मधेशमा गठबन्धन दलमध्ये कसको शक्ति कति ?

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भइसकेपछि दलहरु आफ्नो उम्मेदवार कसरी चयन गर्ने त्यसको तयारीमा लागेका छन् । सत्ताधारी पाँच दलीय गठबन्धनले देशैभर चुनावी गठबन्धन गरेर निर्वाचनमा भाग लिने निर्णय गरि सकेको छ ।

त्यसका लागि गठबन्धनले आन्तरिक रुपमा छलफल पनि सुरु गरि सकेको छ । तर गठबन्धनमा रहेका सबै दलको नजर मधेश प्रदेशतिर नै रहेको छ । मधेश प्रदेशको मतले नै संसदमा कुन दल बलियो हुने कुन दल कमजोर हुने निर्धारण गर्ने भएका हुनाले सबैको ध्यान सोही प्रदेशतिर सोझिएका छन् ।

जुन दलको मत मधेशमा कम आउँछन्, त्यही दल संसदमा कमजोर हुन्छ । जुन दलले त्यहँबाट बढी मत प्राप्त गर्छन् त्यही दल संसदमा बलियो हुने गरेको विगतले देखाएको छ । त्यही भएर त्यही आफ्नो कब्जा कसरी जमाउन सकिन्छ ।

त्यसमा सबैको ध्यान गएको छ । त्यसो भए मधेश प्रदेशमा कुन दलको शक्ति कस्तो छ, त्यसको बारेमा विश्लेषण गरौं । २०७४ को प्रतिनिधिसभा चुनावमा काँग्रेस मधेश प्रदेशमा दोस्रो स्थान ल्याएको थियो भने पहिलो स्थान जसपाकै थियो ।

तेस्रो स्थान माओवादी केन्द्रले ल्याएको थियो भने चौथो स्थानमा एमाले थियो । तर अहिले २०७९ को स्थानीय चुनावमा गठबन्धन दलको मुख्य घटक काँग्रेस पहिलो स्थानमा छ त्यसले गर्दा काँग्रेसको डिमाण्ड हाइ भएको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा काँग्रेसबाट ६ जना सांसदले मात्र चुनाव जित्नु भएको थियो । तर जसपा नेपालले १० जना सांसद जिताएको थियो । १० जनामध्ये अहिले दुईजना लोसपातिर गइसकेका छन् । हाल जसपासँग प्रत्यक्ष जितेका आठजना सांसद मात्र छन् ।

मधेश प्रदेशमा माओवादी केन्द्रका पाँचजना सांसदले जित्नु भएको थियो । त्यसमध्ये प्रभु साह एमालेतिर गइसक्नु भएको छ । माओवादी केन्द्रसँग हाल चारजना सांसद मात्र हुनुहुन्छ । एमालेले दुईजना सांसद जितेको थियो । ती दुईजना एमालेसँग नै हुनुहुन्छ । अर्थात नेकपा एकीकृत समाजवादी पार्टीसँग मधेश प्रदेशमा एकजना पनि सांसद हुनुहुन्न ।

प्रदेशसभामा उसको १३ जना प्रदेश सांसद हुनुहुन्छ ।

मधेश प्रदेशमा भएको २०७४ र २०७९ को स्थानीय तहको चुनावमा काँग्रेस एक नम्बरको पार्टी देखिन्छ । प्रतिनिधिसभा २०७४ को चुनावमा दोस्रो स्थानमा सिमित भएपनि दुईटै स्थानीय तहको चुनावमा पहिलो स्थान हासिल गरेको छ । २०७४ को स्थानीय चुनावमा काँग्रेसले ४० वटा जितेको थियो भने २०७९ मा ४६ वटा पालिका जितेका छन् ।

मधेश प्रदेशको स्थानीय तहमा जसपा दोस्रो भएको छ । उसले २०७४ को स्थानीय तहको चुनावमा जसपाले २६ सीट जितेको थियो भने २०७९ मा भएको स्थानीय चुनावमा २५ वटा सीट जितेको छ । प्रतिनिधिसभामा जसपा पहिलो काँग्रेस दोस्रो, स्थानीय तहमा काँग्रेस पहिलो जसपा दोस्रो । अर्थात मधेश प्रदेशमा काँग्रेस र जसपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ को स्थानीय तहको चुनावमा माओवादी केन्द्रले २१ पालिका जितेको थियो भने एमालेले १८ वटा जितेको थियो । २०७९ मा माओवादी केन्द्रलाई निकै ठूलो ह्रास भएको छ ।

उसले नौवटा पालिका मात्र जितेको छ । नेकपा (एस) ले ६ वटा पालिका जितेका छन् । २०७४ को स्थानीय तहको चुनावमा मधेश प्रदेशको आठ जिल्लामध्ये सातवटा जिल्लामा काँग्रेसले सबभन्दा बढी मत ल्याएको थियो ।

२०७९ को स्थानीय तहको चुनावमा पनि गठबन्धन दलका काँग्रेसले दुई हजार १९६ जनप्रतिनिधि जिताएर मधेश प्रदेशमा पहिलो स्थानमा कायम छ भने जसपा एकहजार २०८ जनप्रतिनिधि जिताएर दोस्रो स्थान कायम गरेको छ ।

२०७४ को प्रतिनिधिसभा चुनाव र २०७४ तथा २०७९ को स्थानीय तहको चुनावमा गठबन्धन दलले प्राप्त गरेको मतको आधारमा सीट बाँडफाँड भयो भने काँग्रेस र जसपाबीच ठूलो प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभा र स्थानीय चुनाव
सप्तरी
सप्तरीमा काँग्रेसले एउटा सीट जितेको छ भने जसपाले दुई सीट जितेको छ । सप्तरी–१ मा जसपाका सूर्यनारायण यादवले प्रतिनिसभा सदस्यमा जित्नु भएको छ । माओवादी दोस्रो र काँग्रेस तेस्रो स्थान ल्याएका छन् ।

सप्तरी–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव जित्नु भएको छ । त्यहाँ पनि माओवादी प्रतिस्पर्धामा छ भने काँग्रेसले तेस्रो स्थानमा रहेको छ । सप्तरी–३ मा लोसपाका चन्द्रकान्त चौधरी जित्नु भएको छ । र प्रतिस्पर्धामा काँग्रेसका दिनेश यादव हुनुहुन्थ्यो ।

सप्तरी–४ मा मात्र काँग्रेसका तेजुलाल चौधरी प्रतिनिधिसभा सदस्यमा चुनाव जित्नु भएको थियो । त्यहाँको प्रतिस्पर्धामा लोसपा थियो भने जसपा छैठो स्थानमा सिमित भएको थियो । त्यस्तै सिरहामा गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र जसपाले १–१ सीट जित्न् भएको छ । एमालेका लिला श्रेष्ठ जित्नु भएको छ ।

सप्तरी मधेशवादी दलको गढ मानिन्छ । २०७४ को स्थानीय चुनावमा त्यहाँ पनि काँग्रेस चारलाख भन्दा बढी मत ल्याएर पहिलो भएको थियो भने जसपा दुई लाख भन्दा बढी मत ल्याएर दोस्रो र एमाले तेस्रो, माओवादी केन्द्र चौथो स्थानमा रोकिएको थियो ।

सिरहा
सिरहा–१ बाट काँग्रेसका प्रदीप गिरीले प्रतिनिधिसभा सदस्यमा चुनाव जित्नु भएको थियो । उहाँको निधन भइसकेको छ । उहाँको प्रतिस्पर्धा एमालेका गंगाराम यादवसँग थियो भने जसपा तेस्रो स्थानमा सिमित थियो । सिरहा–२ बाट माओवादी केन्द्रका सुरेशचन्द्र दास यादवले जित्नु भएको छ भने जसपा त्यहाँ प्रतिस्पर्धामा थियो भने काँग्रेस तेस्रो स्थानमा समिति थियो ।

सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठले जित्नु भएको छ । जसपा प्रतिस्पर्धा थियो भने काँग्रेस तेस्रो स्थानमा सिमित थियो । सिरहा–४ मा तत्कालिन राजपाबाट राजकिशोर यादव चुनाव जित्नु भएको छ । हाल उहाँ जसपामा हुनुहुन्छ । त्यहाँ माओवादी केन्द्र प्रतिस्पर्धामा थियो भने काँग्रेस तेस्रो स्थानमा थियो ।

सिरहा मधेश आन्दोलनको केन्द्र विन्दु हो । त्यहाँ पनि जसपा पछाडी परेको छ । जसपाले स्थानीय तहमा तीनलाख ५४ हजार मत ल्याएर तेस्रो स्थानमा सिमित भएको थियो भने एमालेले चारलाख ३८ हजार मत ल्याएर पहिलो भएको थियो । काँग्रेसले तीनलाख ७८ हजार मत ल्याएर दोस्रो भएको थियो । माओवादी केन्द्र चौथो स्थानमा पुगेको थियो ।

धनुषा
धनुषा–१ मा माओवादी केन्द्रका मातृका यादव जित्नु भएको छ भने जसपा प्रतिस्पर्धामा थियो र काँग्रेस तेस्रो स्थानमा सिमित थियो । धनुषा–२ जसपाले जिते पनि जितेका सांसद लोसपामा गइसक्नु भएको छ । जसपासँग त्यहाँ माओवादी केन्द्रबाट रामचन्द्र झाले प्रतिस्पर्धा गर्नुभएको थियो । रामचन्द्र झा हाल नेकपा (एस) मा हुनुहुन्छ ।

त्यहाँ पनि काँग्रेसले तेस्रो स्थान हासिल गरेको थियो । धनुषा–३ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनाव जित्नु भएको छ । काँग्रेसका नेता विमलेन्द्र निधि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । माओवादी केन्द्रका रामसिंह यादव तेस्रो स्थानमा हुनुहुन्थ्यो । रामसिंह यादव एमालेमा प्रवेश गरिसक्नु भएको छ ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठ जित्नु भएको छ भने काँग्रेस प्रतिस्पर्धामा थियो । जसपा तेस्रो स्थानमा थियो ।
२०७४ को स्थानयि चुनावमा धनुषामा मात्र एमालेले काँग्रेसलाई टपेको थियो । धनुषामा जसपाको मत चौथो स्थानमा छ उसले स्थानीय तहमा एकलाख ९९ हजार मत ल्याएको थियो भने काँग्रेसले चारलाख भन्दा बढी मत ल्याएको थियो । माओवादी केन्द्रले दुईलाख भन्दा बढी मत ल्याएको थियो ।

महोत्तरी
महोत्तरीमा माओवादी केन्द्र र जसपाले १–१ सीट जितेका छन् । अरु सीट दुईटा सीट लोसपाले हात पारेको छ । महोत्तरी–१ मा माओवादी केन्द्रका गिरीराजमणी पोखरेलले जित्नु भएको छ भने जसपा प्रतिस्पर्धामा थियो र काँग्रेस तेस्रो स्थानमा सिमित थियो ।

महोत्तरी–२ मा लोसपाका शरतसिंह भण्डारी जित्नु भएको छ । काँग्रेसले प्रतिस्पर्धा गरेको थियो र माओवादी केन्द्रको तेस्रो स्थान थियो । महोत्तरी–३ बाट लोसपाका अध्यक्ष महन्थ ठाकुरले चुनाव जित्नु भएका छ । प्रतिस्पर्धामा एमाले थियो । काँग्रेस र जसपाले महन्थ ठाकुरलाई नै सघाएको थियो ।

महोत्तरी–४ मा जसपाका डा.सुरेन्द्र यादवले चुनाव जित्नु भएको छ । काँग्रेस प्रतिस्पर्धामा थियो भने माओवादी केन्द्र तेस्रो स्थानमा सिमित थियो ।

महोत्तरीको स्थानीय तह २०७४ को चुनावमा माओवादी दुई लाख ५८ हजार मत ल्याएर दोस्रो, एकलाख ७० हजार मत ल्याएर जसपा तेस्रो भएको थियो । काँग्रेसले तीनलाख भन्दा बढी मत ल्याएर पहिलो भएको थियो । एमाले चौथो स्थानमा सिमित थियो ।

सर्लाही
सर्लाहीमा काँग्रेस, माओवादी केन्द्र र जसपाले १–१ सीट जितेका छन् । राजपाबाट प्रमोद साहले चुनाव जित्नु भएको छ । प्रमोद साह हाल जसपामा हुनुहुन्छ । त्यहाँ एमालेले प्रतिस्पर्धा गरेको थियो भने काँग्रेस तेस्रो स्थानमा सिमित थियो । सर्लाही–२ तत्कालिन राजपाबाट महेन्द्रराय यादव चुनाव जित्नु भएको थियो ।

उहाँ हाल जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गर्नुभएको छ । सो क्षेत्रमा काँग्रेसका जंगीलाल राय यादव प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने माओवादी केन्द्र तेस्रो स्थानमा हुनुहुन्थ्यो ।

सर्लाही–३ मा माओवादी केन्द्रबाट रामेश्वर राय यादवले चुनाव जित्नु भएको छ । त्यहाँ काँग्रेस प्रतिस्पर्धामा थियो भने जसपा चौथो स्थानमा थियो । सर्लाही–४ मा काँग्रेसबाट डा.अमरेशकुमार सिंह चुनाव जित्नु भएको छ भने लोसपा प्रतिस्पर्धामा थियो । जसपाले लोसपालाई नै सघाएको थियो । माओवादी केन्द्रको उम्मेदवारको उम्मेदवारी रद्द भएको थियो ।

सर्लाहीमा जसपा सबभन्दा बढी कमजोर देखिन्छ । काँग्रेसले स्थानीय तह २०७४ मा चारलाख २८ हजार मत ल्याउँदा जसपा दुईलाख ३५ हजार मत ल्याएर चौथो स्थानमा सिमित भएको थियो । माआवादी दोस्रो भएको थियो ।

रौतहट
रौतहटमा गठबन्धन दलमध्ये काँग्रेसले दुई सीट जितेको छ अरु दलको अवस्था शुन्य छ । माओवादी केन्द्रबाट जित्नु भएका प्रभु साह पनि एमालेमा गइसक्नु भएको छ । रौतहट–१ मा लोसपाबाट अनिलकुमार झा चुनाव जित्नु भएको छ ।

त्यहाँ काँग्रेसले प्रतिस्पर्धा गरेको थियो भने माओवादी केन्द्र तेस्रो स्थानमा सिमित थियो । रौतहट–२ मा काँग्रेसका मोहम्मद अफताव आलमले चुनाव जित्नु भएको थियो । हाल उहाँ जेलमा छन् । सो क्षेत्रमा जसपाले प्रतिस्पर्धा गरेको थियो भने एमाले तेस्रो स्थानमा सिमित थियो ।

रौतहट–३ मा माओवादी जिते पनि जितेका सांसद एमालेमा गइसक्नु भएको छ । त्यहाँ काँग्रेसले प्रतिस्पर्धा गरेको थियो लोसपा तेस्रो स्थानमा थियो । रौतहट–४ मा काँग्रेसका नेता देवप्रसाद तिमिल्सिना चुनाव जित्नु भएको छ । त्यहाँ एमालेले प्रतिस्पर्धा गरेको थियो । लोसपा तेस्रो स्थानमा थियो ।

रौतहटमा जसपाले २०७४ को स्थानीय चुनावमा एकलाख ६६ हजार मत ल्याएर चौथो स्थानमा गएर बसेको थियो भने माओवादी केन्द्रले तीनलाख भन्दा बढी मत ल्याएर दोस्रो भएको थियो । काँग्रेस चारलाख भन्दा बढी मत ल्याएको थियो ।

बारा
बारामा काँग्रेसले एक, जसपाले दुई सांसद जितेका छन् । बारा–१ मा काँग्रेसका उमाकान्त चौधरीले चुनाव जित्नु भएको छ भने एमाले प्रतिस्पर्धामा थियो र तेस्रो स्थानमा लोसपा सिमित थियो । बारा–२ मा जसपाबाट रामसहाय यादव जित्नु भएको छ भने प्रतिस्पर्धामा काँग्रेस थियो भने माओवादी केन्द्र तेस्रो स्थानमा सिमित थियो ।

बारा–३ मा जसपाका रामबाबु यादवले चुनाव जित्नु भएको छ । एमाले प्रतिस्पर्धामा थियो भने काँग्रेस तेस्रो स्थानमा थियो । बारा–४ मा लोसपाका एकबाल मियाँ चुनाव जित्नु भएको थियो । एमालेले प्रतिस्पर्धा गरेको थियो भने काँग्रेस तेस्रो स्थानमा सिमित थियो ।

२०७४ को स्थानीय चुनावमा बारामा जसपा चौथो स्थानमा गएर समित थियो । त्यहाँ एमालेले तीन लाख ८६ हजार भन्दा बढी मत ल्याएर दोस्रो भएको थियो । माओवादी केन्द्र तेस्रो भएको थियो । त्यहाँ काँग्रेसले चारलाख ३९ हजार मत ल्याएको थियो ।

पर्सा
२०७४ को प्रतिनिधिसभा चुनावमा मधेशवादी दलको कब्जामा थियो पर्सा । त्यहाँ चारवटै दल जसपा र लोसपाले जितेका छन् । गठबन्धन दलमध्ये जसपाले मात्र तीनजना सांसद जिताएको छ ।

त्यसमध्ये एकजना लोसपामा गइसकेका छन् । पर्सा–१ मा जसपाबाट प्रदीप यादवले चुनाव जित्नु भएको छ भने काँग्रेस त्यहाँ प्रतिस्पर्धामा थियो । माओवादी केन्द्र तेस्रो स्थानमा थियो ।

पर्सा–२ मा जसपाबाट विमल श्रीवास्तव चुनाव जित्नु भएको छ । तर हाल उहाँ लोसपामा गइसक्नु भएको छ । त्यहाँ काँग्रेसले प्रतिस्पर्धा गरेको थियो भने तेस्रो स्थानमा माआवादी केन्द्र थियो ।

पर्सा–३ मा जसपाबाट हरिनारायण रौनियार चुनाव जित्नु भएको थियो । काँग्रेस प्रतिस्पर्धामा थियो र एमाले तेस्रो स्थानमा सिमित थियो । पर्सा–४ मा लोसपाका लक्ष्मणलाल कर्णले चुनाव जित्नु भएको थियो । काँग्रेस प्रतिस्पर्धामा थियो । माओवादी केन्द्र तेस्रो स्थानमा थियो ।

स्थानीय तह २०७४ को चुनावमा पर्सामा जसपाले तीनलाख भन्दा बढी मत ल्याएर दोस्रो स्थान कायम गरेको थियो । काँग्रेसले जसपाभन्दा थोरै बढी मत ल्याएको थियो स्थानीय तहमा ।

अर्थात प्रतिनिधिसभा र स्थानीय तहको मत हेर्दा त्यहाँ जसपा र काँग्रेसबीच टप प्रतिस्पर्धा छ । २०७९ को स्थानीय तहको चनुावमा पर्सामा माओवादी चौथो स्थानमा थियो भने एमाले तेस्रो स्थानमा । राष्ट्रिय जनमोर्चाले पाँचौ स्थानमा सिमित थियो ।

तपाईको प्रतिक्रिया