चुनौति थिएन तैपनि अशान्ति (फरकमत)

–डा.अयोधिप्रसाद यादव,

आम नागरिक तथा मतदाताको रुपमा यसपालीको स्थानीय तह निर्वाचनको विश्लेषण गर्नुपर्दा चुनाव जुन रुपमा व्यवस्थित र शान्तिपूर्ण हुनुपर्ने थियो त्यसो हुन सकेन । सुरक्षाकर्मीको आपूर्ति गर्ने काम नेपाल सरकारको हो । सुरक्षा कमजोरी कहाँ–कहाँ हुन सक्छ त्यसको सुक्ष्म विश्लेषण गरेर ‘मोबिलाइज’ गर्ने काम निर्वाचन आयोगको हो ।

निर्वाचन आयोगले सुरक्षाकर्मी परिचालनमा जति मसिनो गरी ध्यान दिनुपर्ने हो, त्यसमा कमजोरी देखिएको छ । त्यसकारण मतदानका दिन ती घटनाहरु घटेका हुन् । अर्को कुरा भनेको ‘मोबिलाइजेसन अफ पोलिटिकल पार्टीज, क्याडर्स, भोटर्स’ उनीहरुलाई विश्वास दिलाउन सक्नुपर्ने हो कि ‘लेट्स द इलेक्सन फ्री एण्ड फेयर’ । यो निर्वाचन तपाईंहरुकै हो, तपाईहरुले नै यसको स्वामित्व ग्रहण गर्नुपर्छ ।

निर्वाचन आयोगले ‘स्ट्रोङली’ जुन रुपमा मतदाता शिक्षा दिनुपर्ने हो, निर्वाचन व्यवस्थापन समितिले त्यसमा अलि ध्यान पु¥याउन नसकिएको हो कि जस्तो लाग्छ । मतदान स्थलमा सेना चौथो घेरामा बस्नुपर्ने हो तर अघिल्लो लाइनमा बसेको जुन घटनाहरु पाएका छौँ । देशैभरी चुनावका बेलामा शान्ति सुरक्षामा कमजोरी भयो । शान्ति सुरक्षा प्रबन्धमा भएको कमजोरीको जिम्मा निर्वाचन व्यवस्थापन समितिले लिनुपर्छ । निर्वाचन व्यवस्थापन समिति भनेको निर्वाचन आयोग हो । निर्वाचनका बेला जुन किसिमका घटनाहरु भए त्यसको जिम्मेवारी आयोगले लिनुपर्छ ।

अर्को पक्ष भनेको निर्वाचनमा जहिले पनि प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाको मैदानमा कतिपय अवस्थामा स्वस्थ प्रतिस्पर्धा हुन्छ भने कतिपय मैदानमा अस्वस्थ प्रतिस्पर्धा पनि हुन्छ । जसरी पनि कुर्सीमा पुग्नुपर्छ भन्ने उम्मेदवारका पक्षहरुको मनोभावनाका कारण पनि कतिपय मतदान केन्द्रमा द्धन्द्ध उत्पन्न हुनसक्छ । यसमा व्यवस्थापकको हैसियतले निर्वाचन आयोग जिम्मेवार हुनुपर्छ । अर्को पक्ष भनेको नेपाल सरकारले पनि जति सुरक्षाकर्मी परिचालन गर्नुपर्ने हो, त्यो नगर्दा मतदानका क्रममा सुरक्षा कमजोरीहरू देखा परेको छ ।

दुई दशकपछि स्थानीय तहको निर्वाचन भएको थियो । २०७२ सालमा जारी भएको नेपालको संविधानको आधारमा कानुन बनाउनु पर्ने बाध्यता एकातिर थियो भने संविधान नमान्ने धेरै शक्तिहरु थिए । उनीहरु ब्ल्याक आउट गर्नेदेखि धेरै लामो समयदेखि आन्दोलन चर्काइरहेका थिए । निर्वाचन बहिष्कार गर्ने समूहहरु क्रियाशिल थिए । विप्लव समूहले चुनाव बिथोल्नका लागि बम राख्ने अवरोध गर्ने कार्यक्रम राखेको सर्वविदितै भएको कुरा हो ।

त्यतिबेला चुनावका लागि ब्यापक मात्रामा जुन राजनीतिक सहमति हुनुपर्ने अवस्था थियो त्यसको अभाव थियो । चुनावका लागि वातावरण एकदम प्रतिकूल थियो । अहिलेको चुनावमा त दलहरुबीच असहमतिका कुराहरु केही पनि थिएनन् । त्यतिबेला त अहिले चुनावमा भाग लिएको जनमत पार्टीले विभिन्न स्थानीय तहमा नो भोटको अभियान चलाइरहेको थियो ।

विप्लव समूह, मधेस केन्द्रीत दलसमेत संविधान तथा चुनावको विरोधमा थिए तर यसपटक त त्यस्तो केही पनि थिएन । त्यतिबेला त चुनावका बेला ठूलो द्वन्द्व थियो तर यसपटक त त्यस्तो छैन सबै चुनावमा सक्रियताका साथ सहभागी भएका थिए । अर्को कुरा त्यतिबेला छोटो समयमा धेरैवटा कानुन बनाउनुपर्ने चुनौती थियो । तपाई नै बिचार गर्नुस् कि २ महिनाभित्र सबै निर्वाचनका लागि कानुन बनाउनुपर्ने बाध्यता थियो । १२ वटा कानुन बनाउनुपर्ने, त्यसको नियमावली बनाउनुपर्ने चुनौती थियो ।

 

अहिलेको चुनाव गर्न त आयोगलाई कुनै कानुनको मस्यौदा बनाउनु परेन । खाली त्यसको कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने थियो । हामीले त्यतिबेला १२ वटा कानुनको मस्यौदा बनाएर नेपाल सरकारमा पठायौँ । त्यतिबेला चुनाव सम्पन्न गर्न ठूलो चुनौती रहेको थियो ।

नयाँ संविधानको व्यवस्था अनुसार चुनाव हुन लागेकोले आम मतदातामा व्यापक मात्रामा जानकारी गराउनुपर्ने अवस्था थियो । हामीले मतदाता शिक्षा व्यापक बनाउन विभिन्न प्रयासहरु हामीले गर्यौ तर यसपाली त त्यो प्रयासहरु केही पनि भएन् । त्यतिबेला जति मत बदर भएको थियो त्यो बदर प्रतिशत घटाउनु पर्ने थियो तर त्यो घट्न सकेको देखिएन् । मतपत्र बदर हुनुका धेरै कारणहरु छन्, त्यसको मुख्य कारण निर्वाचन प्रणाली हो । मतपत्र बदर हुने दर रोक्न मतपत्रको ढाँचामा सुधार गर्नुका साथै निर्वाचन प्रणालीलाई सुधार गरेर लैजानु पर्ने अवस्था छ ।

(निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा.आयोधिप्रसाद यादवसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया