ओलीको अभियानलाई ब्रेक लगाउने सबिता मधेश आन्दोलनका योद्धा

मधेशवादी दलको माग बमोजिम संविधान संशोधनका लागि संसदमा प्रस्तुत संशोधन विधेयकको विरुद्धमा नेकपा एमालेले २०७३ फागुन २२ गतेदेखि झापाबाट मेची–महाकाली राष्ट्रिय अभियान आरम्भ गरेको थियो । तराई मधेशलाई केन्द्रीत गरेर सुरु गरिएको त्यो अभियान सफल हुन नदिने भनि मधेशवादी दलहरुले घोषणा गरेका थिए । मधेशवादी दल र एमाले बिच राम्रो सम्बन्ध नभएको कारण तराई मधेश केन्द्रित त्यो अभियान स्थगितका लागि सबैतिरबाट आग्रह भए पनि एमालेले त्यो अभियानलाई जबर्जस्ती अगाडि बढाएको थियो ।
झापादेखि मोरङसम्म सब ठिकाठाक थियो । सुनसरी प्रवेश गरेपछि अवरुद्ध सुरु भएको थियो । सुनसरीको इनर्वामा एमालेले कार्यक्रम गर्ने योजना बनाएको थियो । त्यसको सम्पूर्ण तयारी पुरा भइसकेको थियो । तर एमालेको त्यो कार्यक्रम हुन नदिने कसम खानु भएका एक जना महिला अघि सर्नु भयो र सुनसरीमा त्यो अभियानलाई असफल पार्नभयो । त्यो महिला हुनुहुन्छ संविधान सभा सदस्य सबिताकुमारी यादव ।
हो त्यही सबिता यादव जो २०६४ देखि सुरु भएको मधेश आन्दोलनमा सक्रिय भएपछि हालसम्म त्यसलाई निरन्तरता दिइरहनु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैले नेतृत्वको गरेको त्यो मेची–महाकाली अभियानलाई रोक्न सबिता यादवले सुनसरीमा आन्दोलनको नेतृत्व गर्नुभएको थियो । र त्यसलाई रोक्न सफल पनि हुनुभयो । अभियानको कार्यक्रम लिएर केपी ओली सुनसरी आउँदै हुनुहुन्छ भनि प्रचार गर्न हिडेको गाडीमाथि सबिता यादवले आफ्नो चप्पल प्रहार गरेपछि उहाँ झन चर्चामा आउनु भएको थियो । त्यतिबेला उहाँले प्रहरीबाट कुटाई पनि खानु भएका थियो । तैपनि उहाँले सुनसरीमा एमालेको कार्यक्रम हुन दिनुभएन । झडपको स्थिति भएपछि सुनसरीबाट सप्तरीका लागि हिडेको थियो अभियानको टोली ।
उहाँ भन्नुहुन्छ, ‘त्यो कार्यक्रम रोक्न जाँदा प्रहरीले घेरा हालेर लाठी बुटले हिर्काएको अहिले पनि याद छ ।’ सबिता यादवले सुनसरीमा रोकेको त्यही कार्यक्रम सप्तरीको मलेठमा हुँदा भएको झडपमा पाँच जना मधेशी युवाको ज्यान गएको थियो । त्यसपछि अभियान नै स्थगित भएको थियो । पछि सो अभियान हेटौडाबाट सुरु भएको थियो । सबिता यादव २०७३ मा होइन २०६४ देखि सुरु भएको मधेश आन्दोलनदेखि निरन्तर लाग्नुभएको छ । मोरङ, सुनसरी, सप्तरीको आन्दोलनमा चर्चित महिलामध्येका एक हुनुहुन्थ्यो सबिता यादव । हाल उहाँ जनता समाजवादी पार्टी कोशी प्रदेश समितिको उपाध्यक्ष हुनुहुन्छ ।
यसरी भइन् डाक्टर
सुनसरी इनर्वाको ज्ञानोदय स्कुलमा पाँचसम्म पढ्नु भएका सबिता भगवती माविबाट २०४९ मा एसएससी पास गर्नुभयो । उहाँ एसएलसी पास गर्नुअघि नै २०४७ मा १४ वर्षकै उमेरमा बिहे गरिसक्नु भएको थियो । एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि भारतमा उहाँले इन्टरमा पढ्न नाम पनि लेखाउनु भयो तर श्रीमानको घर जानु पर्ने भएका कारण पढाईलाई निरन्तरता दिन सक्नु भएन ।
सुनसरी श्रीपुर जबदीका रामअवतार यादवसँग बिहे गर्नुभएका सबिता यादव घरव्यवहार सम्हाल्न थाल्नुभयो । श्रीमान जागिरमा भएको कारण घरमा छोराछोरीलाई सम्हाल्नुदेखि लिएर खेती किसानीसम्मको काम गर्नुभयो । असलमा सबिताको श्रीमानको घर सप्तरीको बरही वीरपुर हाटी हो । सुनसरीमा कामुत हो । बिहेपछि सबिता दुई वर्षजति हाटीमा पनि बस्नुभयो तर त्यहाँ त्यति राम्रो नलागेको कारण उहाँ पुनः सुनसरी श्रीपुर नै फर्किनु भएको थियो ।
उहाँको श्रीमान एच.ए. पढेर सरकारी जागिरमा हुनुहुन्छ । जागिरका कारण बाहिरै रहनु परेको कारण सबिताको दिनचर्या चुल्होचौकामा सिमित थियो । श्रीमान पहाडमा हुँदा त्यहाँ बच्चाहरु लिएर जान गाह्रो थियो त्यही भएर उहाँ श्रीमानसँग नगएर घरमै बस्नुभयो । सबिताको श्रीमानको सरुवा सुनसरी भएपछि लोकहीमा आफ्नै क्लिनिक र औषधी पसल खोल्नुभयो । त्यसपछि सबिता पनि श्रीमानसँगै लोकहीमा बस्न थाल्नुभयो । र त्यहाँ उहाँले  क्लिनिकमा आफ्नो श्रीमानलाई सघाउन थाल्नुभयो ।
त्यसपछि उहाँलाई कुनै जागिरको वा अन्य कामको आवश्यकता नै परेन । श्रीमान जागिरमा भएको कारण अधिकाँश समय उहाँले क्लिनिक र औषधी पसल सम्हाल्न थाल्नु भयो । उहाँ भन्नुहुन्छ, ‘म मेडिकल र मेडिसिन सम्बन्धी केही अध्ययन गरेको थिइन तर प्राइक्टिसको आधारमा म सबै काम गर्न थाले । श्रीमानले कसरी उपचार गर्नुहुन्छ त्यो देखेर नै सबै कुरा सिकेको थिए, औषधीसम्म बिक्रि गर्न जानि सकेको थिए ।’
बिरामीलाई स्लाइन पानी चढाउनुदेख लिएर सर्दी, खोकी, साना तिना (चोटपटक, घाउ) अप्रेसन, चोटपटकमा ब्यान्डेज, डिलेभरी गराउनेसम्मको काम पनि उहाँले गर्नुहुन्थ्यो । उहाँ त्यसैमा व्यस्त हुनुभयो । उहाँलाई गाउँमै मास्टरीका लागि पनि अवसर आएको थियो तर त्यसलाई छाडेर क्लिनिकमै रमाउनुभयो । श्रीमान रामअवतारले पनि क्लिनिक उहाँकै जिम्मा छाडिसक्नु भएको थियो । फुर्सदलको समयमा मात्र क्लिनिकमा टाइम दिनुहुन्थ्यो अथवा कुनै इमर्जेन्सी विरामी आएपछि मात्र समय दिनुहुन्थ्यो नत्र त्यसबाहेक सबिताले नै सबै सम्हाल्नु हुन्थ्यो ।
एसएलसीसम्म पढ्नु भएको सबिता डाक्टरको रुपमा परिचित हुनुभयो । गाउँघरमा उहाँको माग बढ्न थाल्यो । उहाँलाई डाक्टर भनेर बोलाउन थाले । कहिले काही त उहाँ अरुको घरमा पनि उपचार गर्न जानु हुन्थ्यो । श्रीमान अन्यत्र सरुवा भएर गए पनि उहाँले नै क्लिनिक सम्हाल्न थाल्नुभयो । त्यतिबेलासम्म उहाँलाई राजनीतिसँग कुनै मतलब नै थिएन । उहाँ भन्नुहुन्छ, ‘मेरा आमा बुवा, दाइहरु काँग्रेस पृष्ठभूमीका कारण म पनि त्यतैतिर थिए तर सक्रिय कहिले भइनन् । बिहे गरेर श्रीमानको घरमा आइसकेपछि झन राजनीति गर्ने कुरा नै हुँदैन, चुल्होचौका, खेती किसानी, बालबच्चासँग फुर्सद नै भएन । चार वर्षसम्म त म घरमा चुल्होचौका, खेती किसानी, बालबच्चामै सिमित रहे । श्रीमानले क्लिनिक खोलेपछि मात्र म बाहिरको संसार हेर्ने मौका पाए ।’
मधेश आन्दोलन
सबिता यादव क्लिनिकमा काम गर्न थालेपछि त्यस वरपरका परिचित महिलामा पर्नुहुन्थ्यो । हुन त बिहे गरेर आएपछि पनि उहाँको चर्चा भएको थियो । सबैले चिन्न थालेको थियो । त्यतिबेला मधेशी महिलामा एसएलसी धेरै काम पास गर्थे । फलानोको बुहारी एसएलसीसम्म पढेकी छिन् भनि चर्चा हुन्थ्यो । सबिताको पनि त्यसरी नै चर्चा भएको थियो । क्लिनिक सम्हाल्न थालेपछि त झन चर्चा नहुने कुरा नै हुँदैन ।
आन्दोलनको क्रममा २०६४ माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेश आन्दोलन बिस्तार हुन थाल्यो । पूर्वका झापादेखि पश्चिमको कञ्चनपुरसम्म बिस्तार हुँदै गयो । मधेशका जिल्लाहरुमा आन्दोलनले रुप धारण गर्दै गएपछि तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका नेताहरु एस.एन. मेहता, पञ्चनारायण मण्डललगायतका नेताहरुले सबितालाई भेटेर आन्दोलनमा आउन आग्रह गर्नुभएको थियो ।
तपाईँ जस्तो महिला यसरी सिमित भएर बस्नु हुँदैन, मधेशी जनताको लागि लड्नुपर्छ, मधेशी जनतामाथि भइरहेको विभेद र असमानताका लागि मधेशी महिला पनि सडकमा आउनुपर्छ भनि त्यतिबेलाका फोरमका नेताहरुले मलाई पटक पटक भेटेरे भन्नुभएको थियो, सबिता यादव भन्नुहुन्छ, ‘मधेशीमाथि भइरहेको बिभेद र अन्यायलाई मैले पनि महसुस गरेको थिए, मधेशी महिला र मधेशी समाज पछाडी परेको कुरा मलाई पनि महसुस भइरहेको थियो त्यसका लागि लड्नु पर्छ भनि क्लिनिक छाडेर आन्दोलनमा लागे ।’
त्यतिबेला सबिताको श्रीमानको जागिरका लागि भोजपुरमा हुनु हुन्थ्यो । क्लिनिक सम्हाल्ने कोही थिएन । तर मधेश आन्दोलनका लागि उहाँले क्लिनिक र औषधी पसल समेत बन्द गर्दिनुभयो । आन्दोलनमा लागि सकेपछि मात्र उहाँले आफ्नो श्रीमानलाई जानकारी गराउनु भएको थियो । त्यसमा सबिताको श्रीमानको पनि कुनै आपत्ति थिएन । मधेश मुक्तिका लागि भइरहेको आन्दोलनमा यदि तपाईले योगदान दिएपछि केही हुन्छ भने त्यसमा लाग्नुस् यस्ता क्लिनिक र पसलहरु पछि पनि खोल्न सकिन्छ चलाउन सकिन्छ भनेर मेरो श्रीमानले मलाई साथ दिनुभयो, सबिता यादवले भन्नुभयो, ‘क्लिनिक राम्रो चलिरहेको थियो, तर त्यसको प्रवाह श्रीमानले पनि गर्नुभएन बन्द भए होस्, लाग्नुस् आन्दोलनमा उहाँले भन्नुभएको थियो ।’
श्रीमानको मात्र होइन, घरका अन्य सदस्यको पनि साथ थियो । आमा बुवा र दाजु भाइले पनि सबितालाई फुल सपोर्ट गर्नुभएको थियो । त्यसपछि उहाँ आन्दोलनको अगुवाई गर्न थाल्नुभयो । सुनसरीमा मात्र होइन, उहाँ मोरङ र सप्तरीसम्म आन्दोलनका लागि पुग्नु हुन्थ्यो । जहाँ उहाँलाई आवश्यकता महसुस हुन्थ्यो त्यहाँ जानुहुन्थ्यो । कतियौं पटक त उहाँ दुई चार दिन घर पनि आउनु हुन्थेन ।
आन्दोलनको क्रममा पक्राउ त पर्नुभएन तर प्रहरीको लाठी थुप्रै पटक खानु भएको छ । आश्रू ग्यासका कारण थुप्र्रै आँसु बगाउनु भएको छ । आफ्नै सहकर्मी आन्दोलनकारी घाइते भएको, रगत बगेको थुप्रै पटक देख्नु भएको छ । प्रहरीको गोलीबाट बाँचेको थुप्रै स्मरण सबितासँग छ ।
संविधान सभा सदस्य
सरकारसँग २०६५ फागुन १६ गते आठ बुँदे सम्झौता भयो । आन्दोलन स्थगित भयो । दलहरु चुनावको तयारीमा लागे । सविताका मन टिकट लिएर चुनाव नै लड्ने थियो । त्यसका लागि उहाँले तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि कुरा गर्नुभएको थियो । तर उहाँको नाम समानुपातिक सूचीमा राखेको थियो । संविधान सभा चुनावमा पनि सबिता यादव निकै मेहनत गर्नुभयो । आफू नै चुनावमा लडे जस्तै उहाँ चुनाव प्रचारमा लाग्नु भएको थियो ।

समानुपातिकबाट उहाँ पहिलो संिवधानसभाको सदस्य हुनुभयो । त्यतिबेला उहाँलाई मधेशी जनअधिकार फोरमको केन्द्रीय सल्लाहकार बनाइ सकेको थियो । पछि उहाँलाई केन्द्रीय सदस्य बनाएको थियो । संिवधान सभाको संसद समितिको महिला बालबालिका कल्याण समितिमा हुनुहुन्थ्यो । संविधानमा मधेशीको हक अधिकार, पहिचान उल्लेख गराउनका लागि आफ्नो समिति तथा संविधान सभामा उहाँ कुरा राख्नुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘मधेशी, आदिवासी जनजाति, महिला, पिछडिएको समुदायको हकमा संविधान लेख्नका लागि जेजे गर्नु पथ्र्यो सबै गरे ।’
तर राजनीतिक षड्यन्त्रका कारण पहिलो संविधान सभा विघटन भयो । संविधान लेख्ने काम भएन । उहाँलाई त्यतिबेला चित्त पनि दुखेको थियो र आक्रोश पनि थियो । उहाँ भन्नुहुन्छ, ‘चित्त यो कारणले दुख्यो कि संविधान सभा सदस्य भएर पनि संविधान बनाउन सकिएन, आक्रोश यो कारणले कि मधेशी, आदिवासी जनजाति, महिला, पिछडिएका समुदायको हकमा संविधान नबनाउन ठूला दलहरुले षड्यन्त्र गरे ।’
२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि उहाँको सोच चुनाव लड्ने नै थियो । त्यसका लागि उहाँले पार्टीमा कुरा पनि राख्नुभएको थियो । तर पार्टीले पुनः उहाँको नाम समानुपातिक सूचीमा राख्यो । तर उहाँ यसपटक संविधान सभा सदस्य हुन पाउनु भएन । त्यसमा उहाँको कुनै गुनासो थिएन । तर उहाँ भन्नुहुन्छ, ‘सायद मलाई टिकट दिएको भए चुनाव जित्थे कि ।’ संविधान सभाको चुनावपछि पार्टी आन्दोलनमा गयो । संविधानमा मधेशीको हक अधिकार सुनिश्चित गराउनका लागि दबाब दिन तत्कालिन फोरम आन्दोलनमा थियो ।
सबिता यादव पनि दिनरात आन्दोलनमै रहनुभयो । उहाँ काठमाडौँसम्म आन्दोलनका लागि आउनु भएको थियो । पार्टीले जहाँ जहाँ खटाउथ्यो त्यहाँ त्यहाँ आन्दोलनका लागि जानु हुन्थ्यो । सुनसरी, सप्तरी, मोरङ त उहाँको लागि घर आँगन जस्तै भएको थियो । आन्दोलनका लागि जहाँ पनि उहाँ प्रकट हुनुहुन्थ्यो । उहाँ होलटाइमर आन्दोलनकारी हुनुहुन्थ्यो । जति आन्दोलन भएपनि ठूला दलको षड्यन्त्रका कारण अधुरो संविधान बन्यो । त्यसका लागि पनि आन्दोलन भएको थियो ।
सबभन्दा लामो आन्दोलन त्यही नै थियो । छ महिनासम्म आन्दोलन चल्यो । त्यति नै बेला नाकाबन्दी पनि भयो । सबिता यादव जोगबनी नाकामा हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेलाको आन्दोलन पनि घनघोर आन्दोलन थियो, वारपारका आन्दोलन थियो, थुप्रै मधेशीले ज्यान गुमाई सकेका थिए, त्यतिबेला म छ महिनासम्म आफ्नो घर फर्केको थिइनन् । आन्दोलनका लागि काठमाडौँसम्म पुगेको थिए ।’
संविधान संशोधनका लागि पनि मधेशवादी दलले आन्दोलन गरेको थियो । त्यसमा पनि सबिताको सक्रिय सहभागिता थियो । २०७४ मा भएको चुनावमा पनि उहाँको चाहना टिकट लिएर नै चुनाव लड्ने थियो । त्यसको तयारी पनि उहाँले थाल्नुभएको थियो । तर पार्टीले उहाँलाई टिकट दिएन, पुनः समानुपातिकमा नै नाम राखेको थियो । तर सीट थोरै आएको कारण सबिता समानुपातिक सांसद बन्न सक्नुभएन । तैपनि सुनसरीमा पार्टीका लागि निरन्तर काम गर्न थाल्नुभयो । संगठन निर्माणदेखि लिएर विभिन्न आन्दोलनमा पनि सहभागी हुन थाल्नुभयो । पार्टीमा उहाँसँग थुप्रै जान आउनुभयो, थुप्रै जना जानुभयो तर उहाँ जसपामा नै रहनु भयो ।
स्वतन्त्र उम्मेदवार
२०७९ को प्रदेश सभा चुनावमा उहाँले टिकट माग्नु भएको थियो । पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँबाट कोशी प्रदेशका इन्चार्ज रकम चेमजोङको हातबाट पठाई दिनुभएको थियो । त्यो थाह पाएर सबिता यादवले रकम चोम्जोङलाई फोन गर्नुभएको थियो । रकम चेम्जोङले आफू अहिले एयरपोर्टमा रहेको र भोली विहानै आएर टिकट लिनु होला भनि सबिता यादवलाई भन्नुभएको थियो । भोलीपल्ट विहान फोन गर्दा रकम चेम्जोङको फोन नै उठेन । उहाँले पटक पटक फोन गर्नुभयो । तर कुनै रेसपोन्स आएन । त्यसपछि उहाँले सहइन्चार्ज परशुराम वस्नेतलाई फोन गर्नुभयो ।
परशुराम बस्नेतले आफूलाई पार्टीका वरिष्ठ नेता अशोक राइले टिकट दिनु भएको र आफू नै त्यहाँ (सुनसरी–४, क) बाट चुनाव लड्ने जवाफ सबितालाई दिनुभएको थियो । त्यसपछि सबिताको दिमाग रन्कियो । उम्मेदवारी दिने दिन थियो । उहाँले उपेन्द्र यादवलाई भेट्न सप्तरी पुग्नुभयो । उपेन्द्र यादवले पनि आफूले त तपाईको लागि रकम चेम्जोङको हातबाट टिकट पठाई सकेको थिए फेरि के भयो त जवाफ दिनुभएका थियो । त्यसपछि उपेन्द्र यादवले नै रकम चेम्जोङलाई फोन गरेर सबिताका लागि दिएको टिकट परशुरामको हातमा कसरी गयो भनि सोध्नु भएका थियो । रकम चेम्जोङले आफूले सबिताका लागि नै परशुरामलाई दिएको थिए पछि कहे भयो थाह भएन भनि जवाफ दिनुभएको थियो ।
यति कुराकानी हुँदाहुँदै परशुरामले सुनसरी क्षेत्र नम्बर ४ (क) को लागि प्रदेश सभा सदस्यमा उम्मेदवारी दिइ सक्नुभएको थियो । त्यो कुरालाई लिएर परशुरामसँग सबिताको झगडा नै भयो । हात हालाहालको अवस्था आएको थियो । त्यो घटनाले सबितालाई निकै दुखि बनाएको थियो । यत्रो तयारी र मेहनत गरेपछि टिकट अर्कैले उडाएर लगेपछि सबितालाइ दुख लागेको थियो । त्यसपछि सबिताले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । त्यो चर्चा चारैतिर फैलियो । पार्टीमा पनि छलफल भयो ।
उपेन्द्र यादवले सबितालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । अरु नेताहरुले पनि आग्रह गर्नुभएको थियो । त्यसपछि उहाँ उम्मेदवारी फिर्ता लिनुभयो । तर उहाँ आफ्नो क्षेत्रमा बस्नु भएन जहाँ परशुरामले उम्मेदवारी दिनुभएको थियो । उहाँ उपेन्द्र यादवको क्षेत्र सप्तरी जानुभयो । चुनाव अवधिभर उपेन्द्र यादवको क्षेत्रमा खट्नुभयो । परशुराम बस्नेत चुनाव हार्नुभयो ।

सबितालाई अरु अरु पार्टीबाट अफर नआएको होइन तर उहाँ भन्नुहुन्छ, ‘जुन पार्टीले मलाई यत्रो पहिचान दियो, समाजमा सम्मान दियो, प्रतिष्ठा दियो त्यसलाई छाडेर म कहि जान सक्दिन पार्टी रहेसम्म यही पार्टीमा संघर्ष गर्छु, पार्टीमा सबै कुरा पद मात्र होइन समाजका लागि दिने योगदान नै मुख्य कुरा हो । पदमा कहाँ छु छैन, त्यो मुख्य कुरा होइन, तपाई समाजमा कहाँ हुनुहुन्छ, समाजले तपाईलाई कसरी हेरिरहेको छ, तपाईले समाजका लागि के गरिरहनु भएको छ त्यो मुख्य कुरा हो ।’
उपेन्द्र यादवसँग पहिलो भेट
सबिता यादव मधेशी जनअधिकार फोरममा लागि पछि मात्र उपेन्द्र यादवले चिनेको भने होइन । उहाँ विद्यार्थी हुँदादेखि नै उपेन्द्र यादवलाई चिन्नु हुन्थ्यो । त्यतिबेला उपेन्द्र यादव कम्युनिष्ट पार्टीबाट राजनीति गर्नुहुन्थ्यो । आन्दोलनमा लाग्नुभएको थियो । उपेन्द्र यादव कहिले काही सबिताको घरमा उहाँको बुवा तथा दाजुलाई भेट्न जाँदा उहाँले देख्नुभएको थियो । तर बोलचाल थिएन । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला म सानै थिए, विद्यार्थी थिए, राजनीतिसँग कुनै मतलब थिएन, पढाइ लेखाई घर व्यवहारको काममा व्यस्त थिए ।’
सबिता यादव माइतीमा हुँदा पढाई लेखाईको साथै घरधन्दामा पनि पोख्त हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘म घरमा सबै काम गर्थे खेती किसानदेखि लिएर गाई भैसी, बाख्रा पनि चराउन जान्थे, धान रोप्ने काट्ने पनि गर्थे यति गर्दा पनि मैले स्कूल जान कहिले छाडेको थिइनन् ।’
मधेश आन्दोलनको क्रममा उपेन्द्र यादव सुनसरी आउँदा पहिलो पटक राजनीतिक रुपमा उहाँसँग सबिता यादवको भेट भएको थियो । सुनसरीका पार्टी कार्यालयमा नेताहरुसँग भेटघाटको क्रममा उपेन्द्र यादवसँग भेट भएको थियो । त्यहाँ उपेन्द्र यादवले पनि सबिता यादवलाई चिन्नुभएको थियो ।
उपेन्द्र यादवले उहाँलाई आन्दोलनमा लाग्न प्रेरित गर्नुभएको थियो । मधेशको राजनीतिमा महिलाको निकै आवश्यकता छ, महिलाहरु जबसम्म घरबाट निस्किदैन तबसम्म मधेशको मुक्ति सम्भव छैन, महिला अगाडि आउनुपर्छ, उपेन्द्र यादवले भनेको कुरालाई स्मरण गर्दै सबिता यादवले भन्नुभयो, ‘उपेन्द्र यादव सरको त्यो भनाईले झन म उत्साहित भएर आन्दोलनमा लागेको थिए र आजसम्म उहाँलाई आफ्नो राजनीतिक गुरु मानेर सक्रिय भएर लागेको छु ।’
संविधान सभा सदस्यको समयमा धेरै सांसदहरु मन्त्री बने के के गरे तर सबिता यादव कहिले पनि हडबडाउनु भएन । पार्टीको आवश्यकता महसुस भयो भने अवसर दिन्छ भनि भरोसमा उहाँले राजनीति गरिरहनु भएको छ । विजयकुमार गच्छदारले पार्टी विभाजन गर्दा सबितालाई पनि साथ दिन आग्रह गर्नुभएको थियो । विजय गच्छदारको जिल्लावासी भएको कारणले पनि सबितालाई अलि बढी नै आग्रह गर्नुभएको थियो । मन्त्रीको अफर पनि दिनुभएको थियो । तर उहाँ उपेन्द्र यादवलाई छाडेर गच्छदारको साथमा जानु भएन ।
तर पछि जेपी गुप्ताले पार्टी विभाजन गर्दा उहाँले उपेन्द्र यादवका साथ छाड्नु भएको थियो । त्यस्तो किन त उहाँ भन्नुहुन्छ, ‘म रिसले त्यस्तो गरेको थिए, कोशीमा बाढी आउँदा, सुनसरी लगायत विभिन्न ठाउँमा क्षति गरेको थियो । त्यसका लागि एउटा के समिति बनेको थियो त्यसमा नन्दन दत्त (सुनसरी) राख्नु भएको थियो, मलाई सदस्यसम्म पनि राख्नु भएन त्यसको रिसमा म उपेन्द्र यादवको साथ छाडेर जेपी गुप्तासँग गएको थिए ।’
तर त्यहाँ धेरै समय उहाँ रहनु भएन । पहिलो संविधान सभा भंग भएपछि उपेन्द्र यादवले सबितालाई बोलाएर पार्टीमा फर्किन आग्रह गर्नुभएको थियो । सबिता यादव भन्नुहुन्छ, ‘उपेन्द्र सरले मलाई भेटेर तपाई कहाँ भटकि रहनु भएको छ, तपाई यति राम्रो संगठन बनाउनु भएको छ, आन्दोलनमा तपाईको भूमिका छ, पार्टीले तपाईलाई मान्न सम्मान दिएकै छ अनि किन यताउती गर्नुहुन्छ आउनुस् पार्टीमा भनि भन्नुभएको थियो त्यसपछि म पुनः उपेन्द्र सरको साथमा काम गर्न थाले ।’ सानो रिसले आफू ठूलै कदम उठाएको कुरामा सबितालाई महसुस भएको थियो । पार्टीमा फर्केदेखि हालसम्म उहाँ त्यही हुनुहुन्छ ।
२०८४ को चुनावको तयारीमा उहाँ लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘पार्टीले टिकट दियो भने म कोशी प्रदेश सभामा चुनाव लड्छु त्यसको तयारीमा लागेको छु ।’ २०६४ मा बन्द गर्नुभएको क्लिनिक हालसम्म सञ्चालन गर्नुभएको छैन । उहाँ फुलटाइम राजनीतिमा लाग्नु भएको छ । खाना खाएर घरबाट निस्केपछि सधै राती घर फर्किनु हुन्छ । जनता तथा पार्टीको काममा उहाँको दिन बित्छ । समाजमा हुने झैझगडाको पञ्चायती गर्नुदेखि लिएर जनताको काम लिएर सिडियो, एसपीलगायतको कार्यालयमा उहाँ धाइरहनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘मलाई जनताको काम गर्न निकै आनन्द आउँछ ।’
साँस रहेसम्म राजनीति नै गर्ने चाहना सबिताको छ । जिउँदा रहेसम्म जनताका लागि संघर्ष गर्ने चाहना उहाँको छ । पार्टीले कसरी मूल्यांकन गर्छ त्यो पार्टीको काम हो तर मलाई समाजले कसरी मूल्यांकन गरिरहेको छ त्योसँग मलाई मतलब छ र त्यसैको आधारमा अहिलेसम्म राजनीतिमा टिकेको छु, उहाँले भन्नुभयो, ‘राजनीतिमा जनताभन्दा ठूलो कोही हुँदैन ।’ सबिता योग शिक्षक पनि हुुनुहुन्छ । सधै विहान चार बजे गाउँमा योग सिकाउनु हुन्छ । कहिले काही योगका लागि बाहिर जिल्ला पनि उहाँलाई बोलाउँछन् ।
परिवार
बुवा मोतीलाल यादव र आमा दुखनीदेवी यादवका छोरी सबिता सात दाजुभाइ तथा दिदी बहिनी हुनुहुन्छ । उहाँका दुई जना दिदी सीता यादव, गीता यादव हुनुहुन्छ भने दुई जना बहिनी रीता र कविता हुनुहुुन्छ । दाजु महेन्द्रप्रसाद यादव हुनुहुन्छ भाइ डा.विरेन्द्र यादव हुनुहुन्छ । दाजु महेन्द्र राजनीतिमा हुनुहुन्छ भने विरेन्द्र डाक्टर हुनुहुन्छ ।
सबिताका चार जना छोराछोरी छन् । डा.मञ्जु यादव जो बंगलादेशबाट एमबीबीएस पढ्नु भएको छ । अहिले उहाँ आफ्नो श्रीमानसँगै पर्साको नेशनल मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । छोरा डा.शेखर यादव पनि बंगलादेशबाट डाक्टरी नै पढ्नु भएको छ । छोरी पुजा यादव पोखरा युनिभर्सटीबाट कम्प्युटर इन्जिनियरिङको फाइनल दिनुभएको छ भने छोरी प्रियंका यादव सीए बढ्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया