सप्तरी–२ को निर्वाचनः सत्ता गठबन्धनको उम्मेदवार ठाकुरमाथि उपेन्द्र यादव हावी

सप्तरी ८ गते । सप्तरी २ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एक्लै सत्ता गठबन्धनको उम्मेदवार जेपी ठाकुरमाथि भारी पर्नु भएको छ । एमालेले साथ दिएपछि उहाँ झन बलियो हुनु भएको छ । अरु क्षेत्रभन्दा सप्तरी २ नम्बरको चर्चा अलि बढी नै छ । त्यहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट सिके राउतले उम्मेदवारी दिएको कारण सो क्षेत्र चर्चामा रहेको छ । यी दुईजनाको चर्चाको बीचमा लोसपाका जयप्रकाश ठाकुर आझेलमा परेका छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतको चर्चा मात्र छ त्यहाँ तर उहाँको मत छैन । स्थानीय तहको चुनावमा सो क्षेत्रमा करिब पाँच हजार मत मात्र उहाँले ल्याउनु भएको थियो । स्थानीय तहको चुनावमा पनि जनमत पार्टीले लोसपाको मत काटेको थियो र आम चुनावमा पनि लोसपाकै मत काट्नेछ । जनमतले लोसपाको जति मत काट्नेछ, जसपाको मत त्यति नै बढ्ने त्यहाँका स्थानीय नेताहरुले आँकलन गरेका छन् ।

लोसपाका जयप्रकाश ठाकुर पहिला पनि त्यहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्नुभएको थियो । उपेन्द्र यादव चुनाव जित्नु भएको थियो भने दोस्रो स्थान माओवादीका उमेश यादवले ल्याउनु भएको थियो । तेस्रो स्थानमा जेपी ठाकुर हुनुहुन्थ्यो । त्यतिबेला जसपा र लोसपाबीच गठबन्धन थियो । तैपनि जेपी ठाकुर स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।

राजनीतिभन्दा व्यपारमा सक्रिय जेपी ठाकुर यसपटक लोसपाबाट टिकट लिएर नै सत्ता गठबन्धनको तर्फबाट चुनाव लड्नु भएको थियो । एमाले–जसपा गठबन्धनबाट अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिनु भएको छ । उहाँ हेवीवेटका नेता भएका कारण जेपी ठाकुर उहाँको अगाडी टिक्न नसक्ने धेरैको आँकलन रहेको छ ।

उपेन्द्र यादव चुनाव जित्ने सबैतिरबाट आँकलन भइरहेका छन् । स्थानीय तहमा सत्ता गठबन्धनभन्दा जसपा–एमाले गठबन्धनले ४३३ मत बढी ल्याएको छ ।

पाँच दलीय सत्ता गठबन्धनले सप्तरी २ को वडा तहमा ३३ हजार १८४, जसपा–एमाले गठबन्धनले ३३ हजार ७१७ र जनमत पार्टीले चारहजार ५४२ मत ल्याएको छ । सप्तरी २ मा जम्म ३७ वटा वडा रहेका छन् । वडा तहमा जसपाले १४ हजार ४०३, कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, माओवादी केन्द्रले नौ हजार ५३४, एमाले पाँच हजार ९५१, जनमत पार्टीले चार हजार ५४२, नेकपा (एस) ले दुई हजार ४०८ र राप्रपाले एकहजार ४८ मत ल्याएका छन् । स्थानीय तहको मत परिणाम हेर्दा जयप्रकाश ठाकुरलाई जित्ने सम्भावना कम रहेको छ । सप्तरी २ मा चारजना स्वतन्त्र सहित विभिन्न दलका १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

तपाईको प्रतिक्रिया