भारतले नाकाबन्दी गरेको होइन, मधेशी मोर्चाले गरेको हो–ठाकुर
दुई दुई पटक मधेशसँग सम्झौता गरेर धोका दिएको छ–महतो
रौतहट, असोज १३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकाबन्दी भएपछि मात्र सरकारको चेत खुलेको बताउनु भएको छ । डेढ महिनाभन्दा बढी समयसम्म मधेसमा आन्दोलन भइरहँदा कुनै सुनुवाई नगरी भट्टा भट्ट मान्छे मार्ने सरकार नकाबन्दीकै डरले वार्तामा आएको बताउनुभयो ।
लामो समयसम्म बन्द हुँदा सरकारको ध्यान नगएको तर नाकाबन्दी भएपछि शासकहरुको होस् उडेको बताउँदै अध्यक्ष यादवले वार्ताको नाममा आन्दोलन कमजोर पार्ने खेलमा लागेको आरोप लगाउनुभयो ।
आज गौरमा आयोजित कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले औपचारिक रुपमा वार्ताका लागि समिति बनाए पनि त्यो प्रयाप्त नभएको बताउनुभयो ।
वार्ताका लागि आफूहरु तयार रहेको पटक पटक भनेपनि सरकारले सेना प्रयोग गरेर मधेसमा दमन जारी राखेको कारण वार्ता यति लम्बिएको बताउँदै अध्यक्ष यादवले मधेसलाई अधिकार सम्पन्न बनाउन यस पटक सम्पूर्ण मधेसी जनता एक जुट भएको बताउनु भयो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको आह्वान गरे पनि उपयुक्त वातावरण अझै नबनेको बताउनुभयो । अनौपचारिक वार्ताको क्रममा सरकारको निरन्तर सम्पर्कमा रहनु भएका अध्यक्ष ठाकुरले आन्दोलनका क्रममा मृत्यु भएकाहरु लाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको विषयमा पनि कुनै सम्बोधन नभएकोले वार्ताको वातावरण नबनेको बताउनुभयो ।
मधेशीमोर्चाका नेताहरुले विगतका सम्झौता कार्यान्वयन नभएसम्म वार्ताको कुनै औचित्य नरहेको बताउँदै अध्यक्ष ठाकुरले आफूसँग सरकारका प्रतिनिधिहरुले अनौपचारिक भेटघाट र कुराकानी गरेपनि वार्ता कै रुपमा आफू नबसेको स्पष्ट पार्नुभयो ।
मधेशी मोर्चाले सीमामा धर्ना दिएको कारण मालसमान आयता निर्यात ठप्प भएको छ तर राज्यले भारतलाई दोषी देखाएको उहाँले दावी गर्नुभयो । उहाँले भारतले कुनै किसिमको नाकाबन्दी नगरेको नाकाबन्दी मधेशी मोर्चाले गरेको स्पष्ट पार्नुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भएको स्वायत्त मधेशको सम्झौतालाई तीन दलले वेवास्ता गरेको आरोप लगाउँदै दुई÷दुई पटकसम्म सम्झौता गरेर मधेसलाई धोका दिएको भन्दै उहाँले अब उधारोमा सम्झौता नहुने चेतावनी दिनुभयो ।



तपाईको प्रतिक्रिया