पूर्व राजपाले साथ नदिएको भए न गठबन्धन बन्थ्यो, न सरकार

यो गठबन्धनमाथि अरु पाँच दलको जति अधिकार छ, त्यति नै अधिकार नेपाल समाजवादी पार्टीको पनि हो । लोकतान्त्रिक समाजवादी पार्टी पनि गठबन्धनका लागि आधिकारिक दल हो । सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन जनाएको हो ।

–महेन्द्रराय यादव
अध्यक्ष, नेपाल समाजवादी पार्टी,-

डा.बाबुराम भट्टराई र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले माआवादी केन्द्रसँग चुनावी तालमेलका लागि एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने निर्णय गरेको छ । नेसपा पाँच दलीय गठबन्धनमा सहभागी नभएपछि माओवादी केन्द्रसँग गठबन्धन हुने निश्चित भइसकेको छ । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दुवै पक्षले दल दर्ता पनि गराई सकेको छ । आआफ्नो चुनावी तयारी पनि सुरु गरिसकेका छन् । नेसपा चुनावमा कसरी भाग लिँदैछ, के छ तयारी, जसपासँग अलग हुनुको कारण लगायतका विषयमा सहारा टाइम्सका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं सांसद महेन्द्रराय यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा दल दर्ता गरेका छन्, खास यसको उद्देश्य के हो ?
–यसको उद्देश्य चुनावी गठबन्धन हो । माओवादी केन्द्र र हाम्रो नेपाल समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको हो । चुनावमा सीट तालमेल गरेर नै चुनाव लड्ने सहमति भएपछि एउटै चुनाव चिन्ह किन नराख्ने भनेर हामीले एउटा चुनाव चिन्ह रोजेका हौं । दुईटा चुनाव चिन्ह भएपछि मतदाता तथा पार्टीका कार्यकर्तालाई पनि अन्योल भएपछि हामीले जाने बुझेर नै एउटै चुनाव चिन्ह लिने निर्णयमा पुगेका हौं ।

यो त एकीकरणकै लाइन होला नि होइन ?
–होइन, अहिले एकीकरणको कुनै कुरा भएको छैन । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्र विल्कुल अलग अलग पार्टी हुन् । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको विचार र सिद्धान्त फरक फरक रहेका छन् । हरेक कुरामा दुवै दल फरक रहेका कारण अहिले दुवै दलको बीचमा एकीकरणको कुनै सम्भावना छैन । भविष्यमा के हुन्छ त्यो कसैले भन्न सक्दैन । चुनावी प्रयोजनका लागि मात्र दुवै दल एक ठाउँमा आएका हुन् । तर माओवादी केन्द्र र नेसपा दुई अलग अलग पार्टी हो ।

बाबुराम भटट्राई पहिला माओवादीमा लामो समय काम गरिसक्नु भएको र केही कारणले अलग हुनु भएको थियो । अहिले त्यही पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने भएपछि धेरैले भन्न थालेका छन् कि माओवादी केन्द्र र नेसपाबीच एकीकरण नै हुन्छ, यसमा तपाईको बुझाई के छ ?
–हो, मान्छेले त्यही कारणले मात्र आशंका गरिरहेका छन् । माओवादीमा बाबुराम भटट्राईले काम गर्नु भएको कारण पुनः त्यही दलसँग एकीकरण गर्ने हो कि धेरैलाई लाग्न सक्छ तर कुरा त्यस्तो होइन । बाबुराम भट्टराईले माओवादी धेरै पहिला नै त्यागि सक्नु भएको हो । माओवादी त्यागेर नयाँ शक्ति बनाउनु भयो । नयाँ शक्तिबाट समाजवादी पार्टी बनाउनु भयो । समाजवादी पार्टीबाट जनता समाजवादी पार्टी बनाउनु भयो । अहिले नेपाल समाजवादी पार्टी बनाउनु भएको छ । माओवादी केन्द्र छाडेको धेरै भइसकेको छ । त्यसैले त्यहाँ जाने सम्भावना धेरै कम छ ।

पाँच दलीय गठबन्धनमा जाने तयारी तपाईहरुको थियो तर माआवादीसँग गठबन्धन गर्नुभयो यस्तो किन ?
–पाँच दलीय गठबन्धनमा जाने कुरा होइन । हामी त्यो गठबन्धनका संस्थापक हौं । त्यसमा हामीलाई बस्ने अधिकार बन्छ । यो पाँच दलीय गठबन्धन बनाउने बेलामा पूर्व राजपाका केही नेताहरुले साथ नदिएको भए न गठबन्धन बन्थ्यो, न यो सरकार नै बन्थ्यो । त्यसैले यो गठबन्धनमाथि अरु पाँच दलको जति अधिकार छ, त्यति नै अधिकार नेपाल समाजवादी पार्टीको पनि हो । लोकतान्त्रिक समाजवादी पार्टी पनि गठबन्धनका लागि आधिकारिक दल हो । सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन जनाएको हो । प्रधानमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि मतदान गरेको हो । त्यस हिसाबले लोसपा पनि सत्ताको अंश हो र त्यो हिसाबले लोसपा पनि गठबन्धनको एक हिस्सा हो तर कसैले गठबन्धनमा जानेबाट रोकि रहेका छन् । सत्ता गठबन्धनभित्रै निषेधको राजनीति सुरु भएको हो । लोकतन्त्रमा निषेधको राजनीतिले कसैलाई लामो समय कल्याण भएको छैन । यद्यपी, अझैपनि पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । सम्भवतः हामी पनि त्यसमा सहभागी हुन्छौं । त्यसका लागि वतावरण बनाउने काम भइरहेको छ ।

बडो महेनतका साथ तपाईले जसपा गठन गर्नुभएको थियो तर त्यसलाई छाडेर नेपाल समाजवादी पार्टी गठन गर्नुभयो, यो कसरी भयो ?
–यो जसपा निर्माणमा सबभन्दा बढी मेहनत मैले गरेको छु । सुरुमा तत्कालिन राजपा नेपालसँग एकीकरण गराउँदाको अवस्था होस् या पछिल्लो समय जसपाबाट महन्थ ठाकुर अलग भएको अवस्था होस् दुवै परस्थितिमा मेरो महत्वपूर्ण भूमिका थियो । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यस्तो परस्थिति सृजना गर्दिनु भयो कि सबै भताभुङ भयो । जसपा नेपाल गठन भएको बेला हामीले जुन कुरा उठाएका थियौं, त्यो कुरा कार्यान्वयन भएन । कतिपय कुराहरु त विधानमा पनि समावेश गरियौ तैपनि कार्यान्वयन भएन । जसपाको विधानमा दुईजना अध्यक्षको व्यवस्था गरिएको छ । एकजना अध्यक्ष महन्थ ठाकुर हुनुहुन्थ्यो । उहाँले छाडेर गइसकेपछि त्यो ठाउँमा अर्को अध्यक्ष राख्नुपर्छ भनि हामीले पटक पटक कुरा उठायौं ।

एउटा अध्यक्षको पद खाली छ, त्यहाँ जनजातिबाट अशोक राईलाई राखौं । तर उहाँ आफूबाहेक अर्को अध्यक्ष राख्न चाहनु भएन । पार्टी गठन भएको दुई वर्ष हुन लागेको छ । पार्टीको समायोजन पनि भएन । कार्यविभाजन भएन । यी सबै कुरा उठाउँदा उहाँलाई मन परेन । पार्टीमा स्वेच्छाचारी ढंगबाट सञ्चालन हुन थाल्यो । उपेन्द्र यादवको आगाडि कोही बोल्न मानेनन् । यदि कसैले बोल्यो भने उहाँलाई सिधै कारवाही अवस्था सृजना भयो । उपेन्द्र यादवले पार्टीभित्र भय र त्रासको अवस्था सृजना गर्न थाल्नुभयो । स्थानीय निर्वाचनको टिकटमा नै धाँधली भयो । चुनावमा माथिबाट नै निर्देशन दिएर पूर्व राजपाका नेताहरुलाई हराउने काम भयो । उपेन्द्र यादवले वीरगञ्जमा गुटको भेला बोलाउनु भयो । त्यो गुटको भेलाका कारण पार्टी विभाजन नहोस् भनि हामीले धेरै प्रयास गरियौं तर त्यहीको बैठकले पार्टी विभाजन भयो ।

हामीले त्यो भेलाबाट पार्टी विभाजन नहोस् भनि छलफल र संवादका लागि आह्वान गर्यौं । हामी छलफल र संवादका लागि तयार पनि भयौं । हामी अलग भएर जाने, वा कुनै छुट्टै गठन बनाउने निर्णय पनि गरेनौ ।

वीरगञ्जमा बैठक तय भइसकेपछि तपाईहरुले पनि आफ्नो गुटको भेला जडीबुटीमा बोलाउनु भयो नि होइन ?
–होइन, त्यो हाम्रो गुटको भेला थिएन । हामीले पार्टीका सबै नेतालाई जानकारी गराएर त्यो भेला गरेका थियौं । हामीले सबैलाई बोलाएका थियौं । पार्टीभित्र देखिएको विकृति, विसंगति बारे पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी गराउन त्यो भेला राखिएको थियो । त्यसलाई गुटभेला भन्न मिल्दैन । हामीले त्यो भेलाबाट पार्टी विभाजन नहोस् भनि छलफल र संवादका लागि आह्वान गर्यौं । हामी छलफल र संवादका लागि तयार पनि भयौं । हामी अलग भएर जाने, वा कुनै छुट्टै गठन बनाउने निर्णय पनि गरेनौ । त्यो दिन हामीले प्रस्तुत गरेको दस्तावेज हेर्दा पनि हुन्छ तर उपेन्द्र यादवले वीरगञ्जको बैठकबाट कुनै स्पष्टीकरणको मौका समेत नदिइकन निरकुंश शैलीमामा हामीलाई कारावही गर्नु भयो । उहाँले जसपाको ढोका हाम्रो लागि बन्द गर्नुभयो । बन्द गरेपनि ढोकामै हामी धेरै दिनसम्म कुरेर बस्यौं तर भित्रबाट बोलाउँदा पनि बोलाएनन् । अनि बाध्य भएर हामी आफ्नो बाटो लाग्यौं । उपेन्द्र यादवले नै जसपा विभाजन गर्ने परस्थिति निर्माण गर्नुभयो ।

जडिबुटीको भेला छाडेर आफ्ना कुरा राख्न वीरगञ्ज बैठकमा जाँदा हुन्थ्यो नि किन जानु भएन त्यहाँ ?
–पहिलो कुरा त त्यो बैठकको बारेमा हामीलाई कुनै जानकारी नै दिइएन । मिडियाबाट हामीले जानकारी पाएका थियौं । त्यसको आधारमा पनि हामी जान सक्थ्यौं तर अवस्था सहज थिएन । यदि हामी बैठकमा गएको भए त्यहाँ मुठभेडको अवस्था सृजना हुन्थ्यो । एक त हामीलाई कुरा राख्ने मौका नै दिइदैन्थ्यो, हामीले जवर्जस्ती कुरा राख्दा त्यहाँ हामीमाथि हमला गराउने योजना पनि थियो । सुरक्षाको कारणले पनि हामी गएनौं । पार्टीमा आन्तरिक विवाद छ । त्यसलाई समाधान गर्ने इच्छा भएको भए उपेन्द्र यादवले काठमाडौँमा बैठक राख्नु पर्ने थियो । तर उहाँले जानी जानी वीरगञ्ज लग्नुभयो बैठक । जुन बैठकमा हामीलाई बोलाइएको थिएन ।

तपाईहरुले गर्नुभएको जडीबुटीको भेलामा अपेक्षाभन्दा धेरै कम नेताको उपस्थिति थियो र त्यही भएर पुनः उपेन्द्र यादवसँग छलफल, संवादको प्रस्ताव सार्नुभयो, यदि तपाईहरुसँग बहुमत पुगेको भए त्यही दिन पार्टी विभाजन गर्नुहुन्थ्यो होइन ?
–जडीबुटीको बैठकसम्म पार्टी विभाजनको हाम्रो कुनै योजना थिएन । पार्टीमा जे भइरहेको छ, त्यसको यथार्थ जानकारी गराउन हामीले जडीबुटीको बैठक बोलायौं । त्यहाँ बहुमत वा अल्पमत सदस्य उपस्थित गराउने कुनै योजना थिएन । जति उपस्थित हुनुहुन्थ्यो । त्यही बीचमा हामीले आफ्नो कुरा राख्यौं । त्यहाँ उपस्थित नेताहरुले पनि एकपटक उपेन्द्र यादवसँग छलफल गर्न सल्लाह दिनु भएको थियो । हामीले प्रयास पनि गर्यौं त्यो सम्भव भएन र बाध्य भएर हामी नयाँ पार्टी बनाउने सोचमा पुग्यौं ।

एकल अध्यक्ष प्रणाली भएको पार्टीमा बस्न तपाईलाई किन गाह्रो भएका थियो ?
–पार्टीमा एकजना अध्यक्ष राख्ने कि दुईजना राख्ने त्यो विषय महाधिवेशनबाट टुगों लगाउ भनिएको थियो । जसपा निर्माण हुँदा दुईजना अध्यक्ष राख्ने काम भयो । त्यसको व्यवस्था विधानमा पनि गरियो । केही समय दुईजना अध्यक्ष रहे पनि । जब एउटा अध्यक्ष खाली भएपछि त्यहाँ अर्को अध्यक्ष राख्नुपथ्र्यो । दुईजना अध्यक्षको व्यवस्था विधानमै थियो । या कि विधान संशोधन गर्नुपथ्र्यो या विधानमा भएको व्यवस्था लागु गर्नुपथ्र्यो । महाधिवेशनसम्म दुईजना अध्यक्ष राख्नुपथ्र्यो । तर राखिएन ।

दुईजना अध्यक्ष भएको पार्टी नेपालमा चलेन, यस अवस्थामा नेपाल समाजवादी पार्टी गठन गरेर दुईजना अध्यक्ष राख्नुभयो किन ?
–एक अध्यक्ष भएको पार्टी पनि पटक पटक फुटेका छन् । दुई अध्यक्ष भएका पार्टी पनि फुटेका छन् । पार्टी फुट्नु भनेको एक वा दुई अध्यक्ष मुख्य कारण होइन । एकजना अध्यक्ष पार्टीमा निरकुंश शैली अपनाउन थाले भने त्यो पनि फुट्छ । दुईजना अध्यक्षमध्ये एउटा वा दुवै निरकुंश भए त्यो पनि विभाजन हुन्छ तर जो पार्टी विधि र पद्धतिबाट सञ्चालित हुन्छ त्यो पार्टी विभाजन हुँदैन । उपेन्द्र यादव एकल अध्यक्ष भएकै बेला उहाँको पार्टी पटक पटक विभाजन भएको छ किन ? पार्टी विभाजन एकल अध्यक्ष वा दुईजना अध्यक्ष भएर मात्र हुँदैन ।

तपाईहरुले दुईजना अध्यक्ष राख्नु भएको छ त्यो महाधिवेशनसम्मका लागि मात्र हो कि महाधिवेशनपछि पनि दुईजना अध्यक्ष रहन्छन् ?
–जसपाबाट विभाजन भएको कारणले जसपाकै विधान अनुसार त्यसलाई हामीले पुनर्गठन गरेका छौं । सोही विधान अनुसार दुईजना अध्यक्ष राखेका छौं । एकजना संघीय परिषद्का अध्यक्ष राख्न बाँकी छ । चुनावअघि वा पछि जनजातिबाट एकजना संघीय परिषद्का अध्यक्ष राख्छौं । महाधिवेशनबाट हामीले निर्णय गर्छौ कि यो पार्टीमा एकजना अध्यक्ष रहने कि दुईजना रहने । महाधिवेशनबाट हामीले सबै कुराको टुगों लगाउँछौं ।

यसपाली चुनाव लड्नु हुन्छ कि के छ तयारी ?
–अब एकपटक मात्र चुनाव लड्ने सोच बनेको छ । यो कुरा मैले जनतालाई पनि भनि सकेको छु । यो मेरो अन्तिम चुनाव हुनेछ । त्यसपछि अरुलाई सघाउँछु तर म चुनाव उठिन । यसपछि मेरो उमेरले पनि साथ दिँदैन । आफ्नो क्षेत्रको जनताका लागि मैले धेरै गरेको छु । जनताको दुखसुखमा साथ दिएको छु । जनताले पनि मलाई मन पराएको छ त्यसैले यसपटक मात्रै चुनाव उठ्छु र त्यसको तयारी सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया