चुनावमा मतदाताको प्रश्नः विकास खोइ

–महन्थ ठाकुर
यसको पटकको चुनाव निकै चुनौतिपूर्ण थियो । विगतमा मैले थुप्रै चुनाव लडे, कुनै जिते पनि कुनै हारे पनि । तर यसपटकको चुनाव सबैको लागी चुनौतीपूर्ण रह्यो । कांग्रेससहितको पाँच दलीय र एमाले सम्बद्ध गठबन्धन प्रतिस्पर्धामा थिए ।

समग्रमा अधिकांश ठाउँमा शान्तिपूर्ण निर्वाचन भयो । निर्वाचन क्षेत्रमै यसपटक मतगणना पनि सम्पन्न भयो । कतै कुनै गडबडी भएन । परिणामका हिसाबले कतिपय स्थानमा केही नतिजा अप्रत्याशित आउन सक्छ भन्ने हामीलाई सुरुमै लागेकै थियो ।

एउटा चुनावी नारा पनि थियो ‘पुराना होइन ः नयाँ भन्ने’ । चुनावका क्रममा जातिपातिका आधारमा पनि भोट माग्ने काम हुन्छ तर जनता कस्ता उम्मेदवारलाई मत दिनुपर्छ भन्ने सचेत र जानकार भइसकेका छन् । त्यो यसपटकको चुनावमा देखियो । चुनावमा जाँदा जनताले प्रश्न गर्न थालेको छ । जुन यसअघिको चुनावहरुमा हुँदैन्थ्यो । मतदाता धेरै नै जानकार तथा सचेत भइसकेका छन् ।


घरदैलोमा भोट माग्न जाँदा सडक, खानेपानी, सिँचाइको समस्या छ भन्ने माग जनताको छ । सांसदको काम प्रमुख रुपमा कानुन निर्माणको जिम्मेवारी हो तर आवाजविहीनको आवाज मुखरित गर्ने पनि त जनप्रतिनिधिको मुख्य कर्तव्य हुन्छ ।

सांसद भएपछि जनताका साना–मसिना माग र मुद्दालाई ध्यान दिनैपर्छ, नत्र मत माग्न जाँदा किन आउनुभएको, हाम्रा काम भएनन् भनेर गुनासो गर्छन् । त्यसैले हामी जनप्रतिनिधिले आमजनताका माग र मुद्दा समाधानका लागि पहलकदमी लिनुपर्छ, लिन्छौं ।

समग्रमा विकास त भएको छ तर हाम्रा लागि के भन्ने मधेसका मतदाताको प्रश्न छ । मधेसमा थुप्रै बस्ती र खेतीयोग्य जमिन नदी किनारमा छ तर सिँचाइको कमी छ । समयमा पानी नपर्दा कतिपय ठाउँमा सुक्खा छ । त्यहाँ प्रभावकारी सिँचाइको आवश्यकता छ । सुरुका दिनका डिप–बोरिङ र हुलाकी सडकको माग रहेकामा अहिले ती काम पूरा हुँदै गएका छन् ।

विश्वविद्यालय स्थापनाको विषय बजेट भाषणमा आए पनि नक्सामा मात्र सीमित छ । संसदीय विकास कोषबाट मधेसका धेरै बस्तीमा घर बनेको प्रष्ट देखिन्छ । मुस्लिम समुदायबाट मदरसा र मस्जिद तथा दलित समुदायका लागि विद्यालय र सामुदायिक भवनको मुख्य माग छ । गाउँ–गाउँमा पक्की सडकको विस्तार भएसँगै गाउँको नक्सा बदलिएको छ । तर सरकार पुनःअस्थिर भयो भने अरु केही चुनौती भने पक्कै आउन सक्छ ।

मधेस आन्दोलन र मधेसका मुद्दा उठाए पनि यिनीहरुले गर्न सकेनन् भनेर जनमत पार्टीलगायतको पक्षमा मत जाहेर गरेको अवस्था छ । उहाँहरूले गर्न सक्नुहुन्छ कि हुन्न त्यो त हेर्न बाँकी छ । हामीले समावेशीताको नारा लियौँ, पहिचानका आधारमा भेदभाव नगर भन्छौँ, उल्टै हामीलाई विखण्डनवादीको आरोप लाग्छ । हाम्रो भाषा, संस्कृति, खानपान रहनसहनमा विविधता छ । विभिन्न छौँ तर हामी एकसाथ छौँ । राज्य शक्तिमा समान पहुँच छैन ।

न्यायोचित वितरण हुनुपरयो भन्ने हाम्रो माग छ । त्यसमा अहिलेसम्म राज्यले हाम्रो भावना बुझ्न सकेको छैन । जो प्रधानमन्त्री हुन्छ हामी माग लिएर जान्थ्यौँ । नागरिकताको विषय राष्ट्रपतिजीले बुझ्नुभएन । अहिले पनि संविधानमा महिला र पुरुषको बराबरी अधिकार छैन ।

मुलुक कुनै पनि गठबन्धन वा सरकार सबैमा राजनीतिक स्थिरता देख्न चाहन्छौं । जबसम्म राजनीतिक स्थिरता आउदैन तबसम्म विकास निर्माणले गतिलिन सक्दैन । पूर्वाधारलगायतका काम समयमा हुँदैन । त्यसको मार आमजनता प्रत्यक्ष पर्छ । जनताले चाहेका सडक, सिँचाइ, खानेपानी समयमा सहज ढङ्गबाट काम हुनुपर्छ । अनि मात्र समय र पैसाको बचत हुन्छ ।


त्यसैले मुलुकमा आर्थिक समृद्धिको गतिलाई द्रुतरुपमा अघि बढाउन गठबन्धनलाई निरन्तरता दिनुपर्छ । लामो समयदेखि पुलपुलेसा बनेको छैन । सडकको बेहाल छ, जति पनि सरकार बनेका छन् कुनैको बहुमत र स्थिर देखिएन । यसबाट विकासलाई अवरोध सिर्जना गरेको छ । विसं २०४६ पछिका कुनै पनि सरकार स्थिर भएन ।

हाम्रो राजनीतिक इतिहास पनि अस्थिर छ । शान्तिपूर्ण देखिँदैन । धोकाधडी, षड्यन्त्र, आतङ्क आदिबाट प्रताडित भएको छ । भूराजनीतिक प्रभाव पनि उत्तिकै छ ।

त्यो राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय । देशको प्रधानमन्त्री भएका जिम्मेवार नेताले समेत खुल्लमखुल्ला बोलिरहनुभएको छ । बाह्य शक्तिको हात छ भनेर । तर कुन शक्ति हो भन्ने चाहिँ खुलाउन सक्नुभएको छैन । अहिले पश्चिमा शक्ति पनि सशक्त छ, अर्कातिर उत्तर– दक्षिणका शक्ति उत्तिकै छन् ।

(लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया