका सांसद अपहरण गराउन लगाएको भन्दै अध्यक्ष भट्टराईले प्रहरीमा उजुरी लिएर गए पनि प्रहरीले उजुरी नै लिएन । त्यसको विरुद्धमा पनि डा.भट्टराईले आन्दोलन गर्नुभएको थियो ।

ओलीलाई महन्थको साथ
उपेन्द्र यादव सरकारबाट बाहिरिए पछि ओलीले महन्थ ठाकुरहरुलाई आफ्नो काबुमा लिइसक्नु भएको थियो । मधेशको सबै माग पुरा गरि दिने भनि ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोहरुलाई यसरी काबुमा लिनुभयो कि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा अन्तरद्वन्द सुरु भयो । मधेशको सबै माग पुरा गर्छु भनि अ‍ोलीले भन्न थाल्नुभयो । महन्थ ठाकुरलाई बालुवाटार बोलाएर पटक पटक छलफल गर्नुभयो । जुन कुरा उपेन्द्र यादवलाई मन परिरहेको थिएन ।

त्यही कुरा मन नपरेको कारण उपेन्द्र यादव र महन्थ ठाकुरबीच दुरी बढ्दै गइरहेको थियो । उपेन्द्र यादवले अ‍ोलीलाई मन पराउनु भएको थिएन । सरकारबाट बाहिरिए पछि दुईजनाको बीचमा बोलचाल पनि बन्द थियो । त्यो अवस्थामा आफ्नै पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत नेताहरु बालुवाटार गएर अ‍ोलीसँग साँठगाँठ गर्न थालेपछि उपेन्द्र यादवलाई असहय भयो । र, त्यसले पार्टीमा अन्तरद्वन्द सुरु भयो, जसले अन्ततः पार्टी समेत विभाजन भयो ।

उपेन्द्र यादवले विरोध गरेपनि ओलीले मधेशमा आफ्नो स्पेश बनाउन सफल हुनुभयो किनभने अहिले पनि अ‍ोलीलाई महन्थ ठाकुर, सिके राउत, ह्रदयश त्रिपाठीको साथ छ । एमालेका अध्यक्ष ओलीले अहिले उहाँहरुको काँधमा टेकेर उहाँहरुकै नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउने अभियान चलाई रहनु भएको छ ।

तपाईको प्रतिक्रिया