लोसपाले गठन गरेको वार्ता समितिको पार्टीमै विरोध

काठमाडौँ असोज ८ गते । लोकतान्त्रिक समाजवादी पाटी नेपालका नेता डा.सुरेन्द्रकमुार झाले एमालेसँग गठबन्धनका लागि वार्ता गर्न पार्टीबाट गठन गरिएको वार्ता समितिको विरोध गर्नुभएको छ ।

उहाँले एमाले मात्र होइन, सत्ता गठबन्धनसँग पनि कुनै सहकार्य, गठबन्धन वा तालमेल गर्न नहुने पार्टीलाई सुझाव दिनुभएको छ । नागरिकता विधेयक विरोधी, संघीयता र समवेशितालाई अस्विकार गर्ने एवं मधेशी राष्ट्रियतालाई अस्वीकार गर्नेसँग कुनै प्रकारको चुनावी गठबन्धन गर्न नहुने कुरामा जोड दिनुहुँदै उहाँले बरु मधेश केन्द्रीत दलसँग सहकार्य गर्न पर्ने सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘लोसपा नेपाल मधेश केन्द्रित राजनितिक दलहरुसँग सहकार्य गर्न सक्छ । मधेश प्रदेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा र मधेशको सम्पूर्ण जिलाहरुमा समेत लोसपा नेपालले उमेदवारी दिनु पर्दछ ।’

ठूला भनिने पार्टीहरु काँग्रेस, एमाले र माओवादीहरुको विपक्षमा संघर्ष गरेरै मधेश केन्द्रित पार्टीहरु स्थापित भएको उल्लेख गर्दै उहाँले आफूहरुका लागि सत्ताधारी गठबन्धन या एमाले जोसुकैसँग चुनावी गठबन्धन भएमा मधेशी दलहरुको आधारभूत मूल्य मान्यता सकिने निश्चित रहेको बताउनुभयो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमालेसँग चुनावी गठबन्धनका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गर्नुभएको छ । वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणीहरु सदस्य अनिलकुमार झा, सवेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया