जसपामा अशोक राई यसरी हुनुभयो शक्तिशाली

वैचारिक रूपमा जति प्रष्ट हुनुहुन्छ, त्यति उहाँ राजनीतिमा जोखिम लिने खालको हुनु हुन्न । समूह छुट्टयाउन नसक्ने, समन्वयका नाममा बीचमा बस्ने र आफ्नो राजनीति सुरक्षित गर्ने स्वभावका नेता हुनुहुन्छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अयक्ष अशोककुमार राई झापा विद्रोह हुँदै एमालेसम्म आइपुग्नु भएको थियो । २०५४ मा पार्टी विभाजन भएपछि उहाँ मालेतर्फ लाग्नु भएको थियो । २०५९ मा नेता वामदेव गौतमसँगै उहाँ पनि एमालेमा फर्किनु भएको थियो । २०६० मा जनकपुरमा भएको सातौँ महाधिवेशनमा सबभन्दा बढी मत ल्याएर उहाँ एमालेको केन्द्रीय सदस्य बन्नु भएको थियो । २०६५ मा बुटवलमा भएको आठौँ महाधिवेशनमा पनि सर्वाधिक मत ल्याएर उहाँ उपाध्यक्ष बन्नु भएको थियो । सातौं र आठौं महाधिवेशनमा उहाँले सर्वाधिक मत ल्याएर उहाँ चर्चामा आउनु त भएको थियो तर त्यतिबेला के भएको थियो त्यो कुरा धेरै कमलाई थाह छैन ।

उहाँका एक पुरानो समकक्षी नेता भन्नुहुन्छ, ‘मालेबाट फर्किनु भएका अशोकजीले सातौँ महाधिवेशनमा उद्घोषणको जिम्मेवारी पाउनु भएको थियो । उहाँले आफ्नो उद्घोषणको क्रममा प्रतिनिधिमाझ पार्टी विभाजन गरेर माले गठन गर्नु आफूहरुबाट ठूलो गल्ती भएको कुरा पटक पटक दोहोर्याउनु भएको थियो यो कुराले एमालेका संस्थापन पक्ष निकै खुशी भए र उहाँले त्यही कारणले सर्वाधिक मत पाउनु भयो ।’
आठौँ महाधिवेशनमा त उहाँले झन कमाल गर्नुभयो । उहाँसँग काम गर्नुभएका एक नेताका अनुसार वैचारिक रूपमा नेता राई झलनाथ खनाल प्यानलमा हुनुहुन्थ्यो । तर उहाँले केपी ओलीलाई पनि म तपाईकै पक्षमा छु, तपाईं मेरो नेता हुनुहुन्छ भन्दै उहाँले ओलीको प्यानलमा पनि नाम राख्न लगाउनु भयो । दुवै प्यानलमा नाम भएको कारणले उहाँ अत्याधिक मत ल्याएर उपाध्यक्षमा जित्नु भएको थियो ।’

यति पुरानो कुरा यहाँ किन प्रस्तुत गरिएको छ भने जसपाका संघीय परिषद् अध्यक्ष अशोककुमार राई वैचारिक रूपमा जति प्रष्ट हुन्छ, त्यति उहाँ राजनीतिमा जोखिम लिने खालको हुनु हुन्न । समूह छुट्टयाउन नसक्ने, समन्वयका नाममा बीचमा बस्ने र आफ्नो राजनीति सुरक्षित गर्ने स्वभावका नेता उहाँ हुनुहुन्छ । उहाँ उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालसँग २०७२ सालमा एकीकरण गरेपछि त्यो पार्टी दुईपटक विभाजन भयो । हुन त त्यो पार्टीसँग विभिन्न चरणमा एकीरकण गरेका मधेश तराई फोरमका अध्यक्ष अमर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरी, लोक दलका अध्यक्ष कौशलकुमार सिंहलगायत नेताहरु पनि उपेन्द्र यादव नेतृत्वको दल छाडेर हिड्नु भयो । तर मुख्यरुपमा महन्थ ठाकुर र डा.बाबुराम भट्टराई पार्टीबाट अलग हुनुलाई पार्टी विभाजनको रुपमा लिइन्छ ।

दुई पटक पार्टी विभाजन हुँदा पनि अध्यक्ष राईले आफूलाई जहिले सुरक्षित राख्नु भयो । सुरुमा कुनै गुटको पक्षमा नखुल्ने र अन्त्यमा जुन गुट बलियो छ, त्योसँग बार्गेनिङ गरेर आफूलाई सुरक्षित राख्दै आउनु भएको छ । यो अहिले उपेन्द्र यादवसँग आएर मात्र त्यस्तो गर्नु भएको होइन, उहाँ कम्युनिष्ट राजनीतिमा हुँदा पनि त्यस्तै गर्नु भएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवको साथमा राजनीति सुरु गरेपछि जसपाबाट महन्थ ठाकुर अलग हुँदासम्म उहाँ कतातिर हुनुहुन्छ भनि प्रष्ट थिएन । पुरै मौन बस्नु भएको थियो । जब पार्टी विभाजन हुन स्पष्ट भयो । बहुमत उपेन्द्र यादवसँगै भएको देखेपछि उहाँ महन्थतिर जानु भएन ।

पछिल्लो पटक जसपा विभाजन हुँदा उहाँले पार्टीभित्र निकै खेल्नु भएको पार्टीभित्र आरोप छ । कहिले उपेन्द्र यादवतिर देखिने, त कहिले बाबुरामतिर देखिने गरी उहाँले पार्टीमा खेल्नु भयो । अवस्था यस्तो थियो कि उहाँ जतापट्टी लागेपछि बहुमत त्यसैको पुग्ने अवस्था थियो । को शक्तिशाली र कताबाट बढी फाइदा हुन्छ भनि प्रष्ट नभएसम्म उहाँ मौन नै बस्नु भएको थियो । पछि उपेन्द्र यादवसँग बार्गेनिङ्ग गरेर आफ्ना सबै कुरा ठिकठाक पारेपछि मात्र उतातिर खुल्नुभयो । हुन त डा.बाबुराम भट्टराईले पनि अशोक राईलाई जसपामा अध्यक्ष बनाउन चाहनु भएको थियो । महन्थ ठाकुर गएपछि खाली रहेको अध्यक्ष पदमा अशोक राइलाई राख्ने प्रस्ताव बाबुरामको थियो ।

अशोक राइले पनि मन बनाई सक्नु भएको थियो । तर, उहाँले त्यसमा आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्नु भएन र बाबुरामप्रति खुल्नु भएन ।

उपेन्द्र यादवसँग बार्गेनिङ्ग गरेर आफ्ना सबै कुरा ठिकठाक पारेपछि मात्र उतातिर खुल्नुभयो । हुन त डा.बाबुराम भट्टराईले पनि अशोक राईलाई जसपामा अध्यक्ष बनाउन चाहनु भएको थियो ।

त्यसभन्दा बढी उहाँलाई उपेन्द्र यादवले दिनुभयो । जसपाका एकजना कार्यकारिणी सदस्यका अनुसार संघीय परिषद्को अध्यक्ष, सुशिला श्रेष्ठलाई आउने चुनावमा समानुपातिक सांसद, राजेन्द्र श्रेष्ठलाई मन्त्रीमा कायमै राख्ने लगायत विभिन्न नियुक्तिमा साझेदारी गर्ने उपेन्द्र यादवले सुनिश्चित गरेपछि अशोक राई उपेन्द्र यादवको पक्षमा लाग्नु भएको थियो ।

उहाँले चाहेको भए न उतिबेला महन्थ ठाकुर पार्टीबाट अलग हुन्थे, न बाबुराम । उहाँले मौन बस्दिनुभयो, समन्वयकारी भूमिका खेल्नु भएन भनि पार्टीभित्र गुनासो छ । ती नेताले भन्नुभयो, ‘अशोक राई आफ्नो फाइदा मात्र देख्नुभयो, पार्टीको भविष्य देख्नु भएन ।’ सानो सानो गुटमा शक्तिशाली भएर बस्ने अशोक राई अहिले जनता समाजवादी पार्टी नेपालको शक्तिशाली मात्र होइन, बरियताक्रमकै एक नम्बरको नेता बन्नु भएको छ ।

उहाँले केन्द्रीय समितिलगायत सबै संगठनमा ३० देखि ४० प्रतिशत हिस्सा लिनु भएको छ । चारजना मन्त्रीमा एकजना मन्त्री सुनिश्चित गर्नु भएको छ । चारवटै मन्त्रालयमा मन्त्रीको सचिवालयदेखि अन्य ठाउँमा आफ्नो मान्छेलाई जागिर लगाउनु भएकोे छ । राजदूतमा हिस्सेदारीदेखि प्रदेश सरकारमा पनि उहाँले आफ्नो मान्छेलाई नियुक्तिहरु गराउनु भएको छ । अर्थात जसपामा लगानी भन्दा बढी उहाँले असुल्नु भएको सो पार्टीका कतिपय नेताहरुको आरोप छ । मधेशको योगदान र बलिदानबाट जसपा नेपाल बनेको हो तर अशोक राई बिना मेहनत सधै फाइदा मात्र लिइरहनु भएको पार्टी भित्रका मधेशी नेताहरुको गुनासो छ । अशोक राइका कारण जसपाभित्र मधेशीहरु अल्पमतमा पर्न थालेको गुनासो पार्टीका नेतृ रेणु यादवले पनि गर्नुभएको छ ।

पार्टीमा तेस्रो पोजिसनमा रहनु भएका अशोक राई हेर्दा हेर्दै पहिलो पोजिशनमा पुग्नुभयो, अब उहाँले मधेशमाथि पनि शासन गर्ने भएको छ । मधेशले दिएको मतबाट उहाँ पार्टीको नेता बन्नुदेखि लिएर सांसद र मन्त्री पाउने गर्नुभएको छ । उहाँ आफू मात्र होइन, आफ्ना श्रीमती सुशिला श्रेष्ठलाई पनि त्यतिकै शक्तिशाली बनाउनु भएको छ । अगामी संसदीय चुनावमा समानुपातिकबाट सुशिला श्रेष्ठ सांसद बन्ने लगभग निश्चित नै भएको पार्टीका नेताहरु बताउनु हुन्छ ।

२०४८ र २०५१ सालमा खोटाङबाट चुनाव जित्नु भएका राई २०५६ को चुनावमा उदयपुर झरेपछि हालसम्म कुनै प्रत्यक्ष चुनाव जित्न सक्नु भएको छैन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँले आफ्नो वडा समेत जिताउन सक्नु भएन । तर पार्टीमा जहिले पनि हरेक ठाउँमा आफ्नो हिस्सेदारी लिइरहनु भयो । गत स्थानीय चुनावमा पनि उहाँले आफ्नो क्षेत्र, गाउँ, जिल्ला तथा प्रदेशमा राम्रो नतिजा ल्याउन सक्नु भएन । उहाँको पहाडको घर खोटङ हो । खोटाङ जिल्लाभरिमा एउटा वडा र एउटा उपाध्यक्ष मात्र जिताउनु भयो । जब कि उहाँ २०४८ र २०५१ मा गरी त्यहाँबाट चुनाव जितेर दुईपटक सांसद बन्नुभयो । पछि उहाँ उदयपुर झर्नुभयो । उदयपुरमा एउटा वडा मात्र जितेको छ । पछिल्लो समय उहाँ सुनसरीबाट चुनाव लड्दै हुनुहुन्छ । कर्मभूमी सुनसरी बनाउनु भएको छ ।

मधेशको योगदान र बलिदानबाट जसपा नेपाल बनेको हो तर अशोक राई बिना मेहनत सधै फाइदा मात्र लिइरहनु भएको पार्टी भित्रका मधेशी नेताहरुको गुनासो छ । अशोक राइका कारण जसपाभित्र मधेशीहरु अल्पमतमा पर्न थालेको गुनासो पार्टीका नेतृ रेणु यादवले पनि गर्नुभएको छ ।

सुनसरीमा ७ वटा वडा र एउटा अध्यक्ष जितेको छ । त्यो पनि मधेश बहुल्य क्षेत्रमा मात्र जितेको छ । उहाँको चुनावी क्षेत्र धरानतिर हो तर त्यहाँ जिरो ल्याउनु भएको छ । अर्थात उहाँको पकड भएको क्षेत्र प्रदेश नम्बर १ हो जहाँको अवस्था सन्तोषजनक नरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवसमेत बैठकहरुमा उठाउने गर्नु भएको छ । प्रदेश १ को पाँचथर जिल्लामा अशोक राइले जसपाबाट एउटा वडा, इलामबाट एक उपाध्यक्ष र एक वडा, भोजपुरबाट एक वडा, धनकुटाबाट एक वडा, ओखलढुङ्गाबाट एक गाउँपालिका अध्यक्ष र दुईवटा वडा अध्यक्ष उहाँले जिताउनु भएको छ । तर पार्टीमा उहाँले बराबरको हिस्सेदारी खोजिरहनु भएको गुनासो छ ।

उहाँ यसपटक पनि सुनसरीबाट चुनाव लड्ने भनिरहनु भएको छ । तर जित्ने चान्स यसपटक पनि नरहेको जसपा सुनसरीका नेताहरु बताउनुहुन्छ । २०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्नु भएका राईले प्रतिनिधिसभाको चुनावमा ७७ हजार ९० मतमध्ये २२ हजार १२३ मत ल्याएर दोस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँलाई काँग्रेस पार्टीले पनि साथ दिएको थियो । सो क्षेत्रबाट तत्कालिन एमालेका जयकुमार राई तत्कालिन माओवादी केन्द्र र एमाले गठबन्धनबाट चुनाव जित्नु भएको थियो ।

एमालेमा हुँदा दुई पटक मन्त्री समेत बनिसक्नु भएका उहाँले एमाले छाडेदेखि चुनाव जित्नु भएको छैन । धरानमा कम्युनिस्ट नेताको रुपमा परिचित अशोक राइको यस्तो अवस्था भयो कि प्रतिनिधिसभाको चुनाव आफू हार्नु नै भयो मंसिर १४ गते भएको उपनिर्वाचनमा तत्कालिन समाजवादी पार्टीको जमानत नै जफत भएको थियो ।

२०६९ मंसिर ७ गते तत्कालिन एमाले छाडेर संघीय समाजवादी पार्टी नेपाल गठन गर्नुभएका उहाँले आफ्नो तत्कालिन समाजवादी पार्टीबाट २०७० सालको दोस्रो संविधानसभा चुनावमा ६५ सीटमा उम्मेदवारी दिन लगाउनु भएको थियो तर त्यतिबेला एउटा पनि सीट जित्न सक्नु भएन । समानुपातिकबाट ५ वटा सीट हाट पार्नुभएको थियो ।

एमालेबाट अलग भएर संघीय समाजवादी पार्टी नेपाल गठन गर्नुभएका अशोक राईले चारवर्षपछि उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालसँग २०७२ जेठ २२ गते एकीकरण गरी संघीय समाजवादी फोरम नेपाल बनाउनु भएको थियो । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अशोक राईले आफ्नो क्षमता देखाउन सक्नु भएन । २०७४ को चुनावमा राम्रो नतिजा ल्याउन नसक्नु भएका अशोक राई त्यो बीचमा चुपचाप हुनुहुन्थ्यो ।

कसैले त अब अशोक राइले पार्टी छाड्ने मात्र होइन अब राजनीतिबाट नै सन्यास लिन लाग्नु भएको समेत भन्न थालेका थिए तर पछिल्लो समय उहाँ जसपामा सक्रिय मात्र होइन, उहाँले आफ्नो पोजिसन लिन थाल्नु भएको छ ।

तपाईको प्रतिक्रिया