बेटी बचाउ, बेटी पढाउ कार्यक्रम भयो मुख्यमन्त्रीलाई घाँडो

जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य एवं मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई यसपटक चुनाव जित्न निकै जोखिम रहेको छ । बेटी बचाउ, बेटी पढाउ कार्यक्रमअन्तरर्गत भएको साइकल वितरणमा अनियमितता हुँदा त्यसको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो । सो कार्यक्रममा भ्रष्टाचार भएको पुष्टि आयोगले समेत गरिसकेको छ । यो घटनाले मुख्यमन्त्री राउतको चुनावमा सिधै असर परेको छ ।

उहाँका प्रतिपक्षी दलहरुले यो विषयलाई जोडतोडले उठाइरहेका छन् । बेटी बचाउ, बेटी पढाउ अभियानमा नै भ्रष्टाचार गर्ने व्यक्ति पुनः जितेपछि के के गर्ने हो भनि उहाँका प्रतिपक्षी दलहरु मतदाताहरुलाई भन्दै हिडेका छन् । त्यसले गर्दा यो चुनाव मुख्यमन्त्र राउतका लागि जोखिमपूर्ण रहेको पर्साको वीरगञ्जमा सर्वत्र चर्चाको विषय बनेको छ । पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका लागि एमाले–जसपाका साझा उम्मेदवार बन्नु भएका राउतका बेटी बचाउ, बेटी पढाउ कार्यक्रम घाँडो भएको छ । उहाँले चुनाव प्रचारको क्रममा यसको जवाफ दिँदा दिँदै हैरान हुनु भएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार शीशी कपुर मियाँ र हाम्रो नेपाली पार्टीका उम्मेदवार बनेका ओमप्रकाश सर्राफले चुनौती दिइ रहनु भएको छ । पर्सा १ (ख) का प्रदेश सभा सदस्यमा २० जनाले उम्मेदवारी दिएका छन् त्यसमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

जसपाबाट लालबाबु राउत, काँग्रेसबाट रामनारायण प्रसाद कुर्मी, जनमत पार्टीबाट शिवप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टी, नेपालबाट अंकुश पटेल, राप्रपाबाट विनयप्रसाद झा, नेपाल लोकतान्त्रिक पार्टीबाट हरिन्द्र प्रसाद कुर्मी, नेपाल सुशासन पार्टीबाट मनौवर हुसेनले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, कासिम मियाँ धोवी, श्यामप्रसाद गुप्ता, मुकेश साह सोनार, विशाल कुमार, रोगीन्द्र ठाकुर हजाम, जुनैद हुवारी, आफताब अहमद, शशीकपुर मियाँ, राकेश कुमार दुवे, रामरुप प्रसाद साह, पुन्देश्वर प्रसाद यादव र सन्तोष कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये ओमप्रकाश सर्राफ र शशी कपुर मियाँले मुख्यमन्त्री राउतलाई टक्कर दिइरहनु भएको छ । सर्राफ लौरो अभियानअन्तरर्गत हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनु भएको छ । तर उहाँले आफूलाई स्वतन्त्र उम्मेदवार नै भनिरहनु भएको छ । लौरो अभियान अन्तरर्गत आफूले लौरो चुनाव चिन्ह पाउनका लागि सो पार्टीबाट उम्मेदवारी दिएको तर आफू स्वतन्त्र उम्मेदवार नै रहेको दावी गर्नुभयो ।

नेता सर्राफ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट विद्रोह गरेर लौरो अभियानमा सामेल भएर चुनावमा उठ्नुभएको छ । उहाँ लोसपा वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष हुनुहुन्थ्यो । लामो समय सो पार्टीका रहेर काम गरेपनि उहाँलाई पार्टीले टिकट नदिए पछि उहाँ स्वतन्त्र उठ्नु भएको हो । त्यस्तै शशी कपुर मियाँ जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी बन्नुभएको हो ।

पर्सा १ (ख) मा जसपा–एमाले गठबन्धनबाट उम्मेदवार बनेका राउत, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका नेता रामनारायण प्रसाद कुर्मी, स्वतन्त्र उम्मेदवारहरु ओमप्रकाश सर्राफ र शशी कपुर मियाँ बीच प्रतिस्पर्धा रहेको समाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो ।

यी तीनजनामध्ये मुख्यमन्त्री राउत निकै पछाडि रहेको बताउनु हुन्छ अर्का नागरिक अगुवा मदन गुप्ता । उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीले जुन अवसर पाउनु भएको थियो त्यो अवसर गुमाउनुभयो, यसपटक उहाँको जमानत जफत हुन्छ ।’

महनागरभित्र पर्ने सो क्षेत्रमा मुख्यमन्त्री राउतको निकै आलोचना हुने भइरहेको बताउँदै उहाँले वीरगञ्जलाई मधेश प्रदेशको राजधानी बनाउने प्रतिवद्धता गरेपनि उहाँ चुनाव जितेर गएपछि फर्केर आउनु भएन बरु जनकपुरलाई राजधानी बनाउनु भयो त्यसले गर्दा वीरगञ्जका जनता निकै आक्रोशित रहेको बताउनु भयो ।

अभियन्ता प्रकाश थारुले भन्नुभयो, ‘उहाँको नाम ठूला ठूला भ्रष्टाचारमा मुछिएको छ, अख्तियारले पनि प्रमाणित गरिसकेको छ, यस अवस्थामा यहाँका मतदाताले उहाँलाई किन मत हाल्छन् त यहाँका मतदाताका लागि उहाँले के गर्नुभयो, यो क्षेत्रबाट मुख्यमन्त्री भएको छ भनि कसैले अनुभूती गर्न पाएको छैन ।’

जसपाका कार्यकारणी सदस्य समेत रहनु भएका मुख्यमन्त्री राउतलाई हराउने अभियान नै यहाँ चलेको बताउँदै उहाँले राउतले मधेशी मुद्दालाई भजाएर खाएको तर वीरगञ्जको लागि केही नगरेको गुनासो गर्नुभएको छ । बेटी बचाउ, बेटी अभियानअन्तरर्गत साइकल वितरणमा अनियमितता गर्नुभएको कुरा पुष्टि भइसकेको बताउँदै उहाँले पोखरी सौन्दर्य कार्यक्रममा पनि राउतले भ्रष्टाचार गरेको कुरा बाहिर आएको छ । छोरी बीमा पनि लागु गराउन नसकेको कारणले उहाँप्रति मतदाता आक्रोशित रहेको उहाँले बताउनुभयो ।

पर्सा १ (ख) मा मुस्लिमको मत करिब ६ हजार रहेका छन् । तर मुस्लिमहरुले पनि राउतमाथि रिसाएका छन् । राउत मुस्लिम भएर पनि मुस्लिमका लागि केही नगरेको गुनासो सो समुदायको रहेको छ । मुस्लिम समुदायको नाममा उनी मुख्यमन्त्री बने तर उनले आफूबाहेक अरु कसैका लागि केही नगरेको अभियन्ता गुप्ताको गुनासो छ ।

मुस्लिमको मत स्वतन्त्र उम्मेदवार शशी कपुर मियाँले जाने धेरैको बुझाई रहेको छ । सो क्षेत्रमा मुस्लिमको करिब छ हजार मत रहेको छ भने करिब १५ सय ब्राहमण तथा यादवको मत ५–६ सय रहेका छन् । बाँकी मत बैश्यको रहेका छन् । बैश्यमा बनियाँ, गुप्ता, सोनार, तेली, सुडी, कलवारलगायतका जात पर्छन् । त्यहाँ हजार १५ सय दलितको मत पनि रहेको छ ।

पर्सा १ (ख) मा महानगरपालिका नौवटा वडा रहेका छन् । महानगरपालिकाका मेयरमा जसपा जितेको छ भने ती नौवटा वडामध्ये जसपा–४, काँग्रेस–३ एमाले–२ वटा वडा जितेका छन् ।

स्थानीय तहको मतको हिसाब गर्ने हो भने जसपा–एमाले गठबन्धन बलियो देखिएको छ । तर जसपाबाट विद्रोह गरेर शशी कपुर मियाँ उम्मेदवार बनेको कारण राउतको मत उसले काट्ने धेरैले विश्लेषण गरेका छन् । काँग्रेसको दोस्रो स्थान छ त्यहाँ । तर त्यसको उम्मेदवार रामनारायण प्रसाद कुर्मी अर्को क्षेत्रबाट त्यहाँ चुनाव लड्न आएको कारण त्यसको गुनासो भइरहेको छ । तर स्थानीय तहको मतभारका आधारमा उहाँ त्यहाँका लागि बलियो उम्मेदवार मानिन्छ ।

तपाईको प्रतिक्रिया